Monday, May 23, 2016

जितपछि गोजमुमोको जिम्मेवारी

गोजमुमोले दोस्रोपटक फेरि पहाडका तीनैवटा विधानसभा आसनमा जित प्राप्त गर्दै पहाडका जनताको मनमा आफ्नो वर्चस्व कायम राख्न सफल रहेको कुरा प्रमाणित गरिदिएको छ। एक महिनाअघि सम्पन्न चुनाउपछि पहाडको वर्तमान राजनैतिक परिवेशलाई हेरेर राजनैतिक पर्यवेक्षकहरूले विभिन्न अड्कलबाजी गरिरहेका थिए। यस्तोमा 2007 देखि गोर्खाल्याण्डको मुल मुद्दा बोकेर 2011-को विधानसभा चुनाउमा पहाडका तीनैवटा आसनमा जित प्राप्त गर्ने गोजमुमोले निक्कै सङ्घर्ष गर्नु परेको थियो।
यसैबीच गोजमुमोबाटै आफ्नो सीद्धान्त, लक्ष्य, उद्देश्यलाई फरक पाएपछि छुट्टै पार्टी गठन गरेका हर्कबहादुर क्षेत्री गोजमुमो कै निम्ति सबैभन्दा ठूलो चुनौती बनेको थियो। उनको नेतृत्वमा रहेको पार्टी ‘जाप’-ले कालेबुङलाई छुट्टै जिल्ला बनाउने मुद्दालाई अघि सारेर जनतालाई आफुतर्फ झुकाएको थियो। यो नै गोजमुमोको निम्ति निक्कै ठूलो चुनौती बनिरहेको भए पनि हिँजो आएको चुनाउ परिणामले गोजमुमोलाई फेरि एकपल्ट उत्साह बढाइदिएको छ।  अर्कोतिर, तृणमूल कङ्ग्रेस, अखिल भारतीय गोर्खालीग र गोरामुमोको पनि साथ पाएको जापले उसको गढ नै मानिएको कालेबुङमा पनि हारको सामना गर्नुपर्यो। गोजमुमोले जापलाई 12,431 मतले पछि पारेपछि स्पष्ट भएको छ, अझै गोजमुमोप्रति जनताले विश्‍वास मारेका छैनन्। डा. हर्कबहादुर छेत्रीले मुख्यमन्त्री ममता ब्यानर्जीसित साँठगाठ राख्नु नै उनको चुक भएको अनि जापले हारको सामना गर्नुको मुख्य कारण पनि यही नै हो भन्ने पर्यवेक्षकहरूको भनाई छ।
गोजमुमोले 2011-मा जस्तै 2016-को विधानसभा चुनाउको परिणाममा पनि पहाडका तीनवटा आसनमा आफ्नो कब्जा जमाएको छ। यद्यपि, 2011-मा तीनवटा आसन मिलाएर 343931 मत प्राप्त गरेको थियो भने योपाली 25,0026 मत मात्रै प्राप्त गरेको छ। यसको अर्थ गोजमुमोले यो चुनाउमा 93,905 कम मत प्राप्त गरेको छ। यद्यपि, गोजमुमो प्रमुख विमल गुरुङले ‘जित, जित नै हो’ भनिसकेका छन्, जो सत्य पनि हो।
विभिन्न अड्चन र चुनौतीहरूमाझ पनि पहाडका तीनैवटा आसनमा गोजमुमोको जित हुनुका मुख्य दुई कारण रहेको पर्यवेक्षकहरूको भनाई छ। पहिलो, गोर्खाल्याण्डको मुद्दा अनि दोस्रो, गोर्खा समुदायभित्रका 11 जातिलाई जनजातिको मान्यता। गोजमुमोले दुई मुख्य मुद्धासितै विभिन्न चुनौतीहरूको पनि सामना गर्नुपरिरहेको छ भने उल्लेखित दुवै मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरिसकेका छन्। त्यो नै फेरि गोजमुमोको तागत बनिदिएको छ। पहाडमा भाजपालाई आफ्नो समर्थन दिइरहेको गोजमुमोले उठाइरहेको गोर्खाल्याण्डको मुद्दाप्रति पहाडका जनताको मन ढलफल हुँदै गरेको समय प्रधानमन्त्री नरेन्द्र मोदीले सिलगढीमा सम्पन्न चुनावी जनसभालाई सम्बोधन गर्दै ‘गोर्खाहरूको  सपना मेरो पनि सपना हो’ भनिदिँएका थिए।
