Wednesday, March 5, 2014

भोट माग्नेले त..!

‘कुनै समय दार्जीलिङलाई हेरेर सिक्किमले सिखो गर्थ्यो अहिले सिक्किमलाई हेरेर दार्जीलिङले सिखो गर्ने बेला आएको छ’ भन्ने गरेका छन् धेरैले। भन्न खोजिएको ‘सिक्किमले विकासको जुन गति पक्रिएको छ, त्यसलाई हेर्नु’ भन्ने रहेछ। विकासको यो खुड्किलोसम्म आइपुग्नलाई सिक्किमले कति संघर्ष गर्नुपरेको छ त्यो आफ्नै ठाउँमा छ। तर यति कुरा भने अवश्य बुझ्नुपर्ने हुन्छ कि ‘कुनै पनि समाज, राज्य वा देशको विकास त्यहाँको भौगोलिकता, त्यहाँको वातावरण अनि त्यहाँको सुख, त्यहाँको शान्ति, त्यहाँको सुरक्षासित निर्भर रहने कुरा हो। त्यसैको उदाहरण सिक्किमलाई लिइरहेको विश्‍वजनित कुरा हो। ‘सिक्किममा सुख छ, सिक्किममा शान्ति छ, सिक्किममा सुरक्षा छ।’ देशका शीर्ष नेताहरूले पनि यही कुराको उठान गरिरहेका छन् वर्तमानमा। यसै भनेर छिमेकी राज्य पश्‍चिम बङ्गालमात्र होइन तर देशका अन्य राज्यवासीहरू धेरैले साना-साना रोजगारीका निम्ति पनि सिक्किमलाई सम्झने गरेको तथ्य खोजिरहनु पर्दैन। अहिले त ठूला कम्पनीहरू एकपछि अर्को आउने क्रम जारी छँदैछ। अनि यसलाई पनि राज्यको विकासकै दृष्टिकोणले लिनुपर्ने हुन्छ।
माटोको निम्ति भनेर, जातिको निम्ति भनेर, अस्तित्व-अस्मिताको निम्ति भनेर शताब्दी अघिदेखिको लडाईंमा पहाड वर्षौं अघिदेखि अशान्ति रहेको अहिलेका नयाँ पिँढीले पनि भोगेकै कुरा हो। अहिले विकास र माटोको लडाईं कता-कता मिसिन पुगिरहेको भए तापनि त्यत्ति अशान्त छैन पहाड, जत्ति केहीवर्ष अघिसम्म थियो। विकास जस्तै अशान्तिले पनि सरक्कै बास सरेको छ अहिले सिक्किममा। तर यो अशान्ति माटोको निम्ति होइन, अस्तित्व-अस्मिताको निम्ति होइन। यो अशान्ति कमजोर विचार, कमजोर मानसिकता, कमजोर सोंचको उपज हो। त्यसैले फुटाइरहेको छ घर-परिवार आज सिक्किममा।
राजनीति सँधैं समाजको विकासकै निम्ति हुनुपर्छ, राज्यको विकासको निम्ति हुनुपर्छ अनि देशको विकासको निम्ति हुनुपर्छ। सिक्किममा अहिले तर राजनीतिले नै पतन गराउनतिर डोहोर्याइरहेको छ समाजलाई। सत्तारुढ एसडीएफ पार्टीले सँधैं सिक्किम र सिक्किमेको सुख, शान्ति र सुरक्षा सुनिश्‍चित गर्दै विकासको चरम अवस्थामा पुर्याउन चाहेको हो। धेरैतहसम्म सफलताको सिँडी पनि उक्लिसकेको छ। यहीबेला केहीवर्षयता राज्य अशान्त बनिरहेको छ। आम मानिस यहाँ आपस्तमा लड्छन् वा लडाइन्छन्, कुटिन्छन्, वाहनहरू तोडिन्छन्, वाहनहरू जलाइन्छन्, घरहरू जलाइन्छन्। के चुनाउ नजिक आएर यसरी आपस्तमा लड्नु, कुट्नु-कुटाउनु, वाहन-घरहरू जलाउनु हो त राजनीति?
