Friday, August 2, 2019

‘अटल भण्डारी’ लोकार्पण समारोहका सम्झनाहरू

-अर्जुन राई
5 अक्टोबर, 1940-मा मालबाँसे, सोरेङ, पश्‍चिम सिक्किममा जन्मिएका नरबहादुर भण्डारी बितेको दुईवर्ष भइसक्यो। सिक्किमको राजनीतिमा एउटा अलग्गै शिखर बनेका उनलाई आधुनिक सिक्किमका अभियन्ताको उपाधिले पनि चिन्ने गरेको छ सिक्किमले। पहिलोपल्ट 18 अक्टोबर, 1979 देखि 11 मई, 1984 सम्म अनि पछि 1 मार्च, 1985 देखि निरन्तर 17 जून, 1994 सम्म सिक्किमका मुख्यमन्त्रीको पदभार सम्हाल्दै धेरै ऐतिहासिक कार्यहरू गर्नका साथै उनको नेपाली भाषालाई देशमा संवैधानिक मान्यता प्राप्त गराउनुमा पनि मुख्य भूमिका रहेको छ। 16 जुलाई, 2017-मा 76 वर्षको उमेरमा उनले आफ्ना सम्पूर्ण परिवारसितै सम्पूर्ण सिक्किमेली जनसमुदायलाई छोड़ेर गए, सम्पूर्ण नेपाली भाषीहरूबाट विदा भएर गए। तर, उनी सधैँ सबैको मन-मस्तिष्कमा बसिरहे। उनले गरेका कार्यहरू कति बिर्सियौं हामीले अनि कति अहिले पनि ज्यूका त्यूँ छन्। उनी बितेर गए, तर उनका सम्झना अहिले पनि आलै छन्। उनका कर्महरूसितै उनी बाँचिरहेछन्। तर, उनका कार्यहरू, उनले राज्य र देशलाई पुर्‍याएका योगदानलाई केवल सम्झनामा होइन दस्तावेजमा राख्नु जरुरी थियो। त्यसैर त उनको दोस्रो पुण्यतिथि 16 जुलाई, 2019-को दिनलाई अविस्मरणीय बनाइयो।  उनको स्मृतिमा ग्रन्थ नै सार्वजनिक गरियो। देहरादुन, बनारस, असम, डुवर्स, कालेबुङ, दार्जीलिङ, सिलगढीलगायत सिक्किमका विभिन्न क्षेत्रसितै देशभरिका सर्जक, साहित्यिक व्यक्तित्व, विद्वत्जन त्यसका साक्षी बने। ‘अटल भण्डारी’ लोकार्पण समारोह-का केही सम्झनाका कुराहरू यहाँ साझा गर्ने प्रयास गरिरहेछु।
वरिष्ठ साहित्यकार एवं पत्रकार श्री अर्जुन पीयूषको कुशल सम्पादनमा तयार गरिएको ‘अटल भण्डारी’ नरबहादुर भण्डारी स्मृतिग्रन्थ विमोचन गरिने कुरा निक्कै अघिदेखि चलिरहेको थियो, जसलाई प्रकाशन गरिरहेको थियो नरबहादुर भण्डारीले नै शुरु गरेको ‘अर्चना् प्रकाशन’, गान्तोकले। सम्भवतः दशौं सिक्किम विधानसभा तथा 17 लोकसभा चुनाउअघि नै ग्रन्थ आइपुग्ने सम्पादक श्री पीयूषबाट सुनिरहेको थिएँ। त्यसको लोकार्पण चाँड़ै गर्ने प्रयासमा हुनुहुन्थ्यो उहाँ। ‘अर्चना प्रकाशन’ र भण्डारी परिवारले ठूलो जिम्मेवारी लिइरहेका थिए। तर, सबै कुरा भनेजस्तो र सोचेजस्तो हुन्न। त्यसो भएर पनि ‘ढिलै होस्, छोरै होस्’ भनेजस्तै भयो ‘अटल भण्डारी’ लोकार्पण समारोह। स्वयं पूर्व सांसद श्रीमती डीके भण्डारी र सम्पूर्ण भण्डारी परिवार, अर्चना प्रकाशन, सम्पादक श्री अर्जुन पीयूष र समारोह समितिले जति र जुन स्तरमा कार्यक्रम सम्पन्न हुने सोचेका थिए, सायद त्योभन्दा अझ भव्यतापूर्ण नै भयो। आगन्तुक-अतिथिगणले कार्यक्रम जस्तो हुनुपर्ने सोचेका थिए, अथवा जस्तो हुनेसक्ने वा हुने सोचिरहेका थिए, आशा गरिरहेका थिए निश्‍चय पनि त्योभन्दा धेरै माथिल्लो तहसम्म पाएका थिए कार्यक्रम सम्पन्न भइसक्दा। साँच्चै राष्ट्रियस्तरको यति भव्य कार्यक्रम तोकिएको समयमा शुरु भएर तोकिएको समयमा नै सम्पन्न हुनु ख्यालठट्टा थिएन। यसका निम्ति मलाई लाग्छ, कार्यक्रम आयोजक पक्षमात्रै होइन 16 जुलाई, 2019-को दिन ‘चिन्तन भवन’-मा उपस्थित सम्पूर्ण नै धन्यवाद र बधाईका पात्र-पात्रा हुन्।
...
