सिक्किमसित मेरो गाडा प्रेम छ : दिव्या भण्डारी
सिक्किमेली नेपाली संगीत जगतमा अहिले पनि जनवादी गीतको विकास भएजस्तो लाग्दैन। भएकै भएपनि जनगायक वा जनगायिका भनेर अहिलेसम्म कसैलाई चिनिएजस्तो लाग्दैन। उसो त साहित्यमा जस्तै नेपाली संगीतको फाँटमा पनि हामी र हाम्रो देश पछि नै छ भन्दा अत्युक्ति नहोला। अझै सिक्किमको सन्दर्भमा कुरा गर्नुपरे कसो होला..? त्यो भनिरहन नपर्ला। कला र कलाकार नभएको भन्न मिल्दैन होला, तर त्यसले फस्टाउने उचित वातावरणमा हुर्किन नपाएको भन्न मिल्ला कि..! अहिले हामी भर्खरैमात्र थाहा पाउँदैछौं संगीत जगतमा पनि व्यक्तिको होइन पूरा संगीत जगत, पूरा समाजको चेतना जगाउने उद्देश्यमा गीतहरू गाइँदैछ। गीतकै माध्यमद्वारा अहिले संगीत जगतलाई मात्र होइन समाजलाई नै सचेत गराइँदैछ सुरक्षित भविष्यको निम्ति।
नेपाली संगीतको कुरा गर्न परे हामी नेपाललाई झट्ट सम्झिने गर्छौं। अझ काठमाडौंलाई सम्झिहाल्छौं। आदिकवि भानुभक्तको 200औं जन्मजयन्तीको अवसरमा नेपाली साहित्य परिषद, गान्तोकले यसवर्ष भव्य कार्यक्रम आयोजन गर्यो द्विशतवार्षिकी भानु जयन्ती। साँझमा राखिएको थियो लोकप्रिय गायक शम्भु राईको विशेष सांगीतिक कार्यक्रम। 11 जुलाईको दिन आकाशवाणी गान्तोकमा भानुजयन्ती अघि नै भेटन पाइयो गायक शम्भु राईलाई पहिलोचोटी। उनीसित थिइन् उनकी श्रीमती प्रमोदा राई साथमा थिइन एकजना चेली। तीनजनालाई लिएर आउनुहुने नेपाली साहित्य परिषदका सदस्य पुस्कर शर्मालाई सोधे दाज्यू वहाँ चाहीँ को हुनुहुन्छ?
वहाँ पनि राम्रो गायिका हुनुहुन्छ दिव्या भण्डारी। चिन्नुहुन्न? वहाँले सोध्नुभएको थियो।
गीत वहाँको सुनेको थिइन्। ‘देखेकै त पहिलोपल्ट हो’, भनें। हुनपनि न आफू संगीत क्षेत्रमा परियो न संगीतको मर्माज्ञ। फेरि गीतहरू खोजी खोजी सुनिने पनि होइन आफू त। तेसैले मैले नसुनेको नाम थियो। 12 जुलाईको दिन म पुगें वहाँहरू बस्नुभएकै ठाउँमा। गायक शम्भु राईसितको कुराकानी पछि वहाँसित पनि राम्ररी परिचय साट्ने समय पाइयो। अनि पो थाहा पाएँ, वहाँ पनि एक असल गायिका हुन् भन्ने कुरा। वहाँ पनि एक असल गायिका हुन्, एक असल कलाकार। बल्ल थाहा पाएँ। तर आफूमा कला-प्रतिभा भएरै पनि सबैथोक नहुँदो रहेछ। गायिका दिव्या भण्डारीसितको कुराकानी पछि यस्तै लाग्यो। नभए आजभन्दा लगभग 20-21 वर्ष अघि एउटा राम्रो गीति एल्बम निकालिसकेकी प्रतिभाशाली गायिका अहिलेसम्म किन आफ्नो यात्रामा अल्झिरहेकी छन्? भन्ने प्रश्न नउठ्नुपर्ने जो कसैको मनमा।
