सिक्किमेली पत्रकारिता जगतमा युवाहरू
-अर्जुन राई (अर्जुन यावा)
प्रवेशः प्रेस क्लब अफ् सिक्किमले आफ्नो स्थापनाको दश वर्ष पूरा गर्नलागेको छ भनौं गरिसकेको छ। यो दशौं वर्षको प्रथमार्द्धदेखि नै प्रेस क्लब अफ् सिक्किमले स्मारिका प्रकाशन गर्ने जमर्को गरेको हो। कारणवश केही विलम्ब अवश्यै भएको छ, समय बितेको छैन। यसै क्रममा आफूमाथि पनि जिम्मेवारी आइपर्यो ‘सिक्किमेली पत्रकारिता जगतमा युवाहरू’ शीर्षकमा एउटा लेख लेख्नुपर्ने। स्वयं एक युवा अनि पत्रकारिता व्यवसायसित संलग्न, अझ भएन ‘प्रेस क्लब अफ् सिक्किम’-सित पनि संलग्न रहेकोले जिम्मेवारीदेखि भाग्न पटक्कै मिलेन। भनिन्छ, युवा जमात भनेको देशका कर्णधार हुन्। फेरि हामीले नै यसरी पाइला पछाडि सार्यौं भने सो भनाइको सार्थकता पनि रहला के भन्ने बोध छँदैछ। त्यसैले लेख्नुपर्छको बोधले ‘हुन्छ’ सम्म भन्ने साहस गरेको हुँ।
युवाः अब कुरा के आउँछ भने ‘सिक्किमेली पत्रकारिता जगतमा युवाहरू’-ले दुइ कुरा बोकेको पाइन्छ। पहिलो- ‘सिक्किमेली पत्रकारिता जगत’ अनि दोस्रो- ‘युवाहरू’। अप्ठ्यारो के छ भने दोस्रो कुरा ‘युवाहरू’- भनेर कसलाई सम्बोधन गर्ने? सामान्यतः हामी बाल्यावस्था पनि होइन र वृद्धावस्था पनि होइन, तरुण, जवान तथा वैशालु अवस्था भनेर जान्दछौं युवा भन्नाले। उसो भए कति उमेर वा समय-सीमाभित्रकालाई युवा भन्ने त भनेर धेरैको मनमा प्रश्न अवश्य नै खट्किएको हुनसक्छ। नेपाली वृहत शब्दकोशले ‘युवक’ भनेर 16 वर्षदेखि 40 वर्ष उमेरबीचकालाई युवा भनेर बुझाएको छ भने इीेरवलरीींळपस उेीरिेीरींळेप ेष खपवळर (भारतीय प्रसारण निगम)-ले 30 वर्ष मुनिकालाई युवा भनेर स्वीकारेको छ। अतः यहाँ 16 देखि 40 वर्षबीचकालाईनै युवा मान्न सकिन्छ होला।
पत्रकारिताः राष्ट्रकै चौथो स्तम्भ स्वीकारिएको पत्रकारिता जगत एउटा यस्तो क्षेत्र हो, जसले एउटा सिङ्गो समाज तथा देशकै विकासमा अहम भूमिका निर्वाह गरेको हुन्छ। एउटा समाज र पत्रकारिता जगत दुवैलाई भिन्ना-भिन्नै पक्ष मान्न सकिने भए पनि यी दुइबीच पारस्परिक सम्बन्ध भने रहेकै हुन्छ। एउटा समाजको विकासमा पत्रकारिताले एक जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ भने समाज छ र नै पत्रकारिता पनि छ। यद्यपि, पत्रकारितालाई समाजको पूर्ण विकासको आधारमात्र नमानेर अहिले जीवन धान्ने एउटा आयस्रोत अथवा रोजगारको अवसरका रूपमा पनि लिनथालेको कुनै नयाँ कुरा होइन।
