सत्तारुढ एसडीएफ पार्टीले स्थापनाको रजत जयन्तीको तयारीलाई अघि बढाइरहेको छ। एसडीएफ पार्टी स्थापना भएको अर्को वर्ष सिक्किमेली जनताले एसडीएफलाई राज्यको बागडोर सुम्पिएका थिए। अहिले 25 वर्षको सफल यात्रासहित पार्टीले रजत जयन्ती पालन गरिरहेछ। यसबीचमा 2014-मा पनि सानो समूहबीच सत्ता परिवर्तनको हल्ला चर्किएकै हो। अहिले त्यही समूहले त्यही कुरा दोहोर्याउँदैछ। त्यो समूहको इतिवृत्त जनताले बुझिसकेका छन्। त्यो समूहमा रहेकाहरूले कस्तो परिवर्तनको कुरा गरेका हुन् भन्ने कुरा अहिलेसम्म पनि स्पष्ट भइसकेको छैन। सत्तारुढ एसडीएफको भन्दा असल नीति, सिद्धान्त र कार्यक्रमहरू लिएर कुनै राजनैतिक दल आउन नसकेको विषयमा पनि जनता अवगत नै छन्। हामी नीतिको कुरा गरिबस्छौं झुण्ड-झुण्डमा, सिद्धान्तका कुरा गरिरहेका हुन्छौं सभा-भाषणहरूमा। समाजको सेवा गर्ने अनि समाजको विकासमा टेवा पुर्याउने प्रभावकारी र सबैभन्दा सरल माध्यम राजनीतिलाई स्वीकारिएको छ। समाजको सेवा त्यतिबेलामात्र सम्भव बन्नसक्छ, जतिबेला स्वयंलाई पूर्णरूपमा व्यक्तिगत लालच र स्वार्थदेखि माथि उठेर काम गर्नसक्छौं।
सत्तारुढ एसडीएफले जहिलेेदेखि राज्यको बागडोर सम्हाल्दै आइरहेको छ, यस अवधि धेरै नेता र पार्टीहरू नआएका होइनन्। तर एसडीएफ पार्टीको नीति र सिद्धान्तअघि अन्य पार्टी टिक्न सकेनन्। नीति र सिद्धान्तकै विरोधमा नीति र सिद्धान्त नै लिएर जनतामा आएको संखघोष गर्नेहरूले आफैले लिएर आएको नीति र सिद्धान्त कतिसम्म बुझेर आएका हुन्छन् वा आएका थिए? त्यो उनीहरूको अस्थायित्वले पनि प्रष्ट पारिहाल्ने कुरा हो। त्यसैले अहिले जुन हल्ला चलिरहेको छ व्यवस्थाको खोजी र सत्ता परिवर्तनको त्यो पनि संकास्पदनै लाग्छ। किनभने कुनै कुराको विरोध गर्नु मात्रै कुनै पनि पार्टीको उद्देश्य हुनु हुँदैन। विरोध हुनुपर्छ त्यो नीति-सिद्धान्तको जसले समाजलाई नोकसान पुर्याइरहेछ, विरोध हुनुपर्छ त्यो व्यवस्थाको जसले समाजलाई नकारात्मक प्रभाव पारिरहेको हुन्छ। कुनै पनि कुराको विरोध गर्नुपर्छ तर समाजहीतको पक्षमा। समाज विकासको पक्षमा। त्यसैले मुख्यमन्त्री पवन चामलिङ सधैँ भन्ने गर्छन्- यहाँ परिवर्तन आउनुपर्छ, सकारात्मक परिवर्तन।
वर्तमान सिक्किममा अर्को ठूलो समस्या अघि आइरहेको छ मध्यस्थकर्ताको, जसले समाजको दुईवटा वर्गलाई जोडेर समृद्ध समाज निर्माणमा ठूलो भूमिका निर्वाह गर्न सक्छन्। अहिले तर त्यसको ठीक विपरीत भइरहेको छ। देशको मेरुदण्ड मानिन्छ युवाहरूलाई। देशका कर्णधार हुन् युवा, जसको हातमा देशको भविष्य हुन्छ। तर, युवाहरू दिग्भ्रमित हुनबाट जोगाइनु नेतृत्वकर्ताहरूको जिम्मेवारी हुन्छ। अहिले तर त्यही युवावर्ग कुन बाटो हिँडिरहेछन् र किन? भन्ने बुझ्नुपर्ने अवस्था छ।
अघि भनियो, राजनीति समाजसेवाको सबैभन्दा प्रभावकारी र सरल माध्यम भनेर। यदि राजनीतिलाई आफ्नो स्वार्थपूर्तिको माध्यम बनाइए त्यसले समाजलाई विकास होइन पतनतिर घोक्र्याउने निश्चित छ। अर्को कुरा समाजका हरेक कुरालाई राजनैतिक दृष्टिले हेरिनु पनि सधैँ सही ठहर हुँदैन। कुनै पनि पार्टी स्थापनासितै उसको आफ्नै नीति-सिद्धान्त हुन्छ, समाजको पक्षमा। राजनैतिक दृष्टिले समाजलाई यहाँ तीन वर्गमा विभाजित गरिनु हो भने तल्लो (आम जनता तथा युवावर्ग), मध्यस्तकर्ता (जो दुवै वर्गसित सम्पर्कमा छ) अनि माथिल्लो (वरिष्ठ कार्यकर्ता, नेता, विधायक, मन्त्री आदि) पाइन्छ। कुनै पनि पार्टीमा यी तीन वर्गका कार्यकर्ताले पार्टीको नीति-सिद्धान्तसितै आफ्नो जिम्मेवारी के हो भन्ने बुझेर त्यसलाई व्यवहारमा उतार्नसके स्वतः समाजको विकास भएर जान्छ। तर, यही कुरा यहाँ ठूलो समस्या भइरहेको अवस्था छ।
विशेषगरि युवावर्ग तथा आम मानिसहरूले बोलेको कुरा 50 प्रतिशत माथिल्लो तहसम्म पुग्ने गर्छ भने माथिल्लो तहबाट आएको कुरा पनि 50 प्रतिशतमात्रै उनीहरूसम्म आइपुग्छ। दुवै पक्षको रहल कुराले यहाँ मध्यस्तकर्ताको भकारी भर्ने काम भइरहेको छ। भात पकाउने काम भइरहेको छ। उनीहरूबाट जिम्मेवारी वहन नभएपछि समाज बिथोलिने देखिन्छ। कुनै पनि राजनैतिक दलले समाज वा राज्यको विकास चाहन्छ भने यहाँ तल्लो तह र माथिल्लो तहबीचको संवादलाई भाग लगाउनुबाट जोगाइनुपर्छ। नभए कस्तै नीति-सिद्धान्त भए पनि समाजलाई त्यसले सकारात्मक प्रभाव पार्न नसक्ला। अहिले देखिँदै गरेको ठूलो समस्या भनेको पनि यही हो। यसले समाजलाई सिर्जनात्मकताबाट विमुख पार्ने देखिन्छ भने युवाहरूले यी कुराहरूबाट पार लाग्न सक्नुपर्ने हुन्छ।-03.02.17
No comments:
Post a Comment