Saturday, August 31, 2013

विभिन्न पर्वहरू नै राज्यको एकताको प्रतीक

राज्य सरकारले सिक्किमलाई सुख, शान्ति, समृद्धि प्रदान गर्दै एकताको सूत्रमा बाँधेर राख्ने जुन पहल गरिरहेको छ, त्यो सुदृढ ढङ्गमा अघि बढिरहेको छ भन्ने राज्यमा पालन गरिरहेका विभिन्न पर्वहरूले उदाहरण दिइरहेको छ। यसबाट के प्रष्ट हुन्छ भने सिक्किम र सिक्किमे जति छन् सब एक छन् अनि यो एकतालाई कसैले तोड्न चाहेर पनि तोड्न सक्नेछैन।
भर्खरै मात्र गान्तोक लगायत राज्यका चारै जिल्लामा शान्ति र एकताको प्रतीक पर्व पाङ्ल्हाब्सोल पर्व पालन गरियो जहाँ कुनै जाति विभेद देखिएन। यसरी नै केहीदिन अघिमात्रै तेण्डोङल्होरूमफात् पर्व पालन गरिएको थियो भने त्यसअघि राज्यमा प्रत्येक वर्ष पर्वकै रूपमा पालन गरिने भानु जयन्तीलाई पनि सँधैझैं एकताको प्रतीक रहेको पाइएको छ। यी सबै कुराले राज्यलाई सँधै एकताको सूत्रमा बाँधेर राख्न सकेको प्रष्ट हुन्छ भने यहाँ कुनै जात, धर्म, रङ्गभेद छैन। यसको पनि यहाँ पालन गरिँदै आइरहेका पर्व, परम्परा र उत्सवहरूले उदाहरण दिँदै आइरहेको छ।
त्यसैपनि कुनै पनि धर्म, परम्परा र उत्सवहरूले समाजलाई एकताको सूत्रमा बाँधेर राख्ने गरेको पाइन्छ। सुख-शान्ति, समृद्धि र उन्नतिको कामना गरिरहेको हुन्छ। पहिले-पहिले पर्व, उत्सव र परम्पराहरूले यी कुराहरूलाई नै बोक्ने गरेको पाइन्थ्यो भने अहिले अर्को ख्याल राख्नुपर्ने कुरा के छ भने, अहिले यी कुराहरू नै जीवन धान्ने माध्यमका रूपमा पनि हेर्न थालिएको छ। त्यसैले राज्यमा सँधै सबै धर्म र सबै जातिका उत्सव, पर्व, परम्पराहरूलाई पर्यटनसित जोडेर राज्यको आयको माध्यम बनाउने प्रयास गरिँदैछ। यसैलाई नै रोजगारको अवसरका रूपमा विकास गरिँदैछ अनि यस दिशामा सफलता पनि प्राप्त गरिरहेको छ।
राज्यमा यसरी एकातिर रोजगार तथा आयश्रोतको माध्यमको रूपमा यहाँ पालन गरिने पर्व, परम्परा तथा उत्सवहरूलाई विकसित गरिँदैछ भने अर्कोतिर राज्यको सुख-शान्ति, समृद्धि र सुरक्षाका राम्रो माध्यम पनि बनिरहेको छ। यहाँ कुनै पनि धर्मको अथवा कुनै पनि जातिको पर्व, परम्परा वा उत्सवहरूमा कसैले कुनै जाती र धर्म नछुटाइकन सबै एक भएर पालन गर्ने, कार्यक्रमहरू आयोजन गर्ने गरेका छन्। यही कुरा यसपाली पनि देखियो। यसवर्ष पालन गरिएका माथि उल्लेख पर्व-उत्सवहरूमा देखिएको एकता यसो र पनि महत्वपूर्ण मान्न सकिन्छ कि केही दिन अघिमात्रै राज्यमा रीट याचिकाले जुन प्रकारको तहल्का मच्चाएको थियो त्यसले राज्य र राज्यवासीमा फूट ल्याउने मानिसहरूले अनुमान लगाइरहेका थिए। तर यस्ता अनुमानहरूलाई गलत प्रमाणित गरिदिँदै राज्यको सुख-शान्ति, समृद्धिको साथमा एकता कायम छ, यसलाई कसैले पनि तोड्न चाहेर पनि तोड्न सक्ने छनैन् भन्ने कुराको प्रमाण दिएको छ। यसैले यो एकता, शान्ति र समृद्धिलाई बाँचाइ राख्न पनि जरुरी हुन्छ।

No comments:

Post a Comment