यसपटक फेरि पश्‍चिम बङ्गालको मादरीहाटमा 7 अप्रेलको दिन चुनावी जनसभालाई नै सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले भाजपा सरकारभन्दा अघिको सरकारले गोर्खा समुदायका 11 जात-गोष्टिलाई जनजाति बनाउने विषयमा वाचा मात्रै गरेको बताएका थिए। त्यही क्रममा उनले भाजपाको सरकार सत्तामा आउने वित्तिकै गोर्खा समुदायका सबै 11 जातिलाई जनजातिको मान्यता दिने विषय काम शरू गरिसकेको बताएका थिए। यति भएरै पनि गोजममुको मुख्य बाधक भने यथावतै देखिन्छ। पहाडका तीनवटै आसनमा गोजमुमोको जित भएको छ, जसले भाजपालाई समर्थन जनाइरहेको छ। यद्यपि, गोजमुमोको बाटोमा सधैँ अडचन भनेको राज्यमा सत्तासिन तृणमुल कंग्रेस नै हो, जो पुनः यसपटक पनि सत्तामा बसेको छ। हर्कबहादुर छेत्रीको नेतृत्वमा रहेको ‘जाप’-ले ममतासित तालमेल राख्नुको कारण पनि त्यही नै हो। यसैले गोर्खाल्याण्डको मुद्दालाई अहिले कहाँसम्म पुर्याउन सकिएला, त्यो चर्चा गर्दै लाने विषयका रूपमा राखेर अहिले अघि बढाउनुपर्ने मुद्दा भनेको ‘जनजाति’-को मामिला नै हो। जनताले कालेबुङमा ‘जिल्ला’ भुलेर अनि समग्र पहाडमै गोजमुमोलाई जिताउनुको मुख्य कारण पनि यही नै हो।
त्यसर्थ, अहिले गोजमुमोले अघि बढ्नु पर्ने भनेको पनि यही मुद्दालाई समाएर हो। यस विषयमा केन्द्रलाई दबाउमा ल्याउनसक्नु गोजमुमोको पहिलो जिम्मेवारी हुन्छ। ध्यानमा राख्नुपर्ने कुरा के छ भने, 11 जातिलाई जनजातिको मान्यता दिने विषयमा 2 अप्रेल 2016-को दिन नै केन्द्र सरकारको जनजाति मामिला मन्त्रालयले छानविन तथा सिफारिस गर्न समिति गठन पनि गरिसकेको छ। अर्कोतिर, ‘जिल्लाको माग सबैभन्दा पहिले हामीले नै उठाएका थियौं’ भनेर गोजमुमोले अघिबाटै भनिसकेको छ। यसै क्रममा हिँजैमात्र आएको चुनाउ परिणामले चित पारेको छ जापलाई। जिल्लाकै मुल मुद्दा बोकेर अघि सरिरहेको जापले पहिलोपल्ट लडेको चुनाउमै चित परेपछि जाप प्रमुख हर्कबहादुर छेत्रीले ‘जिल्लाको मुद्दा अघि बढाउने जिम्मा नयाँ विधायकको’ भनिसकेका छन्। अतः जिल्लाको मुद्दालाई अघि बढाउने कि नबढाउने भन्ने जिम्मेवारी पनि गोजमुमोलाई नै सुम्पिएको खुलस्त हुँदछ। गोजमुमोले अब कुन मुद्दालाई कसरी अघि बढाउने, कुन मुद्दालाई प्राथमिकता दिने? त्यसको सही निर्णय गरेर अघि बढ्नुपर्ने हुन्छ।-20.05.2016

खुल्ला शौच : कारण र निवारण

देशभरि नै अहिले स्वच्छता अभियान युद्धस्तरमा चलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं यस अभियानमा लागि परिरहेका छन्। 2019-सम्ममा देशलाई पूर्णरूपमा स्वच्छ बनाउने लक्ष्य लिइएको छ। स्वच्छ भारत अभियानअन्तरगत पर्ने एउटा विषय हो ‘खुल्ला शौचमुक्त भारत’, जसलाई अभियनाकै रूपमा सञ्चाललन गरिँदैछ देशभरि नै। स्वच्छताको क्षेत्रमा सिक्किमले 2008-मै निर्मल राज्य पुरस्कार प्राप्त गरिसकेको छ भने ‘क्लिन सिटी’ लगायतका अन्य धेरै राष्ट्रिय स्तरका पुरस्कारहरू पनि प्राप्त गरिरहेको छ। यसबाट के प्रमाणित हुन्छ भने देशले स्वच्छता विषय काम गर्नअघि नै सिक्किमले यस विषय काम गरिरहेको थियो।
