Friday, May 23, 2014

दोस्रो शनिबारको छुट्टी रद्द
सिक्किम र सिक्किमेको पक्षमा

सिक्किम सरकारको गृह विभागले 22 मईको दिन अधिसूचना जारी गर्दै अबदेखि दोस्रो शनिबार छुट्टी नहुने घोषणा गरेको छ। एसडीएङ्ग पार्टीको सरकार पुनः पाँचौंपल्ट सत्तामा आएपछि उक्त अधिसूचना जारी गरिएको हो। सिक्किम सरकार अधिनस्थ सबै सरकारी कार्यालयहरू, सरकारी शैक्षिक संस्थान र सार्वजनिक उपक्रम (पब्लिक सेक्टर) मा अबउसो सकेन्ड सेटरडे छुट्टी हुनेछैन। सरकारी कर्मचारीहरू, स्कूलका शिक्षक-शिक्षिका, विद्यार्थी सबैको निम्ति यो अधिनियम लागू हुनेछ।
यस नयाँ अधिसूचनालाई बलियो र जनमुखी प्रशासनिक व्यवस्था शुरू गर्ने पहल पनि मानिएको छ। उल्लेख्य कुरा के छ भने, यो वर्ष 2014-मा 52 वटा आइतबार, 12 वटा दोस्रो शनिबार अनि 39 वटा अन्य सरकारी छुट्टी (41-मध्ये दोस्रो शनिबारमा परेका दुइवटा काटेर) जम्मा 103 वटा सरकारी छुट्टी परेका छन्। यदि अहिलेसम्मका दोस्रो शनिबारलाई छोडीदिनु हो भने अझै 98 वटा सरकारी छुट्टी बाँकी नै छ। अबउसो राज्य सरकारद्वारा घोषित नयाँ अधिनियमपछि रहल 7 वटा दोस्रो शनिबार घटाइदिँदा पनि सरकारी कर्मचारीवर्गले अझै 91 वटा सरकारी विदाको उपभोग गर्नपाउने छन्। अथवा वर्ष 2014-मा कुल 98 दिन (तीन महिना एक हप्ता) सरकारी छुट्टी पाएका छन्। सोझो अर्थमा 12 महिनामा 3 महिना एक साता बिनाकाम वेतन पाउनु। यस अर्थले वर्षमा 12 वटा छुट्टी कम हुन त्यति महत्त्वपूर्ण नलाग्न सक्छ, तर 12 दिनमा सरकारको योजना र नीतिअनुरूप सरकारी कर्मचारीवर्गले पनि जनहीतमा कार्य गरिदिए त्यो महत्वपूर्ण हुनेछ।
पाँचौंपटक सत्तामा आएको एसडीएफ सरकारले गरेको घोषणाको कतिपयले विरोध जनाइरहेको भए तापनि देशमा सिक्किम पहिलो राज्य होइन जसले दोस्रो शनिबार अथवा सेकेन्ड सटरडेको छुट्टी नदिने घोषणा गरेको छ। कर्नाटक सरकारले गएको वर्ष नै यसको निर्णय लिइसकेको थियो। कर्नाटकले वर्ष 2014-मा जम्मा 22 वटा मात्रै सरकारी छुट्टी दिनेपनि निर्णय लिएको थियो। यद्यपि, कर्नाटक सरकारले यस वर्ष 28 वटा सरकारी छुट्टीको घोषणा गरेको छ। यता सिक्किम सरकारको नयाँ अधिसूचनाअनुरूप पनि 12 वटा सेकेन्ड सेटरडे र 52 वटा आइतबारलाई छोड्दा अझै 46 दिन सरकारी छुट्टी प्राप्त छ।
