Tuesday, August 14, 2012


मोर्चाको ऐतिहासिक जीत
आफ्नो लक्ष्य कतै नबिर्सिइयोस्‌
अन्ततः पहाडमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) ले ऐतिहासिक जीत प्राप्त गरेर इतिहास रच्न सफल बन्यो। पहाडमा कुल 45 आसनमध्ये 17 आसनमा गोजमुमो, तृणमूल र स्वतन्त्र उमेदवारबीच चुनावी लॅंडाई भयो। रहल आसनमा गोजमुमोले निर्विरोध जीत दर्ता गरिसकेको थियो। दुइ अगस्तको दिन जारी 29 जुलाई, 2012-को दिन सम्पन्न जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेशन) -को चुनाउको परिणामअनुसार 17 आसनमा कुल 1,54,766 मतदाताले आफ्नो मताधिकारको प्रयोग गरे। तीमध्ये गोजमुमोले सर्वाधिक 1,39,334, तृणमूल कंग्रेसले 12014 अनि एकमात्र स्वतन्त्र उमेदवारले 3,418 मत प्राप्त गरेका छन्‌। यसबाट के प्रष्ट हुन्छभने पहाडमा गोजमुमोको अस्तित्व अझै जगमगाइरहेको छ अथवा अर्को शब्दमा भन्नु हो भने अझै पनि पहाडवासीले गोर्खाल्याण्ड विषय मोर्चाले दिएको आफ्नो वचन पूरा गर्नेछ भन्ने विश्वासलाई मर्न दिएका छैनन्‌। सम्पूर्ण पहाडवासी अझै पनि मोर्चाको पक्षमै रहेको यहॉं प्रष्ट भएपनि, मोर्चाले आफ्नो लक्ष्य यहॉं बिर्सनु हुन्न। 
7 अगस्त, 2007-मा गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा)-बाटै अलग भएर पहाडवासीको जातीय अस्मिता, अस्तित्व तथा चिनारीको निम्ति छुट्टै राज्य गोर्ख्याल्याण्ड ल्याउने मुद्धा लिएर मोर्चा प्रमुख बिमल गुरुङले गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -को स्थापना गरेका थिए। तर जब गतवर्षमात्रै 18 जुलाईको दिन मोर्चाले राज्य सरकार र केन्द्र सरकारसित जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेशन) को सम्झौतामा हस्ताक्षर गऱ्यो, तब एकपटक सम्पूर्ण पहाडमा जातीय अस्मिता, अस्तित्व र चिनारीको प्रसङ्ग टुङ्गिएको महसुस गरिरहेका थिए। विपक्षी पार्टीहरूले पनि आपत नजानाएका होइनन्‌। एकप्रकार जातीय अस्मिता, अस्तित्व र छुट्टै राज्यको आन्दोलनले विरामै लिएको कुरा सबैको मनमा पसेको थियो।
यद्यपि, मोर्चाले जीटीए-लाई गोर्खाल्याण्डसम्म पुग्ने बाटो बताएर जनतालाई आश्वासन दिन सफल बन्यो र बनिरहेको छ। तर यो आश्वासन केवल आश्वासन मात्रै सम्झेका छैनन्‌ जनताले जसरी गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा)-ले दागोपाप (दार्जीलिङ गोर्खा पार्वत्य परिषद)-लाई डमरु-को संज्ञा दिँदै पछि बाघ (छुट्टै राज्य) हुने बताएको थियो अनि जनताले पनि विश्वास गरेका थिए। यसपटक पनि जनताले विश्वास गरेका छन्‌ मोर्चालाई अनि छुट्टै राज्य गोर्ख्याल्याण्डसम्म