सिक्किमेली पत्र-पत्रिका अथवा मीडियाः सिक्किमेली पत्रकारिताको ऐतिहासिक पृष्ठभूमिलाई हेर्नुहो भने 1950-को दशकभन्दा अघि सायदै पुग्नुुपर्ला। नभए 50-को दशकभन्दा अघिसम्म सिक्किमेली समाज पत्रकारिताप्रति सचेत रहेको उति पाइँदैन। यतिमै हामी सीमित रहनु हो भने पनि सिक्किमेली पत्रकारिता जगतको इतिहासले लगभग छ दशक पूरा गरिसकेको छ। समाचार पत्र-पत्रिकाको कुरा गर्नु हो भने अहिले राज्यभरिबाट साप्ताहिक र दैनिक गरेर 90 भन्दा अधिक प्रकाशित भइरहेका छन्।
अहिलेसम्मको सिक्किमेली पत्रकारिताको इतिहासले 6 दशक पूरा गरिसके पनि आकाशवाणी गान्तोक तथा दूरदर्शन टीभी च्यालन साथै स्थानीय टीभी च्यालनलाई छोडेर प्रिण्ट मीडियाको सन्दर्भमा कुरा गर्दा डेढ दशक पुगेको छैन। यद्यपि, यति छोटो अवधिमा सिक्किमेली पत्रकारिता जगतले जुन गतिमा विकास गरिरहेको छ, त्यो उल्लेखयोग्य रहेको छ। यसलाई सायद हामी राज्यमा रहेको प्रेस स्वतन्त्रताको एउटा उदाहरण पनि मान्न सक्छौं, जसले गर्दा यसमध्ये प्रायः समाचार पत्रहरू निरन्तर प्रकाशित भइरहेका छन्। यस डेढ दशकको अवधिभित्र राज्यबाट लगभग एक दर्जन जति दैनिक समाचार पत्रहरू प्रकाशित भइरहेका छन्। यसबाहेक साहित्यिक पत्र-पत्रिका तथा मासिक पत्र-पत्रिकाहरू पनि छन्। यद्यपि, यहाँ साहित्यिक पत्रकारिताका कुराहरू उल्लेख गर्नसकिएन।
सिक्किमेली पत्रकारिता जगतमा युवाहरूः मेरो विषय छ- ‘सिक्किमेली पत्रकारिता जगतमा युवाहरू’। अहिले पत्रकारिता जगतलाई हेर्नु होभने जतिले यसलाई पेशाको रूपमा अप्नाएका छन्, प्रायः सबै युवावस्थादेखि नै लागिपरेका पाइन्छन्। यसैले ‘सिक्किमेली पत्रकारिता जगतमा युवाहरू’ नभनेर ‘वर्तमान सिक्किमेली पत्रकारिता जगतमा युवाहरू’ भन्दा सायद उचित होला जस्तो लागेको छ। यति भनेर आफूलाई दिइएको विषयलाई पनि मैले छोट्याइसकेपछि लगभग 1940-50-को दशकदेखि नै शिलान्यास भएको सिक्किमेली पत्रकारिताको ऐतिहासिक पृष्ठभूमितिर म घोत्लिरहनु नपर्ने हो, जस्तो लागेको छ।
इलेक्ट्रोनिक मीडियालाई छोडेर प्रिण्ट मीडियामा हेर्नु हो भने सिक्किमबाट प्रकाशित प्रायः एक दर्जन दैनिक समाचार पत्र पाइन्छन्। सिक्किमबाट अहिले प्रकाशमा आइरहेका प्रायः पाँचवटा अङ्ग्रेजी दैनिक (सिक्किम एक्सप्रेस, सिक्किम नाउ, हिमालनय मिरर, सिक्किम रिपोर्टर, द डेली इन्काउण्टर सिक्किम), सातवटा नेपाली दैनिक (समय दैनिक, हाम्रो प्रजाशक्ति, हिमाली बेला, साङ्ग्रिला टाइम्स्, दैनिक मिरमिरे, सिक्किम दर्पण, स्वर्णभूमि) अनि दुइवटा हिन्दी दैनिक अनुगामिनी र नित्य समय प्रायजसोकै सम्पादक, सह-सम्पादक, संवाददातादेखि यी समाचार पत्रिकाहरूसित संलग्न कार्यकारीहरूको वर्गभेद हेर्नु हो भने प्रायः जसो नै युवा समूहलाई पाउन सकिन्छ। गान्तोकदेखि बाहिर अथवा जिल्ला संवाददाताहरू पनि हामी प्रायः नै युवा जमातबाट पाउन सक्छौं। यसबाहेक, राष्ट्रिय समाचार पत्र-पत्रिकाहरूमा पनि सिक्किमेली भेकबाट युवाहरूको सक्रियता रहेको पाउन सकिन्छ।