सानासाना कामहरूले व्यस्त बनाइराख्ने भए पनि आफ्ना अग्रजको कुरालाई काट्न नसकेपछि म पनि पुगेको थिएँ ‘प्रिमुला कटेज’, चर्च रोड, गान्तोकमा सम्पन्न पहिलो सभामा। स्वयं सम्पादक अर्जुन पीयूषले प्रत्यक्ष भेट र फोनमार्फत् पनि भन्नुभएको थियो- ‘अटल भण्डारी आइपुग्यो। लोकार्पणको कुरा चल्दैछ। एउटा समिति नै बनाउने भएका छौं। आउनुपर्छ है।’
पूर्व लोकसभा सांसद श्रीमती डीके भण्डारीको अध्यक्षतामा 20 जून, 2019-को दिन सम्पन्न सभाले ‘नरबहादुर भण्डारी स्मृतिग्रन्थ विमोचन समारोह समिति’ भनेर एउटा समिति-सदस्यहरूको सूची तयार गर्‍यो। अध्यक्ष- दिलकुमारी भण्डारी, कार्यकारी अध्यक्ष- जोसेफ लेप्चा, उपाध्यक्ष राज के श्रेष्ठ र  अनिता निरौला, महासचिव-  चुनिलाल घिमिरे, संयुक्त सचिव- राजेन्द्र प्रधान र भीम रावत, कोषाध्यक्ष- प्रिमुला भण्डारी, संयुक्त कोषाध्यक्ष- रूपा तामाङ र निरेन भण्डारी, प्रचार-प्रसार प्रभारी- कविता शर्मा, अम्बर लाछिकाठी, एसबी कार्की, अर्जुन यावा र झरना शर्मा, प्रमुख सल्लाहकार- प्रद्मुम्न श्रेष्ठ र प्रमुख संयोजक- अर्जुन पीयूष। यति थियौं हामी मुल समितिमा।
यसबाहेक पनि कार्यकारिणी सदस्यहरूमा विजयकुमार सुब्बा, डीबी बस्नेत, नीलम न्यौपाने, नवराज तिवारी, एनपीएस निरौला, एनएल कपिल, जीविका अश्रु, राधा पाण्डे, ललित लोहार, दीपा राई, भीम प्रधान, विष्णु न्यौपाने, मुना बराल, टीका ढुङ्गेल, कुबेर विष्ट, साहिद हुसेन, पारिजात शर्मा, ममता शर्मा, रवि पौड्याल, कृष्णा कृति, प्रणिता घिमिरे, तिमोथी राई, प्रदीप रसाइली, भूमिष्ट शर्मा, नैनाकला शर्मा, कल्पना शर्मा, मनिषा पाण्डे आदि रहेका थिए। यसबाहेक खुश्बू छेत्री, भक्ति शर्मा, लुइस विष्ट आदिले पनि सक्रियतापूर्वक सहयोग पुर्‍याएका थिए।
पहिलो सभामा चयनित समिति सदस्यहरूमाझ पुनः दोस्रो सभा राखिएको थियो 29 जून, 2019-को प्रिमुला कटेजमा, जसलाई अध्यक्षता गर्नुभएको थियो जोसेफ लेप्चाले। त्यसपछि 14 र 15 जुलाईमा पनि धेरैजना सदस्यबीच पुनः भेटघाट भयो। यसबीच धेरैले समय दिन सकेनन्, जसमा यो कलमकार पनि पर्दछ। पहिलो र दोस्रो सभाको समय ‘चिन्तन भवन सानो हुन्छ होला’ भन्ने चर्चा भएको थियो। अन्तमा धेरैवटा पक्षलाई ध्यानमा राखेपछि ‘चिन्तन भवनमै कार्यक्रम गर्नुपर्छ’ भन्ने निर्णय भएको थियो।
...