अतः राज्य सरकारले जनहितलाई ध्यानमा राखेर जुन निर्णय लिएको छ, त्यो समग्र सिक्किम र सिक्किमेको पक्षमा रहेको छ। वर्तमान सिक्किम देशकै तीव्रगतिमा विकासशील राज्यहरूमध्ये उत्तराखण्ड, दिल्ली, बिहार, अन्दमान-निकोबार, मिजोराम, अरुणाचल प्रदेश, गुजरात, मध्यप्रदेश र झारखण्डलाई पनि पछि पार्दै पहिलो स्थानमा रहेको छ। यी शीर्ष 10 राज्यहरूमा सिक्किम सबैभन्दा तीव्र 20.53 प्रतिशतको गतिमा अघिबढिरहेको छ।
शैक्षिक क्षेत्रलाई हेर्ने हो भनेपनि वर्ष 2011 देखि 2013-14-मा आइपुग्दा 68.81 देखि 13.39 प्रतिशतको विकास गर्दै सिक्किम अहिले 86.2 प्रतिशत शिक्षित राज्य बन्न सफल छ। शिक्षित राज्यहरूमा सिक्किम अहिले केरल, मिजोराम, त्रिपुरा, गोवा, हिमाचल प्रदेश र नागाल्यान्ड पछि सातौं स्थानमा रहेको छ। यहाँ शीर्ष 10 राज्यमध्ये सिक्किमले महाराष्ट्र, तामिलनाडु र पञ्जाबलाई पछि छोडेको छ।
अर्कोतिर, गरिबी उन्मुलनको दिशामा पनि राज्य सरकारले उल्लेखनीय गति पक्रिएको छ। वर्ष 2004-मा राज्यका 30.09 प्रतिशत मानिस गरिबीरेखा मुनी रहेका थिए भने 2011-12-मा आउँदा 22 प्रतिशत तल झर्दै 8.18 प्रतिशतमा झरेको थियो। यता शहरलाई मात्र हेर्ने हो भने मात्रै 3.66 प्रतिशत मानिस गरिबीरेखा मुनी पर्दछन् जो देशकै सबैभन्दा कम प्रतिशत मानिएको छ।
उसरी नै प्रतिव्यक्ति आयको दृष्टिकोणले पनि सिक्किमले प्रगति गरेको छ। वर्ष 2010-11-को सेन्ससले पनि राज्यको प्रतिव्यक्ति आय 81,159 बताएको छ। यस हिसाबले सिक्किम पञ्जाबपछि दोस्रो स्थानमा रहेको छ। यहाँ पनि सिक्किमले दिल्ली, गोवा, हरियाणा, केरल, गुजरात, उत्तराखण्ड, महाराष्ट्र, तामिलनाडु सबैलाई पछि पारेको छ।
समग्रमा के भन्न सकिन्छ भने सिक्किमले माथि उल्लेखित सबै क्षेत्रमा जे-जति उन्नति-प्रगति-विकास गरेको छ, त्यो सराहनीय, प्रशंसनीय छ। यी कुराहरूलाई नै अझ माथि पुर्याउने दिशातिर अग्रसर रहेको छ एसडीएफ सरकार। अघिल्लो घोषणा-पत्र तथा चुनाउको मूल मुद्दामा सम्म विकासलाई प्रमुखता दिएको एसडीएफ सरकारले सिक्किमलाई विश्‍वमा चिनाउने जुन कीर्तिमान कायम गर्दै आइरहेको छ, त्यसलाई सहयोग पुर्याउन हरेक सिक्किमेको कर्तव्य हुन्छ। अतः राज्य सरकारले सेकेन्ड सेटरडेको छुट्टीलाई रद्द गरेर जसरी जनहित, जनसरोकार र जनपक्षीय विचार लिएको छ त्यसलाई पनि सबैले कदर गर्न आवश्यक  देखिन्छ।
-23.05.2014

