Wednesday, January 6, 2016

POURAKHI MADAN YUVAHARUKAA PRERNA

पौरखी मदन युवाहरूका प्रेरणा

पौरख गर्नेहरूका लागि जीवन धान्ने उपाय नै परिश्रम हुन्छ। परिश्रम गरे यहाँ के हुँदैन र! ज्ञात भइरहेको होस् या नहोस्, पौरखी हातहरू सधैँ देशको गौरव पनि बनिरहेको हुन्छ। देशको मान, मर्यादा सबै बचाइराखेका हुन्छ। किनभने, पौरखबिना कुनै कुराको विकास हुनसक्दैन। विकास नभएसम्म कुनै समाज वा राष्ट्र अघि बड्नसकेको हुँदैन। पौरखी र पौरख कै सन्दर्भमा कुरा गर्दा कृषक र कृषि क्षेत्रको उल्लेख पहिले हुनुपर्ने जस्तो लाग्छ। औद्योगिक क्षेत्रमा धेरै विकास गरिसकेको भएपनि विकासशील राष्ट्रका रूपमा जानिन्छ भारतलाई। यहाँको कृषि क्षेत्र 60.3 प्रतिशत रहेको छ, जसअन्तर्गत सिक्किमलाई पनि राख्नसकिन्छ।
सिक्किम अब केहीदिनपछि नै जैविक राज्य घोषित हुने तय छ। त्यसैको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदी 18 जनवरी 2016-मा सिक्विकिम आउने भएका छन्। विश्वकै कृषि उत्पादन क्षेत्र घट्दै गइरहेको समय सिक्किम जैविक खेतीमा देशमा मात्रै होइन विश्‍वमै उदाहरणीय बनिरहेको छ। जैविक खेतीलाई नै थप टेवा पुर्‍याउँदै आत्मनिर्भर र स्वावलम्बी बन्ने सफल पहल गरिरहेका एक युवाका रूपमा चिन्न सकिन्छ दक्षिण सिक्किमको पाबोङ निवासी मदन कुमार बजगाईंलाई। विश्‍वका हरेक समाजमा पाउन सकिन्छ शिक्षित बेरोगार युवाहरू। आफूले शिक्षार्जन गरेअनुसारको नोकरी नपाउनु, पाएको नोकरी गर्न लाज हुनु, प्रतिदिन आफ्नो जिम्मेवारी बढेर जानु, समाजमा अरुको दाँजोमा हिँड्न नसक्नु जस्ता कुराहरूले आज युवापिँढी भौंतारिरहेका हुन्छन्, निराश भइरहेका हुन्छन्। आफूमा भएका योग्यता-दक्षताहरूको सदुपयोगसितै कृषि क्षेत्रलाई पनि अप्नाएर यस्तो स्थितिबाट माथि उठ्न सकिँदोरहेछ भन्ने उदाहरण दिएका छन् मदन कुमार बजगाईंले। नाम्फिङ ग्राम विकास एकाइअन्तरगत पर्ने बर्मेक-पाबोङ निवासी मदन कुमार बजगाईंले सरकारी नोकरी गर्नेहरूसरह यहाँ पनि मान-सम्मानसित बाँच्न सकिँदोरहेछ भन्ने उदाहरण पनि दिइरहेका छन्।
