Wednesday, December 18, 2013

कृषि उद्योग र जैविक राज्य

सिक्किमलाई आउँदो 2015-सम्ममा पूर्ण जैविक राज्य बनाउने मुख्यमन्त्री पवन चामलिङ तथा वर्तमान राज्य सरकारको लक्ष्य रहेको छ। यसै समय पूर्वोत्तर राज्यहरूका लागि केन्द्रले बागवाणी तथा पशुपालन क्षेत्रको विकासका निम्ति यस वर्ष राष्ट्रिय कृषि विकास योजना अन्तर्गत 850 करोड आवण्टन गरेको केन्द्रिय कृषि मन्त्री शरद पवारले हिँजो जानकारी गराएका छन्। केन्द्र सरकारद्वारा आनण्टित उक्त योजना राशिले राज्यका कृषि तथा बागवाणी क्षेत्रलाई एउटा ऊर्जा भरिदिएको छ। यसका साथै राज्य सरकारले 2015 सम्ममा सिक्किमलाई पूर्ण जैविक राज्य बनाउने जुन उद्देश्य र लक्ष्य राखेको छ त्यसमा पनि आत्मविश्‍वास थपिएको छ। पूर्वोत्तर भेकलाई ‘मलिलो माटो, यथेष्ठ जल संशाधन, भरयोग्य वर्षा र कृषिका निम्ति जैवविविधताको अपार संशाधनको धनि’ भनेर केन्द्रले जुन् केन्द्रिय कृषि योजना राशि आवण्टन गरेको छ, त्यो साँच्चै उल्लेखनीय मान्न सकिन्छ। यसबाट राज्यका कृषकहरूमा पनि आत्मविश्‍वास बढेको अनुमान लगाउन सकिन्छ।
देशको 70 देखि 75 प्रतिशत जनसंख्या आजपनि गाउँमा बसोबासो गर्छन् भने कृषि क्षेत्रलाई देशको सबैभन्दा ठूलो आर्जनको श्रोत मान्न सकिन्छ। देशको त्राण पनि यसैमा अडेको स्वीकार्न सकिन्छ। कृषि उद्योगका लागि देशले सिक्किम लगायत पूर्वोत्तर राज्यहरूमा धेरै विश्‍वास गरिरहेको छ। त्यसैले त केन्द्र सरकारले यति ठूलो रकम कृषि विकासका लागि आवण्टन गरिरहेको छ। यद्यपि अहिलेनै भने पूर्वोत्तरसित केन्द्रले भनेजति अथवा आशा गरेअनुरूप अन्नार्जन गर्न सकिरहेको छैन। आशाअनुरूप आन्नार्जन गर्न नसक्नु भनेको देशको खाद्यन्न आपूर्तिमा संकटको संभावना हुने देखिनु हो। सिक्किमलाई एकअर्थमा ‘धानको खेत’ अथवा भोटिया भाषामा ‘डेञ्जोङ’ अथवा लेप्चामा ‘रेञ्जोङ’ भनिएको पाइन्छ। पूर्वोत्तरमै सर्वाधिक धान खेती असममा हुन्छ, त्यो पनि देशको औसतमा मात्रै चार प्रतिशत। त्यसैले पूर्वोत्तर राज्यहरू ‘मलिलो माटो, यथेष्ठ जल संशाधन, भरयोग्य वर्षा र कृषिका निम्ति जैवविविधताको अपार संशाधनको धनि’ भनेर केन्द्रिय कृषि मन्त्री शरद पवारले त भनिदिए। तर यहाँ बुझ्नुपर्ने के देखिन्छ भने, देशको कुल जनसंख्याको औसतमा सिक्किम तथा पूर्वोत्तरको जनसंख्या कति छ? अनि यी भेकहरूबाट कति अन्नोपार्जन हुनुपर्ने? हाम्रो आँकडा कति हुनुपर्ने भन्ने कुरालाई ध्यानमा राखेर पूर्वोत्तर राज्यहरूले कृषि उद्योगलाई बडावा दिनसके मात्र देशलाई अघि लगाउन टेवा पुग्ने थियो कि!