पुग्ने भनिदै गरेको जीटीए-लाई। यतिमात्र होइन गोर्ख्याल्याण्डकै निम्ति भनेर सहीद बन्ने 1200 गोर्ख्याल्याण्डप्रेमीको नाम आज जसरी मात्रै इतिहास बनेको छ, गोजमुमो प्रमुख बिमल गुरुङको नेत्रित्वमा अघि बढ्‌दाबढ्‌दै शहीद बनेका गोजमुमो समर्थक तथा गोर्खाल्याण्डप्रेमीहरूको नाम पनि इतिहासमा मात्रै सीमित रहनेछैन भन्ने पहाडवासीमा विस्वास रहेको छ। तबत गोर्ख्याल्याण्डको निम्ति भनेर अघि सरेका पाइलाहरू पुनः जीटीए-को पक्षमा पनि उत्तिकै नडग्मगाई अग्रसर बनेका छन्‌ अनि मोर्चालाई ऐतिहासिक जीतको निम्ति सम्पूर्ण पहाड उर्लिएको प्रमाण हामीसमक्ष आइसकेको छ। तर योजीत केवल दार्जीलिङ पहाडको लागि विकासको ढोका मात्रै चाहीँ नबनोस,कारण जनताले विकास नचाहेका होइनन्‌तर अन्तिम लक्ष्य भनेको  गोर्खाल्याण्डनै हो।
अहिले मोर्चा समर्थक अथवा सम्पूर्ण पहाडवासीमा जीतको लहर छाएको छ, खुशीको वातावराणमा पहाड रुमलिइरहेको छ। आपस्तमा खुशी बॉंट्‌नमा व्यस्त छ पहाड। अनि यो क्षण सबैभन्दा खुशीको क्षण बनेको छ मोर्चा प्रमुख बिमल गुरुङको निम्ति, कारण यदि 45-मा 45 आसनमा जीत प्राप्त नभए राजनीतिबाटै राजीनामा लिन्छु भन्ने मन्तव्य गुरुङले दिइसकेका थिए। तर जनताले यस्तो अवसर सिर्जना हुनै दिएनन्‌। यद्यपि, यहॉं अब सोंच्नुपर्ने विषय के छ भने मोर्चा प्रमुख गुरुङले जीटीए चुनाउमा मोर्चाले 45-मा 45 आसनबाटै जीत हासिल गर्नेछ भनेर त निर्धक्क भनिसकेको थियो। अथवा जनतामा पूर्ण विस्वास रहेको कुरा बताइसकेको थियो। तर मोर्चाको मुख्य उद्धेश्य भनेको एउटै छ अनि सम्पूर्ण पहाडवासीको चाहना पनि त्यही छ र त्यो हो पृथक राज्य गोर्खाल्याण्ड। यद्यपि, मोर्चाले जीटीएमा एक ऐतिहासिक जीत दर्ता गरिसकेको भएपनि यस जीतपछि मोर्चाले कुन स्टेप लिने हो, त्यो अझै प्रष्ट छैन अनि जनतामा यो एउटा चासोको विषय बनेर बसेको छ। के मोर्चाले अब छुट्टै राज्य जोर्खाल्याण्डको निम्ति आफ्नो आवाज पुनः बुलन्द गर्ला? कि त गोरामुमोले डमरु (दागोपाप) थापेर 21 वर्ष जनतालाई कोक्रोमा हल्लाएझै भुल्याउने हो! सोंच्नुपर्ने विषय छ। अतः जनतालाई गरेको विश्वासले मोर्चाले जीटीएमा एक ऐतिहासिक जीत प्राप्त गरिसकेको छभने अब जनताले गरेको विश्वासको परिणाम पनि मोर्चाले सकरात्मक रूपमा दिनसक्नु मोर्चाको निम्ति जिम्मेवारी बनेको छ। तर मोर्चाले अब के गर्ने हो, पर्खेर हेर्नै छ। कतै गोर्खाल्याण्ड बन्ने पहाडवासीको सपनाकेवल सपना नबनोस, पहाडमात्र होइन सम्पूर्ण भारतीय गोर्खाहरूकै अस्तित्व र अस्मिता इतिहासमै सीमितनरहोस्‌।
03.08.2012

No comments:

Post a Comment