धार्मिक पर्यटन र सिक्किम
सिक्किमले धार्मिक पर्यटनको क्षेत्रमा देशकै निम्ति एक अनुकरणीय काम गरिसकेको छ। यस कुरामा दुइमत छैन। उसो त राज्यलाई धार्मिक पर्यटनको क्षेत्रमा देशले मात्रै होइन विश्वमै चिनाउने काम भइसकेको छ। यहाँको सरह-सहन, संस्कृति-परम्मपरादिको साथमा यहाँका तीर्थस्थल अथवा धार्मिक केन्द्रहरूको विकास गतिले जसरी तीव्रता लिइरहेको छ, त्यसले राज्यलाई देशमै एक नमूना राज्यको रूपमा परिचित गराइनै रहेको छ। साथमा स्थानीय युवाहरूलाई असल अवसरहरू पनि उत्तिकै प्रदान गरिरहेको छ।
गत 16 अप्रेलको दिनमात्रै राष्ट्रपचि प्रणव मुखर्जीले सिक्किम भ्रमणावधी नाम्चीको सिद्धेश्वर धामको अद्वितीय परिकल्पना अनि चारधाम र द्वादश ज्योतिर्लिङगलाई एकैठाउँमा स्थापना गरिएकोमा खुशी व्यक्त गरेका थिए। यतिमात्रै होइन बुद्ध, इशु तथा अन्य समाजसुधारकहरूले गरेको कार्यको प्रेम, जनकल्याण र सदभावनाका कार्यहरूलाई सम्पादन गर्न मुख्यमन्त्री चामलिङ सफल रहेको पनि बताएका थिए।
30 अप्रेलको दिन धार्मिक कार्यक्रममा प्रवचन दिन आएका आचार्य किशोरजी महारजले चारधाम देखेर आश्चर्य चकित भएको बताएका थिए। देशमै नभएको अथवा अद्वितीय तिर्थस्थल निर्माणले राज्यलाई छुट्टै परिचय दिइरहेको सबैलाई अवगत रहेकै विषय हो।
बौद्ध धर्मगुरु स्वयंद्वारा जनसमर्पित राभङ्लाको बुद्ध पार्क सिक्किमको धार्मिक केन्द्र अथवा धार्मिक पर्यटन केन्द्रको अर्को अद्वितीय नमुना हो। यस बुद्ध पार्क निर्माण कार्य पनि राज्यको धार्मिक केन्द्रको इतिहासमा एक माइलखुट्टी बनेको छ। यसबाहेक पनि दरम्दिनको साई मन्दिर, लिङ्ते डाँडा, पेलिङमा निर्माणाधिन भगवान चिरिञ्जीको भिमकाया प्रतिमा, नाम्चीस्थित साम्ड्रुप्छेलगायत यस्ता विभिन्न तीर्थस्थलहरूले पूरा राज्यलाई नै देशकै प्रमुख धार्मिक पर्यटन केन्द्र बनाइदिएको छ। देशलाई धर्महरूको देश अनि सिक्किमलाई धार्मिक केन्द्र भन्दा अत्युक्ति नहोला।
पेमायेञ्चे, प्यालेस गुम्पा, इञ्चे गुम्पा, रुम्तेक गुम्पा जस्ता तीर्थस्थलहरूले अघिबाटै चिनिसकिएको राज्लाई धार्मिक केन्द्रको रूपमा अझ व्यापकता पाइरहेको राज्यमा ‘जित्रो गुम्बा’ अर्को तिर्थस्थल निमार्ण हुने कुराले अझ उपलब्धीको अनुभव गरिरेका छन् बौद्धधर्मावलम्बिहरू अथवा धार्मिक पर्यटकहरू। गत 4 मईको दिनमात्रै मुख्यमन्त्री पवन चामलिङले पूर्व सिक्किमको मार्ताम-रूम्तेक निर्वाचन क्षेत्रको मार्ताम-लिङताममा जित्रो गुम्बाको शिलान्यास गरेका छन्।
दोर्जी रिम्पोर्छेकोको अवधारणाअनुसार निर्माण गरिने यस गुम्बामा भगवान् बुद्धका 100 स्वरूपहरू समावेश गरिनेछ। गुम्बा निर्माणका निम्ति रिम्पोर्छे स्वयंले जमीन उपलब्ध गराएका छन्। यस योजनाअन्तर्गत चार तल्लाको एउटा ढाँचामाथि तीन तल्ले मण्डला आकारको मन्दिर निर्माण हुनेछ। यसरी नै यस योजनाअन्तर्गत मेडिटेशन हल प्रार्थना कक्ष, अतिथि कक्ष, पुस्तकालय, रिम्पोर्छे अनि खेम्पोहरूको निम्ति विशेष कक्ष लगायत अन्य विविध सुविधाहरू उपलब्ध रहनेछन्।
यो योजनालाई नियाङमा फाउण्डेशन ट्रस्टले अघि बढाइरहेको छ जसको स्थापक रिञ्जीङ दोर्जी रिम्पोर्छे रहेका छन् भने उनले नै यो योजना निर्माणका निम्ति जमीन पनि उपलब्ध गराएका हुन्। यस योजनामा नियाङमा सेडा आवासीय संस्थान पनि समावेश गरिएको छ जसअन्तर्गत 300 लामाहरू यहाँ रहेर अध्ययन गर्नसँगै बौद्ध दर्शनबारे अनुसन्धान गर्न सक्नेछन्।
यो योजना पूरा भएपछि यस क्षेत्र धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास हुने कुरामा सबै विस्वस्त छन्। योजना पूर्ण हुनसितै यहाँ धार्मिक पर्यटन मौलाएर जाने कुरामा पनि विश्वास गर्न सकिन्छ। धार्मिक पर्यटनको बढ्दो सम्भावना रहेको छभने यसबाट शिक्षित बेरोजगार युवाहरूलै सक्दो फाइदा उठाउन सक्नुपर्ने छ, जसको निम्ति युवावर्ग अहिलेदेखि नै तयार रहनुपर्ने छ। किनकि पर्यटनलाई आज विश्वले नै आयको दृष्टिले पनि हेर्नथालिसकेको छ।
धर्मले मानिसलाई राम्रो कार्य, सकारात्मक सोंच, उच्च विचार, प्रेम, सद्भाव अनि दर्शनहरू सिकाउँछ। यसैले हामी जुनै धर्म माने पनि सबै धर्म धर्मनै हो। अनि धर्म जो पनि होस, यसले हामीलाई मानवता, प्रेम, एकता, सद्भाव र समाजोद्दारका कुराहरू नै सिकाउँदछ। यसैले सिक्किममा धार्मिक स्थलहरूको विकास जसरी भइररहेको छ, त्यसले राज्य र राज्यवासीलाई आपसी भेदभावमुक्त गराएर साम्प्रदायिक एकता कायम गर्ने अनि देश-विदेशसम्म यही संदेश बाँडने विश्वास गर्न सकिन्छ।
05.05.2013