Friday, August 29, 2014

सरकारको घोषणा र हाम्रो दायित्व

मुख्यमन्त्री पवन चामलिङले पश्‍चिम सिक्किममा थप दुइवटा महाविद्यालय निर्माण गर्ने घोषणाले सम्पूर्ण राज्यवासीमा खुशीको लहर छाइरहेको छ। उसो त राज्यको शिक्षास्तरलाई सँधै बढावा दिँदै आइरहेको राज्य सरकारले आफ्नो कुल बजेटबाट 20 प्रतिशत शिक्षाकै निम्ति खर्चीँदै आइरहेको छ, जसको फलस्वरूप अहिले राज्यको बढ्दो साक्षरता दरले पुष्टि गरिसकेको छ। यद्यपि, सरकारको लक्ष्य त्यतिमात्र नरहेर राज्यलाई पूर्ण साक्षर बनाउने लक्ष्यमा लागि परिरहेको छ सरकार। त्यतिमात्र होइन गुणस्तरीय शिक्षाको अभियानमा पनि उत्तिकै केन्द्रित छ वर्तमान राज्य सरकार।
राज्यको शिक्षास्तर तथा साक्षरता दरको वृद्धि भइरहेको कुरा प्रत्येकवर्ष स्कूल वा कलेजमा विद्यार्थीहरूले नयाँ भर्ना लिने समय झेल्नुपरिरहेको समस्याबाट प्रष्ट हुन्छ। 55-60 प्रतिशत कटअव मार्कस् हुँदा पनि नानीहरूले भरका लागि सीट नपाउनु एउटा समस्या हो। यद्यपि, राज्य सरकारको निम्ति राज्यको शिक्षास्तरमा बढोत्तरी होस् भन्ने लक्ष्यतिर अग्रसर रहेको पनि पुष्टि हुँदछ। अथवा सरकार आफ्नो उद्देश्यमा सफल बनिरहेको छ। विगत केहीवर्षयता विशेषगरि महाविद्यालय तहमा विद्यार्थीहरूले भरना पाउनु धेरै नै कठिन बन्दै गइरहेको छ। यस्तै समस्याको नानीहरूले सामना गर्नु नपरोस भनेर नै सरकारले अघिबाटै तादोङ सरकारी महाविद्यालय अनि नाम्ची सरकारी महाविद्यालय बाहेक तादोङ सरकारी महाविद्यालयको बुर्तुक शाखा सञ्चालन शुरु गरिसकेको छ भने त्यसबाहेक पनि रिनाक, गेजिङ, बुर्तुकमा पनि महाविद्यालय स्थापना गरिसकेको छ। यसबाहेक विधि महाविद्यालयहरू पनि खोलिदिएको छ।
यति हुँदाहुँदै पनि अहिले राज्यमा महाविद्यालयहरूको कमी महशुस गरिँदै छ। यसै कुरालाई ध्यानमा राखेर राज्यका विद्यार्थीहरूको समस्यालाई ध्यानमा राखी  21 अगस्तको दिन मुख्यमन्त्री पवन चामलिङले राज्यमा थप दुइवटा महाविद्यालय पश्‍चिम जिल्लामा स्थापना गर्ने घोषणा गर्नु वास्तवमै सराहनीय विषय हो।
अर्को कुरा, दिनदिनै नेपाली भाषाप्रति विद्यार्थीहरूको घट्दो रुची र खस्कँदो अवस्थाबीच भाषा दिवस 2014-को अवसरमा मुख्यमन्त्री चामलिङले नेपाली भाषाका शिक्षकहरू नियुक्त गर्ने पनि घोषणा गरिका छन्। उक्त घोषणाले राज्यले धेरैवर्षदेखि गरिरहेको प्रतीक्षा पूरा भएको महशुस गरिरहेको छ भने यसबाट नानीहरूको नेपाली भाषास्तरमा विकास आउने मात्र होइन तर यहाँ रोजगारीको पनि थप सम्भावना बढेको छ। तर त्यसका लागि हामी कति तयार छौं, त्यसकुरोमा पनि मनन गर्नु आवश्यक हुन्छ।