यो मायाको बोली मिठो,
दन्ते मोहनी
सामु तिमी आइदिँदा लाज लाग्छ,
कसो गरुनि।
भेटैमा लाज लाग्ने,
मनै आत्तिने..।
गायिका दिव्या भण्डारीको स्वरमा मधु गुरुङको शब्द र संगीतमा सजिएको यो गीत अहिले पनि रेडियो नेपालमा लोकप्रिय छ। अहिलेसम्म यस्तै मिठा मिठा तीन-चारसय गीतहरू बजारमा उपलब्ध छन् गायिका दिव्या भण्डारीको।
माथिको गीतले भनेझैं गायिका दिव्या भण्डारीसितको भेटमा वहाँलाई लजाउने भेटिन्न पटक्कै। बरु खुल्ला मिजासिली उनी मन खोलेर बोलिहाल्ने स्वभावकी लाग्ने उनी सँधै समाजसित नजिक रहन्छिन्। मानिसहरूको पीडासित दुःखेकी हुन्छन् सँधैं। त्यसैले उनी भन्छिन् ‘संगीत भनेको मान्छेको जीवनमा वास्तवमा पीडा बोल्ने हो। भावना हो। जसले अनुभव गरेको हुन्छ।’ तेसैर उनी शब्दकार डा. भोला रिजाल अनि संगीतकार टीका भण्डारीसित भन्छन्-
‘हिँजो आज मेरो ऐना
मेरै आँखा छल्छ
अरु बेला हासी बस्छ
मैले हेर्दा रुन्छ।’
अहिले उनी महिला हिंसा, नारी उत्पीडन, नारी चेतनाका गीतहरू गाइरहेकी छन्। तेसैले सायद अरुको दुःखमा दुखी भइरहँदा नै प्रचार-प्रसारमा आउने समय पाएकी छैनन् उनले। माया-प्रितीका गीतहरू गाएर युवा जमातलाई ध्यानाकर्ष गरिरहनुभन्दा यस्तै जनगायनमा व्यस्त रहनु उचित ठानिन् उनले। उनी भन्छन्, ‘‘गीत गाएर प्रचारमा ल्याउन गाह्रो छ। गीत गाएरै मात्र पनि सबैले बाँच्न कठिन हुन्छ।’’ उनको भनाइ हो गीत गाएर जीविका चलाउन सम्भव नहुने होइन तर सबैको निम्ति सजिलो पनि छैन। निश्चय यही कुरा गायक शम्भु राईले पनि स्वीकारेका थिए।
संगीत जगतमा सफल पाइला टेकीसकेकी गायिका दिव्या भण्डारी आफ्नो वैवाहिक जीवनपछि सांगीतिक यात्रामा निकै पछि परिन्। त्यसै पनि कलाका कुनै पनि विधा किन नहोस्, नारीजाति वैवाहिक जीवनपछि धेरैजसो हराएकै पाइन्छ। थोरै हुन्छन् जसले आफ्नो कलालाई अझ निखार्दै अघि बढिरहन्छन्। सक्रिय रहनु वा नरहनुमा कारण धेरै हुनसक्छन्। गायिका दिव्या भण्डारी पूर्व नेपालदेखि विवाहपछि पुगिन पश्चिमतिर, जहाँ संगीतलाई उति राम्रो दृष्टिले हेरिन्नथियो। उनी भन्छिन्, ‘म विवाह गरेर पश्चिम नेपाल पुगें जहाँ संगीतलाई राम्रो नजरले हेरिन्न थियो, विशेष मेरै घर-परिवारमा।’ यति हुँदा पनि उनले 2055 सम्म रेडियो नेपालमा गीतहरू दिइरहिन्, गाइरहिन्। उनका गीतहरू बजिरहे। तर परिवारविरुद्ध रहेर कतिसम्म कला फस्टाउनसक्थ्यो र। उनी भन्छिन्-‘‘पछिपछि पारिवारिक समस्या हुँनथाल्यो, जिम्मेवारी पनि बढेर जानथाल्यो, त्यसैले लगभग दशवर्षसम्म त मेरो सांगीतिक यात्रा ठप्प नै रह्यो।’’