प्रिण्ट मीडियादेखि यता स्थानीय एकमात्र केवल च्यानल नयुमा तथा अन्य राष्ट्रिय इलेक्ट्रोनिक मीडिया एवं न्यूज एजेन्सीमा हेर्नु हो भने नर्थ-इष्ट टेलिभिजन, आजतक, नेपाल-वान, जी न्यूज, दूरदर्शन, एएनआइ, हिन्दुस्थान समाचार आदिमा पनि युवाहरूको सक्रिय सहभागिता देखिनथालेको पाइन्छ।
समस्या र कारण ः सिक्किमेली पत्रकारिताको सन्दर्भका बारेमा स्थानीय युवाहरूको कुरा गर्नु हो भने आशानुरूप युवाहरूको सहभागिता पाउन कठिनै पर्छ। भनौं, पत्रकारिता जगतमा स्थानीय युवाहरू उत्ति सचेत रहेको पाइँदैन अथवा पत्रकारितप्रति उनीहरूको चासो देखिन्न। यहाँबाट प्रकाशित समाचार पत्र अथवा राष्ट्रिय समाचार पत्रहरू अथवा टीभी च्यानलहरूमा स्थानीय युवाहरूको सहभागिता कमै देखिन्छ। यसका पछि पनि धेरै कारणहरू छन्। पहिलो त हामीमा कार्य संस्कृतिको अभाव छ, जसले गर्दा हामी छिटो र सजिलो प्रकारले आय स्रोतका माध्यमहरू खोजिरहेका हुन्छौं भने अर्को मुुख्य कारण सरकारी नोकरीको पछि दौडिनु पनि हो। आफ्नो योग्यता, आफ्नो क्षमतालाई प्रयोगमा ल्याएर आफैलाई उभ्याउने प्रयास गर्नुभन्दा हातमा डिग्रीहरूको थुप्रो बोकेर सरकारी कार्यालय धाएरै समय खेरो फ्याँक्न रुचाउँछ हाम्रो युवा जमात। अर्को कारण पनि देख्छौं युवाहरूमा जिम्मेवारी वहन नहुनु। यी सबै कुराहरूलाई अदेखा गरिदिँदा पनि हाम्रा शिक्षित युवावर्ग पत्रकारिता जगतमा अग्रसर नरहनुको कारण। यहाँ पत्रकारिता व्यवसायलाई मात्रै आधार बनाएर आफूलाई पूर्ण स्वावलम्बी बनाउनसक्ने स्थिति देखिँदैन। कारण, आज महँगाइ एकातिर छ भने त्यसको ठीक विपरीत आफ्नो आय। यसोसले परिवारसहित जीवन धान्न यहाँ हम्मे-हम्मे पर्ने अवस्थामा बरू ठेका-बिघाका कामहरूको पछाडि लाग्न नै रुचाउँछन् युवाहरू तर पत्रकारितालाई व्यवसायको रूपमा अप्नाउन तयार छैनन्। आर्थिक चपेटमा दिनहुँ पिसोल्टिनुपर्दा केही दिनका निम्ति अथवा समय कटौती गर्दै गरौं भन्ने विचारधारा मनमा लिएर मात्रै पनि कत्तिले यस व्यवसायलाई अप्नाइरहेको पाइन्छ, जो दिगो रहन्छ भन्न कदापि सकिन्न।
