छठ पूजाको महत्व
हिन्दु धर्मानुयायी तथा विशेष भोजपुरी समुदायहरूद्वारा मुख्य गरी पालन गरिने छठ पूजा देशका विभिन्न स्थानसरह राज्यमा पनि धुमधामले पालन गरिँदैछ। सर्वकामना पूर्ति नै देशमा छठ पूजा गरिनुको मुख्य उद्देश्य रहेको लोकविश्वास छ। दिपावततीलो छैटौं दिनदेखि आयोजन गरिने यस छठ पूजालाई एक पर्वको रूपमा पनि जानिन्छ, जो कार्तिक शुक्लपक्षको षष्ठीको दिन पर्दछ। छठ पर्वलाई सूर्योपासनाको अनुपम लोकपर्वको रूपमा पनि जानिन्छ जो विशेषतः पूर्वी भारतको बिहार, झारखण्ड, पूर्वी उत्तर प्रदेश, पश्चिम बङ्गाल, सिक्किम आदि राज्यका साथै नेपालका तराई क्षेत्रहरूमा पनि मनाइन्छ। प्रायः हिंदु धर्मावलम्बिहरूद्वारा मनाइने यस पर्वलाई इस्लामसहित अन्य धर्मावलम्बिहरूले पनि मनाउने गरेका छन्।
कार्तिक महिनाको अमावस्याको दीपावली मनाउने बित्तिकै मनाइने यस चार दिवसीय व्रतको सबैभन्दा कठिन अनि महत्वपूर्ण रात कार्तिक शुक्ल सष्ठीलाई मानिन्छ। यसैले यस व्रतको नामकरण पनि छठ व्रत हुन गएको मान्यता रहिआएको छ। अर्को शब्दमा भन्ने हो भने यस छठ पर्वलाई लोक आस्थाको पर्व भनिने गरेको पनि पाइन्छ, जो देशभरि नै सूर्योपासनाका निम्ति प्रसिद्ध पर्व हो। मूलत: सूर्य षष्ठी व्रत भएको कारण यसलाई छठ भनिएको लोक मान्यता रहेको पाइन्छ। यो पर्व वर्षमा दुइपटक मनाइन्छ। पहिलो पल्ट चैत्रमहिनामा अनि दोस्रो पल्ट कार्तिकमा। चैत्र शुक्लपक्ष षष्ठीमा मनाइने छठ पर्वलाई चैती छठ अनि कार्तिक शुक्लपक्ष षष्ठीमा मनाइने पर्वलाई कार्तिकी छठ भनिन्छ। पारिवारिक सुख-स्मृद्धि तथा मनोकांक्षा तथा फलप्राप्तिको लागि यो पर्व मनाइने जनविश्वास गरेको पाइन्छ। यस पर्वलाई स्त्री तथा पुरुष दुवैले समानरूपमा मनाउने गरेका छन्।
छठ व्रतको विषयमा विभिन्न कथाहरू पनि प्रचलित छन्। तीमध्येे जब पाण्डवले आफ्नो सारा राजपाट जुवामा हारेका थिए, त्यससमय द्रौपदीले छठ व्रत राखेकी थिइन्। त्यपछि उसको मनोकामनाहरू पूरा भएका थिए अनि पाण्डवहरूले आफ्नो राजपाट पुनः प्राप्त गरेका थिए।
लोकपरम्पराअनुसार लोक मातृका षष्ठीको पहिलो पूजा सूर्यले नै गरेको थियो। छठ पर्वको परम्परामा विज्ञान पनि लुकेको पाइने बताइएको छ। छठ पर्व पालन गर्नाले सूर्य (तारा) प्रकाश (पराबैगनी किरण) को हानिकारक प्रभावबाट जीवहरूको रक्षा संभव हुन्छ भनिएको छ। यसबाट पृथ्वीका जीवहरूलाई धेरै लाभ प्राप्त हुने पनि बताइएको छ। मानव जीवन र पृथ्वी तथा वायुमण्डलसित छठ पूजाको गहिरो सम्बन्ध रहेको छ जो सारा जगतकै निम्ति लाभदायक रहेको छ। यसरी छठ पूजाले मानिसहरूमा पारम्परिक पर्व तथा लोक विश्वासको रूपमा मात्र होइन तर वैज्ञानिक पक्ष पनि उत्तिकै रहेको छ।
छठ पर्व चार दिनसम्म मनाइन्छ। दीपावलीपछि शुरु हुने यस पर्वको पहिलो दिन नून, घिउआदि द्वारा बनाइएको चामल र सब्जी आदिलाई प्रसादको रूपमा ग्रहण गरिन्छ। अर्को दिनदेखि उपवास आरम्भ हुन्छ। यस दिन रातको समय खीर बनाइन्छ। व्रत बस्नेहरूले रातको समयमा यो खीरलाई प्रसादको रूपमा लिने गर्छन्। तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य अथवा दूध अर्पण गरिन्छ। अन्तिम दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य अथवा दूध चढाउने परम्परा चलिआएको छ। यस पूजामा पवित्रतालाई खुबै ध्यान दिइन्छ भने छठ पूजा लगाइएको घरमा भक्तिगीतहरू पनि गाइन्छन्। यद्यपि, आजभोलि कतिपय नयाँ रीतिहरू पनि शुरु गरिएको पाइन्छ। जस्तै पण्डाल र सूर्यदेवताको प्रतिमा स्थापना।
स्मरणीय, सूर्यको उपासना सभ्यताको विकाससितै विभिन्न स्थानमा अलग-अलग रूपमा शुरु भयो, तर देवताको रूपमा सूर्यको वन्दनाको उल्लेख पहिलोपल्ट ऋगवेदमा गरिएको पाइन्छै। त्यसपछि अन्य सबै वेदका साथै उपनिषद आदि वैदिक गन्थहरूमा यसको चर्चा भएको पाइन्छ। निरुक्तको रचियता यास्कले द्युस्थानीय देवताहरूमध्ये सूर्यलाई पहिलो स्थानमा राखेका छन्।
कार्तिक शुक्ल चतुर्थीदेखि शुरु भएर कार्तिक शुक्ल सप्तमीमा सम्पन्न हुने यस चार दिवसीय उत्सव तथा छठ पूजा राज्यमा पनि अहिले मानिसहरूले बडो भक्तिभावका साथ पालन गरिरहेका छन्। अतः यस छठ पूजासितै समग्र सिक्किमवासीको मनोकामना पूरा होस, जनाकांक्षा पूरा होस, राज्यमा शान्तति, एकता र भाइचाराको भावविकास भइरहोस।
-18.11.2012
No comments:
Post a Comment