जहाँ इच्छा, त्यहाँ उपाय। अन्ततः गायिका दिव्या भण्डारी फेरि छाउन थालिन् सांगीतिक संसारमा। माया-प्रीतिका गीतहरूदेखि अहिले 4-5 वर्ष अघिदेखि एक जनगायिकाको रूपमा छुट्टै स्थान बनाइरहेकी छन्, आफ्नै गोरेटो हिँडिरहेकी छन्।
संगीतले नै गायिका दिव्या भण्डारीलाई विवाहअघि नै काठमाडौं पुर्याएको थियो। पूरा नेपालको लागि त्यसबेला (अहिलेपनि सायद) काठमाडौं एउटा गढ थियो जहाँबाट फस्टाउने अवसर थियो। अहिलेसम्म जनमानसमा आफ्नो छुट्टै छाप बसाइरहने एकमात्र रेडियो नेपाललाई खोजेर गायक शम्भु राई दम्पति पनि काठमाडौं पुगेका थिए। गायिका दिव्या भण्डारी पनि यस्तै सपना बोकेर पुगेकी थिइन् काठमाडौं। तर सोंचेजति र देखेजति सजिलो कुन कुरा होला र, कहाँ-कुन ठाउँ होला र? गायिका दिव्या भण्डारीले पनि संघर्ष गर्नु पर्यो धेरै नै। संघर्ष त्यसो र पनि गर्नुपर्यो कि पहिले त उनले काठमाडौंमा बाँच्नु थियो। बाँच्नुकै निम्ति केही गर्नु थियो। तेसैले बाँच्ने उपाय पनि रोजिन् उनले गायन क्षेत्रलाई नै। काठमाडौं आउने बहना गीतै गाउने पनि थिएन उनको। आउनलाई सजिलो बहाना थियो कलेज पढ्ने। त्यसैले एकातिर अध्ययनको भार, अर्कोतिर बँचाइको आधार। त्यसमाथि थियो, असल गायिका बन्ने अटुट सपना, जो चट्टान बनेको थियो उनको दिल र दिमाग दुवैमा। यी तीनै कुराले उनलाई डोहोर्याए संघर्ष र परिश्रमको गोरेटोभरि।
दिव्या भण्डारीले शुरूमा मायाप्रीतिका गीतहरू नै रोजिन। प्रजातन्त्रकालमा अथवा जनान्दोलनको समयमा दिव्याको पूरा परिवारनै संगीतसित आबद्ध थिए। दाजु टीका भण्डारीदेखि चन्द्र भण्डारीजस्ताको औंला पक्रिन पाउने दिव्या भण्डारीले बाँच्नैको निम्ति गाउनुपरेको भएपनि रामकृष्ण ढकाल, यम बराल, पूर्ण परियार आदिसँग गजलहरू गाउने अवसर पाएकी थिइन्। तर घृणाको दृष्टिले हेरिने गरेको तीतो अनुभव उनको मनबाट अझै पनि उखेलिएको छैन। उनी भन्छन्-‘‘रेस्टुरेन्टमा गाउने भनेपछि हाम्रो नजरले हेरिँदैन थियो। तेतीबेलाको माहोलै अर्को थियो। गाउने-नाच्ने कसैलाई पनि राम्रो दृष्टिले हेरिन्न थियो।’’ आफू सत्यमा रहेजस्तै आरोप-प्रत्यारोपले वा जस्तै दृष्टिकोणले हेरे पनि संघर्ष गर्ने, परिश्रम गर्नेलाई कुनै प्रभाव पार्दैन। ‘‘त्यही स्थानबाट लडेर, फाइट गरेर हामी अघि बढ्यौं।’’ गायिका दिव्या भण्डारी भन्छिन्।