Thursday, May 22, 2014

हावा

-1
अघिदेखि
कतै जानलाई
सडकछेउ उभिएको छु
पानी परिरहेछ झरर...र...र...
कुनै हुरी चलेको छैन
बिजुली-चट्याङ छैन
त्यसैर शान्त छ आज
भनौं म शान्त छु।
अस्तीपनि
उत्तरतिर जाँदा
यसरी नै पर्दैथियो पानी
पानीसितै बताश चलिरहेथ्यो
सडक बन्द भएथ्यो, रुख लडेर।
हिँजै फेरि
पूर्व फर्किएको
अझै दर्के पानी थियो
ठाउँ-ठाउँमा भत्किँदै थियो बाटो
पानीसँगै हुँरी चलिरहेको थियो
मनमा उस्तै हुँरी-बताश चलिरहेथ्यो
त्यसैर अशान्त थियो हिँजो
अशान्तै बनेको थियो अस्ती
भनौं म अशान्त थिएँ।

उफ्...!
कत्ति अशान्त हँ मन?
पानीसँगै चलेको हुरी जस्तै
चलिरहेको बताश जस्तै
बिजुली-चट्याङ जस्तै
हावा जस्तै
अशान्त।

आज उस्तै
परिरहेछ पानी एक तमाशले
झरर...र...र...
तर,
आज हुरी छैन पानीसित
चलेको छैन त्यस्तो बताश
मात्रै पानी परिरहेछ झरर... र.. र..
शान्त, शितल चलिरहेछ बरु शमीर
लाग्छ रमाइरहेछ प्रकृति
चारैतिर छाइरहेछ हरियाली
अनि मन?
मन पनि त्यस्तै छ
त्यस्तै शितल, शान्त, रमणीय छ।

त्यसैले
अघिदेखि नै
कतै जानलाई यहाँ
सडकछेउ उभिएको छु म
पानी यो थामिने पर्खाईमा।

कस्तो
पट्यार लाग्दो हुन्छ नि पर्खाई?
कहिले सकिने हो? जस्तो।
होइन
यो पर्खाईमा तर
रमाइरहेछ आज मन
हुरी-बताश, बिजुली-चट्याङ
लाग्छ सबै शान्त छ आज।
***
22.05.2014

Tuesday, May 20, 2014

झन्डा

-1
धेरै अघिदेखि
लत्रिरहेको झन्डा
आज फरफरिरहेको देखेँ,
हावा चलेछ नि?
खै कताबाट हो...
कुन्नि?
थाहा भएन मलाई
तर हावा चलेको छ
त्यसैले त
धेरै पछि
घरको धुरीमा
फेरि झन्डा फहरिएको छ।
पोहोर-परारदेखि नै नफेरिएको झन्डा
पुरानो झन्डा आज फहरिँदैछ
फर्फर.., फर्फर.., फर्फर..
फहरिँदै छ झन्डा
हो त हावा चलेकै हो।
सोंच्दैछु,
झन्डा जस्तै डन्ठी
डन्ठी झन्डा जस्तै
पुरानो भइसकेको होला
भइसकेको होला पुरानो
त्यो मक्किएको पनि होला
त्यसैले
भन्छन् सबै मलाई...,
झारिदेउ त्यो झन्डा
झन्डा पुरानो त्यो झारिदेउ
लगाई देउ नयाँ
बरू त्यो डन्ठी पनि फेरिदेउ
फेरिदेउ अर्को बलियो
ता कि जस्तै हावा चलेपनि
झन्डा जतिनै फहरिए पनि
नभाँचियोस
नझरोस
नलत्रियोस् भुँइमा झन्डा।
मन न हो...,
कहाँ मान्छ र झार्न
पुरानै भएपनि झन्डा
आखिर झन्डा हो
झन्डा मात्रै कहाँ हावामा फहरिने हो त?
यसले हावा कतातिर बगिरहेछ?
बताउने पनि त हो।
---x---

