प्रकाशको उत्सव तिहार
परम्परादेखि नै यदि हेर्नु हो भने समाजले सधैं सुख-शान्ति, खुशी-आनन्द, मैत्री-एकता चाहेको हुन्छ। धन-सम्पत्ति, ऐश-आराम जस्तोसुकै होस् तर मनमा सधैं शुख-शैयल रहोस, दुःख-बिमार नहोस्। यस्तै चाहेका हुन्छन् धेरैजसो मानिसले। हाम्रो देशलाई धर्महरूको देश भनेर पनि जानिन्छ। हामी भारतीयहरूमा हेर्नु होभने हिन्दु, मुस्लिम, बौद्ध, ईइसाई मुख्यगरी पाउन सक्छौं। यी चार समुदायमध्येपनि हामी हुन्दु धर्मावलम्बीहरूको चाड-पर्व धेरै छन्। बडादशैले सर्वाधिक महत्व बोकेको हुन्छ, जो भर्खरै मात्र सकियो भने अहिले हामी अर्को महत्वपूर्ण पर्व चाड तिहार हाम्रो घर-आँगनमा छ।
तिहारः तिहारभन्ने बित्तिकै हामीलाई ताहा हुन्छ यतिबेला घरमात्रै होइन, पूरा समाजनै झिलिमिली हुन्छ। घर-आगनमा सयपत्री-मखमली ढकमक्क फुलेको आखा चिम्म गर्दापनि हाम्रो आँखाअघि आउँछ। अझ अमावश्यको रातलाई पनि चिर्ने दीयो-बत्ती र अहिले त बिजुली-बत्तीको उज्यालोले झनै पूरा गाउँ नै झलमल्ल बनाइदिएको हुन्छ।
त्यसर्थ, तिहारलाई अर्को शब्दमा ‘फेस्टिबल अव् लाइट’ अथवा प्रकाशको उत्सव पनि भन्ने गरेको पाइन्छ। प्रकाश, अथवा उज्यालोलाई अर्को शब्दमा भन्ने होभने ज्ञान पनि बुझिन्छ। अतः तिहारलाई ज्ञानको उत्सव भन्नेगरेको पनि पाइएको छ हिजो-आज।
पारम्परिक दृष्टिकोणले हेर्नु होभने तिहारको आफ्नै महत्व रहेको छ, तिहारको आफ्नो छुट्टै महत्व लुकेको छ हिन्दु धर्मानुसार। पारम्परिक मान्यताअनुसार तिहारमा काग तिहार-कुकुर तिहार, देउसी-भैलो, लक्ष्मी पूजा, गोबरधन पूजादेखि भाइटीकाको आ-आफ्नै महत्व छ, विशेषता छ, जो आजपर्यान्त पालन गरिँदै छ र गरिनुपनि पर्छ। यसबाट हामीले यहाँ रहेका पशु-प्राणीप्रतिको प्रेमभाव दर्शाएको पाउनसक्छौं। आज संसारमा पशुहत्या जसरी दिन-प्रतिदिन बढ्दै गइरहेको छ, त्यसलाई परम्परादेखिनै विरोध जनाउँदै आइरहेको बुझिन्छ अथवा संसारको हरेको प्राणीको जिउने अधिकार बराबरी रहेको पनि प्रष्ट हुन्छ। सायद यही कुराको ज्ञान पनि दिएको छ तिहारले हामीलाई।
तिहारको सबैभन्दा महतत्वपूर्ण दिन मान्न सकिन्छ भाइटीकाको दिनलाई। यसदिन आफ्ना चेलीहरूबाट माइतीहरू जति टाडा किन नहोस तर कुनै अवस्थामा पनि भेट्न आउनुपर्छ भन्ने भनाइ आजपर्यान्त बाँचेको छ। यसले पनि हामीलाई सँधै एक भएर गाउँ-समाजमा बस्नुपर्ने संदेश दिएको पाउन सकिन्छ। आपस्तमा कुनै प्रकारको मनमुटाव रहेको भएपनि तिहारले हामीलाई एक बनाउने गरेको छ। आपस्तमा रिसराग, इर्श्या सबै त्यागेर यहाँ भाइबन्धुत्वको संदेश दिएको पाइन्छ तिहारले हामीलाई।
जसरी एउटा दीयोले स्वयं जलेर उज्यालो बाँडेको हुन्छ अथवा प्रकाश दिएको हुन्छ अमावश्यको अन्धकारलाई चिरेर त्यसरी नै हामी हाम्रो गाउ-समाजको निम्ति शिक्षारूपि उज्यालो दिनसक्नु पर्छ, यो शिक्षापनि हामीले यहाँबाट लिनसक्नु पर्छ। सायद त्यसैले त तिहारलाई हाम्रो परम्परा, हाम्रो चाड, हाम्रो पर्वमात्रै नमानेर हिजोआज प्रकाशको उत्सव अथवा फेस्टिबल अव् लाइटको रूपमा पनि पालन गर्ने गरिन्छ।
अतः प्रत्येकवर्ष नै हामी चैते दशै वा रामनवमी, माघे संक्रान्ति, बडादशैं, तिहार आदि-आदि चाड-पर्व मनाउँछौं, मनाउँदै आएका छौं। तरुल खान्छौं, टीको लगाउँछौं, काग, कुकुर, गाई, गोरु आदि पशु-पंक्षीलाई पूजा गर्छौं। सबै हामीले हाम्रा पूर्खाहरूबाटै सिखी आएका कुराहरू, परम्पराहरू हुन्। त्यसैले यी सबै कुरा मान्नु-मनाउनु अवश्य पर्छ।
यद्यपि, महत्वपूर्ण कुरा अहिले के देखिन थालेको छ भने हामी यी सबै पर्वहरू किन पालन गर्छौं वा मनाउँछौं? अथवा हाम्रा पूर्खाहरूले यी पर्वहरू किन मनाउँथे! वास्तवमा भन्नु होभने हामी आजका पिँढीलाई धेरैजसो थाहा छैन। मनाउनु पर्छ! बस यतिनै थाहा छ। आज यी चाड-पर्व, परम्परा र रीति-रिवाजहरूलाई हामी मान्दै त आएका छौं, तर किन? हामी धेरैलाई थाहा छैन। आउने पिँढीलाई उसोभए के भन्ने, के सिकाउने, के बताउने?
किनभने, यी सबै कुराहरू हाम्रो संस्कृतिसित संलग्न कुराहरू हुन् र हाम्रो संस्कृतिलाई हामी सधैं भन्दै आइरहेका हुन्छौं, हामीले नै संरक्षण गर्नुपर्छ। हुनपनि यदि हाम्रो संस्कृति हामीले नै सुरक्षा नगरे भोलि मर्न सक्छ। यदि हाम्रो संस्कति मरेर गए हाम्रो इतिहास, हाम्रो परिचयनै मरेर जानसक्छ। त्यसर्थ हामी चाड-पर्व त मनाउँछौं, यसका साथमा हाम्रा आमा-बाउ, बाजे-बोजु वा बुढा-पाकाहरूबाट यी कुराहरूको पनि ज्ञान लिन जरुरी देखिन्छ, वहाँहरूले पनि यी कुराहरू नयाँ पिँढीलाई सिकाउन आवश्यक हुन्छ। अतः यो परम्परिक चाढ-पर्व, प्रकाशको उत्सव जसोभने पनि तिहार सबैको निम्ति सुखमय बनोस, यसले समाज सुधारका निम्ति हामीलाई सहस्र शिक्षा प्रदान गरोस, हाम्रो मंगलमय शुभकामना।
-11.11.12
No comments:
Post a Comment