आगामी 14 फरवरी 2017-को दिन पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले कालेबुङ जिल्लाको घोषणा गर्ने लगभग तय भइसकेको छ। त्यसै दिन यता गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले एउटा गोप्य सभा गर्ने निर्णय लिएको छ। मोर्चाको सभालाई गोप्य यसो र पनि भनिएको छ कि सभामा चर्चा कुन विषयमाथि हुने, त्यो सार्वजनिक गरिएको छैन।
मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङ पहाडमा हुने आगामी नगरपालिका र पञ्चायत चुनाउलाई केन्द्र गरेर नै पहाडमा आफ्नो राजनैतिक गतिविधि तीव्र पारिरहेकी छन्। यसबाहेक पहाडमा विभिन्न जात-जातिको विकास बोर्ड गठन भइरहेको छ। विकास बोर्डले जाति-जातिमा फाटो ल्याइरहेको कुरा पनि चलिरहेकै छ। यसका साथै घरिघरि ममता ब्यानर्जीले दार्जीलिङ भ्रमण गर्नुको मूल उद्देश्य पनि पहाडमा तृणमूल कंग्रेसलाई सक्रिय बनाउनु, जीटीएलाई विफल बनाउनका साथै गोर्खाल्याण्डको मुद्दालाई कमजोर तुल्याउनु हो भन्ने धेरैको आरोप पनि छ। यही दृष्टिले हेरिनु हो भने आगामी 14 फरवरीको दिन कालेबुङ जिल्ला घोषणा गर्नुलाई पनि यसैको उदाहरण रहेको स्वीकार्नुपर्ने हुन्छ। यद्यपि, कालेबुङ जिल्लाको घोषणालाई एउटै दृष्टिले हेर्नु लगत हुनसक्छ, किनभने कालेबुङ जिल्ला हुनु भनेको गोर्खाहरूको अस्तित्व र अस्मितासित सरोकार राख्ने विषय पनि हो। अहिले गोर्खाहरूको अस्तित्व र अस्मिताको सन्दर्भ भनेको छुट्टै राज्य गोर्खाल्याण्ड हो, जसको निम्ति अलग जिल्लाले बल प्राप्त हुनसक्छ।
मुख्यमन्त्री ममता ब्यानर्जीले जुनदिन कालेबुङलाई अलग जिल्ला घोषणा गर्नेभएकी छन्, त्यहीदिन गोजमुमोले गोप्य सभा राख्नुलाई कतै न कतै ममताको योजनालाई दखल दिने पनि हुनसक्छ। यस्तै अनुमान धेरैले लगाइरहेका छन्। यदि यो सत्य हो भने त्यसले कसलाई कति फाइदा पुग्छ? त्यो पनि सोच्नुपर्ने हुन्छ। यदि गोजमुमोको गोप्य सभाले ममताको पहाड भ्रमणसितै अलग जिल्लाको घोषणामा प्रभाव पार्ने हो भने त्यसले गोर्खाल्याण्डको मागको निम्ति कस्तो प्रभाव पार्नसक्ला? किनभने पहाडको लक्ष्य भनेको छुट्टै राज्य नै हो, विकास भनेको आवश्यक्ता मात्रै। फेरि, मुख्यमन्त्री ममता ब्यानर्जीको कालेबुङ भ्रमणपछि गोजमुमो अध्यक्ष विमल गुरूङ पनि कालेबुङको भ्रमणमा जाने कुरा अघिबाटै प्रकाशमा आइसकेको छ। यद्यपि, यस विषयको पनि अहिले नै खुलासा हुनसकेको छैन।
