Friday, July 25, 2014

गायक शम्भु राईसित केहीक्षण...!

गायक शम्भु राईसित केहीक्षण...!

-अर्जुन राई
‘आ.. हा हा हा, हा.. हा हा हा
चलेछ बताश सुस्तरी मनै सरर,
भरोसा छैन जीवनको बिताउँ हाँसेर...।’
गायक शम्भु राईले यही गीत पहिलोपल्ट रेडियो नेपालमार्फत रेकार्डिङ गराएका थिए। त्यसपछि उनी नेपाली सङ्गीत जगतमा यस्तै धेरै लोकलय र लोकभाकासित हातेमालो गरी लोकप्रिय बन्न पुगे। त्यसैले गायक शम्भु राई सबै नेपाली मनमा बसेका छन् छपक्क भनिदिँदा हुन्छ जस्तो लाग्छ। विज्ञान र प्रौद्योगिकीले संसारलाई धेरै पर पुर्‍याइसकेको भएपनि उनको ‘चिट्ठी तिमीलाई लेखु भन्थें.., मनको कुरा मनमै रह्यो..।’-ले अझै पनि सबै उमेरकाहरूलाई छोइदिन्छ। संगीत जगतमा अहिले पप, र्‍याप र रिमिक्स, रिमेकको समय भएपनि तीनदशकभन्दा अघिका यी गीतहरूमा अहिलेका युवा फिँढीहरू पनि रम्नसक्नु गायक शम्भु राईको सांगीतिक सफलता मान्नुपर्छ। त्यसैले उनी भन्छन्-‘‘यी गीतहरू हाम्रो गाउँ-घरबाट आएका हुन्, मेलापातबाट आएका हुन्। म त पात्र मात्रै हुँ, मात्रै एउटा रोल। यी गीतहरू गाउँघरबाट आएको एकप्रकारका तरङ्गहरू हुन्। गाउँको वास्तविक लयहरू हुन्, जो मबाट परिमार्जित गरी बुन्ने काम भएको छ। त्यसैले यी गीतहरू सँघै आफ्नै जस्ता लाग्छन्।’’ साँच्चै जुन कुरामा आफ्नोपन हुन्छ, त्यो सँधै सबैको मन हर्ने नै हुन्छ। नबुझौं हामी कुनैपनि गीत लोकलयमा छ भने हाम्रो खुट्टा, हाम्रो टाउको, हातका औंलाहरू आफै ती धुनहरूसित ताल मिलाइरहेको पाउँछौं।
नेपालको धनकुटा चुङबाङ, गाविस-4 को एउटा निम्न परिवारमा जन्मिएका गायक शम्भु राई स्व. मायादेवी र स्व. चक्रबहादुर राईका दुइ छोरीपछिका एकमात्र छोरो हुन्। माता-पितापछि दुवै दिदीहरूले पनि उनलाई एकलो छोडिसकेका छन् यस संसारमा। उनी भन्छन्, ‘‘यो शम्भु राई गाउँको एउटा सिधासाधा कृषकको छोरो। रेडियो सुन्दा, हाटबजार, स्कूल-मेलापातमा अरुले गाएको सुन्दा, नाचेको देख्दा मलाई पनि रहर लाग्थ्यो गाउन। भित्र तरङ्गहरूबाट गाउने रहर उठ्थ्यो।’’ त्यहीदेखि गाउँघरमा गाउन थालेका गायक शम्भु राई पछि धरान झरे, जहाँ भेट भयो प्रमोदा राईसित। अनि शुरू भयो उनको जीवनको अर्को पाटाको यात्रा। अहिलेसम्म एकलो शम्भु अब प्रमोदाको साथ पाएपछि पाए उनले संगीत जगतमा फस्टाउने मौका। आफूमा सांगीतिक प्रतिभा नभएपनि गायक शम्भु राईभित्रको कलालाई चिन्नसक्ने प्रमोदाले अनि भनिन्- ‘तपाईंमा यस्तो प्रतिभा छ। यसलाई यत्तिकै मर्न दिनु हुँदैन।’ अनि भनिन्-‘यसलाई प्रचार-प्रसारको खाँचो छ। हिँड्नोस् काठमाडौं जाउँ। गरौला केही। सुन्न पाउनुपर्छ तपाईंको आवाज सबैले। एउटैमात्र रेडियो नेपालमा गाउन सके बेश होला।’ अनि पुगे दुइ दम्पति रेडियो नेपालसम्म। पहिलोपल्ट स्वर जाँचपछि रेकार्डिङ गराए पहिलो गीत ‘चलेछ बसास सुस्तरी मनै सरर..।’ यसरी शुरू भयो शम्भु राईको यात्रा गायक शम्भु राईका रूपमा। तीन दशकअघि सुस्तरी चलेको त्यही बताशले साँच्चै नेपाली मनहरूलाई सर...र.. पार्दै लग्यो शम्भु राईलाईसितै।