16 जुलाई, 2019-को दिन चिन्तन भवनका प्रायःजसो चौकीहरू भरिँदै थिए। कार्यक्रम सञ्चालिका श्रीमती अनिता निरौला अनुभवले परिपक्व। त्यसैले उनी केवल सञ्चालिका मात्रै थिइनन्। कसको के जिम्मेवारी छ, कहाँ के कमी हुँदैछ, कहाँ कसलाई के चाहिएको छ आदि-इत्यादिको निर्क्योलसम्म गरिरहेकी थिइन्। उनीलगायक अन्य सदस्यहरू उत्तिकै चङ्खो-चनाखो देखिन्थे। ‘अटल भण्डारी’ लोकार्पण समारोहमा कुनै प्रकारको कमजोरी, असफलता वा साना-साना त्रुटिहरू भइदिए केवल आयोजन समितिको होइन तर समग्र सिक्किमको इज्जतको कुरा थियो। सिक्किमले भुतपूर्व मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीजस्ता व्यक्तित्वलाई कति सम्मान गर्दछ भन्ने प्रश्‍न पनि थियो।
चौकी-चौकीमा लेखिएका थिए स्मृति ग्रन्थभित्र परेका लेखक-लेखिकाहरूका नाम। हामी आयोजक समिति सदस्यहरूले आगन्तुकहरूलाई त्यहीअनुसार आसन व्यवस्था मिलाइरहेका थियौं। यस प्रकारको नौलो अनुभव भइरहेका हुनाले पहिले थोरै हचपच भए झैं देखिए पनि श्री निरेन भण्डारी निक्कै सजग देखिन्थे। त्यसैले निक्कै सहज भयो।
कार्यक्रम शुरु हुने समय लगभग भइसकेको थियो। मुख्य अतिथि राज्यपाल श्री गङ्गाप्रसादको आगमनअघि नै विशिष्ठ अतिथिद्वय मुख्यमन्त्री श्री पीएस तामाङ र विधानसभा अध्यक्ष श्री एलबी दास मञ्चमा आसीन हुनुहुन्थ्यो। यतिबेलासम्म चिन्तन भवनको पछिल्लो लहरमा राखिएका चौकीहरू खाली देखिन्थे। हामी एक-दुई सदस्य थोरै डराएका थियौं। ‘लास्ट लाइनतिर त भरिँदैन कि क्या हौ...?’ एकजना कसैले भनेका थिए।
समारोह आयोजन समितिकी अध्यक्ष श्रीमती दिलकुमारी भण्डारीको अध्यक्षतामा कार्यक्रम जस्तो शुरु भयो पछिल्लो लहरका चौकीहरूले पनि पुग्न छोड्यो। बाहिरबाट हामीले चौकी ल्याएर थप्ने काम गर्‍यौं। त्यतिले पनि पुगेन। धेरैजनाले ठिङ्ग उभिएरै पनि कार्यक्रमको चाख लिए। सबैभन्दा खुशीको कुरा त शुरुदेखि कार्यक्रमको अन्तसम्म सम्पूर्ण आगन्तुक छपक्क बसेका थिए। गान्तोकमा कतिपय कार्यक्रममा धन्यवाद ज्ञापनको क्रममा आधासरो चौकी रित्तिसकेका हुन्छन्। 16 जुलाई, 2019-को दिन चिन्तन भवनको कार्यक्रम सकिँदा पनि सायदै एउटा-दुईवटाबाहेक कुनै चौकी खाली थिएनन्। यसलाई आयोजिक पक्षको सफलता हो भन्ने लागेको छ।
स्व. नरबहादुर भण्डारीकी नातिनी मनिषा भण्डारीको मीठो स्वागत सम्बोधनबाट शुरु भएको कार्यक्रममा युवा गायिका रेमन्ती राईद्वारा प्रस्तुत गणेश वन्दनाले धेरैको ध्यान खिँचेको थियो। ‘स्मृतिगन्थ लोकार्पण’ कार्यक्रमकै मुख्य आकर्षण थियो। तर, स्मृतिग्रन्थका लेखक-सर्जकहरूलाई सम्मान जनाउँदै ‘स्मृतिग्रन्थ’ हस्तान्तरणको कार्यक्रमले लामो समय लिनसक्ने र कार्यक्रम लम्बियो भने कार्यक्रमको रौनकता नै हराउनसक्ला भन्ने धेरैलाई चिन्ता थियो। यद्यपि, सञ्चालिकाद्वारा यो कार्यक्रम पनि यति कौशलतापूर्व सम्पन्न भयो, यति चातुर्यताका साथ सम्पन्न भयो कि मञ्चमा 70-75 जना सर्जकहरूलाई सम्मान जनाइएको र स्मृतिग्रन्थ प्रदान गरिसकिएको पत्तै पाइएन। यो सबै सञ्चालिका अनिता निरौलाको पूर्व अनुभव र गृहकार्यसितै तक्निकीय सहयोगीहरूको सुपरिणम थियो।