अब ध्यानदिनुपर्ने कुरा के छ भने, जसरि मुख्यमन्त्रीले पार्दर्शी विचार राखेर विभिन्न घोषणाहरू गरिरहेका छन् वा गरेका छन्, ती कुराहरूलाई व्यवहारमा कसरी उतार्ने हो? त्यो पनि ध्यानयोग्य विषय छ। सम्बन्धित निकायले ती घोषणाहरूलाई व्यावहारिक रूप दिनसके सरकारको उद्देश्य पूरा हुनेछ। त्यसैले यहाँ कुनैपनि सकारात्मक विचार वा योजनालाई  सफल रूप दिन सहकार्यको खाँचो हुन्छ। घोषणा गरिसकिएको छ। ओजना तयार छ। तर कार्यनवयन हुन सकेनभने सबै पानीमा जानेछ। त्यसैले राज्यसरकारका घोषणाहरूलाई सफल बनाउन त्यसको कार्यनवयनमा हाम्रो पनि उत्तिकै दायित्व हुनुपर्छ। हामीमा पनि जिम्मेवारी हुनुपर्छ। यदि कुनै योजना कार्यनवयनमा आउन सकेन भने अथवा कुनै घोषणा व्यवहारमा उत्रिनसकेन भने त्यसको कारण के हो? आम जनताले खोज्नुपर्छ। सरकारको घोषणालाई सफल बनाउन हाम्रो पनि उत्तिकै दायित्व हुँदछ।-22.08.2014

प्रधानमन्त्री जनधन योजना

प्रधानमन्त्री जनधन योजना हिजोदेखि देशव्यापिरूपमा लागु गरिसकिएको छ। 15 अगस्त 2014-देखि आगामी 14 अगस्त 2015 सम्म यस योजनाको पहिलो चरण रहनेछ। देशमा गरिबी उन्मुलनको एउटा उपाय निकाल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरिका प्रत्येक नागरिकको अथवा प्रत्येक घरपरिवारको ब्याङ्क खाता हुनुपर्छ, मानिसहरूमा ब्याङ्क सेभिङको बानी बसाउनुपर्छ भन्ने मूख्य उद्देश्यमा शुरू गरिएको छ प्रधानमन्त्री जनधन योजना। हिँजो बिहान 8 बजी प्रधानमन्त्रीले ‘मेरा खाता भाग्य विधाता’ नारामा शुरू गरिएको यस योजनाको घोषणापछि बेलुकी 4 बजीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो योजना लागु गरिनेबित्तिकै देशमा डेड करोड ब्याङ्का खाता खोलिएको र यो एउटा इतिहास कायम हुनसकेको पनि बताइसकेका छन्।
‘प्रधानमन्त्री जन धन योजना’-ले आधारकार्डधारी देशका प्रत्येक आम नागरिकलाई ‘जिरो ब्यालेन्स’-मा कुनै पनि ब्याङ्कमा एकाउन्ट (खाता) खोल्ने अनुमति दिँदछ भने खाताधारकले त्यसलाई सुचारुरूपमा चलाउनसके एकलाख रुपियाँसम्मको आकस्मिक बीमा (एक्सिडेन्टल इन्सुरेन्स) पनि दिँदछ। तर, मानिसहरूमा यो भूल धारणा रहनु भएन कि भिन्नाभिन्नै ब्याङ्कमा खाता खोलेर भिन्नाभिन्नै ब्याङ्कद्वारा बीमा दिइन्छ। देशका सबै राज्यहरूजस्तै सिक्किममा पनि हिँजो बिहान मुख्यमन्त्री पवन चामलिङले यस योजनाको घषाणा गरेपछि दिनभरिनै