82 प्रतिशत शिक्षित समाजले आज निर्णय लिने दिन
शनिबार 12 अप्रेल 2014-को दिन राज्यका 370065 जनाले सिक्किम र सिक्किमेको सुरक्षिक, सुव्यवस्थित, विकसित भविष्य निर्माणको निम्ति निर्णय लिने दिन। 127 उम्मेदवारको भाग्यपरीक्षाको दिन। 16औं लोकसभा तथा नवौं सिक्किम विधानसभा चुनाउमा 6 जना लोकसभा उम्मेदवार अनि 121 जना सिक्किम विधानसभा उम्मेदवार गरी कुल 127 जनाले आफ्नो भाग्य परीक्षा दिइरहेका छन्। तीमध्ये क-कसको भाग्योदय हुने हो त्यो राज्यभरिका 370065 मतदाताले निर्णय लिनेछन्, जसको परिणाम 16 मईको दिन खुलस्त हुनेछ।
12 अप्रेल 2014, राज्यभरिका मतदाताले विभिन्न पार्टीका 127 उम्मेदवारहरूलाई जिताउन मात्रै मतदान गर्ने दिन पक्कै होइन। सरकार स्थापना गर्नै पर्ने हुनाले मात्र पनि मतदान गर्नुपर्ने होइन। यदि भोट लाउनैपर्ने हो भने यो देशको संविधानले दिएको सबैभन्दा महत्त्वपूर्ण र जिम्मेवारीपूर्ण अधिकार हो। यहाँ एक-एकजनाको मत महत्त्वपूर्ण हुनसक्छ, अर्थपूर्ण बन्नसक्छ। किनभने, त्यही एउटै मत, एउटै भोटले एउटा ठोस निर्णय हुनसक्छ। निर्णय हाम्रो समाजको लागि, निर्णय हाम्रो राज्यको लागि अनि त्यही निर्णय देशकै लागि पनि हुनेछ। यसैले निर्णय त्यस्तो होस् जसले भोलि यो समाजमा जातीय एकता ल्यावोस्, यो राज्यको चौतर्फी विकास गरोस् र यो देशको साम्प्रदायिक सद्भावना जगावोस्। निर्णय त्यस्तो नहोस् जसले यहाँ अशान्ति छावोस्, असुरक्षा महसुस गरियोस् र विनाश फैल्यावोस्। त्यसैले राज्यभरिका 370065 जनाले लिने निर्णय गलत नहोस्।
370065 जनाले लिने यो निर्णय भनेको 370065 जनाकै भविष्यका लागि मात्र होइन। यो निर्णय त 6.32 लाख सिक्किमेको भविष्यको लागि हो, सम्पूर्ण सिक्किमकै लागि हो अनि यो निर्णय त्यो समाजको हो जुन समाज 82 प्रतिशत शिक्षित छ। त्यसैले 82 प्रतिशत शिक्षित समाजका 370065 जना मतदाताले लिने निर्णय 127 जनामध्ये 33 जनाको भाग्यको निम्ति मात्र नरहेर 6.32 लाखअधिक सिक्किमको भविष्यको निम्ति हुनुपर्नेछ।
स्मरणीय, राज्यका कुल 632820 जनसंख्यामध्ये 179650 महिला अनि 190415 पुरुष गरी कुल 370065 मतदाताले 12 अप्रेल 2014-को दिन मतदान गरिरहेका छन्। यस हिसाबले राज्यका 58ः48 प्रतिशत मानिसले मतदान गर्ने भएका छन्। सिक्किम विधानसभामा 121 जना र लोकसभामा 6 जनाले आफ्नो भाग्य अज्माइरहेका छन् जसमा एसडीएफ, एसकेएम र प्रदेश कंग्रेसका 33-33 (लोकसभा र राज्य विधानसभा) जना, भाजपाका लोकसभा र राज्य विधानसभा गरी 14 जना, आपका एकमात्र लोकसभा, टीएमसीका लोकसभा र राज्य विधानसभा गरी 8 जना अनि निर्दलीय 5 जना सामेल छन्।
12 अप्रेल 2014-को दिन 82 प्रतिशत शिक्षिक सिक्किमका 58.48 प्रतिशत जनताले सिक्किम र 6.32 लाख सिक्किमेको भविष्यका लागि कस-कसलाई चुन्नेहुन्? अनि 127 जनामध्ये सत्तामा आउने 33 भाग्यशालीको सूचीमा को-को पर्नेहुन्? 16 मईसम्ममा प्रष्ट भइहाल्नेछ। 11.04.2014