समग्र कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित मुख्यमन्त्री श्री पीएस तामाङको घोषणालाई कार्यक्रमकै अर्को मुख्य समफलता मान्न सकिन्छ। उनले  मुख्य तीनवटा घोषणा गरेका छन्। पहिलो- ‘अटल भण्डारी’ नरबहादुर भण्डारी स्मृतिग्रन्थ सरकारले किनिदिने अनि राज्यका प्रत्येक स्कूल, महाविद्यालय, विश्‍वविद्यालय, पुस्तकालयादिमा पुर्‍याउने। दोस्रो- सरकारले सिक्किमका दोस्रो मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीको सालिग निर्माण गरिदिने अनि तेस्रो- नरबहादुर भण्डारीको जन्मदिन 5 अक्टोबरको दिन सरकारी छुट्टीको घोषणा। यी तीनवटा घोषणामध्ये दोस्रो घोषणाका लागि ‘अटल भण्डारी’-का सम्पादक श्री अर्जुन पीयूषलाई यो लेखमार्फत् नै बधाई-धन्यवाद दिन चाहन्छु। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सम्पादक पीयूषले राखेको प्रस्तावलाई ध्यानमा राख्दै मुख्यमन्त्री पीएस तामाङले यो घोषणा गरेका थिए। यी घोषणाहरूले भविष्यमा भुतपूर्व मुख्यमन्त्री स्व. नरबादुर भण्डारी को थिए, कस्ता थिए, के-के गरेका थिए आदि-इत्यादि कुराहरू बुझ्न आउने पिँढ़ीका लागि थप सहयोग हुनेछ। अर्को कुरा, स्मृतिग्रन्थ लोकार्पण समारोह सफलतापूर्वक सम्पन्न हुनुको पछाड़ि समारोहका वक्ताहरूलाई पनि उत्तिकै श्रेय जाँदछ। मुख्य अतिथि-राज्यपाल र विशिष्ट अतिथि- मुख्यमन्त्रीको साथमा सभाध्यक्ष, स्मृतिग्रन्थका समापदक र समीक्षक श्री दीपक तिवारी सबैले समयलाई ध्यानमा राखेर आफ्नो वक्तव्य राख्नुलाई पनि धेरैले कार्यक्रम सफल हुनुको एउटा कारण मानेका छन्। त्यसदिनको कार्यक्रममा मुख्यमन्त्रीले स्व. नरबहादुर भण्डारी मुख्यमन्त्री हुँदा उनी आफूले भर्खर कलेजको अध्ययन सिद्ध्याएको र 1979-मा पहिलोपल्ट भेट भएदेखि 4 अप्रेल, 2017-मा अन्तिम भेट भएसम्मका कुराहरू, नरबहादुर भण्डारीसितको सम्बन्धका कुराहरू, उनले गरेका कार्यहरू आदि समग्रह विषयलाई कुल 16.48 मिनटको सम्बोधनमा मुख्यमन्त्री तामाङले समेटेका थिए। मुख्यमन्त्रीको सम्बोधनको तुलनामा महासचिव श्री चुनिलाल घिमिरेले धन्वाद ज्ञापनमा अलिकति समय लिएका थिए। यद्यपि, धेरै कुराको जानकारी भने पाउनसकेकाले सबैका लागि लाभदायक थियो।
‘अटल भण्डारी’ स्मृतिग्रन्थ आफैमा एउटा ऐतिहासिक कार्य भएको छ भने यसको लोकार्पण समारोहले अर्को ऐतिहासिकता कायम गरेको छ। यद्यपि, स्व. नरबहादुर भण्डारीलाई गर्नु कार्यहरू अझै थपिँदै गएको, उनलाई लिएर हामीले निर्वाहगर्नुपर्ने जिम्मेवारी अझ बढ़ेको आभाष पनि भइरहेको छ। यतिबेला ‘नरबहादुर भण्डारी स्मृतिग्रन्थ विमोचन समारोह समिति’ 19 जुलाई 2019-को दिन विघटन भइसकेको छ। यो समिति विघटन जरुरी पनि थियो। तर, स्व. नरबहादुर भण्डारीलाई लिएर सरकारको तर्फबाट जुन घोषणाहरू मुख्यमन्त्रीले गरेका छन्, त्यस कुरालाई लिएर पनि फेरि एकपल्ट सबै अग्रसर रहने आशा, भरोसा र विश्‍वास छ।

