Tuesday, February 4, 2014

अर्थबिनाको पाइला

- कमलादेबी अधिकारी ‘उदासी’

बिना अर्थ लघारिएका यी पाइलाहरू
खै कहाँ पुग्दा थाहा हुन्छ होला?
किन लघारिए यी पाइलाहरू
के! पैतला दुःखाउन मात्रै हो त?
पैतलासँगै जोडिएका औलाहरू सोध्छन्
उत्तरबिना मौन बस्छ यो मस्तिष्क
रित्तो खल्ती झैं खाली भएको यो मस्तिष्क
खै के उत्तर देला र...!
मनले भन्छ
त्यो समयमा ‘म’ पनि ‘उ’ जस्तै थिएँ।
समस्यामा भौंतारिएको
अन्यायमा पिरोलिएको
सामन्तीबाट पेलिएको
झरिमा रुझिएको
आफन्तबाट तिरस्कृत भएको
व्यवहारमा ठगिएको
जिन्दगीबाट हारिएको
जबरजस्तीमा पारिएको
यी दुइ पाइला बिनाअर्थ लघारिएको
गरिबीपनमा खकारिएको
हिलोबिना पछारिएको
आगोको रापबिना डढाइएको
त्यो समयमा ‘म’ पनि ‘उ’ जस्तै थिएँ।
-राङ्का सलङ्थाङ, पूर्व सिक्किम
पूर्वोत्तर भारत र सिक्किमको शान्ति
‘‘हिन्द देश के निवासी, सभी जन एक हैं
रंग, रूप, भेष, भाषा चाहे अनेक हैं।’’
देशको विशेष पूर्वोत्तर भारतको वर्तमान अवस्थालाई हेर्नु हो भने यो देशभक्ति गीतको विपरितार्थ लाग्नसक्छ। किनभने अहिले पूर्वोत्तर भारतमा एकपछि एक आतङ्की घटना भइरहेका छन् अनि देश आशान्त बनिरहेको छ। गएको 18 जनवरीको राती कोक्राझार असमको 31 राष्ट्रिय राजमार्ग अन्तरगत अथियाबारीमा बोडो उग्रवादीहरूले पाँचजना बिहार निवासीलाई निर्मम हत्या गरिदिएको समाचार प्रकाशममा आएको थियो भने त्यसको केही दिन अघिमात्रै एकजनाको हत्या गरिएको थियो जहाँ ‘हिन्दी भाषीलाई मारिएको’ भनिँदै छ। यसको केही दिनअघि मात्रै अर्को यस्तै घटना भएको थियो अनि त्यसैको प्रतिवाद हो 18 जनवरीको रातीको घटना पनि भनिएको छ। 29 जनवरीको दिन फेरि अर्को घटना भयो अरुणाचल र असमको सीमाक्षेत्रमा। सो घटनामा दशजना गोर्खा मारिएको समाचार हिँजैमात्र प्रकाशमा आएको थियो। उसो त पूर्वोत्तर राज्यहरूमा यस्ता घटना कुनै नयाँ होइन। तर कतै बिहारी, कतै गोर्खा मारिनुले माथि उल्लेख गीतको दोस्रो हरफलाई गिज्याइरहेजस्तो लाग्छ।
यसरी एकातिर खुन-खराबा, अर्कोतिर देशभरि नै राष्ट्रपिता महात्मा गान्धीको सम्झना गर्दै अहिंसाको सन्देश बाँड्दै 30 जनवरीको दिनमात्रै ‘शहीद दिवस’ पालन गरियो। महात्मा गान्धी, जसले देशको एकता, शान्ति र अहिंसाको पाठ सिकाउनसितै स्वतन्त्र भारतको सपना साकार गराएका थिए। यहाँ कुनै खुन-खराबा नहोस्, जात-जातिको नाममा झगडा नहोस्, जहाँ यो देश आपस्तमा सबै भाइ-भाइ भएर बाँचेको होस् भन्ने उनले सपना देखेका थिए। के महात्मा गान्धीले सजाएको सपनाको भारत, उनले देखाएको सत्य र अहिंसाको देश भारत यही हो त! जहाँ घरिघरि रगत बगिरहेछ? जहाँ माटो भिजिरहेछ रगतले?
सिक्किमलाई अहिलेसम्म महात्मा गान्धीको सपनाको त्यही देशको सबैभन्दा शान्तिप्रिय राज्य भनेर जानिन्छ। तर सिक्किममा पनि अहिले घरिघरि पत्रकारहरूमाथि भइरहेको आक्रमणको घटनाले वातावरण केही अशान्त बनाइरहेको छ। पत्रकारहरूमाथिको घटना सिक्किममा पनि नौलो होइन, तर अहिले सानै भएपनि घरिघरिको आक्रमण राम्रो संकेत अवश्‍व पनि मान्न सकिन्न। पूर्वोत्तर भारतको कुरा अघि नै गरियो। पूर्वोत्तर मात्र होइन, देशकै शान्तिप्रिय राज्य भनेर सिक्किमलाई विश्‍वमा चिनाउने सरकारको पहल सफल बन्दै गइरहेको समय यस्ता अप्रिय घटनाहरू घरिघरि दोहोरिनु उचित होइन। त्यसैले सम्बन्धित निकायले यसता घटनाहरूप्रति लगाम कसरी कस्नुपर्ने हो? भन्ने कुरामा मनन गर्नुपर्ने आवश्यक्ता बोध हुँदछ। माथि उल्लेखित पूर्वोत्तरका घटनाहरूलाई हेरेर पनि सिक्किमले धेरै कुरा सिक्नुपर्ने र समयमै सचेत बन्नुपर्ने हामी सबैले जिम्मेवारीको रूपमा पनि लिनुपर्ने देखिन्छ। किनभने आज देशका विभिन्न भागजस्तै पूर्वोत्तरमा पनि जसरी गटनाहरू भइरहेका छन् उसरी नै सिक्किममा पनि यस्ता घटनाहरू नहोला भन्न सकिन्न। -31.01.2014
गाउँको याद आयो

धेरै भएछ शहर पसेको, गाउँको याद आयो
साथी-भाइ र गाउँ-घरको, आज याद आयो
सुखै होस् शहरमा, प्यारो गाँवै हुँदोरैछ
धेरै पछि आज फेरि, गाउँको याद आयो॥
रहर होइन शहर पस्ने, लहर यस्तै आयो
रहँदै-बस्दै जाँदा शहर, प्यारो हुँदै आयो
दुःख पर्दा साथ दिने, शहरमा को पो हुन्छ
धेरै पछि आज फेरि, गाउँको याद आयो॥
घाँस-दाउरा र मेलो-पात, फेरि याद आयो
रन-वन घन्काको पल, सम्झनामा आयो
फेरि कहाँ आउला त, फर्केर ती समय अब
धेरै पछि आज फेरि, गाउँको याद आयो॥
के गर्दैछिन् मेरी आमा, के गर्दैछन् बाउ
भन्दै होलान् आज दुवै, फर्की घर आउ
बिरानो भो गाउँ अब, बालापन बिताएको
धेरै पछि आज फेरि, गाउँको याद आयो॥
-अर्जुन यावा, 14-16 जनवरी 2014