अहिले आम मानिस असुरक्षित अनुभव गरिरहेका छन्। भन्दैछन् ‘भोट माग्नेले त यस्तो अत्याचार नगर्नुपर्ने हो, हामीलाई त यहाँ बाँच्न गाह्रो पर्ने भयो।’ यतिमात्रै कहाँ र अझ भन्न थालेका छन् ‘एउटा बील हुनै लागेको छ, त्यसपछि त दार्जीलिङ गइहाल्छु।’ पहिले सुरक्षा खोज्दै सिक्किम आउँथे, अहिले सुरक्षित रहनैको लागि ‘गइहाल्छु’ सुन्नैमात्र पनि कत्रो विडम्बना? के सिक्किमको राजनीतिमा नेता र नेतृत्व यस्तै हो त? राजनीति समाजसुधार र समाज विकासका लागि हुनुपर्ने कि विध्वंश, पतनको लागि? राजनीति राज्यको सुख-शान्ति र सुरक्षाका लागि हुनुपर्ने कि झगडा, तोडफोट, रगत बगाउनका लागि? सबैले सोंच्नुपर्ने समय आएको छ।-28.02.2014
निजी कम्पनी र वर्तमान समस्या

प्राकृतिक सुन्दरतासितै सिक्किमको शान्त अनि सुरक्षित वातारवणको अहिले विश्‍वस्तरमै चर्चा चलिरहेको छ। भोगौलिक रूपमा सानो सिक्किमले विस्तारै विश्‍वस्तरमा ख्याति कमाइरहेको छ। त्यसैको परिणामस्वरूप देशका विभिन्न ठूलाठूला निजी उद्योगहरू, परियोजनाहरू, संस्थानहरू स्थापित भइरहेका छन्। स्थानीयतालाई प्राथमिकता दिने, यहाँको शान्त र सुरक्षित वातावरणलाई ध्यानमा राखेर यहाँको पर्यावरण एवं प्राकृतिक सुन्दरताको संरक्षण गर्ने प्रतिवद्धतासितै स्थिपित यी संस्थान-परियोजना तथा उद्योगहरूले अहिले विस्तारै आफ्नो प्रतिवद्धताको अवहेलना गरिरहेको घटनाहरू प्रकाशमा आइरहेको छ।
मुख्यमन्त्री पवन चामलिङले आफ्नो सम्बोधनमा घरिघरि भनिरहेका हुन्छन् र तथ्यले पनि बताउँछ, राज्यमा मात्रै होइन देशमै मात्र होइन प्रतिदिन बढ्दो जनसंख्या आज विश्‍वको समस्या भइरहेको छ। यता सिक्किम 85 प्रतिशत साक्षर राज्य बन्नका  साथै देशकै दोस्रो साक्षर राज्य बन्न सक्षम भएको छ। यसबाट सिक्किमलाई पूर्ण शिक्षित राज्य बनाउने मुख्यमन्त्री पवन चामलिङको सपना लगभग पूरा हुँदै गएको प्रमाणित हुन्छ। शिक्षित भएपछि सरकारी नोकरी नै पाउनुपर्छ भन्ने गलत धारणाबाट हामी माथि उठ्नुपर्छ। यही कुरा मुख्यमन्त्रीले घरिघरि दोहोर्याउँदै राज्यमा स्थापित देशका ठूला संस्थान, उद्योग तथा परियोजनाहरूमा स्थानीयहरूलाई प्राथमिकता दिइनुपर्ने सरकारले सम्झौतामा उल्लेख गरेअनुसार स्थान दिइँन्दै पनि छ। तर, अहिले आएर यहाँ स्थानीयहरूले भनेजस्तो सुविधा र अवसर नपाएको गुनासोहरू सुनिन्छन्।