नेपाली भाषाले संवैधानिक मान्यता पाउनु भारतभरि छरिएर बसेका नेपालीको नागरिकता हो - श्रीमती भण्डारी

नोट- सिक्किमकी पूर्व लोकसभा सांसद श्रीमती दिलकुमारी भण्डारीको अध्यक्षतामा गत 16 जुलाई, 2019-को दिन चिन्तन भवन, गान्तोकमा साहित्यकार एवं पत्रकार श्री अर्जुन पीयूषद्वारा सम्पादित सिक्किमका भूतपूर्व मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीको स्मृतिग्रन्थ ‘अटल भण्डारी’ लोकार्पण समारोह सम्पन्न भएको थियो। राज्यपाल श्री गंगा प्रसादको मुख्य आतिथ्य एवं मुख्यमन्त्री श्री पीएस तामाङको विशिष्ठ आतिथ्यमा सम्पन्न समारोहको आयोजन समिति अध्यक्ष पनि रहेकी श्रीमती दिलकुमारी भण्डारीको सम्बोधनलाई यहाँ जस्ताको तस्तै राख्ने प्रयास गरिरहेको छु।-अर्जुन यावा


गुरु र ब्रह्म गुरु र विष्णु गुरु देव महेश्‍वर
गुरु साक्षात परमब्रह्म तसमय श्री गुरुवे नमः
आज गुरु पूर्णिमाको दिन परेछ। यो संयोगवश नै परेको भन्छु। हामीले जब आजको दिनलाई यो स्मृतिग्रन्थ लोकार्पणको दिन तोकेका थियौं, त्यस समय श्रीमान भण्डारीले आफ्नो नश्‍वर देह त्यागेर इहलोकमा जानुभएको दिन सम्झेर यो दिन तोेकेका थियौं। तर आज गुरु पूर्णिमा पनि परेछ। यो पुनीत दिवस संयोगवश जुटेछ। हामी खोलाको छेउमा, बाटोको छेउमा राम्रो ढुङ्गा देख्यौं भने पनि त्यो ढुङ्गा टिपेर, सिन्दुर लगाएर भगवान मानेर (भनेर) पुज्ने जाति। ठूला-बड़ालाई भगवान सम्झेर ढोग गर्ने जाति। आज यहाँ तपाईंहरू वर्षा याममा भल-बाढ़ी के नभनी यो ठाउँमा उपस्थित भइदिनुभएको छ। तपाईंहरू सबै-सबै, प्राज्ञहरू हुनुहुन्छ, मेरा अग्रजहरू हुनुहुन्छ, साहित्यकारहरू हुनुहुन्छ, अनुजहरू हुनुहुन्छ, सबै सबैलाई गुरु नै सम्झेर पहिला म नमन गर्दछु।
अटल भण्डारी स्मृतिग्रन्थ सार्वजनीकरणको यो कार्यक्रममा हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी कार्यक्रमको गरिमा बढ़ाइदिनुहुने सिक्किमका माननीय राज्यपाल महोदय श्री गङ्गाप्रसाजज्यू, आफ्ना अति व्यस्त कार्यक्रमहरू छोड़ेर हामीमाझ आफ्नो ओजस्वी उपस्थिति दिनुहुने सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङज्यू, सिक्किम विधानसभाका माननीय अध्यक्ष श्री एलबी दासज्यू, माननीय मन्त्रीगण, विधायकगण, हामीसित हाम्रा गौरव पद्मश्री सानु लामाज्यू हुनुहुन्छ, उहाँलाई पनि सम्बोधन गर्न चाहन्छु। म देख्दै थिएँ, हाम्रा अर्का गौरव श्री भाइचुङ भोटिया पनि देख्दै थिएँ, उहाँलाई पनि अभिनन्दन जनाउँदछु। हाम्रा पूर्व मन्त्रीगण तथा विधायकगण, मुख्यमन्त्रीका विविध संकुलका सल्लाहकारवृन्द, सिक्किम सरकारका मुख्य सचिव, विभिन्न विभागीय अधिकारीगण, सिक्किम सरकारका पूर्व मुख्य सचिव श्री पीके प्रधानज्यू, उहाँको नाम