Saturday, October 13, 2012


सन्दर्भ : बाल विवाह र अन्तरराष्ट्रिय बालिका दिवस
देशमा प्रत्येक वर्षनै 14 नोभेम्बरको दिन बाल दिवस पालन गरिन्छ। देशका प्रथम प्रधानमन्त्री पं. जवाहरलाल नेहरूको जन्मदिनलाई सारा भारतमा बाल दिवसको रूपमा मनाइन्छ। बाल-बालिकालाई औधी माया गर्ने नेहरूलाई नानीहरूले चाचा नेहरू भन्ने हुनाले उनी चाचा नेहरूकै नामबाट पनि चिन्छन्। पछि उनैको नाम गरेर नानीहरूको उज्जवल भविष्यको कामनासहित प्रत्येक वर्ष बाल दिवस पालन गर्न शुरु गरियो।  पहिलोपल्ट 1953-मा देखि मनाउन शुरु गरिएको बाल दिवसमा सधैं बाल-बालिकाको उज्ज्वल भविष्यको कामना गरिने भएता पनि उनीहरूको हक-हित तथा अधिकार विषय सधैं सबैजना सचेत रहेको पाइँँदैन।  
भारतीय संविधान पनि संयुक्त राष्ट्रकै योजनाअनुरूप तयार पारिएको छ जसले बाल-बालिकाको संरक्षण तथा उनीहरूको अधिकारको सुरक्षा गर्दछ। यसका साथै उनीहरूको शिक्षा, स्वास्थ्य तथा उन्मूलनप्रति पनि भारतीय संविधान प्रतीज्ञ रहेको पाइन्छ।
संविधानले उसो त नारी-पुरुष दुवैलाई बराबरीको अधिकार दिएको कुरा विदितै भएको विषय हो। यद्यपि, वैदिक कालदेखिनै धेरैवटा कारणहरूले नारी जाति पछि परेको पाइन्छ। यो होइन कि पुरुषले गरेको काम नारीले गर्न सक्दैनन्। महिलाहरू पुरुषवर्गभन्दा कमजोर हुन्छन् भन्ने पनि होइन। तर समाजमा हेर्यौंभने आजपनि एउटै इन्दिरा गान्धी, एउटै लक्ष्मीबाई, एउटै कल्पना चौला, उही किरण वेदी, अहिले आएर एउटै सुनिता विलियम आदिकै उदाहरण दिनबाहेक विभिन्न क्षेत्रमा एकादुइ नारी वा महिलाहरूको नाम दिनसक्छौं होला। नभए नारी-पुरुषको दृष्टिकोणमा समाजको कुनै पनि क्षेत्रमा किन नहोस् शिखर चुम्नेहरूको समूहमा सधैं पुरुष जातिलाई नै अधिक पाउने गर्छौं।
अतः महिलावर्गलाई पनि उनीहरूको हक-हित, संरक्षण, सुरक्षाको निम्ति प्रत्येक वर्षनै अनि विश्‍वभरिनै नारी सशक्तिकरण दिवस, महिला दिवस आदि-आदि मनाइने गरेको पाइन्छ। यी सबैको मुल उद्देश्य एउटै हुन्छ, नारीहरूलाई पनि पुरुषसरह काँधमा काँध मिलाएर एउटै नदीको दुइ किनारा सरह अघि बढाउनु।
अहिले आएर भर्खर-भर्खरैदेखि संयुक्त राष्ट्रद्वारा अन्तरराष्ट्रिय बालिका दिवस अथवा ‘इण्टरनेश्‍नल डे अव् गर्ल् चाइल्ड’ मनाउन शुरु गरिएको छ। संयुक्त राष्ट्रले दिसम्बर 2011-मा अन्तरराष्ट्रिय बालिका दिवस अथवा ‘इण्टरनेश्‍नल डे अव् गर्ल् चाइल्ड’ मनाउने भनेर निर्णय लिएपछि प्रत्येक वर्ष 11 अक्टोबरको दिन मनाउन शुरु गरिएको हो। यस वर्षदेखि शुरु गरिएको प्रथम अन्तरराष्ट्रिय बालिका दिवसको विषय रहेको थियो ‘बाल विवाह निर्मूल पारौं’। यसका साथै बाल श्रमको रोकथाम, बाल शिक्षालाई प्रोत्साहित गर्ने, बाल स्वास्थ्यलाई ध्यान दिने जस्ता कुराहरूलाई पनि प्राथमिकता दिइने बताइएको छ। नारी अथवा बालिकाहरूको अधिकार, उनीहरूको संवैधानिक स्वतन्त्रता, बराबरीको अधिकार जस्ता कुराहरू लिएर आम नागरिक तथा संगठनहरूलाई पनि  सचेत र जागरुक गराउने भनिएको छ। 
अन्तरराष्ट्रिय बालिका दिवसको जुन लक्ष्य तथा उद्देश्यहरू छन् प्रायः ती कुराहरूनै अघिबाटै संवैधानिक रूपमा कार्यन्वयन गरिसकिएकै कुरा हुन्। फलस्वरूप शिक्षा क्षेत्रमा आज देशका बाल-बालिका धेरै अग्रसर रहेको पाइन्छ भने स्वास्थ्यमा पनि पछि परेको सायद नपाइला। तर दुखको कुरा त के छ भने अहिले पनि देशमा बाल श्रमको सायद प्रथानै भनौं, निर्मुल गर्न सकिएको छैन। चाचा नेहरूले देखेको सपना र भारतीय संविधानको धारा 24 अनुसार देशमा बालश्रममा प्रतिबन्ध लगाइएको छ। यद्यपि, आजपनि देशमा पाँच करोडभन्दा अधिक बाल-बालिका बालश्रमको शिकार बन्न परेको तथ्य प्रकाशमा छ। यतिमात्र होइन आज देशका 53.22 प्रतिशत बाल-बालिका शोषणको शिकार बनेको तथ्य पनि विश्‍वसामू आएको छ।
11 अक्टोबर, 2012-देखि संयुक्त राष्ट्रसितै देशले पनि पालन गर्न शुरु गरेको अन्तरराष्ट्रिय बालिका दिवसको जुन लक्ष्य छ, त्यसलाई सही अर्थमा समग्र देशवासीले सही ढङ्गमा व्यवहारमा उतार्लान के त? आशङ्का मनमा बाँच्नु स्वभाविक बन्छ। कारण, अहिलेसम्म 18 वर्षमाथिका युवतीहरूको विवाहको तुलनामा 15 वर्षमुनिका युवतीहरूको विवाह सङ्ख्याहेर्नु हो भने दोब्बर रहेको तथ्य राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण, 2006-को एक रिपोर्टले दिएको छ। अतः कामना गरौं कि बालिका दिवस आफ्नो लक्ष्य-उद्देश्यमा लङ्गडो नबनोस्, देशमा बाल विवाह वास्तवमै निर्मूल बनोस्।
12.10.2012

No comments:

Post a Comment