रम्फू कुमरेकस्थित ‘सिप्लामा कार्यरत स्थानीय कर्मचारीहरूमाथि कम्पनीले अन्याय गरेको’ समस्याले एकसमय निकै ठूलो रूप लिएको विदितै भएको कुरा हो। रानीपूल नजिक सनफार्मा-मा पनि यस्तै घटना भएको प्रकाशमा आएको सर्वविदितै छ। यस्ता अन्य धेरै घटना छन्, जसले ‘स्थानीय युवावर्गलाई अन्याय गरिरहेको छ’ भन्ने घटनाहरू प्रकाशमा आइसकेका छन्। भर्खरैमात्र काबी-लुङ्चोक समष्टिअन्तरगत लिन्दोकमा निर्माणाधिन काइनेटिक इनर्जी (स्नेहा काइनेटिकभ पावर प्रोजेक्ट लिमिटेडले सरकारसितको सम्झौतालाई उल्लङ्घन गरेको, मुख्यमन्त्रीद्वारा दिइएको निर्देशको अनुपालन नगरेको, निर्माण कार्यमा स्थानीयतालाई प्राथमिकता नदिइएको र निर्माणकार्यले सम्पूर्ण गाउँलेहरूले नै विभिन्न समस्याको सामना गर्नुपरिरहेको घटना प्रकाशमा आएको थियो।
यस्तै अर्को घटना फेरि प्रकाशमा आएको छ अहिले तल्लो सिच्छेस्थित इक्फाइ विश्‍वविद्यालयको। कुनैपनि कम्पनी वा संस्थानले योग्यताअनुसार स्थानीयतालाई प्राथमिकता दिनुपर्ने भनिएको छ, यहाँ त्यसको अनुपालन नभएको बताइएको छ। यस विश्‍वविद्यालयको शिक्षण क्षेत्रमा राज्यका युवाहरू 25 प्रतिशतले मात्रै अवसर पाइरहेको त्यही पनि अहिले आएर विभिन्न समस्याको सामना गर्नुपरिरहेको र अन्याय भइरहेको कुरा प्रकाशमा आइसकेको छ। अझ भनिँदै छ, राज्य सरकारसित पनि इक्फाइले सम्झौता हस्ताक्षर गरेको छ, मानव संसाधन विकास विभागले हस्ताक्षर गरिसकेको छ, विधानसभाले पनि 2005-मै पारित गरिसकेको छ। तर यत्तिका वर्षसम्म कुनैपक्षबाट यहाँ जाँच गरिएको छैन।
अत; सरकारी तौरमा आपसी सम्झौता त छँदैछ तर के सम्झौतालाई कम्पनीले वा यस्ता शैक्षिक संस्थानले अथवा ठूला परियोजनाहरूले व्यवहारमा पनि उतारिरहेका छन् त? स्थानीयतालाई प्राथमिकता दिइरहेको छ त? यहाँको शान्ति-शृङ्खला, सुरक्षालाई कायम राख्ने काम गरिरहेछ त? यहाँको प्राकृतिक सुन्दरतालाई बचाउने, यहाँको हरियालीलाई सुरक्षित राख्ने काम गरिरहेकै छन् त? सायद समय-समयमा यी कुराहरूलाई मध्यनजरमा राखेर निरीक्षण-भ्रमण तथा जाँचका लागि पनि सरकार पक्षले ध्यान दिए असल हुनेथियो होला। ठूला कम्पनी वा संस्थानहरू राज्यमा भित्रिनु भनेको अन्ततः राज्यको विकासकै रूपमा हेर्नसकिन्छ। तर त्यसबाट हुने नकारात्मक प्रभावहरूलाई ध्यान नदिए ती कुराहरूले नै यहाँ सुख, शान्ति र सुरक्षा भङ्ग नगर्ला त? यी नीजि कम्पनीहरूले जसले सिक्किम र सिक्किमे जनताको हितमा काम गर्दैनन् तिनीहरू विरुद्ध सरकारले ठोस कदम उठाउन आवश्यक छ।-21.02.2014