लिँदा मलाई भन्न मन लाग्छ कि श्रीमान भण्डारीको समयमा भएको ग्रामीण विकासका जति कामहरू भएका थिए त्यसमा उहाँको पनि धेरै ठूलो हात, ठूलो योगदान रहेको थियो। विमोचित हुन गइरहेको ग्रन्थमा आफ्ना रचनाहरू दिएर यसको आयाम विस्तार गर्ने आदरणीय सर्जकवृन्द, विभिन्न सङ्घ-संस्थाहरूलाई प्रतिनिधित्व गरी आउनु भएका महानुभावहरू, यस ग्रन्थमा बहुमूल्य सलल्लाह प्रदान गरी साथ दिनुहुने सम्पूर्ण सल्लाहकारवर्ग, सञ्चार माध्यमका प्रिय साथीहरू लगायत सम्पूर्ण प्रियजनमा मेरो अभिनन्दन। अभिवादन। यो सम्बोधनको अन्तमा राखेर मैले इज्जतसित नाम लिनुपर्ने हुन्छ श्रीमान अर्जुन पीयूषज्यूको, जसले यो महत् कार्यलाई काँध हाल्न हिच्किचाएनन्, डराएनन्। उहाँलाई पनि धेरै धन्यवाद, अभिनन्दन।
स्व. नरबहादुर भण्डारीको पुण्यात्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै आजको कार्यक्रमको औचित्य र अवधारणाबारे आफ्ना केही विचार राख्ने धृष्टताका साथ यहाँ उभिएकी छु। 
नरबहादुर भण्डारी बिते, 16 जुलाई, 2017-मा। इष्टमित्र, बन्धु-बान्धव र सहृदयीहरूले उहाँको स्मरणमा केही गर्नुपर्छ भन्ने आग्रह, सदिच्छा उहाँको मृत शरीरको छेउमा म बसिरहेकी बेला नै व्यक्त गर्न थाल्नुभएको थियो। नरबहादुर भण्डारी यसबेला एकजना व्यक्ति नरहेर संस्थाका रूपमा स्थापित भइसकेको कुरो उहाँको गुण, कृति, कीर्ति र प्रकृतिले सर्वव्यापक भइसकेको कुरा हामीसमक्ष हामी परिवारले पनि नकार्न सकेनौं। तर यस्ता व्यक्तित्वलाई पारिवारिक पेवामा मात्रै सीमित राख्नुमा पनि उचित होइन भन्ने कुरामा हाम्रो घरसल्लाह भयो। तर के गर्ने, कसो गर्ने भन्ने कुरामा हामी निश्‍चित हुनसकेका थिएनौं। केही मन मिल्ने हितैषीहरूलाई पनि सल्लाह माग्यौं। अतः एउटा स्मृतिग्रन्थ प्रकाशन गर्ने निधो भयो। यसका लागि लेखादि चाहियो अनि कुशल सहयोगीहरूको आवश्यकता पर्दा हामीले भनेजस्तो साथीहरूको अहोरात्र अथक परिश्रमबाट आज हामी ‘अटल भण्डारी’ लिएर यहाँहरूसमक्ष उपस्थित छौं। 
भण्डारीका धेरै आयाममाथि आदरणीय लेखकको अभिव्यक्ति यस पुस्तकमा समावेश गरिएको छ। तर, यस पुस्तकको प्रकाशन क्रममा सिक्किमको राजनीतिक उहापोहबीच कतिपय लेखकहरूको उद्गार, विचार हामीसमक्ष आइपुग्न सकेन। इच्छाविपरीत होइन, तर बाध्यतावश उहाँहरूलाई हामीले भेट्न सकेनौं। पालो गयो, खेप गएको छैन। नरबहादुर भण्डारीसँगको मेरो लगभग 50 वर्षको दाम्पत्य जीवन राजनैतिक सहकर्मी, सामाजिक सरोकारबीचमा सहयोद्धा भई बाँचेको समयलाई यहाँ संक्षिप्तमा राख्ने जमर्को गरेकी छु।
मैले जानेको उहाँको आयाम सिक्किमप्रेमी सपुत, निर्भीक र निडर प्रजातन्त्रवादी राजनीतिज्ञ, साहित्यप्रेमी, कोमल र भावुक अभिभावक अनि प्रमिल व्यक्तित्वका धनी। आफ्नो सम्पूर्ण जीवन सिक्किम र सिक्किमेको हितार्थ समर्पित गर्ने भण्डारीलाई विभिन्न लाञ्छनाबीच मरणासन्न स्थितिमा पुर्‍याइएको विषय यहाँहरूले सुनिसक्नुभएको छ। त्यसको अलग्गै समयमा सिक्किमलाई जङ्गला मुलुकबाट आधुनिकताको मिरमिरेतर्फ डोहोर्‍याउन श्री भण्डारीले पुर्‍याउनुभएको योगदान कतै विस्मृतिमा पो बिलाएर जाला कि भन्ने लागेको हुनाले पनि यो स्मृतिग्रन्थ प्रकाशन आवश्यक लाग्यो। 