यही कुरोलाई ध्यानमा राखेर सिक्किम सरकारले 2015-को लक्ष्य तय गरेको छ सिक्किमलाई जैविक राज्य बनाउने। उसो त बितेको दशकमा पूर्वोत्तर क्षेत्रको विकासदर वृद्धि भएको र वर्तमानमा यस क्षेत्रले देशलाई मसालाको क्षेत्रमा 11 प्रतिशतको, साग-सब्जी तथा ङ्गल-ङ्गूलमा 8 प्रतिशतको र पुष्प खेतीमा 5 प्रतिशतको योगदान दिइरहेको पनि पवारले जानकारी गराएका छन्। यद्यपि, यति नै पर्याप्त मान्न सकिन्न। त्यसैले देशले पूर्वोत्त क्षेत्रको कृषि तथा वागवाणी विकास चाहेको छ।
सिक्किमको सन्दर्भमा सिम्बेडियम अर्किडको क्षेत्रमा सिक्किमले धेरै विकास गरिरहेको छ। यसको निर्यातमा ठूलो योगदान पुर्याईरहेको छ। यतिमात्र होइन ङ्गल-ङ्गूल, साग-सब्जी, सुन्तला, अदुवा तथा नगदेबालीमा पनि सिक्किमले धेरै विकास गरिरहेको छ। अतः देशले साँचेको आशा र सिक्किमलाई 2015-सम्ममा जैविक राज्य बनाउने राज्य सरकारको लक्ष्य धेरै नजिक पुगेको छ भन्न सकिन्छ।
-29.11.2013
स्वरोजगारीको उपाय सुन्तला खेती

सिक्किमलाई पूर्ण जैविक राज्य बनाउने राज्य सरकारको पहल बिस्तारै सफलताको सिँडी चडिरहेको छ भने अहिले राजधानी गान्तोकदेखि राज्यका साना-साना बजारहरूमा पनि गाउँ-घरमा उत्पादित साग-सब्जीहरू प्रसस्तै देखिने थालिएको छ। यसबाट के प्रष्ट हुन्छ भने, राज्य सरकारले चाहेजस्तै स्थानीय कृषक तथा युवासमुह पनि स्वरोजगार तथा कृषि-उत्पादनतर्फ ध्यानाकर्षित भइरहेका छन् भने उनीहरूलाई स्वलम्बी बनाउने दिशातर्फ कृषि-उत्पादन एक प्रमुख माध्य बनिरहेको प्रमाणित हुन्छ।
यस्तैमा अहिले पुष्प-खेती, फलफूल, नगदैबाली आदि पनि विगत केहीवर्ष यता फस्टाएर गइरहेको पाइन्छ। यसैको एउटा उदाहरण हो सुन्तला खेती। वर्षमा एकैपल्ट फसल उठाउन सकिए पनि कृषकहरूका लागि फाइदाजनक मान्न सकिने सुन्तोला खेती विषय अहिले राज्यमा धेरै जागरुक भइरहेको पाइन्छ।
यसै क्रममा नेरामेकले सँधैं झैं यसपाली पनि सिलगढी रेगुलेटेड मार्केटमा रहेको प्रतिस्ठानमार्फत सिक्किम तथा पहाडी क्षेत्रमा फलेको सुन्तलाको उचित मूल्य प्रदान गर्ने पहल गरिरहेको कुराले मानिसहरूमा अझ सुन्तला खेतीतिर अझ उत्साह बढाएको छ। नेरामेकले अहिले सुन्तला खेती गर्ने कृषक र व्यावसायीहरू बीच सोझो सम्पर्क स्थापित गराउँदै धेरैभन्दा धेरै मूल्य दिलाउने प्रयासको पनि पहल गर्ने भएको छ।  राज्यका विभिन्न गैरसरकारी संस्था तथा सहकारी समितिहरूसित मिलेर नेरामेकले सुन्तला खेतीप्रति मानिसहरूलाई प्रोत्साहित गरिरहेको छ। यसैको एउटा उदाहरण, यसपाली गेजिङ र गेजिङ वरिपरिका गाउँलेहरूले सुन्तलाको व्यापर गेजिङ सहकारी समितिसँग मिलेर गर्ने अनि सहकारी समितिले सबै सुन्तलाको व्यापर नेरामेकसँग गर्ने बताउँदै सही र पारदर्शी ढङ्गमा गर्ने बताएको छ। कृषक या सहकारी समितिलाई आवश्यक परेको खण्डमा वाहनमा तेल र चालकको डीए मात्र दिएर नेरामेकको ट्रक प्रयोग गर्न बताइएको छ।