अहिले, देशले 2019-सम्मको लक्ष्य लिएर ‘खुल्ला शौचमुक्त भारत’ अभियानलाई सफल पार्ने उद्देश्यमा सिक्किमले पनि ‘स्वच्छ सिक्किम, स्वच्छ भारत’ अभियानसितै ‘खुल्ला शौंच मुक्त राज्य’ अभियानलाई तीव्रता दिइरहेको छ। राज्यका प्रत्येक घरमा शौचालय हुनुपर्छ भनेर अनिवार्य गर्दै राज्य सरकारले यस अभियानलाई प्रभावकारी बनाएको छ। यसै अभियानअन्तर्गत राज्यका धेरैवटा वार्ड तथा ग्रामहरू ‘खुल्ला शौचमुक्त’ घोषित भइसकेका छन्। यो कुरा अघिबाटै प्रकाशमा आइसकेको हो। खुल्ला शौचमुक्त अभियानमा सिक्किम देशमै अघि रहेको छ, जहाँ सयप्रतिशत घरहरूमा शौचालय बनिसकेको छ। यस सन्दर्भमा शिक्षाक्षेत्रमा सिक्किमभन्दा अघि रहेको केरल राज्यमा पनि 96.32 प्रतिशत घरहरूमा मात्रै शौचालय निर्माण गरिएको बताइएको छ। यता, देशकै आँकडालाई हेर्ने हो भने 51.77 प्रतिशतमा मात्रै शौचालय बनिएको थाहा लाग्छ।
यहाँ प्रश्‍न उठ्नसक्छ, के सयप्रतिशत घरहरूमा शौचायल बनिसकेपछि पूरा राज्य खुल्ला शौचमुक्त रहनसक्छ? उत्तर हुन्छ ‘हुँदैन’। किनभने कुनैपनि राज्य ‘खुल्ला शौचमुक्त राज्य’ हुनु भनेको  त्यस राज्यभित्र कोही एकजनाले पनि खुल्ला शौच गरेको नहोस। त्यसैले खुल्ला शौंचमुक्त राज्यको दृष्टिले सिक्किमका लागि अझै पनि धेरै चुनौतिहरू रहेको प्रष्ट हुन्छ। अहिलेसम्म यस क्षेत्रमा राज्यले जुन सफलता, जुन गरिमा प्राप्त गरेको छ खुल्ला शौचमुक्त राज्यको सन्दर्भमा त्यसप्रति हामीले गहिरएर सोच्नु आवश्यक हुन्छ। खुल्ला शौंचमुक्त राज्य वा राष्ट्र घोषित हुनका लागि के-कु हुनुपर्ने, कसरी काम गरिनुपर्ने? त्यस कुरोलाई हामीले राम्ररी बुझेका छौं? यो कुरा हामीले बुझ्नु जरुरी हुन्छ।
खुल्ला शौचमुक्त रहनका लागि राज्यका प्रत्येक नागरिक सचेत भए पनि राज्यबाहिरबाट आउने पर्यटकहरूबाट यसको उल्लङघन भइरहेको हामी धेरैले देखिरहेको विषय हो। स्थानीयहरूबाटै पनि यात्राका अवधि ठाउँ-ठाउँमा वाहन रोक्न लगाएर शौच गर्नेगरेको नदेखिएको होइन। यतिमात्रै होइन, विशेष सडक तथा कतिपय कम्पनीमा कार्यरत मजदुरवर्गबाट पनि यसको उल्लङ्घन गरिएको पाइन्छ। किनभने उनीहरूसित कुनै उपाय नै हुँदैन। सडकको डिल-भित्ता, खोल्सा, झोडी आदि स्थानतिर खुल्ला शौच गरिनु हामी सबैको निम्ति चुनौती हो।
अब यी सबैका कारणहरू के-के हुन त भन्ने खोजी गर्नु वा बुझ्नु जरुरी हुन्छ। किनभने जबसम्म कारण पत्तो लगाइँदैन तबसम्म समास्याको समाधान हुनसक्दैन। त्यसैले माथि उल्लेख समस्याहरूमध्ये स्थानीयहरूले खुल्ला शौच गर्नुको कारण एउटा त यात्रा अवधी भनेजस्तो ठाउँठाउँमा शौचायल नहुनु हो, कतिपय स्थानमा शौचालय भए पनि ठीकसित प्रवन्धन नहुनु, पानीलगायतका आवश्यक सुविधा नहुनु, देखरेख नहुनु आदि धेरै हुनसक्छन्। यसबाहेक राज्यबाहिरबाट आएकाहरूबाट यो समस्या देखिनु भनेको पहिलो कुरा त उनीहरूमा पूर्ण जानकारीको अभाव पनि हुनसक्छ। त्यसैले उनीहरूलाई यस विषय अवगत गराउन उनीहरू सिक्किम भित्रिने वित्तिकै यहाँ ‘कहाँ-कहाँ के-के गर्न पाइँदैन?’ बन्नेबारे तोडन (होर्डिङ बोर्ड), पाम्प्लेट आदिको माध्यमद्वारा जानकारी गराउन सकिनेछ। यसबाहेक ठाउँ-ठाउमा शौचालय निर्माण, त्यसको सही देखरेख, पेट्रोल-पम्प, होटल, रेस्टुरेण्ट आदिमा शौचालय अनिवार्य राखिनुपर्ने, यात्रीहरूका लागि शौचालय प्रयोग गर्न दिनैपर्ने जस्ता नियमहरू बन्नसके केहीहदसम्म यसको समाधान हुनसक्ला, धुम्रपान तथा नशालुपदार्थ सेवन गर्न नपाइने (साडा) जस्तै फोहोर-मैला प्रबन्धनसितै खुल्ला शौच गर्न नपाइने विषयमा पनि ठोसरूपमा ‘ऐन’ नै बन्न सके अनि त्यसलाई प्रभावकारी ढङ्गमा कार्यनवयन गरिनसके खुल्ला शौचमुक्त अभियानले सफलता प्राप्त गर्ला।  यसका लागि गाउँ-गाउँमा पनि यस अभियानलाई पुर्याउनु हो भने सबैभन्दा पहिला पञ्चायतको माध्यमद्वारा अघि बढाउन सकिन्छ, जसमा ‘स्पेशल ग्राम सभा’-को विषय नै राख्न सकिन्छ।
हाम्रो स्वास्थ्य, यहाँको सुन्दरता, स्वच्छता सबैसित सोझो सम्बन्ध राख्ने यस अभियानमा हामी प्रत्येक नागरिकमा जब स्यवं सचेतना आउँछ तबमात्र यो सफल हुन्छ बन्ने गरिएको पाइन्छ। यद्यपि, व्यावहारिकरूपमा धेरैकुराको कमजोरी पाउन सकिन्छ। उदाहरणार्थ, अझ पनि कतिपय स्कूलहरूमा शौचालय सुचारू छैन। विद्यार्थीहरू जङ्गलतिर पस्न अझै पनि बाध्य छन्। खुल्ला शौच भइरहेको पाइन्छ। कतिपय शहरी क्षेत्रमा शौचायय निर्माण गरिएका भए पनि त्यसलाई सिधै नाला-खोल्सा-खोलातिर पुर्याइने गरिएको हुनसक्छ।
राज्यमा पहिलोपल्ट 13 मई 2016 देखि ग्रामीण प्रबन्धन एवं विकास विभागको पहलमा राज्यभरिका विभिन्न गैरसरकारी संस्थाहरूलाई लिएर दुईदिनव्यापी कार्यशाला आयोजन गरिएको छ यही विषयमा। खुल्ला शौचमुक्त अभियानलाई कसरी सफल पार्न सकिन्छ, राज्यमा देखिँदै गरेका खुल्लाका शौचका क्षेत्र वा स्थानहरूको चिन्हित गरिनु, यसका कारणहरू र समाधानका उपायहरूलाई केन्द्र गरी आयोजित कार्यशाला सम्भवत यो नै पहिलो हुनसक्छ। यसलाई सफल पार्न राज्यका प्रत्येक नागरिकको जिम्मेवारी हुन्छ। गर्न हुने र नहुने कुराहरूप्रति हामीलाई अघिबाटै अवगत छ, हामी सचेत छौं, तर हामी यस्ता कुराहरूप्रति जिम्मेवार छैनौं। हामी प्रत्येकमा अहिले जिम्मेवारी बोधको खाँचो छ, तबमात्रै हामी सफल बन्न सकौंला, हाम्रो राज्य र हाम्रो देश खुल्ला शौचमुक्त बन्नसक्ला। -13.05.2016

पत्रकारिता र जिम्मेवारी

पत्रकारिता भन्ने बित्तिकै हामी त्यो माध्यम बुझ्नसक्छौं, जसले समाजका कुराहरू समाजबाटै लिएर समाजकै निम्ति सम्प्रेश गरिरहेको हुन्छ। साधारण अर्थमा भन्ने हो भने समाचार सम्प्रेशनको माध्यम। संसारमा एक व्यक्तिदेखि अर्को व्यक्ति वा एउटा समाजदेखि अर्को समाजबीच कुनै समाचार वा खबर पुर्याउन वा पठाउन प्रक्रिया कहिले र कसरी शुरू भयो? त्यसको आफ्नै पाटा छ। तर, यसको मुख्य उद्देश्य भनेको व्यक्ति वा समाजलाई कुनै कुरा अर्थात घटनाविशेषको अवगत गराउनु, जानकारी गराउनु हो। वर्तमानलाई हेरिनु हो भने यो आधुनिक सभ्यताको एक प्रमुख व्यावसाय पनि हो, जसमा समाचारहरूको सङ्ग्रह, लेखिनु, जानकारी भेला गर्नु, समाजसम्म पुर्याउनु, सम्पादन गर्नु र सम्यक प्रस्तुतीकरण आदि सम्मिलित छन्। वर्तमान युगमा पत्रकारिताका अनेक माध्यमहरू छन्। जस्तै समाचार-पत्र, पत्रिकाहरू, रेडियो, टीभी च्यानल, सामाजिक सञ्जाल वा वेब-पत्रकारिता आदि।