-2
झन्डा
आज फेरि फहरिँदैछ।
सँधैं झै हावासितै
झन्डा फेरि फहरिँदैछ।
तर हावा कताबाट आउँदैछ छ?
अहँ, मैले अनुमान लाउन सकिन।
झन्डा
हो झन्डा फहरिएको हेरेर
अनुमान लगाउन गाह्रै रहेछ
हावा कतातिरबाट बग्दैछ?
किनभने हावा
कतैबाट पनि आउन सक्दोरहेछ
अनि झन्डा
कतै पनि फहरिन सक्दोरहेछ।
हावा न हो
कुरा जस्तै त्यो
जता पनि बहकिँदो रहेछ/बग्दो रहेछ
वाहासितै झन्डा
जहिलै पनि फहरिनसक्दो रहेछ।
तर हावा
सँधैं सबैतिर
नरहँदो रहेछ एकनाशे
नबग्दो रहेछ एकैचोटी।
कहाँ विचारेको थिएँ त!
दिशा
आफ्नो-आफ्नै पनि हुँदोरहेछ हावाको
कहीँ वाहा चलिरहेको समय
कतै ठ्याम्मे नचल्न पनि सक्दोरहेछ।
त्यसैले झन्डा हेरेरमात्रै
हावा कता चल्दैछ
भन्न कहाँ सकिँदो रहेछ र?
यत्ति पक्का हो
आज फेरि चल्दैछ हावा
किन कि मेरो घरको धुरीमा
झन्डा फहरिँदैछ, सधैंझै
फर्फर.., फर्फर.., फर्फर...।
---x---

-3
थाहै नपाई
कत्तिबेला चल्यो हावा?
हेर त
झन्डा उडाइलगेछ।
हावा त पक्कै आएछ नि,
कस्तो हुस्सु हँ म
थाहै नपाउने हावा चलेको !
वर्षौंदेखिको यो झन्डा
आज कसरी उडायो ?
कसरी उडायो झन्डा?
भन्थे अरू
मक्किएको छ डन्ठा 
खोइ त
भाँचेको हावाले?
जस्ताको तस्तै डन्ठीबाट
कसरी उडायो हँ झन्डा?
झन्डा उडायो हावाले?
कि उडायो विस्वास मनबाट?
---x---
17.05.2014
सावधान अव् साइबर क्राइमले फेसबुकलाई पनि नियन्त्रण गर्ने