लगभग 10 वर्ष संगीत जगतदेखि टाडा रहेकी गायिका भण्डारी अहिले जनगायिकाको रूपमा परिचित छिन्। अघि नै भनेकी छन् उनले कि गीत गाएरै मात्र जीवन चलाउन उत्ति सजिलो छैन। त्यसैले उनले पनि ‘कृतिका’ नामक एउटा गैरसरकारी संगठनसित संलग्न रहेर काम गरिरहेकी छन्। कृतिका अथवा-
कृपाबाट बाँच्दैनौं हामी
तिरस्कार सहँदैनौं हामी
कार्यमा जुटिरहन्छौं हामी।
गायिका दिव्या भण्डारीले जसरी जीवनलाई संघर्षका रूपमा चिन्दै आएकी छन्, कृतिकामा रहेर पनि उस्तै संघर्षका कार्यहरू गरिरहेकी छन्। पहिले संघर्ष गरिरहेकी थिइन् आफ्नो निम्ति, बाँच्नको निम्ति तर अहिले आफूसितै अरूको निम्ति संघर्षरत् छिन् उनी। संघर्षरत् छिन्, यो समाजको निम्ति। उनी भन्छिन्-‘‘कृतिकाले मूलतः बालबिवाहको विरोध गर्छ। दाइजो प्रथाको विरोध गर्छ। शारीरिक असक्षम (फिजिकली डिसेबल) हरूका लागि काम गर्छ।’’
गायिका दिव्या भण्डारी भन्छिन्- ‘‘यो समस्या नेपालको मात्र होइन। यो त सारा विश्वको समस्या हो। हामी यस्तै समस्याहरूसित लडन काम गरिरहेका छौं। विभिन्न संघ-संस्थाहरूसित आबद्ध रहेर काम गर्छौं। गीतको माध्यमद्वारा जनचेतनामूलक कामहरू गरिरहेका छौं।’’ अथवा संगीत र समाजसेवा दुवैसित अघिबढिरहेकी छन् गायिका दिव्या भण्डारी।
यसपल्टको भानुजयन्तीको अवसरमा गान्तोकमा भेट भएपनि गायिका भण्डारी झण्डै 20 वर्षअघि पनि सांगीतिक यात्राकै क्रममा सिक्किम आएकी बताउँछिन्, जतिबेला उनको छोरा मात्रै 6 महिनाका थिए। त्यससमय उनले रिनाकदेखि पेदोङ, कालेबुङ, दार्जीलिङतिर देवराज शर्मा, सुरेश कुमार, पारश गजमेर, थुप्देन भोटिया आदिसित स्टेज प्रोग्राम गरेकी बताउँछिन् उनी। ‘‘एउटी छोरीदेखि कसैकी श्रीमती, कसैकी बुहारी अनि कसैकी आमा बनेकी छु।’’ उनी भन्छिन्-‘‘पारिवारिक जिम्मेवारी बढेको छ, यो पक्का हो। तर श्रीमती, बुहारी र आमा हुनुको जिम्मेवारी कहिले भुलेकी छुइन भुल्दिन पनि।’’ यतिमात्र होइन, ‘‘अर्को दृष्टिले हेर्नुहो भने पहिला एक महिला, त्यसपछि गायिका अनिपछि आमा हुनुको जिम्मेवारी कस्तै परिस्थितिमा पनि बिर्सेकी छुइन अनि बिर्सिन्न पनि।’’ सिक्किम यात्राको अनुभव राख्नुपर्दा उनी भन्छिन्-‘‘यस विषयमा म केही भन्नै सक्दिन, केही बोल्नै सक्दिन। दुखेकी पटक्कै छुइन म। सिक्किमसित त मेरो अझ गाडा प्रेम छ।’’ -अर्जुन राई, 30.07.2014