Friday, October 21, 2011


आजाद हिन्द दिवस ः कतै सुभाषलाई देशले बिर्सिएन के!
कदम-कदम बढाए जा, खुशी के गीत गाए जा।
ये जिन्दगी है कौम की, तू कौम पर लुटाए जा।
यो देशभक्ति गीतले देशप्रेम र देशभक्तिको भाव अवश्य सृजना गर्दछ भने साथमा स्वतन्त्र सेनानी नेताजी सुवाषचन्द्र बोसको पनि स्मरण गराउँछ।
आजाद हिन्द फौजले यो गीत त्यस समय कथेको थियो, जतिबेला भारत अङ्‌ग्रेजहरूको अधीनबाट स्वतन्त्रको हुने सङ्‌घारमा पुगेको थियो। देश स्वतन्त्रको निम्ति आजाद हिन्द फौजको योगदानलाई कसैले भुल्न सक्दैन।
आजाद हिन्द फौजलाई नेतृत्व गरेका थिए स्वतन्त्र सेनानी नेताजी सुभाषचन्द्र बोसले।
सुभाषचन्द्र बोस देशबाट अङ्ग्रेजलाई लखेट्‌न सङ्‌घर्षरत थिए। जबसम्म दिल्लीका वायसराय हाउसमा राष्ट्रिय झण्डा फहरिँदैन अनि लाल किल्लामा जबसम्म विजय परेड निकालिँदैन तबसम्म दिल्ली चलोको नारासहित हाम्रो सङ्‌घर्ष सकिँदैन भनेर नेताजी सुवाषचन्द्र बोसले सपनामै देखेका थिए। सोही स्वप्नलाई सारा भारतवासीको निम्ति सन्देशस्वरूप उनले 25 अगस्त, 1943-मा दिएका थिए।
फलस्वरूप आजाद हिन्दले 21 अक्टोबर, 1943-कै दिन अस्थायी सरकारको गठन पनि गरेको थियो, जसका राज प्रमुख प्रधानमन्त्री अनि युद्ध तथा विदेश मामिला मन्त्री रहेका थिए स्वयं नेताजी सुभाषचन्द्र बोस। उक्त अस्थायी सरकारमा - सूरज बनकर गज पर तारा... देशभक्ति गीत रहेको थियो भने राष्ट्रिय ध्वज - चर्खा र तीरङ्‌ग झण्डा थियो। राष्ट्रिय चिन्ह रहेको थियो- बाघ अनि लक्ष्य थियो- विश्वास, एकता र बलिदान।
चलो दिल्ली, इन्कलाब जिन्दावाद र आजाद हिन्द जिन्दावाद-को नारा लिएर अघि बढ्‌ने आजाद हिन्द फौजका नेता सुभाषचन्द्र बोसले देशलाई अङ्‌ग्रेजको हातबाट स्वधीन गराउन "तुम मुझे खून दो, मैं तुम्हे आजादी दूंगा' भनेर आह्वान गरेका थिए।
आजाद हिन्द फौजले अङ्‌ग्रेजविरुद्ध यस्तो रणनीति तयार पारेको थियो, जसअन्तर्गत अङ्‌ग्रेजहरू अब यहॉं आफ्नो शासन चलाउन नसक्ने भएका थिए। दुःखको कुरा के थियो भने भारत स्वतन्त्रपछि पनि अङ्‌ग्रेजहरूलाई आजाद हिन्द फौज तथा भारतवासीले पूर्ण रूपले निकाल्न सकेनन्‌, कारण सेनाको कमान भने अझै पनि अङ्‌ग्रेजहरूकै हातमा थियो।
सबै सैनिक बल, आम नागरिक, राजनैतिक दलहरूको एकतामा देशले 15 अगस्त, 1947-मा स्वतन्त्रता त पायो, तर यसअघि नै 18 अगस्त, 1945-मा एक हवाई दुर्घटनामा उनको मृत्यु भइसकेको थियो। अथवा 21 अक्टोबर, 1943-मा अस्थायी सरकार बनिएको दुइ वर्षपछि नै उनको मृत्यु भएको बताइन्छ। यद्यपि, नेताजी सुभाषचन्द्र बोसको मृत्युको सही जानकारी अझसम्म हुनसकेको छैन। 18 अगस्त, 1945-मा बोसको मृत्यु भएको बताइए पनि त्यसको दुइ वर्षपछि देश स्वाधीन बन्यो 15 अगस्त, 1947-मा। देश स्वतन्त्रको निम्ति खून दिनचाहने नेताजीको सपना त पूरा भयो तर स्वतन्त्र भारत हेर्न पाएनन्‌ उनले।
देशका लागि रगत बगाउन तथा ज्यानसम्म दिन तयार नेताजी सुभाषचन्द्र बोसले जुन बलिदान दिए अथवा आजाद हिन्द फौजले देश स्वतन्त्रताको निम्ति जुन योगदान दिएको छ, त्यसलाई सम्मान गर्दै सारा देशमा 21 अक्टोबरकै दिन आजाद हिन्द दिवस पालन गरिन्छ।
