एसडीएफको चुनाउ अभियान
विपक्षीहरूको टाउको दुखाई
2014-मा हुने आम चुनाउ जतिजति नजिकिँदै आउँदै छ, उतिउति अन्य विपक्षी पार्टीहरूबाट सत्तारुढ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीमा सामेल हुने क्रम पनि बढिरहेकोले विपक्षीहरूलाई संकटमा पारिरहेको छ। यसका साथै एसडीएफ पार्टीले चुनाउ अभियानको घोषणा पनि गरिसकेको छ भने सो घोषणापछि 2014-मा हुने आम चुनाउलाई लिएर मानिसहरूमा उत्सुकता पनि बढेर गएको छ। 28 अगस्त 2013-को दिन उत्तर सिक्किम मगनमा युवा चसेतना कार्यक्रमअन्तरगत मुक्य सचेतक उगेन टी. ग्याछोले एसडीएफ पार्टीले चार पुस्तासम्मका लागि पार्टीको आधार तयार गरेको बताउँदै एसडीएफले चुनाउ अभियान शुरू गरेको बताएका थिए। सत्तारुढ एसडीएफ पार्टीले अघिबाटै अब युवाहरूले प्रतिनिधित्व जनाउनु पर्ने बताइरहेको छ भने यस वर्षको आठौं महीनाको पनि जाँदो समय युवा सचेतना कार्यक्रमको समय ‘‘अब युवाहरूले अधिक खटेर काम गर्नुपर्ने छ’’ भनेर युवाहरूलाई अग्रसर गराइरहेको प्रष्टै हुन्छ।
सत्तारुढ एसडीएफ पार्टीले राज्यमा दोस्रो चरणको विकासको आह्वान गरिरहेको छ। विकास गुणात्मक हुनुपर्छ भनिरहेको छ। यसका साथै राज्यलाई हरियालीपूर्ण, पर्यटनमुखी, जैविक खेती, गरिबीमुक्त, स्वस्थ राज्य, शिक्षित राज्यको लक्ष्य लिएर काम गरिरहेको छ। विकास र विस्तारका लागि शान्ति, शान्तिको लागि प्रेम, प्रेमका लागि विचारको सम्मान। एसडीएफले यस्तै विचार लिएर राज्यमा सुख, शान्ति र सुरक्षाको निश्चितता गर्ने काम गरिरहेको छ। गुणात्मक विकासको सन्दर्भमा के-कति सफलता हात लागिरहेको छ, त्यो सबैले मूल्याङ्कन गरिरहेको विषय हो। सुख-शान्ति र सुरक्षाको सन्दर्भमा कुरा गर्नु हो भने, 20 वर्षको अवधिमा उल्लेख्य उन्नति गरेको स्वीकार्य छ।
अब, 2014-को आम चुनाउले मानिसहरूमा कौतुहल छाउन शुरू गरेको छ। अर्कातिर, परिवर्तनको हल्ला चलिनै रहेको छ। परिवर्तन वास्तवमा कस्तो चाहिएको छ त? गाँठी कुरा भने प्रष्टिएजस्तो लाग्दैन। परिवर्तन आउनुपर्छ, परिवर्तन ल्याउनुपर्छ। त्यो परिवर्तन जनमुखी हुनुपर्छ। विकासको निम्ति हुनुपर्छ। मुख्यमन्त्री पवन चामलिङले पनि यही कुरा भनिरहेका छन् बारम्बार। हल्लै गरेरमात्र भने केहि हुनेछैन। अनुहार फेरिनु, सत्ता परिवर्तन गरिनुमात्रै परिवर्तन मान्न सकिन्न।
पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीले पार्टी परिवर्तन गरेर फेरि एकपल्ट सिक्किम संग्राम परिषद (एसएपी)-लाई नै अँगाले जनतामा आउने प्रयास गरिरहेछन्। चुनाउको लगभग पर्षदिन अघि पुनः पुरानै झण्डा पक्रेर जनतामा आउने प्रयास गरिरहेको भएपनि ट्याक्सी वाहनहरूको पार्किङ शूल्क र अन्य सानातिना करहरूलाई उठाएर अहिले अग्रसर छ। सरकारमा आएदेखि यस्ता करहरूबाट मुक्त राज्य बनाउने पनि बताइरहेको छ। के यहाँ मानिसहरूका लागि आवश्यक भनेको यति नै हो त? भन्ने एकपक्षको विचार छ।
अर्कोतिर, राज्यमा अहिले सक्रिय भनिँदै गरेको र ‘सत्तारुढ एसडीएफका लागि चुनौति बनिरहेको छ’ भनिँदै गरेको एसकेएमले 1013-को आठौं महीना बिती सक्दा पनि अध्यक्षलाई जनाताअघि उभ्याउन सकेको छैन। सरकार ढाल्ने कुरा र परिवर्तन चाहिन्छ भन्ने कुरालाई नै नारा बनाएको देखिन्छ। जनतामा के, कस्तो र कुन मुद्दा लिएर आउने हो, कस्तो नीति र सिद्धान्त बोकेर घर-दैलो अभियान सञ्चालन गरिरहेको छ, यस्ता धेरै कुराहरूबाट पार्टी कार्यकर्ता वा सदस्यहरू नै पनि अनभिज्ञ रहेको जस्तो भान हुन्छ।
यस्तैमा प्रतिदिन विपक्षी पार्टीहरूबाट एसडीएफमा सामेल हुने क्रम बढिरहेको छ भने यो पनि विपक्षीहरूका लागि ठूलो चुनौति बनिरहेको छ। एकातिर पार्टीको मुद्दा, नीति र सिद्धान्त के हुनेछ भन्ने कुराले अघिबाटै विचल्नी परिरहेको समय अर्कातिर एकपछि एक गर्दै एसडीएफमा सामेल हुने क्रममा एसडीएफले चुनाउ अभियानको घोषणा गरेर विपक्षी पार्टीहरूलाई सोंच्न बाध्य गराएको मात्र छैन तर टाउको दुखाइ पनि शुरू गरिदिएको छ।
-30.8.2013