गान्तोक, मगन, नाम्ची, गोजिङ र सिङ्ताममा लगाइएका शिविर तथा 28 वटा ब्याङ्कहरूका प्रत्येक शाखाहरूमा खाता खोल्ने काम भयो। तर धेरैजसो स्थानमा मानिसहरू यही भ्रममा परेको देखियो। फलस्वरूप अलग-अलग ब्याङ्क शाखामा गएर एकभन्दा अधिक खाता खोल्ने पक्षमा मानिसहरू थिए। अर्को साधारण लाग्ने कुरा ‘खाता खोलेपछि केन्द्र सरकारले नै रुपियाँ लगाइदिन्छ’ भन्ने भ्रमबाट पनि बाहिर निस्कनु पर्छ। सरकारले त खाता खोलिदिने मात्रै हो। अझै धेरैले बुझ्नुपर्ने कुरा, खाता खोल्न चाहनेका लागि यो प्रक्रिया निरन्तर चलिरहने छ। 28 अगस्त 2014-कै दिन पहिलो र अन्तिम मिति हो भन्ने धेरैले बुझेको पाइएको छ, जो अर्को एउटा भ्रम हो। यो प्रक्रिया 14 अगस्त 2015 सम्म निरन्तर चल्नेछ। यद्यपि, खाता खोल्नलाई शिविर (क्याम्प) भने लाग्ने छैन। त्यसैले कसैले पनि यो खाता खोल्न चाहन्छन् भने सिधै कुनैपनि ब्याङ्कमा जान सक्नेछन्, यदि अघिबाटै आफ्नो नाममा कुनै ब्याङ्क खाता खोलिएको छैनभने।
प्रधानमन्त्री नरेन्द्र मोदीको परिकल्पनामा तयार गरिएको यस योजनालाई सफल बनाउन पूरा देशभरि नै यसलाई लागु गरिएको छ। विशेष गरीब परिवारलाई केन्द्र गरी तयार गरिएको यस योजनालाई हरेक राज्यका मुख्यमन्त्री तथा प्रशासनपक्षले पनि सफल पार्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन्। मुख्यमन्त्री पवन चामलिङले पनि हिँजो नै यस योजनाको सराहना गरेका छन्। यसका साथै राज्यमा यस योजनालाई सफल पार्न राज्य सरकारले सम्भावित सबै प्रयास गर्ने र सहयोग पुर्‍याउने वचनसम्म दिएका छन्। सांसद पीडी राई स्वयं अनुपस्थित रहेपनि उनले पनि यस्तै संदेश पठाएका थिए। राष्ट्रिय योजनालाई सफल पार्न मुख्यमन्त्रीले जुन आश्‍वासन दिएका छन्, त्यो आफैमा पनि सराहनाको विषय हुन्छ। किनभने जबसम्म राज्य-राज्यले यस्ता राष्ट्रिय योजनाहरूलाई साथ दिँदैन, तबसम्म राष्ट्रिय स्तरमा ती योजनाहरू सफल बन्न सम्भव हुँदैन।
अघि भनियो, ‘प्रधानमन्त्री जन धन योजना’-लाई लिएर आम मानिसहरूमा अझै पनि धेरै गलत धारणा छ अथवा मानिसहरू भ्रममा छन्। देशब्यापि रूपमा घोषणा गरिसकिएको यसता योजनाहरूबारे केन्द्र होस या त फेरि राज्यका, प्रत्येक विभागीय सरकारी कर्मचारी अघिबाटै सुसूचित हुनसके आम नागरिकलाई ठूलो सहयोग पुग्नेहुन्छ। तर दुःखको कुरा त के छ भने, राज्यमा अहिले यसो हुनसकेको छैन। आम मानिसले यति बुझेका छन् कि यस योजनाले एउटा खाता खोलिदिन्छ अनि एकलाख रुपियाँको बीमा गराइदिन्छ। तर यस