21 अक्टोबरको दिनलाई देशमा आजाद हिन्द दिवस भनेर घोषित भएपछि देशभरि नै यसलाई पालन गरिने पनि बताइएको छ, तर देशमा आजको दिन आजाद हिन्द दिवस भनेर युवाहरू कतिलाई थाहा होला! यो एउटा प्रश्नचिन्हकै अवस्थामा छ। जतिबेला देशमा अङ्‌ग्रेहरूले अधिकार जमाउँदै भारतवासीमा अन्याय, अत्याचार, शोषण, थिचोमिचो गरिरहेका थिए, त्यस समय देशलाई एक निडर, साहसी नेतृत्वको आवश्यकता थियो। त्यो आवश्यकता पूरा गरेका थिए नेताजीले। 21 अक्टोबरलाई आजाद हिन्द दिवस भनेर घोषित गरिएएपनि कतै नेताजी सुभाषचन्द्र बोसलाई नै देशले बिर्सिंदैछ कि भन्ने भान हुँदछ।
आज देश स्वतन्त्र छ, तर के यहॉं अन्याय, अत्याचार, हिंसा, भ्रष्टाचार छैन त..? हामी पूर्ण स्वतन्त्र छौं के..? किन आज पनि देशमा राम देवहरू, अन्ना हजारेहरू जन्मिरहेका छन्‌ अथवा जन्मनुपर्ने बाध्यता छ? केका लागि..? देशका प्रत्येक युवाले सोच्ने समय हो यो। गान्धी र नेहरूको नेतृत्वमा देशले स्वन्त्र त पायो तर खै देश पूर्ण स्वतन्त्र बनेको?
आज देशका हरेक युवाले गम्भीरतापूर्वक सोच्ने समय आएको छ, देश र देशवासीलाई बॅंचाउन सबै एक हुनुपर्ने छ। फेरि यहॉं गान्धी र नेहरूमात्र होइन नेताजीसम्म बन्न तयार रहनुपर्नेछ। नभए आजाद हिन्द दिवस, स्वतन्त्र भारत सबै नामै मात्र नरहला भन्न सकिन्न। त्यसैले नेताजीको विश्वास, एकता र बलिदानलाई देशले स्मरण गरिरहनुपर्छ।
21.10.2011

भुइँचालोले भयभित भएको पहाडको पर्यटकीय परिवेश


भुइँचालोले भयभित भएको पहाडको पर्यटकीय परिवेश
सिक्किमलगायत दार्जीलिङ, कालेबुङ, मिरिक, खरसाङ तथा सम्पूर्ण पहाडी भेकदेखि कतिपय समतलसम्मै यसक्षण पनि भुइँचालोको भयले सताइरहेकै छ। 18 सितम्बरको सॉंझ 6.8-को तीब्रतामा गएको विनाशकारी भुइँचालोले सॉंच्चै विनाशकारी रूप देखाएरै गयो। सिक्किमले विशेष यसको मार्का जेल्नु परेको छ र झेलिरहेको पनि छ। कतिको शव भेटियो, कति निखोज छन्‌। मर्नेहरूको अझै पनि ठीक सङ्‌ख्या यतिनै भन्न सकिन्न कारण, उद्धार र राहत कार्य जारीनै छ।
अहिले शरद ऋतुको समय प्रायः शितल छाइरहेको छ अनि नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको महान पर्व, महान चाढ बढा दसैंको समयछ। अहिले सॉंच्चै प्राकृतिक रूपमा रमाइलो त पक्कै छ। खुल्ला मौसम, चारैतिर हरियालीपूर्ण  पहाड, कञ्चन हिमाल, स्वच्छ झरना र खोला। त्यसैले यो समय विशेष पहाडी भेकमा पर्यटकहरूको भीड लाग्ने समय भनेर पनि जानिन्छ। पर्यटकीय मौसमको यहॉं अर्को महत्व के छ भने यही समयमा पहाडी भेकका मानिसहरूले आफ्नो आयश्रोतलाई बलियो बनाउने समय पनि हो। चाहे सिक्किम होस, चाहे दार्जीलिङ- कालेबुङ जहॉं पनि पर्यटन र पर्यटकीय मौसमको धेरै महत्व हुन्छ।
दुःखको कुरो त ठीक यही समय सम्पूर्ण पहाड भुइँचालोको त्रासबाट उठिसकेको छैनभने त्यसपछि परेको पानीले अझ पहाडलाई आलो घाउमा नुन-चुक थप्ने काम गरेको छ।
भुइँचालोले सिक्किमलाई कहिले नबिर्सिने चोट त पुऱ्याएकै छ, सॅंगसॅंगै यहॉंको पर्यटनलाई पनि ठूलो प्रभाव पारेको छ। उता, दार्जीलिङ पहाड पनि प्रभावितै देखिन्छ। पर्यटकीय दृष्टिकोणले हेर्दा दार्जीलिङलाई भुइँचालोले सिक्किमलाई जस्तो त्यति ठूलो क्षति त पुऱ्याएन, तर त्यसपछि निरन्तर परेको पानीले भने त्यहॉं पनि सुखको श्वास फेर्न भने पक्कै दिएको छैन।
सिक्किममा भुइँचालोले मानिसहरूलाई घरविहीन बनाइरहेकोले गर्दा राज्यबाहिरबाट आएर काम गरिरहेकाहरू एकाएक गरी पुनः बाहिरीरहेका छन्‌। यस्तोमा भय कै कारण पर्यटकहरू आउने त कुरै उठ्‌दैन। त्यसरी नै दार्जीलिङको यातायात सम्पर्क टुटेकोले त्यहॉंको पर्यटन व्यवसायलाई पनि प्रभाव पारेकै छ।
यस्तोमा सबैको दुःख बिसाउने चौतारी भनेको एउटै ठाउँ हुन्छ अनि त्यो हो सरकार। तर सम्पूर्ण पहाडवासीले यतिबेला ध्यान दिनुपर्ने कुरा के छ भने सरकारसले मात्रै पनि सबै कुराको समाधान गर्न सक्छ भन्ने केही छैन अनि सरकारले मात्रै गर्नुपर्छ भन्ने पनि होइन। सरकारको साथमा सङ्‌घ-संस्थदेखि लिएर प्रत्येक आम नागरिकको वर्तमान स्तिथिलाई उठाउन साझा जिम्मेवारी हुन्छ। यसैले हाम्रो समाजको स्थितिलाई साम्य गराउनु हाम्रो सामूहिक पहल हुनु आवश्यक देखिन्छ। थोपा-थोपा मिलेर समुन्द्र बनेझैं केवल सरकारको मात्र प्रतीक्षा नगरेर हामी एक-एकले राहत कार्यमा लागि परे भुइँचालो पीडितहरूलाई राहत पनि मिल्नेछ भने यहॉंको पर्यटन व्यवसायलाई पनि पुनः सुचारू गराउन सकिने देखिन्छ।
30.09.2011

Saturday, October 15, 2011


भुइँचालो, राहत वितरण र पञ्चायतको जिम्मेवारी
कुनै पनि देशको विकास गाउँबाटै हुन्छ अथवा गाउँको विकास नभएसम्म कुनै पनि देशको विकास हुनसक्दैन। जबसम्म कुनै गाउँ विकसित हुँदैन तबसम्म त्यो देश विकसित कहलाइँदैन। त्यसैले देशका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूदेखि राष्ट्रपिता महात्मा गान्धीलेसम्म देश विकासको निम्ति गाउँको विकास हुनुपर्छ भन्ने कुरामा जोर दिएका थिए।
एउटा देशलाई कसरी विकासको गोरेटोमा डोहोऱ्याउने अथवा कसरी एक सम्पन्न राष्ट्र निर्माण गर्ने हो, यो त्यस देशको सरकारमाथि निर्भर रहन्छ। तर एउटा गाउँको विकास कसरी गर्नुपर्ने यसको पहिलो जिम्मेवारी पञ्चायतमाथि निर्भर रहन्छ। त्यसैले पञ्चायतलाई गाउँको सरकार पनि भनिएको छ। गाउँ तथा गाउँवासीहरूको सरकार भनेर हामी पञ्चायतहरूलाई जान्दछौं। सम्पूर्ण गाउँलेको प्रतिनिधि पञ्चायत, गाउँ र गाउँलेवासीको दुःख-सुख हेर्न पञ्चायत, आपद-विपदमा पञ्चायत, गाउँमा विकास ल्याउने पञ्चायत, गाउँसित सम्बन्धित कुनै कुराको कसैलाई जानकारी चाहिए पञ्चायत, गाउँको कुनै मामिला मिलाउन परे पहिला पञ्चायत, कसैलाई अन्याय-अत्याचार परे पञ्चायत, सरकारसित कुनै निवेदन गर्नपरे पञ्चायत, गाउँको शिक्षा, स्वास्थ्य, सडक, बाटो, कुलो गाउँका हरेक कुरामा पञ्चायकको आवश्यक्ता पर्दछ, खॉंचो पर्दछ। त्यसैले त गाउँको सरकार भनेको पनि पञ्चायत। 
राज्य तथा देशको विकासमा राज्य सरकार तथा केन्द्र सरकारले हरेक दिन हरेक गाउँको दुःख-सुख बुझ्न प्रत्येक गाउँ-गाउँ पुग्न सम्भव छैन, हुदैन। त्यसैले प्रत्येक गाउँको विकासमा कुनै कमी नरहोस्‌ भनेर प्रत्येक गाउँको जानकारी सरकारसम्म पुऱ्याउन र त्यहॉंको विकास गर्न पञ्चायतको भूमिका रहेको हुन्छ। यही आशा गरेर सम्पूर्ण गाउँलेले आशालाग्दो, भरपर्दो र विश्वासिलो व्यक्तिलाई आफ्नो गाउँको पञ्चायत चुनेका हुन्छन्‌। अतः एउटा गाउँको समग्र विकासमा पनि पञ्चायतको महत भूमिका रहन्छ।
सिक्किमको सन्दर्भमा कुरा गर्नुपर्दा अहिले सत्ता विकेन्द्रिकरणद्वारा प्रत्येक पञ्चायतलाई विभिन्न अधिकार दिइएको छ। पञ्चायतलाई गाउँको सरकार भनिनुमात्र होइन सत्ताविकेन्द्रकरणले यसलाई व्यवहारिक रूपमा उतारेको पनि स्वीकार्नुपर्छ।
यसैसन्दर्भमा कुरा गर्नुपर्दा, राज्यमा 18 सितम्बरको दिन गएको भयावह भुुइँचालोको विषय अझै सकिएको छैन। भुइँचालोले राज्यलाई दसैंको मुखमा जुन क्षति पुऱ्याएको छ त्यो यसै कसैले बिर्सन सक्ने छैनन्‌। त्यसलाई तारेर सकिने पनि होइन न त बिर्सेर नै बिर्सन सकिन्छ। तर पनि राज्यलाई विभिन्न सङ्‌घ-संस्थादेखि विभिन्न स्तर र विभिन्न क्षेत्रबाट विभिन्न सामग्रीका साथै करोडौं रुपियॉं राहत स्वरूप प्रदान गरिएको छ अनि गरिँदैछ। उत्तर जिल्लालाई भुइँचालोले जति क्षति पुऱ्याएको छ त्यति अन्य जिल्लालाई अवश्य पुऱ्याएको छैन। तर पनि केही न केही त क्षति पुगैको छ। त्यसर्थ, राज्य सरकारले राज्यभरि सबै गाउँ-गाउँमा क्षतिपूर्ति दिने काम पनि गरिरहेको छ। तर कतिपय गाउँ-घरमा राहत वितरण ठीकसॅंग नभएको कुरा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा आइरहेको छ। यो होइन कि सबै ठाउँ यसो भइरहेको छ। कतिपय स्थानमा त केही क्षति नभएकाहरूलाई पनि केही मात्रामा सहयोग प्रदान गरिरहेको छ। यद्यपि, कतिपय स्थानमा पञ्चायत तथा पार्षदहरूबाटसम्म भेदभाव भइरहेको गुनासो सुन्नमा आइरहेको छ। सामान्य क्षति भए पनि एकै घरका धेरै सदस्यले राहत राशि प्राप्त गरेको, सानो क्षतिमा पनि ठूलो राशि प्राप्त गरिरहेको, एकै व्यक्तिले दुइ-दुइ ठाउँबाट राहत प्राप्त गरिरहेको अनि ठीक विपरित कुनै घर-परिवारले भने फुटे कौडी नपाएको, ठूलो क्षति हुँदा पनि मात्रै नामको राहत राशि प्राप्त भएको आदि गुनासोहरू आइरहेका छन्‌।
अतः यहॉं पञ्चायतहरूको भूमिका हुँदछ कि गाउँमा क-कस्को के-कति क्षति भएको छ, कसलाई पहिलो प्राथमिक्ता दिनुपर्ने, कसलाई राहत राशिको शख्त आवश्यकता छ, त्यसको सही निरीक्षण गरेर राहत राशि प्रदान गर्नु। कारण, पञ्चायत मात्र एक त्यस्ता व्यक्ति हुन जसले आफ्नो गाउँको सही जानकारी लिन अथवा राख्न सक्छन्‌। यसो भए सरकारले राज्य तथा देशलाई जुन दिशामा डोहोऱ्याउन चाहेको छ विकासको गोरेटोमा, त्यो सफल होला। नभए देशको विकासमा गाउँबाटै विकास गर्नुपर्ने अनि त्यसको निम्ति सम्पूर्ण गाउँ-तथा गाउँवासीले नै विश्वासका साथ छानेको प्रतिनिधिप्रति सबैको विश्वास उठ्‌ने छ जो राज्य तथा देशकै निम्ति खतरनाक प्रमाणित हुनसक्छ।
: अर्जुन चामलिङ 'यावा' - १४.२०.२०११