38 वर्षीय मदन कुमार बजगाईंको आफ्नी धर्मपत्नी, दुई सन्तानलगायतका 8 जनाको परिवार छ। बाह्रौं श्रेणीसम्मको औपचारिक अध्ययनपश्‍चात उनी घरको जिम्मेवारी वहनतिर लागि परेका हुन्। औपचारिक शिक्षासितै उनले राज्य सरकारको आयोजनमा जैविक खेतीबारे पनि वर्ष 2010-मै तीनमहिनाको सामान्या तालिम लिएका छन्। जैविक खेती तालिमले धेरै सहयोग भइरहेको उनी बताउँछन्। उनी भन्छन्, ‘बाउ-आमाले पनि यही जैविक खेती गर्थे। रसायनिक मल-जलको प्रयोगले बारी बिग्रिन्छ, स्वास्थ्यको निम्ति पनि उपयोगि हुँदैन। त्यसैले बाउ-आमाले गर्दै ल्याएको जैविक खेती नै राम्रो लाग्छ।’ मदन कुमार बजगाईँले अहिले लगभग एक ऐकर जमीनमा विभिन्न साग-सब्जीको खेती लगाएका छन्। यसबाहेक एक ऐकर जमीनमा अलैंची लगाएका छन्। उनी भन्छन्, ‘यहाँ अदुवा राम्रो हुन्छ। खोर्सानीले पनि राम्रो आमदानी हुन्छ। साग-सब्जी प्राय सबै राम्रो हुन्छ।’ उनले विशेष अलैंची र कोपी, अलैंची र सुन्तला अनि अलैंची र केराको मिक्स क्रपिङको राम्रो प्रयास पनि गरिरहेका छन्। मिक्स क्रपिङलाई लिएर उनी भन्छन्, ‘अहिलेसम्मको प्रयासमा यो फलदायी नै पाएको छु।’ उनले सरकारको बागवाणी विभागद्वारा प्राप्त ‘ग्रीन हाउस’-मा पनि बेमौसमी साग-सब्जीहरू उमारेर उपभोक्ताहरूसम्म पुर्‍याइरहेका छन् आय-आर्जन पनि गरिरहेका छन्।
‘ग्रीन हाउसमा विशेष ब्रू-काउली, फूलकोपी, बन्दाकोपी, टमाटर, खोर्सानी आदि पालैपालो फलाउने गरेको छु’, उनी भन्छन्। फल-फूलहरूमा केरा र सुन्तोलाबाहेक आधी ऐकर जमीनमा बागवाणी विभाग र मनरेगाद्वारा प्राप्त अलाहबाद प्रजातिको अम्बक पनि लगाएका छन् भनेे मनरेगाअन्तरगत उपलब्ध गराइएको लिची र वन विभागद्वारा प्रदान गरिएको रुख अमला पनि रोपेका छन्। उनी भन्छन्, ‘रुख अमला एउटा हर्वल प्लान्ट हो अनि यो पूर्ण जैविक छ। यसमा कुनै रसायनिक मलको प्रयोग गरिएको छैन।’ तर अहिले यो भर्खरै बड्दै गरेको उनले बताएका छन्। समय दैनिकसितको भेटवार्तामा उनी भन्छन्, ‘प्राय जमीन कतै खाली छोडेको छुइनँ। कतै बाँजो राखेको छुइनँ। गाउँमा एमजीनरेगाको काम पनि हेर्छु। त्यसबाहेक समय निकालेर आफ्नै बारीमा आफ्नै खुशीसाथ खेती गर्छु।’ सरकारी नोकरीको अभावमा युवाहरू भौंतारीरहेको विषय प्रश्‍न गर्दा उनी भन्छन्, ‘हो, मसित पनि सरकारी नोकरी छैन। तर सरकारी नोकरी छैन भनेर सोचेर बसिरहने मलाई फुर्सद पनि हुँदैन। नोकरी भए राम्रै हो, तर मैले जो गरिरहेको छु त्यसमा सन्तुष्ट छु।’