योजना लागु गरिएको घाषणाकै दिन यता धेरै अधिकारीले नहिच्किचाइ ‘यस योजनाबारे पहिलोपल्ट आजै सुन्दैछु’ भनिरहेका थिए। तर यसो भनेर सिधै उनीहरूको यहाँ कम्जोरी हो भन्न खोजिएको होइन। भन्न के खोजिएको हो भने, यदि राष्ट्रिय स्तरमा कुनै योजना लागु गरिँदैछ अथवा शुरू गरिँदैछ भने त्यसबारे सबै तहसम्म सुसूचित गराइनु पनि उत्तिकै आवश्यकता हुन्छ। सिक्किमकै सन्दर्भमा पनि अहिले यस्तै आवश्यकता देखिन्छ।
अर्को कुरा, यो योजना कस्को लागि हो र को-को यसको हकदार हुन्छन् वा हुन्? भनेर ग्रामस्तरमा पञ्चायतहरूलाई पनि संलग्न गराउनसके माथि उल्लेखित विभिन्न भ्रमबाट मानिसहरू निस्कन सक्ने धेरैको विश्‍वास छ। यतिमात्र नभएर, यस योजनालाई लिएर हिँजो एकै दिनमात्र शिविर राखिएको थियो। तर प्रत्येक गाउँघरमा मानिसहरूलाई जागरुक गराउने उपायहरू भइदिए खाता खोलिनै पर्ने आवश्यक मानिसहरू कोही पनि छुट्ने थिएनन्।-29.08.2014

15 अगस्त र खेलप्रतिको चासो

अहिले राज्यका चारै जिल्लाका गाउ-घरतिर खेल भाव जागृत छ। सानाहरूदेखि युवा-तरुणावस्था मात्रै होइनन् तर बुढापाकाहरूसम्म खुब उत्साहित देखिन्छन् यो समय। यो समय अर्थात विशेष अगस्त महिनामा प्रत्येक वर्ष नै यस्तै देखिन्छ। राम्रो कुरा। कुरा भन्दा पनि संकेत राम्रो भन्न सकिन्छ। अझ यो वर्ष त भर्खरै मात्र विश्‍वकपले मानिसहरूमा खेलप्रेमको भाव सृजना गरिदिएर छोडेको धेरै भएको छैन। यही समय राष्ट्रमण्डल खेलले मानिसहरूमा खेलप्रतिको भाव विकास गरिदिएको छ।
राज्य सरकारले त्यसैपनि राज्यका युवाहरूलाई खेलप्रति उत्साहित गराउँदै उनीहरूलाई विभिन्न सुविधा उपलब्धा गराइरहेको छ। राष्ट्रियदेखि अन्तरराष्ट्रिय तथा ओलम्पिक खेलसम्म प्रतिष्पर्धा गरेर पदक ल्याउने खेलाडीहरूलाई लाखरुपियाँसम्म नगत राशिको घोषणा अघिबाट राज्य सरकारले गरिसकेको छ। उसो त राज्यबाट धेरै खेलाडीहरूले राष्ट्रियदेखि न्तरराष्ट्रिय तथा ओलम्पिकसम्म नै देशकै प्रतिनिधित्व गर्दै खेलाडीहरूले आफ्नो प्रतिभाको परिचय दिन थालिसकेका छन्। त्यसको लागि लरतरो विचार, संघर्ष र समर्पणले हुँदैन। यति कुरा स्वीकार्नुपर्छ।
यस्तो स्थितिमा यो समय राज्यमा जसरी ठाउँ-ठाउँमा खेलप्रतिको विशेष फूटबल र भलिबलमा मानिसहरूको रुची बढेको देखिन पाइन्छ, त्यो अति सराहनीय लाग्छ। गाउतिर अहिले खेल हेर्नैको लागि पनि घरका सबै काम सक्ने हतारमा हुन्छन् सबै। धेरैलाई ‘गोली हेर्न गाको’, ‘गेम हेर्न गाको’ भन्दै हिँडिरहेका भेचिन्छन्। यस्ता वाक्यहरू सुन्दा यति पक्का छ कि, गाऊँ-घरमा पनि अब सानाहरूदेखि बुढापाकाहरूसम्म खेलप्रति चासो देखाउऩ थालेछन्। सँधै तास खेलेर दिन बिताउनेहरू, सित्थैमा झुण्डझुण्ड भएर घुमिहिड्नेहरू यतिबेला भूटबल र भलिबल हेर्न जानलाई तम्सीरहेका हुन्छन्।