पत्रकारिता तथा समाचार विषय डा. अर्जुन तिवारीले यो ज्ञान र विचारहरूलाई समीक्षात्मक टिप्पणीहरूसितै शब्द, ध्वनि तथा चित्रहरूको माध्यमद्वारा जन-जनसम्म पुर्याउनु नै पत्रकारिता हो भनेका छन्। उनले पत्रकारितालाई समयसितै समाजको दिग्दर्शिका र नियामिका हो भन्ने पनि बताएका छन्। अब, हामीले यहाँबाट के बुझ्नसक्छौं भने समाजको हित र विकासका लागि अघि बढ्न त्यही समाजलाई शिक्षित गराउनु पनि पत्रकारिताको उद्देश्य हुनुपर्छ। समयअनुसार समाजको दिग्दर्शिका बन्दै सही सूचना वा जानकारी प्रदान गर्नु मात्रै होइन तर सही मार्गमा डोहोर्याउने काम पनि गर्नुपर्छ। यसो हुनसके समाजको उन्नति वा विकासमात्रै होइन त्यहाँ शान्ति-शृङ्खला पनि बनिरहन्छ। तब त समाज अघि बढ्ने हुन्छ।
हामीले ध्यानमा राख्नुपर्ने कुरा के छ भने सामाजिक सरोकार तथा सार्वजनिक हितसँग संलग्न रहेर मात्रै पत्रकारिता सार्थक बन्नसक्छ। सामाजिक सरोकारहरूलाई व्यवस्थाको जडसम्म पुर्याउने अनि प्रशासनको जनहितकारी नीति तथा योजनाहरूलाई समाजको तृणमूल स्तरसम्म पुर्याउने दायित्वको निर्वाहलाई पनि सार्थक पत्रकारिता भन्नसकिन्छ।
हामीलाई अवगत भएको कुरा हो, पत्रकारितालाई लोकतन्त्रको चौथो स्तम्भ मानिन्छ। पत्रकारिताले लोकतन्त्रमा यो महत्त्वपूर्ण स्थान त्यसै प्राप्त गरेको होइन, तर सामाजिक सरोकारहरूप्रति पत्रकारिताको दायित्व र यसको महत्त्वलाई बुझेर समाजले नै प्रदान गरेको विषय भन्ने पनि बुझ्नसकिन्छ। लोकतन्त्रमा कोही पनि सशक्त त्यस समय मात्र बन्न सक्छ, जब उसले सामाजिक सरोकारप्रति आफ्नो सार्थक भूमिका निर्वाह गर्दछ। सार्थक पत्रकारिताको उद्देश्य नै प्रशासन र समाजबीच एक महत्त्वपूर्ण साँगुको भूमिका निर्वाह गर्नु पनि हुन्छ। पत्रकारिताको इतिहासलाई हेरिनु हो भने देशको स्वतन्त्रताका लागि भएको आन्दोलनमा पनि पत्रकारिताले अहम र सार्थक भूमिका निर्वाह गरेको पाइन्छ।
वर्तमान पत्रकारिता जगतलाई इन्टरनेट र सूचनाको अधिकार (आरटीआइ)-ले बहुआयामी रूप दिएको कुरा स्वीकार्य छ। विज्ञान र तक्निकीद्वारा आँखाको झिमिकभरमा संसारको एकदेखि अर्को छेउ कुनै पनि समाचार आदान-प्रदान गर्नसकिन्छ।अर्को अर्थमा भन्नुहो भने आज पत्रकारिता जगत धेरै सशक्त र प्रभावकारी बनेको छ। त्यसैले पत्रकारिताको पहुँच र अभिव्यक्तिको स्वतन्त्रताको प्रयोग मूलतः सामाजिक सरोकार तथा सामाजिक विकाससित जोडिएको हुन्छ।
अर्कोतिर, पत्रकारिताले अहिले व्यावसायिक रूप पनि लिइरहेको छ, जसको एउटा उद्देश्य कमाई गर्नु अथवा आर्थिक वृद्धि गर्नु भन्ने पनि बुझ्न सकिन्छ। यही व्यावसायिक दृष्टिकोणको परिणामस्वरूप सामाजिक सरोकारहरूदेखि मीडिया वा पत्रकारिता जगत बिस्तारै विमुख बनिरहेको पाइन्छ। यतिमात्रै होइन, वर्तमान कतिपय स्थिमा मानिसहरूले यसको दुरुपयोग पनि गरिरहेका छन्, जो समाजकै निम्ति जोखिमपूर्ण हुन्छ। 