14 फरवरीको दिन कालेबुङमा हुने मुख्यमन्त्रीको सभाकै दिन गोजमुमोले कुन उद्देश्यमा गोप्य सभा आयोजन गर्दैछ, त्यो स्पष्ट नभए पनि त्यसपछि हुने विमलको कालेबुङ भ्रमणले भने ठूलो महत्व राख्दछ। गोजमुमोले अघिबाटै ‘जिल्लाको माग हामीले पहिल्यै उठाएका हौं’ भन्ने दावी गर्दै आइरहेकै छ। जन आन्दोलन पार्टी (जाप) प्रमुख डा. हर्कबहादुर क्षेत्री अलग जिल्लाको मुद्दालाई नै मूल मुद्दाको रूपमा समाएर गोमुमोबाट अलग्गिएका हुन्। 14 फरवरीको दिन मुख्यमन्त्रीले अलग जिल्लाको घोषणा गरिसकेपछि निश्चित छ, गोजमुमो र जाप दुवैले श्रेय लिन चाहन्छन्। किनभने अघिबाटै जिल्लाको मुद्दा कसले उठाएको भन्ने विषयमा यो देखिसकिएको हो। मुख्यमन्त्रीले 14 फरवरीको दिन कालेबुङमै आएर अलग जिल्लाको घोषणा गर्ने चर्चा शुरू हुनेबित्तिकै फेरि गोजमुमो र जाप दुवैले स्वागत पनि जनाइसकेको छ।
यहाँ, कुनै पनि राजनैतिक पार्टी अर्थात राजनेताहरूले बुझ्नुपर्ने के छ भने श्रेय लिने वा दिनेभन्दा अबको पहल के हुनुपर्ने हो भन्नेतिर ध्यानदिनु आवश्यक हुन्छ। अर्को कुरा कसैको पनि एकलो पहलले कुनै ठूलो सफलता हात लाग्दैन। तर, एकैजनाको पनि स्वार्थले भने हात लागिसकेको सफलता उम्कनसक्छ भन्ने कुरामा सबै स्पष्ट हुन उत्तिकै जरुरी हुन्छ जति एकतामा बल हुन्छ भन्ने सबैले बुझेका छन्। इतिहासले यसको प्रमाण पनि दिइसकेको छ। अँ, यही बुझेका कुरालाई व्यवहारमा उतार्नसक्नु अर्को चुनौतिको विषय हो।
त्यसैले, अर्काको घर भत्काउनेभन्दा एउटै भए पनि आफ्नो घर निर्माणको ईंटा जोड्नेतिरै सबैको बल भए यहाँ अस्तित्व-अस्मितासितै विकास पनि स्वतः भएर जाने हुन्छ। त्यसैले गोर्खाल्याण्डको आवाजको निम्ति पनि कालेबुङलाई अलग जिल्ला बनाइनु सकारात्मक पक्ष नै हुनुपर्ने हो। देशका कतिपय राज्यको तुलनमा भौगोलिक संरचना साथै जनसंख्याकै आधारमा पनि कालेबुङ जिल्ला हुनसक्ने कुरा सबैसामु प्रष्ट छ। यही कुरा अलग राज्यको निम्ति आवश्यक पनि देखिन्छ। किनभने, एउटैमात्र जिल्लाले छुट्टै राज्यको आवाज उठाउँदाभन्दा धेरैवटा जिल्लाले उठाएको आवाज प्रभावकारी बन्नसक्ला। त्यसैले कालेबुङलाई जिल्ला घोषाणा गर्नेकुरालाई जन आन्दोलन पार्टीले अनि मोर्चाले सँगै स्वागत जनाउने कुरा आफैमा सराहनी छ। यद्यपि, कालेबुङ जिल्ला अस्तिवमा आएपछि खुशी प्रकट गर्नु र हर्ष मनाउनुभन्दा यहाँदेखि उताको पहलबारे सामुहिक विचारको निष्कर्ष आउनसके असल होला। यसको निम्ति जिल्लाको श्रेय हत्याउने होडमा लाग्नुभन्दै नयाँ-पुराना जिल्लासितै सबै विकास बोर्डहरूलाई पनि एउटै मञ्चमा उभ्याउनु र सामुहिक आवाज बुलन्द गर्नसके कसो होला? यो काम कोबाट कहिलेदेखि सम्भव हुनसक्ला? यो पनि अझै प्रतीक्षित नै छ।-10.02.2017
No comments:
Post a Comment