Sunday, February 8, 2015

सन्दर्भ : माध्यमिकस्तरमा नेपाली भाषा शिक्षक नियुक्ति

राज्यको सरकारी माध्यमिक तथा निम्नमाध्यमिक स्कूलहरूमा पनि अब नेपाली भाषाका शिक्षक नियुक्ति गरिने विषयलाई गत जनवरी 2015-को दिन मुख्यमन्त्री पवन चामलिङको अध्यक्षतामा बसेको राज्य मन्त्रीमण्डलको सभाले अनुमोदन गरेको छ। अहिलेसम्म उच्चमाध्यमिक स्कूलहरूका लागि मात्रै नेपाली भाषाका शिक्षकहरू नियुक्ति भइरहेका थिए। यद्यपि, अहिलेसम्म  माध्यमिक तथा निम्नमाध्यमिक तहका स्कूलहरूमा नेपाली भाषाका शिक्षकहरू नियुक्ति गरिएको थिएन र अहिलेसम्म गरिएको पनि  छैन। राज्य मन्त्रीमण्डलको सभाले यसै वर्षको शैक्षिक सत्रदेखि माध्यमिक स्तरमा नेपाली भाषाका शिक्षक नियुक्त गरिने विषयलाई अनुमोदन गरेको छ भने आगामी शैक्षिक सत्रदेखि निम्नमाध्यमिक स्कूलमा पनि नेपाली भाषाका शिक्षक नियुक्ति गरिने बताइएको छ। 1992-मा भारतीय संविधानको 8औं अनुसूचिमा अन्तरभुक्त गरिएको नेपाली भाषालाई अहिलेसम्म उच्चमाध्यमिक तहसम्मका विद्यार्थीहरूका निम्ति मात्रै शिक्षक नियुक्त हुँदै आएको भए पनि आज मान्यता पाएको 23 वर्षपछि सिक्किम सरकारले माध्यमिक र निम्नमाध्यमिक सरकारी स्कूलहरूमा नेपाली भाषाका शिक्षक नियुक्ति गर्ने निर्णय लिनु सराहनीय विषय हो।
नेपाली भाषालाई अहिलेसम्म ‘सजिलो भाषा’-को ट्याग लगाइदिएर जेनेरल टिचर्सले पढाउँदै आइरहेका थिए। भाषा कुनै पनि होस्, त्यसको जग वा आधार बलियो नभए मौलाउन गाह्रो अवश्य पर्दछ। सिक्किमको सन्दर्भमा नेपाली भाषाको प्रभुत्व रहेपनि व्यवहारिकतामा आवश्यक उन्नति हुननसकेको पाइन्छ। गाउँदेखि शहर हुँदै सरकारी कार्यालय सबैतिर बोल्न र बुझ्न सजिलो भाषा नेपाली सबैले स्वीकारेको विषय हो। तर स्कूलका धेरैजसो विद्यार्थीहरूमात्रै होइन धेरैजसो सरकारी कर्मचारीहरूलाई पनि साधारण छुट्टीका निम्ति नेपाली भाषामा निवेदन पत्र लेख्न लगाइए टाउको कनाउनुपर्ने स्थिति छ हाम्रो।
स्कूलहरूमा यसवर्ष माध्यमिक तहसम्म र अर्को वर्षको शैक्षिक सत्रदेखि निम्नमाध्यमिक तहसम्मका नेपाली भाषाका शिक्षकहरू नियुक्ति गरिने सरकारको यो निर्णय त्यसै पनि सराहनीय स्वीकार्नुपर्छ। स्नातकदेखि स्नातकोत्तर गरेका युवा पिँढीमा पनि धेरैले शुद्ध नेपाली भाषा एउटा आवेदन लेख्न नसक्ने वर्तमान अवस्था छ। ‘परीक्षा उत्तीर्ण भए भइहाल्यो’ -को ‘सुगा रटाइ’-मा छन् अझै पनि स्कूल-कलेजका धेरै विद्यार्थीहरूसम्म। त्यसैले अबका विद्यार्थीहरूमा पनि यही भूल धारणा मेटिने आशा गर्न सकिन्छ।
माध्यमिक तथा निम्न माध्यमिकतहका स्कूलहरूमा नेपाली भाषाका शिक्षकहरूको नियुक्तिले भाषिक विकाससितै राज्यमा थोरै भएपनि वेरोजगारीको समस्या समाधान हुने निश्‍चित छ। अर्को महत्वपूर्ण कुरा, राज्यसरकारले घरिघरि दोहोर्‍याउँदै आइरहेको ‘गुणस्तरीय शिक्षा’ जस्तै नेपाली भाषाका विद्यार्थीहरूमा पनि गुणस्तरीयता आउने विश्‍वास गर्न सकिन्छ।  त्यसैले धेरै अघिदेखिको नेपाली भाषा प्रेमीहरूले उच्चमाधिमकतहसम्म मात्रै होइन तर माध्यमिकतहसम्मका स्कूलहरूमा पनि नेपाली भाषाको शिक्षक नियुक्ति गरिनुपर्छ भनेर गर्दै आइरहेको माग पूरा भएपछि यसको विकासमा पनि अवश्य टेवा पुग्ने आशा गरेको छ नेपाली भाषा प्रेमीहरूको जमातले।-30.01.2015

No comments:

Post a Comment