समाचार सम्प्रेशनका साधनहरूमा प्रिन्ट र इलेक्ट्रोनिक साधनहरूसितै अहिले इन्टरनेट तथा वेबसाइडहरूको पनि दुरुपयोग भइरहेको छ। समाचार सम्प्रेशनका माध्यमहरूलाई निजी भडास् पोखाउने, सुनेका कुराहरूलाई सत्य तथ्य नबुझी नकारात्मक ढङ्गले बडाइ-चडाइ गर्नु, एउटा फोटोलाई गलत ढङ्गमा परिभाषित गर्नु अनि व्यक्तिगत र आपत्तिजनक कुराहरूका लागि पनि यसको गलत प्रयोग गरिनु जस्ता घटनाहरू प्रकाशमा आइरहेका छन्। यसो गर्नाले समाजको विकास, उन्नति-प्रगतिसितै समाजको शान्ति शृङ्खला बनाइराख्ने होइन तर समाजलाई विशृङ्खल गराउने हुन्छ।
पत्रकारितालाई स्वतन्त्र र निर्बाध राखिनुपर्छ। लोकतन्त्रको हितमा काम गर्नु मै पत्रकारिताको पनि हित हुन्छ। लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता सबैलाई प्राप्त छ, जसलाई समाज र सामाजिक सरोकारका लागि पूर्ण इमान्दारितापूर्वक उपयोग गरिनु जरुरी हुन्छ। समग्रमा पत्रकारिता सधैँ लोकतान्त्रिक ढङ्गमा चल्नुपर्छ, समाज र सामाजिक विकासका लागि हुनुपर्छ। किनभने समाजको विकास, उन्नति-प्रगति र शान्ति शृङ्खला बनाइराख्नु पनि पत्रकारिताको जिम्मेवारीभित्र पर्ने हुन्छ।-06.05.2016

सरकारी सहुलियत र समस्या

मानव जीवनलाई सरल बनाउन अनेकन सुख-सुविधाहरूको खाँचो पर्दछ। मान्छेले जीवनभरि दुःख-परिश्रम गर्नुपर्ने भनेको पनि अन्ततः जीवनका आवश्यकता पूरा गर्दै र खाँचो टार्दै जीवनलाई सरल बनाउँदै लानु हो। जब मान्छेका चाहना, आवश्यकता, खाँचोहरू पूरा हुँदै जान्छन् तब मान्छेको जीवन सरल र सजह भइरहेको हुन्छ। मानव जाति भनेको नै सँधै सुख उपभोग गर्न चाहिरहेका हुन्छन्। त्यही सुखभोग, चाहना, आवश्यकता जस्ता कुराहरूले मान्छेलाई सँधै लालची बनाइरहेको हुन्छ। स्वार्थी बनाइरहेको हुन्छ। मान्छेमा लालच वा स्वार्थ हुनुपर्छ। तर कहिलेकाहिँ  यो हाम्रो लागि घातक पनि बन्नसक्छ। हाम्रो सुख-सुविधाप्रतिको चाह र आवश्यकतापूर्तिको लालचले जीवनमा नोकसानी पनि पुर्याइरहेको हुन्छ। कहिलेकाहिँ घातक प्रमाणित हुनसक्छ।
वर्तमान सिक्किमेली समाजलाई हेरिनु हो भने परिश्रमभन्दा धेरै सुखउपभगको चाह बोकिरहेको पाइन्छ। आम मानिसको चाहलाई सरकारले पनि सक्दो पूरा गर्ने प्रयास गर्दै आइरहेको छ। सरकारले उसो त राज्यका कसैले पनि कुनै प्रकारको दुःख नपाउन् भन्ने चाह राखेको छ। त्यसैले जनताको हरेक खाँचो, उनीहरूको आवश्यकतालाई पूरा गर्दै जाने पहल निरन्तर गर्दै आइरहेको छ। सरकारले राज्यभरिकै हरेक तहका मानिसहरूको आवश्यकताअनुसार सबै प्रकारको सुख-सुविधा, सहुलियतहरू उपलब्ध गराउँदै आइरहेको छ। सहुलियतले सँधै मानिसहरूलाई सुख-सुविधा नै प्रदान गरिरहेको हुन्छ। सरकारको उद्देश्य पनि त्यही नै हो, राज्यवासीले दुःख नपाउन्। राज्यवासीले बुझेको पनि त्यही नै हो, सहुलियत प्राप्त गर्नुभनेको सुख-सुविधा प्राप्त हुनेछ। भनिन्छ, कुनै पनि कुराको सकरात्मक र नकरात्मक दुवै पक्ष हुन्छ। सरकारी सहुलियत प्राप्त गर्नुमा पनि माथिको भनाई चरितार्थ हुन्छ।