राज्यमा अहिले जैविक खेतीलाई धेरै महत्व दिइरहेको र सरकारले पनि यसतर्फ विशेष पहल गरिरहेको कुरामा उनी भन्छन्, ‘मलाई लाग्छ, मुख्यममन्त्री पवन चामलिङको नेतृत्वमा सिक्किम सरकारले शुरू गरेको अर्गेनिक खेती र ग्रीन मिसन संसारकै उदाहरणीय अनि प्रशंसनीय पहल हो। आफ्नो समाज, राज्य र राष्ट्रको निम्ति दूरदर्शी विचार राख्नसक्नेले मात्रै यस्तो इनोभेटिव विचारलाई व्यावहारिक रूप दिनसक्छन्।’ उनी थप भन्छन्, ‘यो संसारकै निम्ति उत्तम कार्य भइरहेको छ। मुख्यमन्त्रीको सोचसित म साह्रै प्रभावित छु। यसले हाम्रो माटोलाई उर्वरक बनाउँछ, हाम्रो जीवन स्वस्थ बन्नेछ, बेरोजगारीको समस्या न्यून गराउनेछ। त्यसैले सबै सिक्किमे युवाहरूले यो सोचलाई साकार पार्न साथ दिनुपर्छ।’ मदन कुमार बजगाईं वर्तमानमा विश्‍वले भोगिरहेको समस्यासित पनि राम्ररी सचेत छन्। त्यसैले ती समस्याहरूबाट बाँच्ने उपायका रूपमा पनि जैविक खेतीलाई हेरेका छन्। उनी भन्छन्, ‘विश्‍वमै प्रतिदिन जनसंख्य बड्दो छ। बड्दो जनसंख्यासितै रोजगारीको समस्या पनि बड्ने निश्‍चित छ। त्यसैले अब सबैले रोजगारी पाउँछ नै भन्ने छैन। समयमै यी कुराहरू बुझेर आफैलाई तयार गर्नसक्नुपर्ने समय हो यो। त्यसैले बारी पनि नबिग्रिने, स्वास्थको निम्ति पनि फाइदाजनक जैविक खेती गर्नु उचित लागेको हो मलाई। नभए भावी पिँढीले हामीलाई नै धिक्कार्छ।’
वर्तमानमा कृषि क्षेत्रलाई आफ्नो मुख्य आयश्रोत मानिरहेका मदन कुमार बजगाईंले अहिले प्रतिवर्ष अलैंचीबाट 75-76 हजार रुपियाँ, अदुवाबाट 50 हजार अनि साग-सब्जीबाट घरमा प्रयोग गरेर पनि 30 हजार रुपियाँसम्मको विक्री गरिरहेका छन्। यस हिसाबले पनि उनले वर्षमा एकलाख 55-56 हजार रुपियाँसम्मको सागसब्जी, अदुवा, अलैंची आदि बेच्ने गरेका छन्। उनी भन्छन्, ‘तर अहिले अलैंची, केरा, अम्बक र सुन्तलाबाट भनेजति आय-आर्जन हुन सकेको छैन। उच्चप्रजातीका विरुवाहरू पनि अझै लगाइरहेको छु। यसबाट भविष्यमा अझ राम्रो हुने आशा छ।’ खेती-उब्जनी गर्नेहरूका लागि मुख्य समस्या भनेको विक्री-वितरण हुनेगर्छ। यद्यपि, मदन कुमार बजगाईंका लागि यसमा पनि कुनै समस्या छैन। उनी भन्छन्, ‘जैविक उत्पादन भएकाले मलाई विक्रीको निम्ति कुनै समस्या छैन। पहिले-पहिले बजारसम्म पुर्‍याउनु पर्थ्यो। अहिले ‘रोडसाइड’-मा आफै पनि विक्री गर्छु। अझ हिँजाज त फोन छ। घर-घरमै सडक आइपुगेको छ। सबैलाई सजिलो भएको छ। बारीबाटै उठाएर लान्छन्। केही सुर्ता छैन। अर्गेनिक भएकोले दाम लगाउन पनि मानिसहरू हिचकिचाउँदैनन्’ तर उनलाई चिन्ता छ भने त्यो हो ग्राहक अथवा उपभोक्ताको माग (डिमाण्ड) पूरा गर्नु गाह्रो छ।
