शिक्षक, समाज र जिम्मेवारी बोध
शान्ति, साम्प्रदायिक सदभाव एवं जातीय एकता र सुरक्षालाई एउटा समृद्ध तथा विकसित समाजका आधार मान्न सकिन्छ। अथवा एउटा समाज वा राज्यको विकसित रूप हेर्न चाहन्छौं भने पहिला त्यहाँ जातीय एकताको माला गाँसिएको हुनुपर्छ, साम्प्रदायिक सद्भाव सिर्जित हुनुपर्छ जसले समग्र समाजमा शान्ति छाउन सक्छ। एउटा समाज जतिबेला शान्ति छाउँछ, तब त्यो समाज सुरक्षित रहन्छ। आफू सुरक्षित बनेपछि नै एउटा समाज विकासको गोरेटोमा अघि बढ्न सक्छ अनि बन्दछ एउटा विकसित समाज, पूर्ण सम्पन्न समाज वा राज्य बन्न सक्छ। अनि त बन्न सक्छ एउटा सुखी र समृद्ध समाज।
त्यही सुखी र समृद्ध समाजको निम्ति भोलिलाई हेरेर आजैदेखि काम गर्नुपर्ने हुन्छ। आजै गरिनुपर्ने कामहरूप्रति हामी प्रत्येकमा इमान्दारिता हुन अति आवश्यक हुँदछ। हामी कर्तव्यनिष्ठा बन्न उत्तिकै आवश्यक हुँदछ। हामीमा जिम्मेवारीबोध हुनुपर्छ। त्यही कुराको महशुस गराउने, सचेत र जागरुक गराउने सर्वाधिक दायित्व हुँदछ एकजना शिक्षक वा शिक्षिकामाथि। शिक्षक-शिक्षिकामाथि त्यति कुराको दायित्वमात्रै हुँदैन, भविष्यका तारा मानिएका विद्यार्थी र युवाहरूको भविष्य निर्माणको जिम्मेवारीको पनि आङभार हुँदछ। युवाहरूको भविष्य निर्माण भन्नु नै एउटा सुखी, शान्ति, विकसित र समृद्ध समाजको निर्माण पनि बुझ्न सकिन्छ।
अहिले गाउँदेख शहर, घरदेखि दफ्तर, सडकदेखि मीडिया सबैतिर चर्चामा रहेको विषय पनि हो शिक्षक र शिक्षकहरूको स्थानान्तरण। स्थानान्तरित शिक्षकहरूमै पनि ‘ठीकै छ, सरकारले पठाउने सिक्किमभित्रै त हो। जानु पर्यो नि’ भन्नेहरू जति छन्, त्यति नै ‘गलत हो। बिनाबित्थामा स्थानान्तरण गरिरहेछ’ भन्नेहरू पनि छन्। यसलाई राजनैतिक रूप दिएर आ-आफ्नै दृष्टिकोणले पनि हेरिँदै छ। आरोप-प्रत्यारोप लगाइने काम पनि भइरहेकै छ। विभागले गरेको शिक्षकहरूको स्थानान्तरणलाई लिएर ‘विभागीय नियमानुसार स्थानान्तरण गरिएको हो। सिक्किमलाई गुणस्तरीय शिक्षाको मार्गमा अग्रसर गराउने नीतिलाई सही ढङ्गमा विस्तार गर्ने समग्र हीतलाई ध्यानमा राखेर नै गरिएको हो’ भनिरहेको छ सत्तारुढ पक्षले।
स्थानान्तरित शिक्षक-शिक्षिकाहरूद्वारा विरोध गरिनुका कारणहरूमध्ये मूलत दुईवटै विषय प्रमुख देखिन्छ। पहिलो गाउँघरका स्कूलहरूमा पुग्नु, अर्को आफ्नो गाउँ नभए शहरदेखि टाडा पुग्नु। यी दुई कुराले शिक्षक-शिक्षिकाहरूलाई समाजको विकास र विद्यार्थीहरूको भविष्य निर्माणमा भन्दा व्यक्तिगत सुख-सुविधाभोगी देखाउँदछ। हामी धेरैजसो गाउँमै जन्मेकाहरू गाउँलाई रुचाउँदैनौं, एउटा विडम्बना। त्यसैले सायद आज शिक्षक-शिक्षिकाहरूलाई पनि शहरतिरै केन्द्रित पाउँछौं, किन?
सबैमा औंला उठाउन मिल्दैन, तर समुन्नत समाज, विकसित राज्यसितै विद्यार्थीहरूको भविष्य निर्माणको दायित्व बोकेका कतिपय शिक्षक-शिक्षिकाहरू हप्तामा 4-5 दिन मात्रै जाँने, कतिपय शनिबार स्कूल नजाने त कतिपय स्कूलै जाँदै नजाने पनि छन्। त्यस्ता कतिपय शिक्षक-शिक्षिकाविरुद्ध विभाग स्वयंले निरीक्षण गर्न नसकेको भए पनि विभागसम्म गुनासो पुगेको भए त्यसका वास्तवितका खोज्नुपर्छ, दोषि पाइएमा नियमानुसार कार्वाही गरिनुपर्छ। यदि विभागले त्यसो गर्न सकेको छैन भने त्यसको दोषि विभाग पनि उत्तिदै हुँदछ। घरिघरि मानिसहरूले कार्यालयमा अधिकारी नभेटेको गुणासोहरू सुन्न पाइन्छ। सरकारी कर्मतारी वा अधिकारीहरू नभेटिनु भनेको विभागीय कमजोरी मान्न सकिन्छ। विभागीय कमजोरीले दुख पाउँछन् आम नागरिकले, तर शिक्षक-शिक्षिकाको कमिकमजोरीले समाज, राज्य र राष्ट्रको भविष्य विग्रन सक्छ। राष्ट्र निर्माता, भविष्यका ताराहरू अध्यारोमा पर्न सक्छन्। त्यो भन्दा पहिला अभिभावकले आफ्ना छोरा-छोरीको भविष्य गुमाउनुपर्छ। यहाँ जो-कसैको कमजोरी किन नहोस्, अभिभावकहरू पनि चुप्प लागेर ढुक्क बस्नु पनि आफ्नो जिम्मेवारीदेखि भाग्नु हो। -23.01.2015