सिक्किमेली समाजले सरकारबाट सुख-सुविधाका लागि पाउनुपर्ने सबै प्रकारका सहुलियतहरू प्राप्त गरिरहेको सर्वविदित विषय हो। निश्‍चितरूपमा यसबाट मानिसहरूले फाइदा उठाइरहेका छन्। मुँडा काट्ने बञ्चरोले कहिलेकाहिँ घुँडा पनि काट्छ। ठीक त्यस्तै मानिसहरूले प्राप्त गरिरहेका कतिपय सहुलियतहरूले पनि सुख-सुविधा दिइरहेको भए पनि समस्य खडा गरिरहेको छ। सरकारबाट जनताले प्राप्त गरिरहेको विभिन्न सहुलियतहरूमध्ये एउटा हो ‘इण्डक्सन’ चुल्हा। सरकारबाट पहिले ‘सिलेण्डर ग्यास-चुल्हा’ पाइरहेका थिए। पछिबाट ‘इण्डक्सन’ पाइरहेका छन् मानिसहरूले। ‘इण्डक्सन’-ले पनि अहिले मानिसहरूका निम्ति समस्या  खडा गरिरहेको छ। यस्ता धेरैवटा घटनाहरू प्रकाशमा आउन नसकेका भए पनि यो कतिपय गाउँ-घरका मानिसहरूले झेलिरहेको समस्या हो।
‘इण्डक्सन’-ले ल्याइरहेको समस्या भनेको बिजुलीको बील हो। उसो त सरकारले गरिबीरेखामुनीका मानिसहरूलाई एकसय युनिटसम्म बिजुली निशुल्क गरिदिएको छ। ‘इण्डक्सन’-ले मानिसहरूलाई चुल्हाको काममा धेरै सहजता प्रदान गरेको छ। फलस्वरूप मानिसहरूले त्यसको निरन्तर प्रयोग पनि गरिरहेका छन्। उनीहरूका लागि त्यही नै मूल समस्या भइरहेको छ। सरकारले प्रतिमहिना एकसय युनिटसम्म बिजुली निशुल्क गरिदिएको भए पनि अत्याधिक बिजुलीको बिलले मानिसहरूलाई सताइरहेको छ। बिल तिर्न नसकेको कतिपय घटनामा विभागले लाइन काट्ने गरेकोले मानिसहरूमा थप समस्या भइरहेको धेरै घटना सुनिदै आइरहेको छ। गाउँका हरेक समस्यालाई समाधानार्थ ग्रामसभा उठाउने गरिन्छ। कतिपय ग्रामसभामा यस्ता समस्याहरू पनि उठिरहेका छन्। सम्बन्धित विभागीय अधिकारीहरूले विभागीय निर्देशानुसार काम गर्नुपरिरहेको स्पष्ट बताएपछि स्पष्ट हुन्छ, बिजुलीको बिल अधिक आउनुमा न आम मानिसहरूको गल्ति छ, न विभागको, न त सरकारको। 
यद्यपि, माथि देखिएका कमजोरीहरूलाई कसरी समाधान गर्नसकिन्छ? त्यसमा सबैको ध्यान पुग्न जरुरी हुन्छ। नभए समाजका निम्ति प्रदान गरिएका सहुलियतहरूको जबसम्म सदुपयोग हुँदैन, तबसम्म मानिसहरूका निम्ति यस्ता समस्या यथावत रहने छ। मानिसहरूले सहुलियतबाट सुख-सुविधा उपभोग गर्नभन्दा धेरै समस्या झेल्नुपर्ने हुन्छ। त्यही सहुलियत नै मानिसहरूका निम्ति समस्या भएर खडा भइदिनसक्छ। -29.04.2016

Tuesday, May 3, 2016

चित्रकार कमल श्रेष्ठसित केहीक्षण

सिक्किममा एउटा आर्ट ग्यालेरी हुन आवश्यक : कमल श्रेष्ठ