सांगीतिक यात्रा तर त्यति सजिलो कहाँ थियो र। गाउँघरको चौतारीबाट, मेलापातबाट टिपी ल्याएको उनको लोकसुसेली, लोकभाका र लोकधुनहरूभन्दा धेरै अरु धेरै थिएन। पछिबाट संगीतको बेसिक तालिम (जुनियर डिप्लोमा)-सम्म प्राप्त गर्ने शम्भु राईसित पहिले त्यो पनि थिएन। त्यसैले उनीबाट पनि गाउने क्रममा धेरै गल्तिहरू भएका कुरा उनी स्वयं स्वीकार्छन्। त्यसैपनि मान्छेले सबैकुरा जानेरै आएका हुँदैनन्। सिक्दै जानुपर्ने कुराहरू हुन्छन् जीवनमा। गायक शम्भु राई भन्छन्- ‘‘मान्छे सबै पर्फेक्ट पनि हुँदैनन्। मबाट पनि धेरै गल्ति भए गाउँदा। त्यसैले साथीहरूले हेला गरे, गिल्ला गरे।’’ उनीभित्रको तीतो यथार्थ बोलिरहेको थियो सायद यतिबेला ‘‘नामै चाँही नभनौं, तर पछि सँगै हिँडेका साथीहरू भन्दा पपुलर हुँदा, राम्रो गाउँदा खुट्टा तान्नेहरू पनि धेरै निस्किए।’’ यतिबेला भने मन थोरै भुवाजस्तो भयो सायद उनको। तेसैले भन्दै थिए गायक शम्भु राई-‘‘तर ती कुराहरू क्षणिक थिए, किनभने कसैले खुट्टा तान्नखोजे पनि खुट्टै काटिने त होइन। आफ्नो कला, आफ्नो काम, आफ्नो शीप आफूसितै छ, माया गर्ने श्रोताहरू आफैसित छन्।’’
गायक शम्भु राईले लगभग 30 वर्षअघि रेडियो नेपालमा ‘चलेछ बतास सुस्तरी...।’ रेकार्डिङ गराउँनुभन्दा 5 वर्ष पहिले नै यस क्षेत्रमा प्रवेश गरिसकेका थिए। अहिले नयाँ गीति कोशेली ‘फेरि पनि शम्भु राई’ लिएर श्रोताहरूमाझ आइरहेका शम्भु राईले अघिबाटै 22 वटा गीति एल्बम नेपाली संगीत जगतलाई दिइसकेका छन्। हजारभन्दा अधिक गीतमा स्वर दिइसकेका उनी यो कलमकारसिको कुराकानीमा भन्छन्-‘‘पहिले म्युजिसियनहरूसित सँगै बसेर गाउनुपर्थ्यो। अहिले त्यो हुन्न। त्यसमा जैविकता थियो। कतिपय कठिनाइ पनि थियो तर थियो त्यसमा आत्मीयता।’’ उनी यसो पनि भन्न चाहँदैनन् -‘अहिलेको पद्धति ठीक छैन।’’ तर उनी भन्छन्-‘‘अहिले कतिपय सजिलो पनि छ। स्केल तल-माथि हुनसक्छ, त्यसलाई मिलाउन सजिलो हुन्छ। तर जैविकपन पहिला थियो। आत्मीयता थियो त्यहाँ’’
अर्को एउटा प्रश्‍नको जबावमा उनी भन्छन्-‘‘त्यस समय गाउँ-घरमा चल्तिमा आउने लोकगीतहरू नै थिए। गणेश रसिक, नवलकिशोर जस्ता अग्रजहरू थिए, दीप श्रेष्ठको ‘साइली बरी.... चियाबारीमा...।’ यस्ता गीतहरू थिए।’’