पत्रकारिताको आफ्नै स्थान छ, नियम-कानून र जिम्मेवारीहरू छन्। समाजका एक दक्ष, सक्षम, निपुण, चतुर तथा सबै कुराको ज्ञान वा चासो राख्ने व्यक्तित्व नै पत्रकार बन्नसक्छ। पत्रकार भन्नेबित्तिकै व्यावसायिक तालिम प्राप्त गर्नेहरू हुन्छन् भन्ने हामी सोंचिहाल्छौं। उसो त व्यावहारिक तालिम वा डिग्रीले मात्र कुनै कुरामा संलग्नता प्राप्त हुनसक्दैन। त्यहाँ पनि समर्पण, जाँगर, जोश, उत्साह, स्वेच्छा, स्वअध्ययन, विविध कुराको ज्ञान आदिको पनि उत्तिकै आवश्यकता पर्छ। अतः सिक्किमेली पत्रकारिता जगत अहिलेसम्म पनि व्यावसायिक वा व्यावहारिक तालिम अथवा सम्बन्धित डिग्री प्राप्त गर्नेहरू कमै छन्। यद्यपि, यस क्षेत्रमा अहिलेघरि भने बिस्तारै चासो देखाएर युवाहरू अग्रसर बन्नथालेको पाइन्छ। प्रिण्ट मीडिया होस् या फेरि इलेक्ट्रोनिक मीडिया, स्थानीय होस् या त राष्ट्रिय, सबै क्षेत्रमा बिस्तारै युवावर्गले आफ्नो सक्रियता देखाउन थालिसकेका छन् भने यहाँ रहर, बाध्यता अनि पारम्परिक रूपले अनुभव बटुल्दै जान्छु, काम गर्दै जान्छुमात्र नभनेर पत्रकारिताका निम्ति आवश्यक तालिम तथा शिक्षाको डिग्री पनि लिइरहेका छन्। वर्ष 2007-8 भन्दा अघिसम्म हेर्नु हो भने यस क्षेत्रमा व्यावसायिक तालिम, कोर्स वा शिक्षा प्राप्त गरी प्रमाण-पत्र अथवा डिग्री प्राप्त गरेर पत्रकारितालाई आफ्नो व्यवसायका रूपमा अप्नाउनेहरूको सङ्ख्या कमै देखिन्छभने त्यहाँदेखि यता विशेष 2009-10 देखि यता यस क्षेत्रमा आउन चाहने युवाहरू प्रायःले सम्बन्धित कुनै न कुनै प्रमाण-पत्र वा डिग्री प्राप्त गरिरहेका छन्। यसबाहेक पत्रकारितालाई प्राथमिकता दिँदै 2007-मा स्थापित सिक्किम विश्वविद्यालयअन्तर्गत सिक्किमका कलेजहरूमा पनि पत्रकारिता विषय 2008-देखि युवाहरूले अध्ययन गराइरहेको छ। यसअघि नै नाम्ची सरकारी महाविद्यालयमा पत्रकारिता विषय अध्ययन गराइँदैगरेको जानकारी छ। नभए यस अघिसम्म यहाँ त्यस्तो कुनै संस्थान थिएन, जहाँबाट हामी तालिम वा डिग्री प्राप्त गर्न सकौं। अतः अहिलेघरि केही वर्ष यता पत्रकारिताको तालिम लिएर वा डिग्री प्राप्त गरेर यस क्षेत्रलाई पूर्ण व्यावसायिक रूपमा अप्नाएर अघि बढ्न चाहनेहरूको पनि सङ्ख्या बढ्दै जानथालेको प्रष्टै छ।
निष्कर्षमाः पत्रकारितालाई युवाहरूले पूर्ण रूपमा एक व्यवसायको रूपमा अप्नाएर अग्रसर रहनसकेको भान हुँदैन। यी समस्त कारणहरू सम्बन्धमा अघि नै भनियो, स्थानीय पत्रिकारितामा निर्भर रहेर मानिसहरूले आजको समाजमा पूर्ण निर्भर बन्नसक्ने अवस्था छैन। यस विषय पनि सम्बन्धित संस्थान तथा राज्य सरकारले पनि सोचिदिए उचित होला कि!
अतः यहाँ स्वस्थ र स्वच्छ पत्रकारिताको विकास गर्न जरुरी छ, सही समाचार संप्रेषणसहित सही पत्रकारिताको जग बसाल्न जरुरी छ। यदि स्वच्छ, स्वस्थ र सही पत्रकारिताको यहाँ जग बसाल्नु हो भने अथवा यसलाई पनि एक प्रमुुख आय स्रोतको रूपमा विकसित गराउनु हो भने हामी सबैले समयमै सोच्नु आवश्यक देखिन्छ।
17.12.2012