सिक्किमको शैक्षिक परिवेशको कुरा गर्नु हो भने सीमित संसाधनमा देशमा अब्बल शैक्षिक वातावरण र संसाधनको तयारीमा उहाँ सधैं लाग्नुभयो। शिक्षाको मर्म बुझेकैले यो सब सम्भव हुनसक्यो। राजनैतिक फाइदाका लागि नभएर आवश्यकताका आधारमा विद्यालयहरू, महाविद्यालय स्थापना भए र गुणस्तरसँग कहिल्यै सम्झौता नगर्नु उहाँको सबल पक्ष म ठान्छु।
जनताको प्राथमिक आवश्यकता बत्ती, पिउने पानी, सड़क, बाटो र स्वास्थ्य सम्बन्ध भन्नुपर्दा आज पनि ग्रामीण भेगका मानिस ‘पिउने पानीको पाइप, बिजुलीको फलामे खाँबा, पुल यसो कोट्याएर सुँघे भण्डारीकै वासना आउँछ’ भन्ने उद्गार व्यक्त गर्छन्। सत्य-असत्यको आँकलन म सुधीजनलाई नै सुम्पन्छु। प्रभावी र सक्षम प्रशासनकै कारण यी सब सम्भव भए, किनभने स्रोत थोरै तर सोच धेरै भएका सकारात्मक र जनतामुखी राजनीतिज्ञ र प्रशासक हुनुहुन्थ्यो भण्डारी। सिक्किम र सिक्किमेको हित, अधिकारलाई कहिल्यै हार्न दिनुभएन। यसका लागि धेरैपटक राजनैतिक कोपभाजनको शिकार पनि बन्नुभयो। फालमको चिउरा चपाउनु परेको यहाँ साङ्केतिक रूपमा राखेँ। भण्डारी सिक्किममा मात्र सीमित रहेनन्। भारतमा समय-समयमा एउटा प्रमुख जाति जसको योगदानबिना भारतको परिकल्पनासम्म गर्नसकिन्न, त्यस नेपाली तथा गोर्खा जातिलाई बारम्बार विदेशीको लाञ्छना लाग्नेगर्थ्यो। यस समस्याको सार्थक समाधानको बाटो थियो भारतीय संविधानमा नेपाली भाषाको मान्यता। धेरै अग्रजहरूले यस सम्बन्धमा थुप्रै र प्रभावशाली प्रयास गरे तापनि त्यसले सफलता पाउन सकेको थिएन। तिनै महान् व्यक्तित्वको पाइला पछ्याउँदै आफ्नो तहबाट गर्नपर्ने काम, जिम्मेवारीपूर्वक निर्वाह गर्नुभयो। त्यो हो- भारतीय नेपाली राष्ट्रिय परिषदको स्थापना। यस संस्थाको अहोरात्र र अथक प्रयासको फलस्वरूप नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त भयो। नेपाली समुदायले विदेशीको लाञ्छनाबाट निकास पाए। नेपाली भाषाले संवैधानिक मान्यता पाउनु कसैको लागि सामान्य कुरा होला, तर भारतभरि छरिएर बसेका नेपालीका निम्ति यो भारतीय नागरिकता हो। यसले दिल्ली सरकारलाई पनि ‘हामी खाँट्टी भारतीय नागरिक हौं’ भन्ने प्रमाण दिई हामीलाई ‘तिमीहरू विदेशी हौ’ भन्ने लाञ्छना लगाउनेहरूलाई मुखमा बुचो हालीदियो। भारतभरि छरिएर बसेका नेपाली भाषीलाई एकताको सूत्रमा माध्ने काम भयो, तब भण्डारी सारा भारतीय नेपाली भाषी गोर्खाहरूका अभिभावक बने, माने। नेपालमा हामी भारतीय नेपालीलाई प्रवासी भन्ने चलन थियो। नरबहादुर भण्डारी यस कुरोको घोर विरोधी थिए। उहाँ आफूलाई भारतको साँचो नागरिक मान्नुहुन्थ्यो। अनि आफ्नो आत्मस्वाभिमान र अस्तित्व यही राष्ट्रमा छ भन्ने कुरा सम्पूर्ण भारतीय नेपालीहरूको मन-मस्तिष्कमा विजारोपण पनि गर्नुभयो।
