-अर्जुन यावा
सिक्किम सुन्दर छ अनि छ सानो, सुखी र सुरक्षित। त्यसैले पनि सिक्किमको नाम देश-विदेशसम्म लोकप्रिय बन्दै गइरहेको छ। यी सबैका कारण सिक्किमलाई पर्यटकीय गन्तब्यको रूपमा पनि उत्तिकै लोकप्रिय छ सिक्किम। सिक्किम उसै पनि प्राकृतिक सुन्दरताले भरिभराउ छ। चारैतिर हरियालीले पूर्ण, विश्वलाई लोभ्याउने कञ्चनजङ्गा, अग्ला-अग्ला पहाड-पर्वत, टिस्टा-रङ्गित आदिले जो कोहीको पनि मन त्यसै लोभिन स्वभाविक लाग्छ। सिक्किमलाई धार्मिक पर्यटकीय स्थलका अथवा तीर्थस्थलका रूपमा पनि जान्न सकिन्छ। यहाँका पर्यटकीय स्थलहरूको धेरै चर्चा पनि भइरहेकै छ। यस्तै एउटा मनमोहक पर्यटकीय स्थल तर चर्चामा त्यति आउन नसकेको सानो तर सुन्दर पर्यटकीय गन्तब्य हो तिन्चिम पोखरी।
मोला, तिन्चिम, तादोङ, राङ्गराङ र चाँदे वार्ड गरी पाँचवटा वार्ड मिलेर बनेको चिन्चिम-चाँदे ग्राम पञ्चायत एकाइ (जीपीयू)-अन्तरगर पर्ने यो तिन्चिम पोखरी सानो र खुबै सुन्दर छ। चिन्चिम-चाँदे जीपीयूका ग्राम विकास सहायक (आरडीए) श्री वाङ्गेल छिरिङ लेप्चाअनुसार नोभेम्बर-दिसम्बरको समय यो पोखरी अलिकति सुकेर सानो हुन्छ। तिनचिम पोखरीलाई हेर्ने हो भने पाँच पोखरीको रूपमा पनि जान्न सकिन्छ, किनभने जून-जुलाई-अगस्तको वर्षाको समयमा यस वरिपरि पाँचवटासम्म पोखरी हेर्न सकिन्छ। तर यसलाई चिन्न सकिने नाम भनेको ‘तिन्चिम’ नै हो। जून-जुलाईदेखि अगस्त-सितम्बरसम्म यहाँ पूरै पानी बपढेर आउँछ।
यहाँको अर्को मुख्य आकर्षणको रूपमा हेर्न सकिन्छ तिन्चिम गुम्बा। तिन्चिम-चाँदे जीपीयूकी उपाध्यक्ष सुश्री डोमा भोटियाअनुसार तिन्चिम गुम्बाको नामद्वारा चिन्न सकिने यो गुम्बाको नाम काल्जाङ मनिलागाङ गुम्बा हो। तिन्चिम-चाँदे वरिपरिमात्रै होइन यस वरिपरिका सबै बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा हेर्न सकिन्छ यस गुम्बालाई। काल्जाङ मनिलागाङ गुम्बादेखि बिस्तारै हिँडेर जानु हो भने दुई-अढाई मिनटको दूरीमा अवस्थित छ तिन्चिम पोखरी। काल्जाङ मनिलागाङ गुम्बादेखि यो पोखरीसम्म पुग्ने सीसी फुटपाथ बनाइएको छ। यहाँ बनाइएको सीसी फुटपाथले गुम्बा र पोखरीमाझको प्राकृतिक सुन्दरतामा थोरै कृतिमता थपिदिएको भान हुन्छ। यद्यपि, वर्षायाममा भने यसले मानिसहरूलाई धेरै सहयोग पुर्याउँछ। झण्डै खोलामा पुलले जस्तै। तर वर्षायाममा पानी यति धेरै बढेर आउँछ कि यो पोखरीसम्म पुग्न सजिलो होस भनेर बनाइएको सीसी फुटपाथभन्दा पनि माथिसम्म आउँछ। त्यतिबेला यो बाटो अथवा फुटपाथमा नानीहरू मात्रै होइन, ठूलै मानिसहरूलाई पनि आउ-जाउ गर्न निकै गाह्रो पर्ने बताउँछन् यहाँका पञ्चायत तथा स्थानीय मानिसहरू।