सिलगढी रेगुलेटेड मार्केटमा नेरामेकका प्रतिनिधिहरूको उपस्थितिमा कृषक र व्यावसायीहरूमाझ सोझै मूल्य तय गरेर सुन्तला बिक्री गरिनेछ भने यसबाट मूलतः कृषकहरूलाई सिधा फाइदा हुनेछ। यसका साथै सुन्तोला खेली गर्ने कृषकहरूले सुन्तोलाको बजार व्यवस्थापन तथा बजार भाउमा ठगिनु नपर्ने अर्को फाइदा पाउन सक्नेछन्।
अतः सरकारी नेकरीको घटदो आशा-अवसर, बढदो शिक्षादर, बढ्दो बेरोजगारी समस्याले मानिसहरूमा एकप्रकार निराशपन छाइरहेको समय युवावर्ग तथा कृषकवर्गका लागि स्वरोजगारी तथा स्ववलम्बी बन्नलाई सुन्तोला खेती एउटा असल, सहज र सफल उपाय बन्नेछ भन्न सकिन्छ र भइरहेको छ।-08.11.2013
स्वस्थ सिक्किमको सपना

मुख्यमन्त्री पवन चामलिङले हिँजैमात्र युरोलोजिकल सोसाइटी अव् इन्डियालाई राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागसित सम्बद्ध भएर काम गरिदिने अपील गरेका छन्।  यो कुरा स्वीकार्य छ। राज्यसरकारले अघिबाटै राज्यको स्वास्थ्य क्षेत्रमा अतुलनीय कार्य गर्दै आइरहेको कुरा पनि कसैबाट लुक्न सक्ने होइन। यस कुरोलाई हामीले सराहना गर्नै पर्छ। वर्ष 1917-मा स्थापित गान्तोकस्थित सर थुटुब नाम्ग्याल मेमोरियल अस्तपताल छोडेर यसको बराबरीमा राज्यमा अर्को ठूलो अस्पतालको अभावलाई ध्यानकेन्द्रित गर्दै सिच्छेमा 1000 पलङधारी बहुसुविधायुक्त अस्पताल निर्माणधीन छ। यो वृहतम् योजनाबाहेक राज्य सरकारले राज्यवासीको सुविधाका लागि विभिन्न योजनाहरू लागु गरिदिएको छ। यीमध्ये गरिबी रेखामिनीकालाई निशुल्क चिकित्सा तथा उपचार एउटा हो।
राज्य सरकारले विगत दुइ दशकमा राज्यको स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गरिरहेको बताउँदै आइरहेको छ। गरिबी रेखामुनिका परिवारका मानिसहरूलाई सरकारले निशूल्क स्वास्थ्य सुविधा उपलब्ध गराइरहेको छ भने गरिबी रेखा माथिका मानिसहरूलाई दुइ लाख रुपियाँसम्मको सहयोग र सरकारी कर्मचारीहरूलाई सयप्रतिशत उपचार गराई रहेको छ। यसरीनै हेपटाइटिस बी अनि एमएमआर भ्याक्सिन सरकारले निशूल्क उपलब्ध गराइरहेको, ग्रामिण क्षेत्रको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै मोबाइल मेडिकल युनिट