चिन्ताको कुरा के छ भने, जसरी अहिलेको समय गाउँगाउमा खेलभाव विकसित देखिन्छ साना-ठूला सबैमा त्यो 15 अगस्तपछि ठप्प भइदिन्छ। अहिले साँझ-बिहान भ्याइ-नभ्याइ अभ्यास गर्ने, प्रतियोगिताहरू आयोजन गर्ने, प्रतियोगिताहरूमा भाग लिने गर्छन् मानिसहरू। 15 अगस्तपछि यस्ता सबै उत्साह, जोश, जाँगर एकाएक निरुत्साहित देखिन्छन्। त्यसैले यदि महिनादिनसम्मको लागि मात्रै हो भने खेलप्रतिको अहिलेसम्मको भावना, उत्साह र जोश व्यर्थ जाने हुन्छ। राज्यभरि नै यस्ता खेल-प्रतियोगिताहरू आयोजन गरेर 15 अगस्तपछि सबै ठप्प बन्नुको साटो त्यसलाई निरन्तरता दिनसकिए असल हुने थियो। थोरै भएपनि खेलाडीहरूलाई अघि बढाउन सकिए अहिलेसम्म आयोजित खेल-प्रतियोगिताहरू आयोजन गर्नुको अर्थ लाग्ने थियो कि। नभए वर्षौंअघिदेखि 15 अगस्तसित मात्रै सीमित भएर बाँचेको खेलप्रतिको भावना सँधै यस्तै रहने हुन्छ। जे भएपनि अहिले खेलप्रतिको चासो 15 अगस्तसम्मका लागि मात्रै बढेर गएको भएपनि गाउँघरमा यतिबेला ‘गोली हेर्नु गाको...।’ सुन्न पाउँदा सबैलाई नै सायद रमाइलो लाग्छ।

खोइ त सिक्किममा एनसेफ्लाइटिस रोकथाम अभियान?

छिमेकी राज्य पश्‍चिम बङ्गालका विभिन्न भेकबाट मानिसहरू एकएक गर्दै एन्सेफलाइटिसका कारण मरिरहेकाले अहिले बङ्कालका पहाडी भेकहरूसितै सिक्किमले पनि एन्सेफलाइटिस विषय सचेत रहनुपर्ने देखिएको छ। एन्सेफलाइटिसका कारण 22 जुलाईसम्म 60 जनाको मृत्यु भएको थियो भने 30 जुलाईसम्ममा एन्सेफलाइटिसले मर्नेहरूको संख्या बढेर 134 पुगेको रिपोर्ट समाचार-पत्रहरूमा प्रकाशित भइसकेको छ। उत्तरबङ्गाल मेडिकल कलेज तथा अस्पतालमा अहिले पनि 50 जना उपचाराधिन रहेको जानकारी प्राप्त छ।
जापानिज एन्सेफलाइटिस मच्छरबाट सर्ने रोग अथवा हैजा रहेको डाक्टरहरूले बताएका छन्। डाक्टरहरूको भनाइअनुसार मच्छरले सुँगुरलाई टोक्दा मच्छरको शरीरमा सुगुरबाट मच्छरमा भाइरस सर्दछ। तेही मच्छरले मान्छेलाई टोक्दा मान्छेमा पनि संक्रमण हुँदछ। यो रोगको लक्षण तीव्र ज्वरो आउनु, शरीर काप्नु, टाउको दुख्नु, बोली बन्द हुनु, एकप्रकार एकलै बोलिरहनु, बेहोस हुनु यस रोगको लक्षण हो। त्यसैले जापानिज एन्सेफलाइटिसको भाइरस सर्न नदिनलाई मच्छर आउन दिनुनहुने बताइएकको छ। त्यसैले घरको वरिपरि सरसफाइ राख्नु, जताततै पानी जम्न नदिनु, फोहोर-मैले जताततै नफ्याक्नु जस्ता कुराहरूमा मानिसहरूले ध्यान पुर्‍याउनुपर्ने सल्लाह पनि दिइएको छ। नभए सिलगढीलाई अहिले पिरोली रहेको जापानिज एनसेफ्लाइटिसले सिक्किमलाई प्रभाव पार्न भन्न सकिन्न।