गएको चुनाउमा देशका विभिन्न राज्यहरूजस्तै सिक्किममा पनि फेसबुकको माध्यमद्वारा राजनैतिक पार्टीहरू आपस्तमा आक्षेप लगाउन र बद्नाम गराउनमा निक्कै सक्रिय देखिएको थियो। चुनाउको समय लागु गरिएको आचार संहिता उल्लङ्घन गरेको खण्डमा एमसीएमसी (मोडल सर्टिफिकेशन एण्ड मनिटरिङ कमिटी) ले कार्वाही गर्ने अथवा नियन्त्रण गर्ने भए तापनि चुनाउ अघिसम्म यसमा प्रिन्ट र इलेक्ट्रेनिक मीडियालाई छाडेर सोसियल मीडियालाई नियन्त्रण गर्ने चुनाउ आयोगसित कुनै प्रावधान नरहेको राज्य चुनाउ विभागले बताएको थियो।
फेसबुक अथवा सोसियन मीडियामा यस्ता घटनाहरू बारम्बार आउन थालेको छ अहिले। जाली एकाउन्ट बनाएर अरूलाई बदनाम गर्ने, धम्काउने जस्ता घटनाहरू निरन्तर बढ्न थालेको छ। त्यसैले अबउसो यस्ता घटनाहरूलाई ‘सावधान अव् साइबर क्राइम’-ले नियन्त्रण गर्ने भएको छ। त्यस्ता साइबर अपराधीहरूलाई सावधान अव् साइबर क्राइमअन्तरगत पुलिसले खोजी निकाल्ने बताइएको छ। विशेषगरी अहिले सावधान अव् साइबर क्राइमको ध्यान फेसबुकमा रहेको छ। फेसबुकमा अन्य कसैको नाम अथवा फर्जी नाम गरेर एकाउण्ट बनाउने अनि अश्‍लिल फोटो पोष्टद्वारा बदनाम गराउनेहरू सक्रिय बनिरहेका छन्। यस्तै उदाहरण, मुख्यमन्त्रीसम्मलाई बदनाम गराउने आरोपी सन्दिप राईलाई सिलगढी पुलिसले पक्राउ गरिसकेको छ।
कम्प्युटर क्राइम दुवैलाई अघिबाटै साइबर क्राइममा राखिएको छ। तम्प्युटर क्राइमअन्तरगत कोही व्यक्ति वा समूहलाई बद्नाम गराउने, लज्जित तुल्याउने वा मानसिक तथा शारीरिक क्षति पुर्याउने प्रकारका कुनै पनि घटनाहरूलाई समावेश गरिएको छ। इन्टरनेट, च्याच रूम, ई-मेल, नोटिस आदिका साथै मोबाइल फोनमा पनि एसएमएस र एमएमएसद्वारा कसैले त्यस्ता अपराधजन्य कार्य गर्न पाइँदैन भन्ने कुरा पनि अघिबाटै उल्लेख गरिएको छ।
उल्लेख्य कुरा के छ भने, राज्यमा अहिलेसम्म साइर क्राइम विषय सम्बन्धित निकायहरूले कुनै प्रकारको सचेतना फैल्याएको जस्तो लाग्दैन। यस विषय त्यति अवगत नभए पनि भारतीय संविधान (आइपीसी)-का साथै इन्फरमेसन टेक्नोलजी (आइटी) एक्ट-2000-ले यस्ता अपराधहरूलाई नियन्त्रण गर्नेगर्दछ। क्रिमिनल इन्भेस्टिगेसन डिपार्टमेन्ट, मुम्बईको क्राइम ब्रान्चअन्तरगत ‘साइवर क्राइम इन्भेस्टिगेसन सेल’ पनि वर्ष 2000 देखि नै खोलिएको छ।