शुरू गरिएको, आशा कार्यकर्ताहरूलाई प्रोत्साहन गर्दै तीन हजार रुपियाँ प्रतिमहिना पारिश्रामिक प्रदान गरिने, मुख्यमन्त्री शिशू एवं जननी सुरक्षा योजनाअन्तर्गत सुत्केरी महिलाहरूलाई एकपल्टमा पाँच हजार रुपियाँ सहयोग राशि दिइने गरेको अनि शिशूहरूको पोषण आहारका निम्ति 6 वर्षसम्म प्रतिमहिना तीनसय रुपियाँको दरले प्रदान गरिने योजना पनि सञ्चालनमा रहेको छ। यसरी सरकारले राज्यमा गुणात्मक स्वास्थ्य पूर्वाधार विकासमा पनि उत्तिकै अग्रसर रहेको छ भने 2015 भित्रमा सयप्रतिशत मानिसहरूको स्वास्थ्य जाँच गरिने लक्ष्य सरकारले राखेको छ। राज्य सरकारका यी सबै पहलहरू प्रशंसनीय छ, कारण एक स्वस्थ राज्य निर्माण हुनु भनेको स्वास्थ राष्ट्र निर्माणमा सहयोग।
यद्यपि, राज्य सरकारले लिएको वर्ष 2015-को लक्ष्यलाई नहेरेर आम मानिसहरूका लागि दिइने प्रथमिक सुविधाहरूकै मात्र कुरा गर्नु हो भने अहिले सम्बन्धित निकाय कति इमान्दारी छ? मानिसहरूले सरकारद्वारा प्रदान गरिने सुविधाहरू कति सहजताका साथ प्रयोग गरिरहेका छन् त? ठूला अधिकारीवर्ग वा डाक्टरहरूसित व्यक्तिगतरूपमा राम्ररी चिनाजानी नभएकाहरूले के-कस्तो प्रकारले सरकारी सहुलियतहरूको उपभोग गर्न पाइपरहेका छन्? यी कुराहरूले धेरै महत्व राख्दछ।
राज्य सरकारले एसटीएनएम अस्पतालबाहेक राज्यभरि 147 उप-प्राथमिक स्वास्थ्य केन्द्र, 24 प्राथमिक स्वास्थ्य केन्द्र, 4 जिल्ला स्वास्थ्य केन्द्र सञ्चालन गरिरहेको छ। कुनै पनि स्वास्थ्य उपचारका लागि अब कसैले बाहिर जान नपर्ने, जान परेको खण्डमा पनि सरकारले सहयोग प्रदान गरिरहेको छ।  यद्यपि, अहिलेसम्म जिल्ला अस्पतालहरूमा सीटी स्न्यान हुन सकेको छैन, एसटीएनएममा हुन सक्दैन भनेर पीएसए फ्री टोटल टेस्टको लागि प्राइभेट क्लिनिकमा पठाइन्छ। यहाँ मानिसहरू भन्ने गरेका पाइन्छन्, ‘राज्यको एउटा निजी क्लिनिकमा हुने टेस्ट स्टेट पस्पिटलमा पनि नहुनु..!’ यतिमात्र होइन, जिल्ला अस्पतालतिर अक्सिजन लगाइएका रोगीलाई पनि कुनै वार्ड ब्वाइको देखरेखमा छोडिने गरेको जनगुणासोहरू आउन थालेको छ। अतः यस्तो स्थितिमा राज्य सरकारको लक्ष्यलाई सफल तुल्याउन सबैले इमान्दारिता पूर्वक व्यावहारमा उतारे सिक्किम साँच्चै स्वस्थ हुनेनै छ। December 2013
छैटौं अनुसूचि, जीटीए र विकासको
चेपारोमा छुट्टै राज्यको आन्दोलन

