राज्यको शिक्षा नीति र हामीले ध्यान दिनुपर्ने कुराहरू
राज्य सरकारले सिक्किमलाई 2015-सम्म पूर्ण शिक्षित राज्य बनाउने लक्ष्य राखेर अनेकन पाइला चालिरहेको कुरा विदित छ। सर्वशिक्षा, वृद्ध शिक्षा जस्ता अभियानहरूका साथमा सरकारी स्कूलहरूमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने पहल राज्य सरकारको छ। आर्थिक सम्पन्न व्यक्तिहरूले आफ्ना नानीहरूलाई अशल र गुणस्तरीय शिक्षाको निम्ति मोटो रकम खर्चेर भएपनि आफ्ना नानीहरूलाई निजी शैक्षिक संस्थानहरूमा पढाउने गर्छन्। राज्यदेखि अन्तरराष्ट्रिय स्तरसम्म पुऱ्याउँछन् आफ्ना नानीहरूले अशल शिक्षा प्राप्त गरुन भनेर। तर आम आभिभावकहरूका निम्ति यो असम्भव हुनेहुँदा मुख्यमन्त्री पवन चामलिङको विशेष पहलमा राज्यभरिका सबै नानीहरूलाई समान शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने उद्धेश्यले सरकारी तौरमा यसरी विभिन्न प्रयास गरिँदै आइरहेको छ। अझ राज्यका गरीब परिवारका नानीहरू यदि पढ्नमा अब्बल भए उनीहरूलाई राज्य सरकारले पढाइदिने योजनासम्म तयार गरेर राज्य, राष्ट्र तथा अन्तरराष्ट्रिस्तरमा पुऱ्याइरहेको छ। पहिलो वर्ष सरकारले कुल 50 जनालाई पढाउन शुरु गरेको थियो भने यो विद्यार्थीहरूको सङ्ख्य प्रतिवर्ष दुइगुणा गर्दै लाने पनि बताएको थियो। सोहीअनुरूप यसवर्ष दुइसय जनाले पढ्ने अवसर प्राप्त गर्नुपर्ने थियो। राज्य सरकारले सो पूरा गरेर आफ्नो वचन पनि पुऱ्याएको छ। यसबाट राज्यभरिका दुइसय गरीब नानीले उनीहरूका अभिभवकवर्गले सोच्दै नसोचेको कुरा पुगेको छ भन्नमा दुइमत नहोला। यसै हिसाबले 2013-मा चारसयजनाले सरकारी खर्चमा पढ्न पाउनेछन्।
स्वास्थ्य र शिक्षा मानव जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हुन्। राज्यको समग्र विकासमा यी दुवै कुराको अति महत्व हुन्छ। यसैले राज्य सरकारले यी दुवै कुरालाई अधिक प्राथमिक्ता दिइरहेको प्रष्टै बुझिन्छ। शिक्षाकै सन्दर्भमा सरकारी स्कूलमा पनि नानीहरूले निजी स्कूलमा जस्तै अशल शिक्षार्जन गर्न सकुन भन्ने ध्येय सरकारको छ। यद्यपि, सरकारी स्कूलको शिक्षा पद्धतिको कुरा गर्दा कतिपय कुरामा अझै सोच्नुपर्ने देखिन्छ। सरकारले जुन पहल गरिरहेको छ,त्यो सराहनीय हुँदाहुँदै पनि कतिपय समस्या अझै देखिनआउँछ।
नानीहरूको पढाइ, पठन-पाठन उनीहरूकै लगनशीलता, परिश्रम तथा विवेकमा भरपर्ने हुन्छ भने शिक्षक र शिक्षन शैली (टिचिङ स्टाइल) माथि पनि उत्तिकै निर्भर रहन्छ। अतः एकजना शिक्षकले कसरी, कुन शैलीमा पढाउँछन् भन्ने कुराले धेरै महत्व राख्दछ। यसैले अहिले आएर शिक्षकहरूको घरिघरि सरुवा अथवा एउटै विषयको निम्ति घरिघरि शिक्षकको फेरबदलले नानीहरूमा ठूलो समस्या भइरहेको देखिन्छ। यसको कारण विशेष त कन्ट्रयाक वेशिषका शिक्षकहरूको समय सीमा पूरा हुनुपनि हो भने यसैको अर्को प्रभाव स्वरूप लिनसकिन्छ शिक्षक-शिक्षिकाले पनि "यहॉं खटेर, राम्रो पढाएर के गर्नु? अर्को वर्ष गइहाल्नुपर्छ' भन्ने भावना मनमा लिनु। यसो हुनाले चपेटमा त विद्यार्थीले नै पर्नुपर्ने हुन्छ।
यतिमात्रै होइन, कतिपय स्कूलमा ठीक समयमा शिक्षक नियुक्त नभएको पनि पाइन्छ त तकिपय बुनियादी स्तरकको स्कूल एकैजनाले सञ्चालन गर्नु परिरहेको छ। अर्कोतिर एउटा जिल्ला छोडेर अर्को जिल्ला अथवा अलिकति अभेक ठाउँतिर शिक्षक-शिक्षिका जान नमान्ने समस्या देखिएको छ। उनीहहरूमा पनि "एकवर्षको निम्ति सर-सामान लानु-ल्याउनुको दुखमात्रै, बरु अर्को इण्टरभ्यू दिएको छु। त्यसमा भयो भने जान्छु' भन्ने विचार पाइन्छ। यदी कुरालाई अभिभावकहरूले बुझेरै पनि केही बोल्न नचाहेको पनि देखिन्छ।
त्यसैले, सरकारले शिक्षा क्षेत्रमा जुन लक्ष्य लिएर अग्रसर छ, त्यसमा यी कुराहरूलाई पनि ध्यान दिनु आवश्यक देखिन्छ। नभए प्रत्येक वर्ष शीर्षस्थानमा आउने नानीहरूले त राम्रो स्कूलमा अशल शिक्षार्जन गर्लान, तर सरकारी स्कूलमा अध्ययन गर्ने नानीहरूको भविस्य के होला, यो भन्न सकिन्न। यसैले यस्ता साना कुराहरूलाई पनि उच्च प्राथमिक्ताका साथ समयमै विचार पुऱ्याउनु आवश्यक देखिन्छ।
- 03.03.2012