छिमेकी राज्य पश्‍चिम बंगालको खासगरि सिलगढी र वरिपरि फैलिएको एनसेफ्लाइटिस हैजाका कारण मृत्यु भइसकेको विषयलाई आधार बनाएर 22 जुलाईको दिन स्वस्थ्य विभाग सिक्किम सरकारले एउटा सभा आयोजना गरेको थियो। स्वास्थ्य विभागका सचिवको अध्यक्षतामा सम्पन्न सभामा उक्त हैजाबाट सिक्किमलाई कसरी सुरक्षित राख्न सकिन्छ र आवश्यक रोकथामका उपायहरू के-के हुन र कसरी बाँच्न सकिन्छ यसबाट भन्नेबारे चर्चा गरिएको थियो। यसै विषय व्यापक छलफलपछि एनसेफ्लाइटिस विषय जागरूक गराउन सूचना, शिक्षा एवं सञ्चार गतिविधिसितै मच्छरलाई रोकथाम गर्ने उपायहरू शुरू गर्ने, ज्वरो आएको बिमारीलाई सक्रिय भएर उपचार वा अध्ययन गर्ने, केन्द्रबाट इनटोमोलोजिकल सर्वेक्षणका निम्ति टोली पठाउन केन्द्र सरकारलाई आग्रह गर्ने, भारत सरकारबाट यस हैजाको पहिचान गर्ने उपकरण र यन्त्रहरू प्राप्त गर्ने, जापानिज एनसेफ्लाइटिसबारे सम्बन्धित सबै मुख्य चिकित्सा अधिकारीहरूलाई सूचना दिएर यसको तयारीमा बस्ने र आवश्यक प्रबन्धन मिलाउने, एसटीएनएम र मणिपाल अस्पताललाई एनसेफ्लाइटिसबारे पूर्ण तयारीमा बस्ने र आवश्यक प्रबन्धन मिलाउने विषयमा निर्देशन जारी गर्ने आदि निर्णय लिइएको कुरा प्रकाशमा अघिबाटै आइसकेको छ।
एनसेफ्लाइटिसका कारण 22 जुलाईकै दिनसम्म सिलगढीमा मात्रै 60 जनाको मृत्यु भएको कुरा प्रकाशमा आएको कुरा अघि नै भनियो। 22 जुलाई कै दिन राज्यको स्वास्थ्य विभागका अघिकारीहरूमाझ सभा बसेको थियो एनसेफ्लाइटिसको रोकथाम, उपचार एवं सचेतनाबारेमा। सिलगढीमा एनसेफ्लाइटिसले मर्नेहरूको संङ्ख्या 30 जुलाई अथवा 22 जुलाईदेखि यता 8 दिनमा बढेर 134 पुगेको पनि प्रकाशमा आइसकेको छ। तर यता सिक्किममा अहिलेसम्म त्यसको कुनै लक्षण देखा नपरेपनि के आम मानसहरूमा सचेतना फैलाइँदैछ त? 28 जुलाईको दिन दुइ सप्ताहव्यापि डाइरिया अथवा पखाला नियन्त्रण अभियान शुरू गरिएको छ। 22 जुलाईकै दिन बसेको स्वास्थ्य विभागको सभाले लिएको निर्णयअनुरूप एनसेफ्लाइटिसबारे मानिसहरूमा जागरुकता फैल्याउने अथवा मानिसहरूलाई सचेत गराउँने काम भएजस्तो लाग्दैन। न त गैरसरकारी संघ-संस्थाहरू नै सचेत देखिन्छन्, किन?