Friday, September 7, 2012

परिवर्तन व्यक्तिविशेषको लागि होइन समाज, राज्य र राष्ट्रका निमित्त हुनुपर्छ


परिवर्तन व्यक्तिविशेषको लागि होइन समाज, राज्य र राष्ट्रका निमित्त हुनुपर्छ
हिजोआज हामी केही मानिसहरूको मुखबाट घरिघरि परिवर्तन-परिवर्तन भनेको सुन्न पाउँछौं। यहॉं यो भएन, त्यहॉं त्यो भएन, अब यहॉं परिवर्तन आउनुपर्छ अथवा यहॉं परिवर्तन ल्याउँनुपर्छ भन्नेहरूको एउटा समुह सक्रिय देखिन्छ। मानो परिवर्तन जसले जसरी चाह्यो, जहिले चाह्यो अनि जतिबेला चाह्यो पाइहाल्ने वस्तु हो। के परिवर्तन वास्तवमै यति सजिलै चाहेर पाउने वा बजारमा किन्न सकिने वस्तु हो त? कि जहॉं, जतिबेला, जसले चाह्यो प्राप्त गर्न सक्ने कुरा हो त परिवर्तन? वास्तवमा के हो परिवर्तन अनि कस्तो परिवर्तन चाहेको छ त आजको समाजले?
साधारण अर्थमा एक थरी रूप, गुण वा अवस्थाबाट अर्को थरी रूप, गुण वा अवस्थामा कुनै कुरालाई बदलिने काम नै परिवर्तन गर्नु भन्ने बुझिन्छ अथवा कुनै कुरालाई नयॉंपन दिनु वा सुधार्नु भन्ने पनि बुझिन्छ। अर्को अर्थमा एउटा युगको अन्त गरी अर्को युगको शुरुवात गर्नु भन्ने पनि बुझिन्छ। उसो भए अब हामी यहॉं कुन कुराको परिवर्तनका कुराहरू गरिरहेका छौं त? किन चाहियो परिवर्तन अनि कस्तो परिवर्तन चाहियो त? कारण कुनै पनि कुराको परिवर्तन चाहॅंदैछौं हामीले भने त्यसको पनि कारण अवश्य हुन्छ। विनाकारण समाजमा कुनै कुराको चाहत पक्कै हुँदैन।
यदि कुनै एउटा समाजमा हरेक जाति, तप्का र समुहले समानताका साथ बॉंच्न पाएका छन्‌ अथवा यथेष्ट अधिकार पाएका छन्‌ भने त्यो समाजलाई परिवर्तनको आवश्यकता पर्दैन। समाजको भौतिक विकास भइरहेको छ अथवा शारीरिक, शैक्षिक तथा मानसिक विकास भइरहेको छ भने त्यहॉं सायद परिवर्तनको खॉंचो नपर्नुपर्ने हो। कुनै समाजको पूर्वाधार विकास भएको भए त्यहॉं पनि परिवर्तनको जरुरी पक्कै पर्दैन।
अब कुरा के आउँछ भने, हामी परिवर्तन भन्ने बित्तिकै कुनै राज्यको वा कुनै देशकै सत्ता परिवर्तन भन्ने झट्ट बुझिहाल्छौं। तर विश्वनाथ सचदेवले आफ्नो एउटा लेखमा "सरकार फेर्नुमात्रैलाई परिवर्तन भन्न मिल्दैन' भनेका छन्‌। अथवा एउटा समाजमा कुनै परिवर्तन ल्याउनु छभने त्यो राज्य वा देशको सरकार फेर्दैमा कुनै परिवर्तन आउँदैन। अर्को एउटा लेखमा मुनिश्री पी. सागरले "शुभ विचारद्वारा मात्र परिवर्तन आउँछ' भनेर पनि लेखेका छन्‌। यहॉंबाट के प्रष्ट हुन्छभने कुनै सत्ता फेरेरमात्र त्यहॉं परिवर्तन आउँदैन तर हाम्रो विचारनै राम्रो हुनुपर्छ, असल हुनुपर्छ। जब एउटा समाजका हरेक व्यक्तिको विचार शुद्ध हुन्छ, राम्रो हुन्छ तब त्यो समाजमा शुख-शान्ति हुन्छ, त्यो समाजको विकास त्यसै भएर जान्छ। त्यहॉं कुनै परिवर्तनको खॉंचो पर्दैन। तर जब हामीभित्रको विचारनै मैला छ, हामीमा स्वार्थले बास गरेको छभने हामी अथवा हाम्रो समाज कहिले खुशी रहन सक्दैन। त्यहॉं कुनै परिवर्तन ल्याएरमात्र हुँदैन। हाम्रै देशको कुरा गऱ्यौंभने 1947-मा अङ्‌ग्रेजहरूबाट स्वतन्त्र भयो, उनीहरूको अन्याय-अत्याचारबाट मुक्त भयो अथवा एउटा नयॉं युग शुरु भयो अनि आयो नयॉं परिवर्तन अनि हामी खुशी भयौं। देशमै पनि छिमेकी राज्य पश्चिम बङ्‌गाललाई हेरौं 34 वर्षपछि मार्क्सवादी पार्टीको सरकारलाई जनताले चाहेनन्‌, किन त्यसको पनि कारण छ। छिमेकी राष्ट्र नेपाल राणाकालीन शासनबाट मुक्त हुँदै सन्‌ 1950-मा त्यहॉंपनि एउटा नयॉं युग शुरु भयो, अनि त्यसको पनि कारण छ। फ्रान्समा पहिलोपल्ट त्यहॉंका जनताले 1985-मा निकोलस रसकोजीलाई राष्ट्रपतिको दोस्रो कार्यकालको निम्ति चुनेनन्‌ अथवा सम्हाल्न दिएनन्‌। तर यहॉं भारत-नेपालको कुरा छोडौं, फ्रान्सेली समाजले परिवर्तन किन चाहेको थियो त? यो एउटा चिन्तनीय विषय छ। कुरा अघिनै उठिसकेको छ, विचार। अतः अहिले जहॉं हेरौं, परिवर्तनकै होड र कुरा चलिरहेको पाइन्छ। मुनिश्रीले त वर्तमान युगलाई नै परिवर्तनको युग भनेका छन्‌।
यतिमात्रै होइन, हामी हाम्रो जीवन स्तरमा पनि परिवर्तन ल्याउने प्रयास सधैं गरिरहेकै हुन्छौं। यद्यपि, हाम्रो विचारमा परिवर्तन ल्याउन सकेका हुँदैनौं। यदि हाम्रो समाजले यहॉं सॉंच्चै परिवर्तन चाहेकै हो भने पहिला हाम्रो विचारमा परिवर्तन आउनु पर्छ। हाम्रो विचार असल हुनु पर्छ, शुभ हुनुपर्छ, कल्याणकारी हुनुपर्छ अनि मात्र हाम्रो समाज तथा हाम्रो जीवनमा वास्तविक परिवर्तन आउला, नभए यहॉं हामीले जुन परिवर्तनको कुरा गरिरहेका छौं अथवा सोंचिरहेका छौं, त्यसले समाजोन्नतिमा रतिभर परिवर्तन ल्याउने कुरामा विश्वास राख्न सकिन्न, कारण परिवर्तन व्यक्तिविशेषको लागि होइन समाज, राज्य र राष्ट्र तथा विश्वकै निमित्त हुनुपर्छ।
07.09.2012

No comments:

Post a Comment