वर्ष 2013-को एउटा रिपोर्टले हाम्रो देशमा प्रत्येक वर्ष 42 मिलियन मानिस साइबर क्राइमले पीडित रहेका छन्। यद्यपि, आइटी एक्ट-2000 अन्तरगत वर्ष 2009-2010 मा दिल्ली, मुम्बई, चेन्नई र बङ्लोरमा क्रमश 46, 12, 12 र 137 यस्ता घटनाहरू दर्ता भएका छन् भने आइपीसी अन्तरगत  वर्ष 2007-मा 328, 2008-मा 176, 2009-मा 276 र 2010-मा 356 घटना दर्ता भएको पाइन्छ। यसमा वर्ष 2007 देखि 2010-मा क्रमश 429, 195, 263 र 254 आरोपी पक्राउ पनि परेका थिए। यद्यपि, यी सबै त दर्ता भएका घटनाहरू हुन्। इज्जत, मान, भयका कारण कति घटना प्रकाशमा आउनै नपाएका छैनन् भन्न सकिँदैन, कारण हामीलाई थाहा भएको कुरै हो कि यस कुरासित हामी अझै सचेत छैनौं। त्यसैले यस्ता घटनाहरू देशमा दिन प्रतिदिन बढिरहेको छ। यस्तै घटना हाम्रो राज्यमा पनि भइरहेका छैनन् होला त? हजारौं-लाखौं मानिस कहीं न कहीं पीडित नहोलान्? तर प्रकाशमा आउन नसकेको हुनसक्छ, अथवा दिल्ली, मुम्बई, चेन्नई, बङ्लोर र अन्य राज्यहरूमा जस्तै भोलि हाम्रै राज्यमा पनि यस्ता घटनाहरू हुन नसक्ला? अथवा तपाईं-हामी नै पीडित नबनौंला र? त्यसैले आवश्यकता छ सचेतनाको।
उल्लेख्य, विश्‍वकै एक विकसित राष्ट्र चीनले यसैवर्ष मात्रै अश्‍लील वेबसाइडहरूलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन शुरू गरेको छ। राष्ट्रियस्तरमा अभियानै चलाउँदै 110 वटा वेबसाइटलाई पूर्णरूपमा बन्द गरिदिएको छ। ‘क्लिनिङ द वेब 2014’ अभियान अन्तर्गत सोशल नेटवर्किङ सेवाहरूमा रहेका तीनहजार तीनसय एकाउन्टलाई पूर्णरूपमा बन्द गरिदिनाका साथै लगभग सात हजार विज्ञापनहरू र दुइलाख अश्‍लील सामग्रीहरूलाई पनि हटाइदिएको छ। त्यसैले ‘सावधान अव् साइबर क्राइम’-लाई सहयोग पुर्याउनु हाम्रो पनि कर्तव्य बन्दछ भने संबन्धित निकाय वा सरकारले पनि यस विषय सोच्नुपर्ने हुन्छ। 09.05.2014