‘‘तेतिबेलाका गीतहरू गाउँघरका मानिसहरूले बाटामा हिँडिरहँदा, दाउँदैगर्दा निस्किएका धुनहरू हुन्, आफै आएका शब्दहरू हुन्।’’ गायक शम्भु राई भन्दै थिए-‘‘मलाई यस्तै लाग्छ। मैले गाएका गीतहरू मेरै हुन्, ती धुनहरू मेरै हुन् भनेर म दावी गर्न सक्दिन’’ उनी भन्दैथिए -‘‘किन भने कुनै पनि लोक संस्कृति सृजना गर्न मसित हैसियत छैन। कसैसित पनि छैन। कारण एउटा चण्डी गीत, एउटा च्याब्रुङ गीत, मुन्धुम गीत उहिले हाम्रा बाउ-बाजे-बराजुदेखि चलिआएको हो।’’ उनी भन्छन्-‘‘हे... हे... हे... हे...!, यो लय मैले बनाएको भन्न मिल्दैन। किनभने यो हाम्रो बाउ-बाजेदेखि चलाउँदै ल्याएको मुन्धुम हो।’’ उनी भन्छन्-‘‘तर त्यसबाट अर्को चिज चाहीँ निकाल्न सकिन्छ। त्यसैले मेरो गुरु चाहीँ त्यो भयो। त्यसैको आधारमा शम्भु राईले गाएको गीतहरू हुन्।’’ उनी अझ भन्छन्-‘‘कतै भारी बोकेको बेला, कतै थाकेर बसिइराखेको बेला, कतै हिँडिरहेको बेला निस्किएका आवाजहरू हुन्।’’
त्यसपछि अलिकति चेतनामूलक गीतहरू गाइयो। त्यो बेला आवश्यक पनि थियो। चेतनामूलक भन्नाले जनपक्षीय गीतहरू, जसले माया-प्रीतिका गीतहरूमात्रै गाउँदा पछि कति गाह्रो पर्नसक्छ, माया प्रीतिका गीतहरू मात्रै गाएर वा माया-प्रीतिसँग मात्रै संबन्धित रहेर जीवनलाई चलाउँन कतिको सकिन्छ र हाम्रो जीवन कतिको दर्दनाक, कतिको कठोर छ? यी चिजहरू यथास्थितिमा रहिरहँदा हाम्रो जीवन कतिको कस्टकर हुन्छ? त्यसलाई सहजता दिन, चेतना दिन हामीले जनपक्षीय गीतहरू गाउँथ्यौं।’’
‘‘गाउँघरमा गाउन पाउँदा रमाउँछु म।’’ गायक शम्भु राई भन्छन्-‘‘नेपालको सोलु सल्लेरी, भोजपुर, खोटाङ.., अझै कुनाकुनासम्म धेरै गइयो, धेरै गाइयो, धेरै रमाइयो।’’ बेलायत, जर्मन, फ्रान्स, हङ्कङ, अमेरिका, जापान, कोरिया, मलेशिया, सिङ्गापुर जहाँजहाँ नेपाली भाषी छन् त्यहाँत्यहाँ आफ्नो गीतको छाप छोडिसकेका गायक शम्भु राई भन्छन्-‘‘जहाँ पनि गइयो दर्शकको माया नै पाइयो। सबैकुरा फोनबाटै भएपनि मिलिसकेको हुन्थ्यो। त्यसैले नमिठा सम्झनाहरू छैनन्।’’ यसै क्रममा पहिलोपल्ट सिक्किम आउँदाको अनुभवबारे उनी भन्छन्-‘‘1991-मा पहिलोपल्ट सिक्किम आउँदा यहाँका दर्शकमहानुभावहरूले मलाई म पनि गायक हुँ भन्ने महशुस गराएका थिए।’’ नमिठा पलहरूको समम्झना गर्दै गायक शम्भु राई भन्छन्-‘‘अघिनै भनेजस्तो नमिठा सम्झनाहरू छन् भने बरु आफ्नै साथीहरूसित थियो।’’
आप्ना गीतहरूबारे उनी भन्छन्-‘‘चलेछ बतास गीतमा दर्शक-श्रोताहरू रम्छन्, नाच्छन्। चिट्ठी तिमीलाई लेखु भन्छु...-ले मलाई पुराना दिनहरूको याद दिलाउँछ। मलाई झस्काउँछ।’’ अनि भन्छन् उनी-‘‘यथार्थमा धेरै लेखियो। रियल चिट्ठी चैं प्रमोदालाई लेखेको थिएँ। उनको मुटुमै लागेछ। जीवन राम्ररी चलिरहेछ।’’ शम्भु राईकै अनुहार चिहाइरहेकी प्रमोदी मुसुमुसु हासिरहेकी थिइन् यतिबेला, साथ दिइरहेकी थिइन अर्की जनगायिका दिब्या भण्डारीले।
