Saturday, May 12, 2012


पर्यटन विकास  वसन्त कार्निभल-2012
सिक्किम प्राकृतिक रूपले त्यसै पनि धनी राज्य हो। यहॉंको हरियाली, कञ्चनजङ्‌गाको मनोरम दृश्य, टिस्टा-रङ्‌गीतका लहर, चॉंप-गुरॉंसले ढकमक्क सजिएका पहाड-पर्वत र विभिन्न जात-जातिले सुसज्जित यो पहाडी भेकमा कसको मन रमाउँदैन होला र! त्यसैमाथि धार्मिक तिर्थस्थलको दृष्टिले पनि सिक्किम खुबै महत्वपूर्ण रहेको छ, जहॉं वर्तमान राज्य सरकार पनि चौतर्फी विकासको दिशामा अग्रसर रहेको छ। यहॉं उदाहरण दिइरहनु त्यति आवश्यक देखिदैन। मन्दिर, गुम्पा, गिर्जादेखि प्राकृतिक धरोहरहरूलाई पनि पूर्ण सुरक्षित, संरक्षित र विकसित गर्दै लैजाने प्रयासमा सिक्किम सफल रहेको छ।
यति हुँदाहुँदै पनि सिक्किमको पर्यटन व्यवसाय कतै धर्मराउला भन्ने त्रास सबैको मनमा नबसेको भने होइन। यसका मुख्य कारण त प्रयास गर्दा-गर्दै पनि यहॉंका धेरै बाटो-घाटो तथा सडक व्यवस्था सुनियोजित छैनन्‌। अप्ठ्यारो बाटो, कुना-कुइनेटो, खाल्डा-खुल्डी भएको सडक, यी सबै कुराले पर्यटकहरूलाई हुने असुविधाका कारण यहॉंको पर्यटन व्यवसायलाई कतै प्रभाव पार्ला कि भन्ने सबैको मनमा खट्‌किरहेको विषय नै हो। यही कुरालाई लिएर धेरैले राज्य सरकारमाथि धेरै आलोचनाहरू पनि गरिरहेका छन्‌। यद्यपि, हामीले यति अवश्य बुझ्नुपर्ने हुन्छ कि केही पाउनलाई केही गुमाउनु पर्छ, तर यहॉं गुमाउनुभन्दा पनि सायद सम्झौता गर्नुपर्ने देखिन्छ।
हामी चाहन्छौं, यहॉं चौतर्फी विकास होस्‌। सम्पूर्ण सुख-सुविधाले परिपूर्ण होस हाम्रो समाज। तर, त्यसको निम्ति पूर्वाधार योजनाहरूको विकास हुन जरुरी हुन्छ जहॉं राज्य सरकार दिनो रात लागि परेरहेको सर्विदितै छ। तर, पूर्वाधार योजनाको निर्माण कार्यावधि आएका समस्या-अड्‌चनहरूलाई नै मानिसहरूले यहॉं समस्या बनाएर सरकारसमक्ष उभ्याउने प्रास गर्छन्‌ भने फेरि कसरी विकास हुन्छ त समाजको?
सिक्किमेली पर्यटन क्षेत्रमा अर्को मुख्य समस्या बनेर आएको विषय हो 18 सितम्बर, 2011-को भुइँचालो। कुनैपनि राम्रा-नराम्रा काम-कुरामा आलोचना-प्रतिआलोचना हुन्छ, भइनै रहेको छ। तर, 18 सितम्बरको भुइँचालोले यस्ता कुराहरूसितै कुनै सरोकार नराखे पनि सबैको मनमा भय भने सिर्जना नगरेको होइन, विशेष यहॉं आउने विदेशीमात्रै होइन देशी पर्यटकहरूको मनमा पनि। भनिन्छ, काल आउँदा बाजा बजाएर आउँदैन। यस्तै भयो सिक्किम र सिक्किमवासीको निम्ति 18 सितम्बर-2011, तर सबैको निम्ति होइन। कालसित भागेर वा लुकेर सकिँदैन, यो त सत्य हो। यही कुरा हामीमा अर्थात हाम्रो मनमा बसेको हुनुपर्छ।
अहिले स्थिति साम्य भइसकेको छ। पर्यटकहरूलाई यस कुराको अवगत  हुन जरुरी छ। यही उद्देश्यले राज्यको पर्यटन व्यवसायिक सङ्‌घ-संस्थाले राज्यमा वसन्त कार्निभल आयोजन गरिरहेको छ, जो पॉंच दिनसम्म चल्ने छ। यस वसन्त कार्निभलको निम्ति आयोजन समितिले जसरी तयारी गरेको छ, त्यो सराहनीय रहेको छ। खुकुरी नृत्य, हेलिकप्टर फ्लाई पास्ट, प्याराग्लाईडिङ, व्याण्ड परेड, स्काई डाइभिङ, धार्मिक चित्रकला प्रदर्शनी, फोटो प्रदर्शनी, खाद्य उत्सवलगायत हस्तकला तथा ग्रामीण शिल्पीहरूको जीवन्त प्रदर्शनीले सिक्किममा पर्यटकहरूको मन अवश्य लोभ्याउने छ।
अब ध्यानदिनु पर्ने कुरा के छ भने, यतिविग्न पर्यटकहरूलाई ध्यानाकर्षण गराउने काम भइसकेपछि पर्यटन स्थलहरूको पनि उत्तिकै विकास र सुधार भएर जानुपर्छ सो भइरहेको पनि छ। यसका साथमा सडक, ट्राफिक र पानी जस्ता प्राथमिक सुविधाहरूमा ध्यान दिनुपनि उत्तिकै आवश्यक छ। नभए हामीले गरेका कार्यहरू निरर्थक नबन्ला भन्न सकिन्न।
11.05.2012

No comments:

Post a Comment