आज राज्यमा पञ्चायत चुनाउ
कस्को उज्यालो हुने भाग्य कस्को अँध्यारो?
पञ्चायत चुनाउ भन्ने बित्तिकै गाउँ-घरले एउटा नयाँ आशा साँच्न थालेको हुन्छ। गाउँको बिकासमा ओइरो लाग्ने सपना साँच्न थालेको हुन्छ गाउँ-घरले। चुनाउ कहिले हुने, तय हुनसँगै कसलाई पञ्चायत बनाउने, को असल व्यक्ति छ अनि कसलाई पञ्चायत बनाउनु कसलाई नबनाउनु, चर्चा-परिचर्चा हुनेगर्छ। किनकि पञ्चायत भनेको नै एउटा सिङ्गो समाजको प्रतिनिधित्व हुन्। त्यसैले गाउँ-समाजलाई राम्ररी चिन्ने, बुझ्ने र जान्ने व्यक्तिको यहाँ खाँचो पर्छ।
राज्यमा अहिले चुनाउको प्रचार-प्रसार सकिएको छ। आज अथवा 3 नोभेम्बर, 2012-को दिन चारै जिल्लामा जिल्ला पञ्चायत तथा वार्ड पञ्चायत चुनाउ सम्पन्न भइरहेको छ। राज्यको दक्षिणमा 28, पूर्वमा 32, पश्चिममा 28 र उत्तरमा 20 गरी 108 जिल्ला अनि दक्षिणमा 271, पूर्वमा 290, पश्चिममा 317 र उत्तरमा 109 गरी कुल 987 वार्ड पञ्चायतका निम्ति चुनाउ हुनुपर्ने भएपनि 38 जिल्ला र 566 वार्ड पञ्चायतमा सत्तारुढ एसडीएफ पार्टीले निर्विरोध विजय प्राप्त गरिसकेको छ। रहल 70 जिल्ला पञ्चायत र 420 वार्ड पञ्चायतको भाग्य आज जनताले तय गर्नेछन् भने उत्तर जिल्लाबाट एकमात्र चाँदे वार्डबाट कसैले पनि नामङ्कन भरेका छैनन्।
अतः आज राज्यभरिका कुल 70 जिल्ला पञ्चायत र 420 वार्ड पञ्चायतका निम्ति चुनाउ हुने पक्का भएपनि 38 जिल्ला र 566 वार्डमा निर्विरोध विजय प्राप्त गरिसकेर बलियो स्थितिमा रहेको सत्तारुढ एसडीएफ पार्टीसित लड्न कुनै विपक्षी पार्टी मैदानमा उत्रिएको छैन, मात्र निर्दलीय उम्मेदवारहरूले चुनौति दिइरहेका छन्। अब जान्नु के छभने, के कुनैपनि विपक्षी पार्टीले यस चुनावी मैदानमा उत्रिने आँट गर्न सकेनभने निर्दलीय उम्मेदवारले वास्तवमै एसडीएफ-लाई चुनौति देलान् त? यस चुनाउमा कुनै पार्टीले सहभागिता नजनाएको भएपनि चाखलाग्दो विषय के छभने आफ्नो प्रजातान्त्रिक अधिकारको निम्ति जनता स्वयं पनि अब सचेत भइसकेको बुझिन्छ। आफूलाई चित्त नबुझेको खण्डमा जनता स्यवं युनावी मैदानमा उम्मेदवारका रूपमा उत्रन सक्नुपर्छ भन्ने कुरा राज्यका आम मानिसमा विकसित भइसकेको छ। यसैको परिणाम स्वरूप यसपालीको जिल्ला तथा वार्ड पञ्चायत चुनाउमा राज्यका चारै जिल्लाबाट कुनै पार्टीले मैदानमा उत्रिने प्रयाससम्म नगरेपनि निर्दलीय उम्मेदवारहरू गाउँ-समाजको निम्ति भनेर उत्रिएका छन्।
जिल्ला पञ्चायतमा 35 प्रतिशत अथवा 38 आशन अनि वार्ड पञ्चायतमा 57 प्रतिशत अथवा 566 आशनमा निर्विरोध जीत प्राप्त गरिसकेको सत्तारुढ एसडीएफ-ले खुलस्त पारिसकेको छ, कुनैपनि निर्दलीय उम्मेदवारले यदि जीत प्राप्त गरेपनि उसलाई पार्टीमा लिइने छैन।
एकातिर, कुनैपनि विपक्षी पार्टीले चुनावी मैदानमा उत्रिने पहलसम्म नगरेपनि विपक्षी पार्टीका उम्मेदवारहरू नै निर्दलीय उम्मेदवारका रूपमा मैदानमा उत्रिएको कुरा एसडीएफ-ले बताएको छ। अर्कोतिर, अहिले राज्यमा केही चहल-पहल गरिरहेको बिधायक पीएस गोले समूह र भण्डारी एउटै हो भन्ने मन्तब्य पूर्व मुख्यमन्त्री तथा सिक्किम प्रदेश कंग्रेस अध्यक्ष नरबहादुर भण्डारीले दिइसकेका छन्।
यसबाहेक पनि कतै सत्तारुढ एसडीएफको जीत निश्चित छ भन्ने गरेको सुन्न पाइरहेको छ भने कतै निर्दलीय उम्मेदवारहरूको जीत पक्का छ भन्नेहरूको पनि कमि छैन। जेहोस जीत कसै न कसैको त हुनै छ, कसैको हार निश्चित। तर यी सबै कुराहरूलाई ध्यानमा राख्नु हो भने, निश्चयपनि मतदाताहरूमा भ्रम उत्पन्न हुनजाला, के गर्ने, के नगर्ने ? मनमा यस्ता अनेकौं प्रश्न खडा हुन सम्भव छ। बुद्धिमता यसैमा हुन्छ कि कुनै पार्टी र समूहलाई नहेरेर कस्लाई जिताउँदा आफ्नो गाउँको विकास हुन्छ, गाउँ-समाज तथा राज्यको भविश्य उज्यालो हुन्छ, सानो-ठूलो धनि-गरीब सबैलाई जसले बराबरीको अधिकार दिलाउन सक्छ उसैलाई जिताउँ। कसैको कुरामा बगेर गाउ-समाजको भविश्य नबिगारौं। यस जिल्ला तथा वार्ड पञ्चायत चुनाउले कस्को भाग्य उज्यालो पार्ने हो अनि कस्को भाग्य अँध्यारो पार्ने हो? त्यो निश्यय जनताले निर्णय गर्नेनै छन्। तर आफ्नो गाउँ-समाज र राज्यको समग्र विकासलाई पनि ध्यानमा राख्नै पर्नेछ, यो कुरा पक्कै कसैले भुल्ने छैनन्।
02.11.12
No comments:
Post a Comment