Saturday, January 28, 2012


आजको सन्दर्भमा सरस्वती पूजा
अर्जुन राई
विद्यार्थीहरूका निम्ति सरस्वती पूजाको ठूलो महत्व हुन्छ। हिन्दू धर्मानुसार देवी-देवताहरूमध्ये सरस्वतीलाई विद्या, वाणी, ज्ञान, स्वर, प्रतिभा, बुद्धि तथा चेतनाकी प्रमुख संरक्षिका मानिन्छ। विद्याकी देवी, विद्या वा वाणीकी देवी सरस्वती भनेर पनि जानिन्छ। यही विश्वासको साथमा विशेष हिन्दू धर्मावल्मबीहरूद्वारा प्रत्येक वर्ष वसन्त-पञ्चमीका दिन खुबै उत्साह र आराधनाका साथ ठाउँ-ठाउँमा पूजा-अर्चना गर्ने गरिन्छ।
यस दिन विशेषतः सरस्वतीको नाम गरेर विद्यार्थीहरूले व्रत पनि लिने गर्छन्‌। यसो गर्नाले शिक्षा, ज्ञान, बौद्धिक शक्ति एवं सम्मान प्राप्त हुने धर्मग्रन्थहरूले बताएको पाइन्छ। यतिमात्र होइन देवी सरस्वतीको दैनिक पूजा-पाठ गर्नाले अथवा मन्त्रोच्चारण गर्नाले जीवनमा प्रभावकारी चमत्कार हुने पनि बताइएको छ। जसले नियमित सरस्वतीको साधना गर्छ, उसले अवस्यनै फल पनि प्राप्त गर्छ भन्ने पनि विश्वास रहेको छ।
यस दिन अथवा वसन्त-पञ्चमीको दिन मूलतः शैक्षिक संस्थान तथा सङ्‌घ-संस्थाहरूद्वारा पूजाको मण्डप बनाएर देवी सरस्वतीको प्रतिमा राखी पूजा लगाउने पुरानो चलन छ। हाम्रो समाजमा पनि यस्तो प्रथा देख्न पाइन्छ। हाम्रो पहाडी भेकको कुरा गर्नु हो भने शहर-बजारदेखि गाउँ-घरमासम्म देवी सरस्वतीको पूजा बडो धुमधामले गर्ने चलन छ। गाउँ-घरमा अझै यसको छुट्टै प्रकारको रौणकता देख्न पाइन्छ। स-साना विद्यार्थी, तरुण-तन्देरीदेखि बुढापाकाहरूसम्म भेला भएर पूजा-पाठमा लीन हुनेगर्छन्‌।
अर्कोतिर हेर्नु हो भने तरुणावस्थाका युवा-युवतीहरूमाझ छुट्टै धारणा रहेको पाइन्छ। भनिन्छ, यदि कसैले कसैलाई मन पराए अथवा युवा-युवतीले कसैलाई मन पराएको भए यस दिन प्रेम प्रस्ताव राख्न सकिन्छ अनि यो सफल पनि हुन्छ भन्ने विश्वास रहेको पाइन्छ युवा जमातमा।
देवी सरस्वतीको पूजा गर्दा अन्य पूजामा जस्तै रातो अवीर लगाइएको दही-अछेता (चामल)-को टीका लगाइने चलन छ। विशेष यो काम कन्याहरूले नै गर्नेगर्छन्‌ भने यो समयमा यस्ता प्रस्तावहरू राख्ने चलन थियो भन्ने बताइए पनि आजभोलि यस्ता चलनहरू विस्तारै लोप हुँदै गइरहेको छ।
कुनै पनि धर्म-कर्म होस्‌ अथवा पूजा-पाठ यसले मूलतः मानव समाजलाई अनुशासन र एक सूत्रमा बॉंधेर राखेको पाइन्छ। हाम्रो संस्कृति तथा परम्परा एवं अध्यात्मले हामीलाई सुसंस्कृत बनाउँदछ। अतः पूजा-पाठले पनि हामीलाई एकताको सूत्रमा बॉंधेर राखेको पाइन्छ, जसले विशेष विद्यार्थीवर्गलाई विद्या एवं शिक्षाको क्षेत्रमा चित्तदत्त गराएको पाइन्छ। देवी सरस्वतीको पूजाको दिन विद्यार्थीहरूले सरस्वतीको ध्यान, स्तुति तथा प्रार्थना गर्दै शिक्षा एवं ज्ञान, बुद्धि बढोस भन्ने बल माग्ने गर्छन्‌। यतिबेला यहॉं न त जात-धर्म छुट्याइन्छ न वर्ग भेद नै। यद्यपि, आजभोलि हाम्रो संस्कृति, हाम्रो परम्परा र रीति थिति विस्तारै लोप हुँदै गइरहेको अनुभव हुन्छ भने हाम्रो संस्कृति-परम्परामा पश्चिमेली सभ्यताले प्रवेश गरिरहेको पाइन्छ। फलस्वरूप, हाम्रो समाज र सभ्यतामा ठूलो आँच आउने देखिन थालेको छ। पूजा-पाठ गर्नुपर्छ, सबैले जान्दछन्‌, तर पूजा-पाठ सकिन नपाई हामी आजभोलि भजन-किर्तन गाउने-सुन्ने समयमा अनेकन गीत गाउने-बजाउने गर्छौं। यतिमात्र होइन, मदिरा सेवन गर्नसम्म पछि हट्‌दैनौं हामी। उसोभए, पॉंच मिनट पूजा-पाठमा ध्यान दिएर पॉंचघण्टाभन्दा अधिक समय रङ्‌गरस र मनोरञ्जनमा बिताउँछौं भने हाम्रो त्यो ध्यान, हाम्रो त्यो स्तुति, प्रार्थनाको के अर्थ होला र! गीताले भनेको छ कर्म गर तर फलको आशा नगर। तर हामी कर्म गरेपछि केही त अवश्य नै पाउनेछौ भन्ने आशामै गर्छौं। उसो भए जो गर्छौं त्यो सहीप्रकारले सही ढङ्‌गमा गरेमात्र सही समयमा त्यसको सही फल पनि पाउन सक्छौं। त्यसैले जे हुनेछ त्यो राम्रै हुनेछ-मा मात्रै निर्भर नरहेर राम्रै काम गर्नु पनि उत्तिकै आवश्यक हुन्छ।
यस वर्ष सम्पूर्ण हिन्दूधर्मावलम्बीले वसन्त पञ्चमीको दिन विद्या, वाणी, स्वर, प्रतिभाकी  देवी सरस्वतीको पूजा गरिरहेका छन्‌। अतः यसैले सबै मिलेर खुवै ध्यानपूर्वक, निष्ठावान, दत्तचित्तले पूजा-पाठ गरौं अनि साना भाइबहिनीलाई पनि यसको विशेषता, महत्व र आवश्यक्ताको बोध गराउँ।
27.01.2012

No comments:

Post a Comment