Thursday, May 8, 2014

बलात्कारको घटना बन्दैछ जटील प्रश्‍न

16 दिसम्बर 2012-मा दिल्लीमा भएको सामुहिक बलात्कार काण्डकी पीडिता दामिनीलाई उपचारको निम्ति सिंगापुर पुर्याइएपछि 29 दिसम्बरको दिन प्राण त्यागेकी थिइन्। पीडिताले ज्यान गुमाइसकेपछि नै भए पनि जब आरोपिहरूलाई 13 सितम्बर 2013-मा फास्ट ट्र्याक कोर्टद्वारा फाँसीको सजाय सुनाइयो तब ‘दामिनीले आफ्नो ज्यान त गुमाइन्, तर सारा देशलाई एकताको सूत्रमा बाँधेर गइन्’ बनिँदै थियो। किनभने दामिनी कान्डको विरोधमा सारा देश उर्लिएको थियो। तर ‘देशलाई एकसूत्रमा बाधेर गइन्’ भन्ने कुरो भने झूटो थिएछ, अथवा त्यतिबेला हामी भ्रममा थिएछौं। किनभने, त्यतिबेला सबैलाई लागेको थियो, देशका कुनैपनि कुना अब फेरि कोही पनि बलात्कारको शिकार बन्नुपर्ने छैन, यदि त्यसो भइहालेको खण्डमा यसरी नै देश उर्लिनेछ विरोधमा भन्ने त्यो बेलाको विश्‍वास अहिले गलत प्रमाणित भइरहेको छ।
दिल्ली काण्डपछि के त्यस्ता घटना देशमा अरू कतै भएन? कोही पनि बलात्कारको शिकार बन्नु परेन त? कसैमाथि शोषण गरिएन त? निश्‍चय धेरै उदाहारण छन् त्यस्ता अपराधहरूको, तर दिल्ली काण्डका आरोपिहरू विनय, पवन, मुकेश र अक्षयलाई जस्तै देशमा भएका त्यस्ता घटनाहरूका आरोपिहरू कतिलाई सजाय सुनाइयो त? थाहा छैन। यतिसम्म कि अहिले यस्ता घटनाहरू सुनेर नसुने झैं गरिएजस्तो लाग्छ। ‘जघन्य अपराधलाई परिणाम दिनअघि कुविचारले ग्रसित ज-कसैलाई पनि एकपल्ट सोंच्न बाध्य गराउनेछ’ भन्ने आम मानिसले जुन विस्वास गरेका थिए त्यस समय त्यो विश्‍वास अहिले उडिसकेको छ। पञ्जाब, असम, दिल्ली, कोलकाता जस्ता ठूला शहरहुँदी प्रायजसो यस्ता घटनाहरू भइनै रहेका छन्। अहिले हिमाली भेगमा पनि यस्ता घटनाहरूले आश्रय लिएझैं लाग्न थालेको छ। 
उसो त पहाडी भेगमा त्यस्ता जघन्य अपराझहरू पहिला नभएको होइन। तर दिल्लीकाण्डपछि देशले जुन विश्‍वास गरेको थियो अथवा जसरी विश्‍वास दिलाइएको थियो, त्यो स्वयं हामीले नै तोड्दै लगिरहेका छैनौं? अफैलाई प्रश्‍न गर्नुपर्ला। किनभने 16 दिसम्बर 2012-को घटनालाई लिएर हामी स्वयं जति आवेगमा आएका थियौं अनि जसरी विरोध जनाइरहेका थियौं, अहिले त्यो छैन। पहाडको सन्दर्भमा कुरा गर्नु हो भने बितेको महिनामात्रै कतिवटा घटना भए, तर एक-दुई विरोध र्याली, पत्र-पत्रिकामा विरोध जनाउनबाहेक केही हुन सकेन। तीनवर्ष, चार वर्षका शिशुदेखि  12-13 वर्षका नाबालिगहरूसम्म पीडित बनेका छन्। खोइ त विरोध? खोइ त आवाज? बाँधिएको देश एकशूत्रमा? देश होइन समाज राज्य नै पनि खोइ त कराको? कहाँ गए समाज सेवा गर्ने संघ-संस्थाहरू? किन हुँदैन कानुनी कार्वाही?
भनिन्छ, विश्‍वको दोस्रो सर्वश्रेष्ठ कानुनी प्रावधन रहेको देश भारत, जहाँ हरेक कुराको सुरक्षा छ। तर आज बलात्कार जस्तो अपराधबाट शिशुलाई पनि बचाउँन सकिएको छैन। एकपछि अर्को घटना प्रकाशमा आइरहेका छन्। आखिर किन? कहाँ छ प्रशासन र पुलिस व्यवस्था? आरोपिलाई पक्रिएर लकअपमा लगायो, बस सकियो? दिल्लीकाण्डलाई सन्सनीखेद बनाउने मीडिया किन निश्क्रिय छ? किन खोजीरहेको छैन? थाहा छैन। त्यसैले अहिले बलात्कारका घटनाहरू पनि एउटा जटील प्रश्‍न मात्रै बनिरहेको छ, कमजोरी कसको हो? खोइ त देश बाँधिएको एक शूत्रमा?
-02.05.2014
सोसियल साइट्स, युवा र क्लिनिङ द वेब अभियान

