Friday, February 10, 2012


बारम्बार किन ठगिनु
शिक्षाको सन्दर्भमा आजको  समाज हो सबैभन्दा शिक्षित समाज मान्न सकिन्छ। विश्वमै हेर्नु हो भने कुनै पनि स्थान अथवा देशको कुल जनसङ्ख्यामध्ये शिक्षित जमातको प्रतिशत धेरै छ। यसमा दुइमत छैन। आज शिक्षाका माध्यमका विभिन्न साधनका कारण मानिसहरू सचेत बनेका छन् भन्न सकिन्छ। अझ अहिलेको समय त शिक्षित समाजको समय मात्र नभएर कम्प्युटरदेखि  विज्ञापन र सूचना तक्निकीको युग भनिन्छ। अतः यसबाट प्रै बुझिन्छ, वर्तमान समाजका मानिसलाई हरेक कुराको जानकारी हुन्छ, हरेक कुराको ज्ञान हुन्छ। समग्रमा भन्नु परे हरेक कुरामा सचेत हुन्छन्।
यति हुँदाहुँदै पनि पहाडी समाज धेरै पछाडिएको अनुभव हुन्छ। भनिन्छ पहाडी भेककाहरू साह्रैनै सिधा हुन्छन्, तर हामी अन्पढ छैनौं, अन्धो छैनौं अबुझ पनि छैनौं। फेरि पनि हामी किन आज हाम्रै समाजभित्र ठगिन्दैछौं यो एक गम्भीर विषय छ।
कम लागतमा ठूलो रकम पाउने आशामा हामीनै ठगिन्छौं, काम पाउने आशामा हामीनै विदेशीन्छौं अनि घर पर्किनसम्म हम्मेपर्छ। हामीलाई नै त कहिले राम्रो कामको प्रलोभनमा देश-विदेशका महानगरहुँदी हामीनै बेचिन्छौं, हाम्रै चेलीहरू बेचिन्छन्। किन? जवाब हुन्छ पैसाको लागि। सुन्दा सामान्य लागे पनि सोंच्नु पर्ने कुरा छ यहॉं।  त्यो हो हामी शिक्षित छौं, ज्ञानी छौं, सचेत हुँदाहुँदै पनि हामी सधैं सजिलो र छिटो बाटो लाग्न खोज्छौं। चलचित्र हेर्छौं, टेलिभिजनमा धारावाहिक हेर्छौं अनि त्यसरी नै काम पनि गर्न खोज्छौं। त्यसको एउटै कारण हो हामीमा परिश्रम गर्ने बानीनै छैन। त्यसैको फाइदा उठाउनेहरू सॅंधै सफल बनिरहेका हुन्छन् यहॉं।
गैर सरकारी संस्था, सङ्गठनहरू, समाज सेवकहरू र सरकारी पक्षबाट पनि अनेकन सचेतनात्मक पाइलाहरू नचालिएका भने होइनन्। बाल शोसन, नारी यौन शोसन तथा मानव तस्करीहरू विषय विभिन्न प्रकारका जानकारी र त्यसबाट बॉंच्ने उपायहरूसम्म बताइँदै आइरहेको छ। तरै पनि पहाडीभेकतिर हत्या, चोरी, डकैती, बलात्कार जस्ता घटनाहरू दोहोरिएकै छ, समाचार पत्रिका र टेलिभिजनतिर पढिरहेका छौं, हेरिरहेका छौं । यी सबै कुराहरू नगरेर अहिले हेर्नुहो भने धेरै पुरानो जस्तो लाग्न थाले पनि अझैसम्म हाम्रो समाजले झेलिरहेको घटना हो वुमेन ट्राफिकिङ। नारी शोसन अथवा यौन शोसन जस्ता जघन्य अपराधको शिकार बनिरहेका छन् अझै पनि हाम्रा नारीहरू, जबकि हामी एक्काइसौं शताब्दीको यो विज्ञानको युगका मानिस हौं भनेर गर्व गर्छौं।
पहिला पनि यसको कारण त्यही थियो अनि अहिले पनि प्रायः कारण त्यही पढ्न र सुन्न पाउँछौं राम्रो कामको प्रलोभन। देशका ठूला शहरहरूमा ठूला-ठूला काम पाउने त कोहीबेला विदेशमा विना खर्च पुग्नपाउने र राम्रो काम गर्न पाउने अनि मोटो रकम सजिलोसॅंग कमाउन सक्ने। हाम्रो यस्तै विचारले हामी प्रतिदिन ठगिन्दै छौं। हामी शोषित बनिरहेका छौं।  उदाहरण लिनसकिन्छ हालै उद्धार गरिएकी सिक्किमकी एक चेलीको यस्तै घटना।
वितेका घटना र इतिहासबाट हामीले सिक्नुपर्ने कुरा हामी सॅंधै गर्छौं, तर दिनप्रतिदिन यस्ता घटनाहरू प्रकाशमा आउँछन्, त्यसका कारणहरू पनि बताइन्छन्। हामी भने बस त्यसलाई पढ्छौं अनि सॅंगै बिर्सिपठाउँछौं। त्यहॉंबाट सिख्ने वा सचेत हुने अथवा पाठ लिने हामीमा बानिनै छैन। अतः परिणाम हामी घरिघरि त्यस्ता ठगारहरूको, तस्करहरूको शिकार बनिरहेका छौं।
यहॉंबाट बुझ्नुपर्ने अर्को कुरा के छ भने सरकारले गाउँ-गाउँमा आम नागरिकलाई सचेत, चनाखोदेखि दक्ष, योग्य बनाउने उद्देश्य लिएर विभिन्न तालिमहरू दिइरहेको छ, हाम्रा हरेक व्यक्तिमा केही न केही गर्ने इलिम हुनुपर्छ भनिरहेको छ, तर अझै पनि हामी कामकै पछाडी छौं। कारण यस्ता तालिमहुँदी हामी सरकारले बजट सक्नै पर्ने भएकोले यस्ता तालिम वा कार्यशालाहरू आयोजन  गरेको सम्झने र कसैको कर अनि टीए र डीए थाप्नलाई मात्रै सुनिदिनलाई बसिदिने गर्छौं। उसोभए हामी कहिले अन्तरमनबाटै जागरूक बन्ने?
काम हाम्रो पछाडी लागेको छैन। त्यसैले यस्ता घटनाहरू दोहोरिँदैछन्, कारण हामी छिटोमिठो खोज्छौं अनि सानो कामलाई ध्यानै दिँदैनौं। त्यसैले हामी सबैले यति अवश्य बुझ्नुपर्छ कि विना परिश्रम, विना मेहेनत यहॉं केही हुँदैन। हुन्छ त केवल छोटो समयको निम्ति। यसैले हामी आफैमा सचेत अनि परिश्रमी बन्न आवश्यक देखिन्छ। 
03.02.2012

No comments:

Post a Comment