नेपाली भाषा-साहित्यप्रतिको अगाध मोह थियो उनमा। यसैको उत्पादन हो अर्चना प्रकाशनको स्थापना, जसले थुप्रै-थुप्रै सर्जकहरू जन्मायो। यसैको प्रकाशनमा आज विमोचित भइरहेको पुस्तक प्रकाशित छ। यसबाहेक उहाँका साहित्य सिर्जना र भाषा सम्बन्धित कृति-कीर्तिबारे पुस्तकमा विज्ञ लेखकहरूका लेखले बताएको छ। उप्रान्त पनि अर्चना प्रकाशनलाई निरन्तरता दिने प्रयास रहनेछ। लेखक-सर्जकबाट भविष्यमा यसले साथ-सहयोग पाउने अपेक्षा राखेका छौं। श्री भण्डारी सिक्किमको राजनीतिक इतिहासमा झण्डै विलुप्त बन्नुभयो। यसको कैरण यहाँ नगरेकै बेस् होला। तर उहाँप्रति अगाध माया गर्ने श्रद्धा गर्ने मानिसहरूको अभाव पनि छैन। उहाँ मतदानमुखी राजनीतिमा हारे होलान्, सिक्किमेली मन-मस्तिष्कमा उत्तिकै जीवित छन् भन्ने कुरा आजको उपस्थितिले जनाएको छ भन्ने मलाई लाग्छ।
सिक्किमका वर्तमान युवा मुख्यमन्त्री महोदयले धेरैपटक उहाँलाई आफ्नो राजनैतिक अभिभावकका रूपमा स्वीकार गर्नुभएको कुरा उहाँको भाषणहरूमा मैले सुनेकी छु। यति मात्र होइन, भण्डारी बिनाको सिक्किमको राजनीतिको परिकल्पना पनि गर्ननसकिने कतिपय जानकारहरूको मन्तव्यबाट उहाँको राजनीतिक महत्व र प्रतिष्ठा बुझिन्छ। म यहाँ के भन्नु चाहन्छु भने उहाँलाई सिक्किमेली जनताले सत्ताच्युत गरेका होइनन्। तर कतिपय कुत्सित मनसायलाई उहाँको निडर, निर्भीक, भविष्यदर्शी अनि जनसाधारणको हितका विषयको उठान अनि सिक्किमको सर्वभौमिकता सम्बन्धी अवधारणा अपच हुँदा चुनावी राजनीति हारे। राजनीति हारे, तर सधैं ठाड़ो शीर गरेर बाँचे। नयाँ पुस्तासम्म भण्डारीको राजनैतिक, सामाजिक योगदान अनुशासित प्रशासकीय गुण, भाषा-साहित्यप्रतिको समर्पण र त्याग सम्बन्धित विषयहरू पुग्न आवश्यक छ भन्ने बोध धेरैले गरेको बुझियो। यसैको फलस्वरूप आज ‘अटल भण्डारी’ यहाँहरूलाई समर्पित गर्दैछौं। यहाँ भण्डारी माध्यम हुन्। हामीले हाम्रो विगत बिर्से आगतका लागि कहाँबाट प्रेरणा लिने? नबिर्सौं अन्य थुप्रै यस्ता महान व्यक्ति जसले देश र जाति-समाजका लागि प्राण निछ्यौवार गर्न पनि किञ्चित ठानेनन्। 
म यहाँहरूलाई यो भन्न चाहन्छु कि म पनि उहाँलाई एक साधारण प्रशंसकको रूपमा आकलन गर्नेगर्थें। यी उद्गारहरू त्यसैका प्रतिफल हुन्। 
यो मध्य वर्षाको बेला, भल-पैह्रोको बीच पनि भण्डारीको माया, श्रद्धाका कारण यहाँहरूको गरिमामय उपस्थितिले हामीलाई ठूलो गुण लगाएको छ।  सबैलाई आभार ज्ञापन गर्न चाहन्छु। सबैलाई म यहाँ विनम्र साधुवाद प्रकट गर्नचाहन्छु। मसँग आभार ज्ञापनका शब्दहरू अपुग छन्। भविष्यमा पनि यहाँहरूको साथ, सहयोग र स्नेह हामी पाइरहनेछौं भन्ने आशाका साथ यहाँहरूलाई फेरि पनि धेरैधेरै धन्यवाद-आभार प्रकट गर्दै मेरो यो वक्तव्य यही शेष गर्दछु। धन्यवाद।
-प्रतिलेख : अर्जुन यावा