बितेको दुइ दशकयता गति पक्रँदै आएको सोसियल मिडियाले अहिले तीव्रता लिइसकेको छ। प्रत्येक नवयुवा पिँढीदेखि प्रौढहरूसम्मले सोसियल मिडियाको प्रयोग गरिरहेका छन्। समयानुसार युवाहरूसितै प्रौढहरूले पनि चल्न बाध्य रहेको भन्न सकिएका सायद यसलाई। एउटा भनाइ छ ‘बञ्चरो चलाउन जाने मुँडा काट्छ, नजाने घुँडा’, सोसियल मिडिया र वर्तमान युवा पिँढीमाझको सम्बन्ध पनि यस्तै-यस्तै भइरहेको छ। समाज विकासको गतिमा विज्ञानको जति ठूलो भूमिका छ, दुरुप्रयोग हुँदा विनाशमा पनि विज्ञानको उत्तिकै ठूलो भूमिका हुँदछ। यो नयाँ कुरा होइन।
सोसियल मिडियाकै कुरा गर्नु हो भने, मार्क जुकरबर्गले हार्वर्ड यूर्निवर्सिटीबाट 4 जनरवरी 2004-मा ङ्गेसबुकको शुरूवात गरेका थिए। अहिले प्रतिमहिना 1.2 अरब मानिस यसको प्रयोग गरिरहेको तथ्य प्राप्त छ। व्यापारिक दृष्टिकोणले हेर्नु हो भने विश्‍वको सबैभन्दा ठूलो अनलाइन सोसियल नेटवर्किङ साइट मानिएको फेसबुकले गत वर्षको जनवरीदेखि मार्चसम्ममा 21.9 करोड डलर मुनाफा कमाएको थियो भने यो वर्ष 64.2 करोड डलर रहेको छ।
विडम्बना के छ भने यस्ता सोसियल नेटवर्किङ साइटहरूको नाममा अश्‍लील वेबसाइडहरू पनि सञ्चालित छन्। जसले समाजलाई विकृतितिर ढकेलीरहेको छ। त्यहींबाट हत्या, आत्महत्या, बलात्कार जस्ता घटनाहरूले प्रश्रय पाइरहेको छ। आज देशमा सोशल साइटलाई कसरी दुरुप्रयोग गरिँदैछ, त्यसको सहायताले कस्ता-कस्ता दूर्घटनाहरू भइरहेका छन्? यी कुराहरूलाई प्रत्येक दिन राष्ट्रिय टीभी च्यालनहरूले प्रशारण गरिरहेकै छ। ‘सत्य घटनामा आधारित’ भनेर ‘टीभी शो’हरू निरन्तर प्रशारित छन्। कम्प्युटर, ल्यापटप अनि साइवर क्याफे र इन्टरनेटदेखि अहिले यी सबै कुरा मोबाइलमै सर्वत्र रहेकाले पनि यस्ता घटनाहरूले विकसित रूप पाइरहेको छ।
विश्‍वका विकसित राष्ट्रहरूमध्ये एउटा मानिने चीनले भर्खरैमात्र यस्तै अश्‍लील वेबसाइडहरूलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएर सामाजिक विकृतिका कुराहरूमा लगाम कस्ने पहल शुरू गरिदिएको छ। चीनले राष्ट्रियस्तरमा एउटा अभियानै चलाउँदै 110 वटा वेबसाइटलाई पूर्णरूपमा बन्द गरिदिएको छ। चीनको ‘राज्य इन्टरनेट सूचना कार्यालय’-अनुसार ‘क्लिनिङ द वेब 2014’ अभियान अन्तर्गत ‘वेबच्याट’ र ‘साइना वीबो’ जस्ता चीनको सोशल नेटवर्किङ सेवाहरूमा रहेका 3,300 एकाउन्टलाई पूर्णरूपमा बन्द गरिदिएको छ। साथै लगभग 7000 विज्ञापनहरू र 200,000 अश्‍लील सामग्रीहरूलाई पनि हटाइदिएको छ। यस सम्बन्धमा ‘नेशनल अङ्गिस अगेन्स्ट पोर्नोग्राङ्गिक एन्ड इलिगल पब्लिकेशन्स’-द्वारा अभियानको प्रारम्भमा जारी गरिएको दिशा-निर्देशहरूमा अश्‍लील वेबसाइटहरू नाबालिगहरू र सामाजिक सरोकारलाई धेरै नोक्सान पुर्याउँने बताइएको थियो।
निश्‍चयनै अहिले युवा-प्रौढहरूले यस्ता साइटहरूको सदुपयोग गरिरहेकै भएपनि सबैले यसो गर्छन् भन्ने छैन। नाबालिगहरूले यस्ता साइटहरूको एकाउन्ट खोल्न नसक्ने वा नपाउने भएपनि मात्रै एउटा मोबइल नम्बरको आधारमा कसैले पनि एकाउन्ट खोल्न सक्छन्। यसैले अहिले नाबालिगहरूको संख्या बढ्दो छ, जसले सोसियल नेटवर्किङ साइटहरू चलाइरहेका छन्। त्यसैको परिणामस्वरूप लिन सकिन्छ आज समाजमा भइरहेका अपराधका घटनाहरूलाई। त्यसैले, चीनले शुरू गरेको ‘क्लिनिङ द वेब 2014’ अभियानलाई हाम्रो देशले मात्र किन विश्‍वले नै अङ्गीकार गरे कसो होला?
-25.04.2014