चिटफण्ड कम्पनी र हाम्रो लालच
लोभ-लालचको परिणामस्वरूप घरिघरि ठगिने र लुटिने क्रममा पहाडवासीहरू फेरि एकपल्ट कोलकाताको शारदा कम्पनी बन्द भएपछि हजारौं आर्थिक नोक्सानीमा परेको कुरा अहिले चर्चाको विषय बनिरहेको छ। प्रत्येकवर्ष फर्जी कम्पनी आउने र लाखौं-करोडौको धनराशि लुटेर सुइँकुच्चा ठोक्ने गरेको घटना यो नयाँ होइन। सिक्किमको सन्दर्भमा हेर्नु हो भने टीना फिनालिस, सिद्धि, भरोसा जस्ता धेरै फर्जी कम्पनीहरूले मानिसहरूलाई कुवामा डुबाएका घटनाहरू आलै छन्।
उता दार्जीलिङ पहाडकै कुरा गर्नु हो भने पनि गएको वर्षमात्रै खरसाङबाट रियल फोरेक्स नामक कम्पनीले स्थानीय निवेशकर्ताहरूको करोडौं रुपियाँ लुटेर चम्पट कसेको घाउँ आलै छ। त्यसअघि कालेबुङमा युनिपेले पनि करोडौं लुटेकै हो। अन्य यस्ता धेरै फर्जी कम्पनीहरू पहाडीवासीहरूलाई लुटेर हराउने घटना कसैबाट लुकेको छैन।
अहिले शारदा कम्पनीमा आफ्नो लाखौंको लगानी गुमाएपछि आफ्नो पैसा पुनः फिर्ता पाउने आशामा बसेका छन् मानिसहरू। यहाँ प्रश्न उठ्छ, किन हामी घरिघरि लुटिन्दैछौं, किन हामी नै ठगिन्दैछौं त? यसको पछि एउटै कारण छ, हामी आवश्यक्ता भन्दा धेरै लालच गर्छौं, छिटो र सजिलो प्रकारले घेरै कमाउने लोभमा हामी फँसिरहेका छौं। हामीमा जति लोभ-लालच छ त्यतिनै हामी सोझा पनि छौं, विश्वासी पनि छौं। अर्कालाई छिटो विश्वास गरिहाल्छौं। यसैको फाइदा उठाएर हाम्राहरूलाई फुस्ल्याउन सफल हुन्छन् यस्ता फर्जी कम्पनीहरू। हामी भने साँच्चै हो त रहेछ भनेर विस्वास गरी दुइ पैसाको आशा देखाउँदै आउने हाम्रैहरूलाई दया-माया गरेर स्वयं लुटिरहेका छौं प्रतिवर्ष।
यसरी घरिघरि पाडवासी लुटिरहेको भएपनि धेरै जसो एजेण्टहरू, कम्पनीका मालिकहरू पक्रा पनि नपर्ने होइनन्। तर दुःखको कुरा के छ भने यस्ता कम्पनीका मालिकहरूलाई धेरै समय कारावासमा राखेकै मात्र पनि पाइँदैन। किन? सरकारले कुनै पनि वित्तीय समावेसी योजनाहरू छन्, कम्पनीहरू छन् ती सबैलाई आरबीआइसित आबद्ध गराइएपश्चात मात्र यस्तो काम गर्ने अनुमति दिनेगर्छ। यसको आफ्नै नियम-कानुन छ, जो सरकारको अनुमतिबिना सञ्चालन गर्न पाउँदैनन्। दिइसकेपछि पनि दुइगुणा, तीनगुणा ब्याज दिने वा एकवर्ष-दुइवर्ष, पाँचवर्ष, दशवर्षभित्र आफ्नो लगानी रकमको दोब्बर-तेब्बर पैसा दिनसक्दैन अथवा पाउँदैन। तर यहाँ सिधा, सोझा मानिसहरू घरिघरि फँसिनुको पछि प्रायः नै यही मुख्य कारण रहेको पाइन्छ। अतः यसमा सरकार यस्ता कुराहरूमा गम्भीर रहेको देखिँन्दैन, किन? यस्ता कम्पनीहरूको छानविन गरिँदैन, किन? घरिघरिको यस्तो घटनाले हामी स्वयं सचेत बन्दैनौं, किन?
यसै सन्दर्भमा सिक्किम सरकारले भने राज्यमा यसप्रकारको जोखिमबाट जनतालाई बँचाउन विभिन्न पहल गरिरहेको छ, जो उल्लेख्य छ। भर्खरै मात्र तादोङस्थित रोजभेल्ली कार्यालय शील गरेर छानबीन कार्य जारी राखेको कुरा प्रकाशमा आइरहेको छ। यस्तो पहल सिक्किममा मात्रै होइन पूरा पहाड, पूरा देशमै हुनुपर्छ। यस्ता कम्पनीहरूको गहिरो छानवीन गरिनुपर्छ। फर्जी पाइएका कम्पनीविरुद्ध कडा कानुनी कार्वाही हुनुपर्छ, जसले गर्दा यस्ता विचार मात्रै पनि अरुले लिन नसकोस्। कुनै कम्पनीमा एजेण्टशीप लिनुअघि कोही पनि बेरोजगारी नै भएपनि प्रत्येक व्यक्तिले एकपल्ट राम्ररी छानवीन गरोस्। अनि हामी स्वयं सचेत र जागरुक रहन पनि आवश्यक छ। नभए हरेक वर्ष हामी लुटिन्छौं, हरेक वर्ष हामी एफआइआर लिएर थाना पुग्छौं अनि सडकमा विरोध गाउँछौं क्रमबद्ध रूपमा अनि लुटिनै रहनेछौं।
10.05.2013
No comments:
Post a Comment