सिक्किम चाँडै ‘अर्गेनिक स्टेट’ घोषित हुनेभएको सुनेर खुशी व्यक्त गर्छन् उनी, तर त्यसपछि ‘यदि विश्‍वस्तरमा जैविक उत्पादनको मागप्रति सिक्किमको जिम्मेवारी भए कसरी पूरा गर्ने?’ उल्टै प्रश्‍न गर्छन् मदन कुमार बजगाईं। उनी भन्न खोजिरहेका थिए, शिक्षित युवाहरूले अब यसतर्फ ध्यान दिनुपर्छ अनि स्वयं लागि पर्नुपर्छ। उनले अहिले झेलिरहेको समस्या पनि ‘डिमाण्ड फुलफिल’ गर्न नसक्नु नै हो। अहिलेसम्ममा आफूले प्राप्त गरिरहेको सफलताका लागि उनी पञ्चायत र विभागसित पनि कृतज्ञ छन्। सबैको सहयोग, सुझाउ-सल्लाहकै कारण आज उनले यतिसम्म गर्नसकिरहेको बताउँछन्। उनी भन्छन्, ‘सरकारले प्रसस्तै सुविधा, सहुलियतहरू दिइरहेको छ। खोज्नुपर्छ। पकाइदिएको गाँस आफै लगाउनुपर्छ।’ उनले ग्रीन हाउस, पानीको ट्याङ्की, बिउ-विजन आवश्यक कुराहरू सबै प्राप्त भएको बताउँछन्। तर, कतिले पाएर पनि अवसरहरूलाई सदुपयोग गर्न नसकिरहेकोमा चिन्ता व्यक्त गर्छन् उनी।
जैविक खेतीमा सफल बन्दै अघि बढिरहेका मदन कुमार बजगाईंले कम्प्युटरको सामान्य व्यावहारिक ज्ञान पनि लिएका छन्। गाउँमै आफ्नो सानो डीपीपी सेन्टर राखेका छन्। मनरेगा र खेती-बारीको कामबाट निकालेको समयलाई त्यहाँ पनि खर्च गरिरहेका छन्। विद्यार्थीहरूको प्रोजेक्ट वर्क, टाइपिङ, फोटो प्रिन्ट जस्ता स-साना कामहरूबाट पनि आयवृद्धि गर्नसकिरहेको उनको भनाइ छ। यस विषयमा भन्छन्, ‘गाउँमा नानीहरूले कम्प्युटर विषय निकै चासो राख्ने गरेका छन्। डोको बोकेर हिँड्ने हामी कम्प्युटर र इन्टरनेटतिर ध्यान दिएर त्यसलाई राम्रो कार्यमा प्रयोग पनि गर्न सके राम्रो हो।’ अहिलेसम्म तर गाउँमा कुनै कम्प्युटर तालिम केन्द्र नरहेकोले कुनै प्रकारले एउटा सेन्टर खोल्न सकिए असल हुने विचार व्यक्त गर्छन् उनी। साँच्चै मदन कुमार बजगाईं पौरखी छन्। पौरखी मदन युवाहरूका प्रेरणा बनेर अघि बढिरहेका छन्।
स्मरणीय, जैविक खेतीबारे 2010-मै तालिम प्राप्त गरेका मदन कुमार बजगाईंले सरम्सा रानीपुलमा आयोजित ‘अन्तरराष्ट्रिय पुष्प उत्सव 2013’, ‘स्टेक एग्रि-हर्टी शो 2014’ आदि विभिन्न उत्सवहरूमा प्रदर्शनी स्टल राखिसकेका छन्। उनले ‘खरिव किसान मेला 2008’-मा तेस्रो पुरस्कार अनि ‘रिजनल एग्रिकल्चर फेयर 2008’-मा शान्तवना पुरस्कार प्राप्त गरिसकेका छन्। यसबाहेक पनि अन्य धेरै प्रदर्शनीहरूमा भाग लिइसकेका छन्।-06:01:2016