सय वर्षभन्दा अघिदेखिको छुट्टै राज्य गोर्खाल्यान्डको मागलाई अहिले पगाहा लागिरहेको समय फेरि आरटीआइ रिपोर्टले दार्जीलिङ पहाडमा छैटौं अनुसूची लागू हुन सक्तैन भनेर स्पष्टै बताइदिएको छ। 30 नोभेम्बर, 2007-मै छैटौं अनुसूचीको विधेयकको विरोध भइसकेको थियो जो अहिले पुनः आरटीआइले लागू गर्न सकिँदैन भनेर खुलस्त पारिदिएको छ। यद्यपि, गोजमुमोले अझसम्म छैटौँ अनुसूचीको बील पेण्डिङमा रहेको र यो खारेज नभएर केवल एउटा लोकसभाको मियाद मात्र 2009-मा पूरा भएको ढिप्पी छोडेको छैन।
2007 देखि नै गोर्खाल्यान्डको मागलाई बुलन्द गर्दै आन्दोलनलाई तीब्रता दिएको भए तापनि गोजमुमो घरिघरि दोधारे भइरहेको पाइन्छ कहिले जीटीए त कहिले विकासको नाममा। जो भएपनि गोर्खाल्यान्डको पुग्ने सिँडी भनेर जीटीएको स्वीकारे पनि गोजमुमोले सफलता कहाँसम्म प्राप्त गर्यो त? प्रश्‍नै मात्र अल्झिरहको छ। किन पुग्न सकिएन त गोर्खाल्यान्डसम्म? यो प्रश्‍नको जवाब  सीके श्रेष्ठले ‘गोर्खाज क्वेस्ट फर इन्डियन आइडेन्टिटी’ लेखेर दिएका छन्, ‘हामी छुट्टै राज्य माग्दैछौं तर गोर्खाल्यान्ड दिने र लिनेबीच कुनै सम्बन्ध नै छैन।’ आपस्तमा सम्बन्ध भएमात्र देशले हामीलाई बुझ्ने र हामीले पनि देशलाई बुझ्न सकेमात्र हाम्रो लक्ष्य पूरा हुने उनको मान्यता छ।
गोर्खाल्यान्डकै मागमा अडिग रहने बताएर जीटीए अध्यक्षको पदत्याग गरेका थिए गोजमुमो प्रमुख विमल गुरुङले। अहिले फेरि विकास भएपछि सबै भइहाल्छ भन्ने मुख्य ध्येय राखेर विकासलाई नै प्राथमिकता दिइरहेको छ गोजमुमोले। त्यसैले एकपल्ट त्यागी सकेको जीटीएमा पुनः विमललाई नै अध्यक्ष बनाउने माँग जोड्तोडले चलिरहेको छ। चलिरहेको अथवा चलाइरहेको, जसै भने पनि विकास कै निम्ति जीटीएमा बस्ने भए गोर्खाल्यान्डको आवाज फेरि ठूलो गुञ्जिएला त? संकास्पद नै लाग्छ।
अलग राज्य गोर्खाल्यान्डसम्म पुग्ने माध्यम नै छैटौं अनुसूचि हो भन्दै अहिलेसम्म अडान राख्दै आइरहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई ठूलै झट्का लागेको छ भने त्यही लक्ष्य पुग्ने सिँडी हो जीटीए भन्ने जोगमुमोले विकासलाई प्राथमिकता दिएर जनतालाई थमथम्याइरहेको छ। जसो भएपनि अन्तिम लक्ष्य दुवैको गोर्खाल्यान्ड हो। तर अहिले गोजमुमो र गोरामुमो दुवै आफ्नो ट्रयाक बाहिर भएको स्पष्टै देखिएको छ। त्यसैले पहाडभरि छरिएका मात्र होइनन्, पूरा भारतका डेड करोड गोर्खाको अस्तित्व, अस्मिता र जातीय चिन्हारीको माग हो गोर्खाल्यान्ड। तर गोजमुमोले जीटीए र विकास अनि गोरामुमोले छैटों अनुसूचि नछोडेपछि अहिले गोर्खाल्यान्डको आन्दोलन छैटौं अनुसूचि, जीटीए र विकासको चेपारोमा परेको छ। त्यसैले अब आन्दोलन कतातिर मोडिने हो? पर्खनै छ।
13.12.2013