गान्तोकदेखि भज्र हुँदै टासी भ्यू पोइन्ट छिरेर कबी, फुदुङ, माङसिला, भएर लगभग दुईघण्टा लामो यात्रापछि तिन्चिम पुग्न सकिन्छ। तिन्चिम गाउँ पुगेपछि मुल सडक छोडेर तिन्चिम माध्यमिक स्कूसको बाटो उकालो वाहनमा झण्डै जश मिनटको यात्रा तय गरिसकेपछि पुग्न सकिन्छ तिम्चिम पोखरी। यहाँसम्म सजिलैसित वाहन पुग्न सक्छ। गान्तोकदेखि तिन्चिमसम्म पुग्ने बाटो अहिले सडक चौडादार गर्ने कार्य चलिरहेका हुनाले ठाउँ-ठाउँमा असजिलो भए पनि यहाँदेखि गुम्बासम्म आनन्दसित पुग्न सकिन्छ। मुल सडक छोडेर उकालो गुम्बातिर लाग्ने बित्तिकै यहाँको प्राकृतिक सुन्दरताले बिस्तारै मोहित पार्दै लान्छ। यहाँको सानो तर सफा सडक, छेउ-छेउमा उस्तै सुन्दर-सुन्दर चिटिक्क-चिटिक्क परेका घरहरू। यहाँका बासिन्दा विशेष आदिम जाती लेप्चा नै छन्। मन र व्यवहार दुवैले खुब मिलनसार र सहयोगी, जस्तो ठाउँको सुन्दरता।
तिन्चिम पोखरी पुगिसकेपछि पोखरीको सुन्दरताले वास्तवमै जो-कोहीलाई पनि मोहित गरिदिन्छ। कुनै ठूलो नदीको किनारा जस्तो पोखरीको वरिपरि ढुङ्गै-ढुङ्गा देखिन्छ। पोखरीको चारैतिर हरियालीपूर्ण जङ्गल। पोखरीको बारेमा भौगोलिक जानकारी गराउँदै आरडीए श्री वाङ्गेल छिरिङ लेप्चा भन्नुहुन्छ ‘यो पोखरी प्रायः 2.5 वर्ग-मिटरमा फैलिएको छ।’ उहाँअनुसार तिन्चिम पोखरीको दक्षिणतिर माङशिला गाउँ पर्छ। उत्तरतिर पर्छ मगन अथवा नजीकमा हो भने तिन्चिम, जताबाट गुम्बाको दर्शन गर्दै पोखरीसम्म पुगिन्छ भने पश्चिममा लोवर तादोङ र पूर्वतिर तिङजे पर्छ।
‘तिन्चिम पोखरीलाई धेरै साफसफाई पनि गर्नु हुँदैन।’ यहाँको लोकविश्वास हो। ‘यहाँ हो-हल्ला र फोहोर-मैला पनि गर्नु हुँदैन।’ यो यहाँको विश्वास हो। त्यसो गरिए यहाँ ठूलो हावा-हुण्डरी आउने, दिउँसै अन्धकार छाउने र मानिसहरूलाई आपदमा पार्ने बताउँछन् स्थानीयहरू। यद्यपि, हरेक वर्ष डुक्पा छेजीको समय गाउँका सबै मिलेर सफा गर्ने गर्छन्। डुक्पा छेजीको समय गुम्बासितै पोखरीमा पनि पाठ-पूजा गरिन्छ। तिन्चिम चाँदै जीपीयूकी उपाध्यक्ष डोमा भोटिया पनि भन्नु हुन्छ, हामी यसमा विशेष साफ-सफाइमा सहयोग पुर्याउने गर्छौं। डुक्पा छेजीको समयमा विशेष यो काम गरिन्छ। सबै साना-ठूला, आमा-बाबुले सहयोग पुर्याउँछन्। स्थानीय मानिसहरूअनुसार यो पोखरीलाई तीर्थस्थलको रूपमा पनि जानिन्छ। पोकरीमा माछा पनि छन्। पूजाको समय माछालाई चिउरा, मुरई जस्ता खानेकुराहरू चढाउने गरिन्छ। तर चोखो गरेर। आरडीए श्री वाङ्गेल छिरिङ लेप्चाअनुसार पहिला एकपल्ट यहाँ धेरै फोहोर-महिला भएकोले यो भेकले धेरै दुःख पाएको थियो।