संगीत जगतमा अहिले देखिइँदै गरेका नयाँपना, लय र भाकाहरूमाथि बोल्दै भन्छन् शम्भु राई-‘‘पहिलेका गीतहरू अझै बाँचीरहेछन्। अहिलेका गीतहरू आउँछन्, हिट हुन्छन्, फेरि हराइहाल्छन्।’’ आफ्नो विचार राख्छन् फेरि उनी-‘‘आगन्तुक कुरालाई भित्राउँदा टाडाको जस्तो लाग्ने हुनसक्छ। त्यसैले श्रोताहरूले अहिलेका गीतहरू मन नपराएका हुनसक्छन्।’’ उनी भन्छन्-‘‘नारायण गोपाल दाइका गीतहरू, अरुणा दिदीका गीतहरू, दीप दाइका गीतहरू, गोपाल योञ्जनका गीतहरू अहिलेसम्म किन मन पर्छ भन्दा ती गीतहरू श्रोताहरूकै निम्ति श्रोताहरूकै भाकामा, वहाँहरूकै लयमा गाइएका छन्। ती गीतहरू घरभित्रैको हो, आफ्नोपन छ त्यहाँ।’’ उनी अझ खुलस्त पार्दै भन्छन्-‘‘केही दिनको यात्रामा, भ्रमणका लागि हामी मलेसिया, सिङ्गापुर, हङ्कङ... जहाँ पुगेर जतिनै रमाए पनि अन्तमा फर्केर आउनुपर्ने आफ्नै गाउँघर हो। त्यो भन्दा सुन्दर, त्यो भन्दा रमाइलो अर्को कुनै ठाउँ हुँदैन। हाम्रो संगीत, हाम्रो संस्कृति पनि त्यस्तै हो’’ उनी थप्छन्-‘‘हामी कहाँबाट आएको, पिता-पूर्खा को हुन्, म को हुँ भन्ने बिर्सिन सकिन्न।’’
नयाँ गीतहरू अनि गीत रिमिक्स र रिमेकसित गायक शम्भु राईको आत्मीयता छैन। उनको विचारमा आफ्नो गीतलाई रिमिक्स गर्न दिनु, रिमेक गर्नदिनु भनेको आफ्नो परिचय गुमाउनु हो। आफ्नो नाम मेटाउनु हो। तेसैले उनी भन्छन्-‘‘यसो गर्नु आफैमा नराम्रो होइनहोला। तर जसको गीत रिमिक्स गरिन्छ उसलाई अन्याय हुन्छजस्तो लाग्छ।’’ उनलाई लाग्छ-‘‘बरु आफ्नो क्षमताअनुसार आफ्नै निकालेको राम्रो लाग्छ।’’
एक असल गायकका निम्ति आप्नो स्वर ठीक राख्नु पहिलो कुरा मान्ने गायक शम्भु राई भन्छन्-‘‘आफूमा समर्पित भाव हुनुपर्छ, प्रतिवद्धता र त्यसप्रति लगनशीलता प्रमुख कुरा हुन्। स्वर सबैसित हुन्छ, तर काँचो माटोलाई कसरी इँटा बनाउने, त्यो आफूसित हुन्छ।’’ व्यावशाय र संगीतको सम्बन्ध दह्रो रहने कुरामा पनि उनी उत्ती स्वीकार गर्नसक्दैनन्। उनी भन्छन्-‘‘जीवन धान्नका लागि सयमा पाँचजनाको राम्रै छ। तर पाँचप्रतिशत भनेको अतिनै न्यून हो। अरुमा उतार-चढाउ हुन्छ नै। तर ‘लिगलाइज’ हुनु हो भने राम्रै हुन्छ। यसमा प्रतिलिपि अधिकारबनिसकेको छ। नियमवाली आइसकेको छ। सरकारले नियन्त्रण गर्नसक्नुपर्छ।’’
31 वर्ष अघिको वैवाहिक जीनपछि अहिले श्रद्धा र समृद्धा दुइ छोरी अनि सञ्जोग एकमात्र छोरासहित पाँचजनाको परिवार रहेको गायक शम्भु राईले आप्नै छोरीको नाममा काठमाडौंमा श्रद्धा रेकार्डिङ स्टुडियो स्थापना गरेर अहिले काठमाडौंमऐ रहिआएका छन्, जहाँ भर्खर-भर्खरै रेकार्डिङ गराएका छन् उनले-
‘झुपडीकी नारी रुन्छे तर्कारीलाई नून छैन,
महलकी नारी रुन्छे सोंचेजति सुन छैन
कसैलाई सून छैन, कसैलाई नून छैन
दुवैलाई निको हुने औषधिको गुणै छैन।’
-------

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete