होहल्ला, समाज र पत्रकारिता
अहिले फेरि सिक्किममा प्रजातन्त्र छैन भन्ने केही व्यक्तिहरूको समुहले होहल्ला
मचाउन थालेको छ। एक-दुइजना कराउँछन् केही कुरा नबुझी कतिजना त्यसैको पछि लागिरहेका
हुन्छन्। सत्य कुरा के हो, बुझ्न परेको छैन। होमा हो मिलाउनै मात्र कराउन
सघाइरहेका हुन्छन्। प्रजातन्त्र वास्तवमा के हो त, के कुरालाई भनिन्छ प्रजातन्त्र?
कुनै चासो नराखी हो-हल्लाकै पछि लागेर कराइरहेका हुन्छन्। अहिले एकादुइको मुखमा
यस्तै होहल्ला चलिरहेको पाइन्छ। के वास्तवमै यहॉं प्रजातन्त्र छैन त? विचार गर्नु
जरुरी हुन्छ। नभए जताभावी नसोंची र नबिचारी झट्टै अरे-को पछि लागेर कराउनु पनि उचित
हुँदैन।के सॉंच्चै यहॉं प्रजातन्त्र छैन त? के सॉंच्चै वर्तमान सरकारले यहॉं प्रजातन्त्रको हनन् गरेको छ, जनताले के आफ्नो अधिकार पाएका छैनन् त? यस विषयमाथि आम मानिसले मनन् पनि गरेका छन् के त, विद्वानवर्गले चिन्तन गरिरहेका छन् कि होहल्लाकै पछि लागिरहेका छन्?
वर्तमान सरकारले समग्र राज्य तथा राज्यवासीकै हित र हकका लागि निरन्तर लागि परिरहेको कुरा कसैबाट लुक्नसकेको छैन। राज्यदेखि केन्द्रसम्मै गरिनुपर्ने कामहरू गरिँदैछन्। सम्पूर्ण राज्यकै स्वास्थ्य, शिक्षा, आवास, दक्षता हरेक कुराको आपूर्तिमा राज्य सरकार लागि परिरहेकै छ। यतिमात्रै होइन, गाउँ तथा समाजको समग्र विकासमा गाउँवासीलाई नै हरेक कुराको जिम्मेवारी पनि सुम्पिने काम भइरहेको छ। कहॉं के कुराको कमी छ, कहॉं कुन कुरा हुन वा गर्न रहेको वा छुटेको छ, ती सबैको देखरेख गर्न सरकारले आ-आफ्नै गाउँवासीको हातमा अधिकार सुम्पिइरहेको छ पञ्चायती राजअन्तर्गत सत्ता विकेन्द्रिकरणद्वारा। गाउँ विकास योजनाहरू कहॉं, कसलाई, कसरी वितरण गरिनुपर्ने त्यसको जिम्मेवारी पञ्चायतहरूकै हातमा सुम्पिएको छ भने पञ्चायत कसलाई बनाउनुपर्ने त्यो पनि गाउँवासीमै जिम्मेवारी सुम्पिएको छ। यतिमात्रै होइन, सम्बन्धित व्यक्ति वा अधिकारी कसैले कुनै काम ठीकसॅंग नगरेका भए उसलाई कार्वाही गर्न सकिन्छ भने यति हुँदाहुँदै पनि कसैले न्याय नपाएका भए, विशेष विद्यार्थीवर्गलेसम्म मुख्यमन्त्रीलाई सिधै सम्पर्क गरेर आफ्नो गुनासो राख्न सक्ने व्यवस्था रहेको कुरा पनि सर्वविदितै भएको हो। पत्र-पत्रिकाकै कुरा गरौं। जसलाई जुन कुरामा चित्त बुझेको छैन वा न्याय पाएका छैनन्, उनीहरूले खुलेर लेख्न सक्छन्र लेखिरहेकै पनि छन्।
अब 1990-94 अघिको सिक्किम र त्यसपछिको सिक्किमलाई तुलना गरेर हेर्दा पनि अघि माथि राखिएका प्रश्नहरूको जवाब पाउन सकिएला। वर्तमान राज्य सरकारले आम मानिसलाई जुन अधिकार दिइरहेको छ, विकासका निम्ति जे-जति कामहरू गरिरहेको छ र माथि उल्लेख गरेझैं आफ्नो हक-अधिकारका निम्ति जसरी बोल्ने-लेख्ने अधिकार दिएको छ, के यी सबै यसअघि प्राप्त थियो? कदापि थिए। समाजमा भइरहेका नराम्रा, व्याविचारी, समाजरोधी कामहरू भइरहेका छन् भने सिक्किमे नागरिक जो कोहीले पनि त्यसको खुलेर विरोध जनाउन सक्ने स्वतन्त्र जन सरकारले दिएको छ त्यही सरकारमा आज प्रजातन्त्र छैन भनिहाल्न नमिल्ला।
सिक्किममा जो कोही आज पत्र-पत्रिका माझमा सरकारको खुलेर विरोध गरेको देखिन्छ, के यो जनतालाई प्राप्त अभिव्यक्तिको स्वतन्त्रता होइन त? आरोप सिद्ध गर्न नसकिने विभिन्न आरोपसहित मनका भडॉंसहरूको पोखेका अभिव्यक्तिहरूलाई राज्यका पत्र पत्रिकाले प्रमुखताले प्रकाशित गर्दै यहॉं लोकतन्त्र छैन भन्नु त कहॉंसम्मको न्यायसंगत कुरा हो, यस विषयमा सोच्न आवश्यक छ। आज सिक्किममा उपलब्ध लोकतान्त्रिक परिवेशको गलत फाइदा उठाउन लोकतन्त्रविरोधीहरू सक्रिय रहेको देखिन्छन्।
लोकतन्त्रको चौथो स्तम्भमा आज असामाजिक तत्वहरूले समाजलाई जति भङ्गाल्ने प्रयास गरिरहेका छन्, त्यसको निन्दा सभ्य समाजले गर्न आवश्यक छ। यस्ता विषयहरूलाई पत्रकारिताले पनि प्राथमिकता दिनु हुँदैन। पत्रकारिताको धर्म भनेको सत्यको सम्प्रेषण गर्नु हो, समाजलाई दिशाहिन गर्नु होइन। अब उचित र अनुचित के हो त्यसलाई सिक्किमे आम नागरिकले नै छुट्याउन सक्नुपर्छ। -24.08.2012