पोखरीको मुल भागलाई यदि राम्ररी हेरिनु हो भने मान्छेको पाइतालाको छापको आकार पाउन सकिन्छ। तर पानी सुकेको समय यसलाई पनि दुई भाग देखिन्छ। पोखरीको यो मुल भाग गाडा नीलो रङको देखिन्छ भने यसको ठीक माथिल्लो पटि अथवा पूर्वभागमा अर्को सानो भाग छुट्टिएको पाइन्छ। त्यस भागको पानी मुल पोखरीको जस्तो नदेखिएर मटितेल जस्तो देखिन्छ। तर यो भाग भने निकै नै सानो छ।
दिसम्बर 2000-मा जाँदा सुनसान जङ्गलमाझ देखिएको यो पोखरी 15 वर्षपछि दिसम्बर 2000-मा जाँदा यस वरिपरि पर्यटकीय दृष्टिले धेरै विकसित भएको देखियो। पोखरीलाई पर्यटकीय दृष्टिले विकसित गराउन आम नागरिक पनि सचेत देखिन्छ भने सरकारी पहल पनि अघिबाटै भइसकेको थाहा लाग्दछ। गत 2013-14-को वित्तीय वर्षअन्तरत 5,8235 पोखरी परिसरमा क्याफेटेरिया तथा वेटिङ सेड निर्माण गरिएका छन्। तर अहिले यसको प्रयोग हुनसकेको देखिँदैन। यसका पछि पनि कारणहरू छन्। ती कारणहरूमध्ये पहिलो हो पर्यटकहरूको आउ-जाउ नहुनु। पर्यटकहरूको आउ-जाउ नहुनुको कारण यहाँ अन्य पर्यटकीय स्थलहरू छैनन्, यसका साथै चिन्चिम पोखरीबारे प्रचार-प्रसार पनि नभएको हुनसक्छ। अहिले यसको मरम्मति गर्न सकिए धेरै आकर्षित बन्न सक्नेछ। अहिलेसम्म यस कार्यमा स्थानीय वरिष्ठ नागरिक, युवावर्ग, पञ्चायत सबैले सक्दो सहयोग पुर्याइरहेको छ। 2013-14-कै वित्तीय वर्षअन्तरत 2,20,000-को लागतमा फोहोर-मैला प्रबन्धनका लागि ‘गार्वेज टेङ्क’ निर्माण गरिएको छ। माथी बसेर पोखरीको रमिता हेर्न सकिनेगरि सिमेन्टकै चौतारो पनि बनाइएको छ। यसका साथै यहाँसम्म पुग्नलाई जो-कोहीलाई पनि हिँड्न असजिलो नहोस भनेर सीसी फुटपाथ बनाइएको छ भने पोखरीको वरिपरि परिक्रमा गर्नेहरूका लागि पनि फुटपाथ बनाइएको छ। पोखरीको पूर्व दिशामा भ्यू-पोइन्ट पनि राखिएको छ, जहाँबाट पोखरीको राम्ररी अवलोकन गर्न सकिन्छ।
टाडाबाट तिन्चिम भ्रमण गर्न आउने, गुम्बाको दर्शनमा आउने अथवा पोखरीको अवलोकन गर्न चाहनेहरूको सुविधाका लागि यहाँ ‘होम-स्टे’ पनि बनाइएको छ। यति हुँदाहुँदै पनि तिन्चिम पोखरी पर्यटकीय गन्तव्यको रूपमा फस्टाउन नसकेको भान हुन्छ। राज्य सरकार र सम्बन्धित विभागले यसतर्फ उचित ध्यान पुर्याउन सके स्थानीय युवाहरूका लागि थोरै भए पनि आय-आर्जनको माध्यम बन्न सक्ने देखिन्छ तिन्चिम पोखरी। यसको लागि स्थानीय युवा, सचेत नागरिकवर्गको सहभागितामा अझ धेरै चासो बड्न पनि उत्तिकै आवश्यक हुन्छ।24.12.2015