समय दैनिक : बाह्रौं वर्षको यात्रामा
सिक्किमको पत्रकारिता जगतमा लोकप्रियता कायम राख्दै 31 दिसम्बर 2014 सितै 11 वर्षको लामो यात्रा पूरा गरिसकेको छ। सिक्किमेली पत्रकारिता जगतमा समय दैनिकले सँधै जनपक्षीय रहेर जनसरोकारका लागि नै निर्धक्क सेवा पुर्याउँदै आइरहेको छ। यो एघाह्र वर्षको अवधिमा समय दैनिकले सिक्किमेली पत्रकारिता जगतलाई नयाँ दिशा दिने प्रयास गर्दै आएको सत्य सर्वविधित विषय हो। 1 जनवरी 2004 देखि शुरू भएको समय दैनिकले निर्वाधरूपमा जनसेवा पुर्याउँदै आइरहेको छ, यो नै समय दैनिकको सफालताको उदाहरण हो।
सन् 2004-मा समय दैनिकको प्रकाशन शुरू हुँदा सिक्किमेली पत्रकारिताको अवस्था खडेरी परेको स्थितिमा थियो, जसलाई मलजल गर्दै समय दैनिकले एउटा उर्वर भूमि तयार गर्ने काम गरेको छ भन्दा अत्युक्ति नहोला। सकारात्मक पत्रकारितालाई अङ्गिकार गर्दै समय दैनिकले विकास पत्रकारिता र ग्रामीण पत्रकारितालाई आफ्नो अभीष्ट बनायो जसलाई सम्पूर्ण पाठकवर्गले सहर्ष रुचाइदिनु हाम्रो निम्ति सबैभन्दा ठूलो उपलब्धी हो, लोकप्रियताको आधार पनि।
एउटा दैनिक समाचार पत्र वा पत्रकारिता जगतका लागि यति लामो यात्रा तय गर्नु सहज छैन। अझ भारतीय नेपाली समाचार पत्रहरूको इतिहासलाई हेर्नु हो भने समय दैनिकको यो यात्रा निश्चय नै एउटा माइलखुट्टी बनेको छ। 2004-मा शुरु गर्दा साधारण 4 पृष्ठको समय दैनिक आज रङ्गीन 8 पृष्ठको प्रकाशित भइरहेको छ। बीचमा आएर 12 पृष्ठको बनाउने प्रयास गरिएको भए पनि सिक्किममा यो प्रयास अहिले नै सफल हुन नसक्ने अनुभव गरिएपछि 8 पृष्ठमै प्रकाशित भइरहेको छ।
समय दैनिकले ग्रामिण पत्रकारिता र विकास पत्रकारितालाई उच्च प्राथमिकता दिएको कुरा यहाँ हामी पुनः अवगत गराउन चाहन्छौं। यसमा हाम्रो उद्देश्य सिक्किमको समग्र विकासमा जनताको सहभागिता गराउनु हो। यस दृष्टिकोणमा पनि समय दैनिकको सफल रहेको छ। जनतालाई सही जानकारी दिँदै विश्वसनीयता कायम गर्न सफल बनेको छ समय दैनिक।
भाषा एक निरन्तररूपमा परिवर्तन हुने भएकोले समय सापेक्ष भाषावैज्ञानिक व्याकरणलाई आधार मानेको छ। यद्यपि, कतिपय परम्परावादी व्याकरणिक नियमलाई अस्वीकार गर्दै नयाँ नियमलाई पालन गर्ने प्रयाससितै समय दैनिकले नेपाली भाषाको जतिसक्दो मानक र शुद्धरूप प्रयोग गर्ने कोसिस गरिरहेको छ। समय दैनिकले नेपाली भाषा-साहित्यको विकासमा विशेष चासो राखेर दुईवटा कथा प्रतियोगिताको आयोजन गर्यो। यसले पनि नेपाली भाषा-साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दा अतियुक्ति नहोला। यस अवधिमा समय दैनिकले ग्रामिण पत्रकारिता पुरस्कारको स्थापना गर्नका साथै सिक्किममा पत्रकारितालाई पनि व्यवसायिक पेशाका रूपमा लिन सकिन्छ भन्ने सन्देश दिने प्रयास गरेको छ।
अर्कोतिर, समय दैनिकले समय समयमा विशेषाङ्कहरूको प्रकाशन पनि गर्दै आएको छ। विगत केही वर्षदेखि केन्द्रिय माध्यमिक शिक्षा बोर्डको परीक्षा परिणाम प्रकाशन गर्ने जुन प्रयास गरिएको छ, त्यसले सिक्किममा गुणात्मक शिक्षाको विकासमा थप टेवा दिने काम गरेको हामीले महसुस गरेका छौं। यसबीच कतिपय आलोचनाहरूको पनि सामना गर्नु नपरेको होइन, विभिन्न लाञ्छना पनि नलागेको होइन। तर समय दैनिक आफ्नो कार्यमा विश्वस्त रहेकोले नै आज राज्यकै एक लोकप्रिय दैनिक समाचार पत्र बन्न सफल छ।
अर्को कुरा, समय दैनिकले सँधैं पत्रकारिता जगतलाई जनसेवाको असल माध्यमसितै रोजगारीका लागि पनि उत्तिकै उपयुक्त माध्यम रहेको सत्य बुझाउँदै आइरहेको छ। फलस्वरूप आफ्नो एघाह्र वर्षको यो लामो अवधिमा धेरै दक्ष मानवशक्ति पनि तयार गरिसकेको छ, जसले पत्रकारिता जगतका हरेक विधा र हरेक क्षेत्रमा आफ्नो जिम्मेवारी वहन गर्न सक्षम छन्। समय दैनिकको यो अर्को सफलता स्वीकार्न सकिने विषय हो। आज पाठकवर्गको असीम मायाले राज्यको सर्वाधिक लोकप्रिय दैनिक समाचार पत्र बनेको समय दैनिकलाई अझ स्तरीय, मर्यादित, मानवीय र पठनीय बनाउने हाम्रो प्रयास जारी रहनेछ। एघाह्र वर्षको लामो यात्रा पूरा गरेर हामी बाह्रौं वर्षतिर लम्किसकेका छौं। यो यात्रामा समग्र पाठकवर्गको यस्तै माया र साथ पाइरहने छौं। यो हाम्रो विश्वास हो। -03.01.2015
No comments:
Post a Comment