मानव जीवनले भोगिरहेका कुराहरूले मनमा सधैँ एउटा छुट्टै स्थान बनाएर बाँचिरहेका हुन्छन्। काल-परिस्थिसितै घटेका घटनाहरू जीवनभरि स्मृतिपटमा अमेट रहेका हुन्छन्। कति कुराहरू भित्र-भित्रै एउटा अव्यक्त पीडा बनेर आफैलाई पिरोलिरहने हुन्छन् भने कति प्रस्फुटित भइदिन्छन् खुशीहरू बनेर। ती प्रस्तुटित कुरा वा घटनाहरू तर सधैँ खुशी मात्रै पनि बनिदिँदैनन्, कहिलेकाहिँ आफ्नै निम्ति अभिशाप पनि बनिदिन्छन् भने कहिलेकाहिँ हाम्रो परिचायक पनि बनिदिनसक्दछन्। त्यति हो, आफूभित्रका कुराहरूलाई कसले कसरी व्यक्त गर्छ, त्यसैमा निर्भर रहने कुरा हो यो। प्रिय पाठकवर्गसित यहाँ एक त्यस्तै व्यक्तित्वको परिचय गराउन लागिरहेछु म, जसले आफूले जीवनमा भोगेका कुराहरूलाई आफ्नो परिचायकका रूपमा व्यक्त गर्न रुचाउँछन्। जीवन धान्ने असल माध्यमकारूपमा कुची र रङ्हरूसितै क्यानभाषभरि उतारिदिन्छन् आफूभित्र बाँचिदिइरहेका आफ्ना अनुभवहरूलाई। अनि दिन्छन् परिभाषा त्यससलाई आफ्नो कलाकारिताको। हजूर, उनी हन् डुगा पाण्डाम निवासी चित्रकार कमल श्रेष्ठ (प्रधान), जो हालमा काठमाडौं नेपालमा व्यस्त छन् आफ्नै व्यावशायसित।
चित्रकार श्री कमल श्रेष्ठसित मेरो पहिलो भेट भएको थियो 30 अप्रेल 2016-को दिन ओभिया आर्ट सर्कल (आर्ट ग्यालेरी)-मा। 27 अप्रेलदेखि ओभिया आर्ट सर्कल- गान्तोक र इन्द्र धनुष- नाम्चीको संयुुक्ततामा सिक्किम अकादेमी, गान्तोकद्वारा आयोजित चित्रकला प्रदर्शनीको समापन समारोहमा पुगेको थिएँ। त्यही प्रदर्शनीमा 30 अधिक चित्रकारहरूमध्ये तेस्रो पटक सहभागी बन्न काठमाडौंबाट उपस्थित थिए चित्रकार कमल श्रेष्ठ। सधैँभन्दा यसपटक युवा-चित्रकारहरूको निक्कै बाक्लो सहभागिताले यसपटकको चित्रकला प्रदर्शनीलाई छुट्टै विशेषता दिएको सबैले महशुष गरिरहेका थिए। सबैका चित्रहरू उस्तै, राम्रा-राम्रा, प्रशंसनीय। प्रायः सबैका चित्रहरू कुनै न कुनैले मन छोइहाल्ने। मलाई छाहा छैन चित्र र चित्रकारिताको परिभाषा। राखिएका चित्रहरूमध्ये 28 अप्रेलको दिन चित्रहरू हेर्दै जाँदा एउटा ‘मिक्स मिडिया’-ले मेरा आँखाहरूलाई निक्कैसमय भुलाइरह्यो। 29 अप्रेलको दिन फेरि पुगें। फेरि एकपटक हेरेँ, चित्रकार रहेछन्- कमल श्रेष्ठ। उनका अन्य चित्रहरू पनि रहेछन्। उनका सबै चित्रहरू कुन्नि किन हो छुट्टै किसिमका लाग्ने। चित्रमा हेरिनुपर्ने दृष्यहरू अघिबाटै देखिँदै आइरहेका कुराहरू नै थिए- बालक, चुरोट पिइरहेकी महिला, घर, पहाड-हिमशिखर, खोला यस्तै-यस्तै। तर पनि लाग्थ्यो कुन्नि किन उनका कुचीहरू आफ्नै तरिकाले चल्ने गर्छन्, रङहरू आफ्नै ढङ्गले पोतिन्छन्। एउटा चित्रमा टासिएका थिए बालुवाहरू, साना-साना ढुङ्गाहरू, साना-साना काठका टुक्राहरू अनि थिए चित्रमा खोला र पछिल्तिर पहाड-हिमशिखर। हेर्दा लाग्थ्यो- म कुनै चित्रकारले कोरेको चित्र हेरिरहेको छुइन। कुनै मनमोहक प्राकृतिक दृश्यलाई एक असल फोटोग्राफरले आफ्नो क्यामेरामा कैद गरेको सुन्दर प्रिन्ट फोटो नै लागिरहेको थियो।
30 अप्रेलको दिन तेस्रो पटक पुनः पुगेको थिएँ म प्रदर्शनीमा। समापन समारोह थियो दिउसो एकबजी। त्यसअघि नै चित्रकारितामा रुची राखेर अघि बढ्दैगरेकी मित्र अनुपाले परिचय गराएकी थिइन् चित्रकार कमल श्रेष्ठज्यूसित। उहाँसितको परिचयपछि मात्रै थाहा भयो, काठमाडौंबाट आएका चित्रकार कमल श्रेष्ठको जन्मथलो डुगा-पाण्डाम, पूर्व सिक्किम रहेछ। उनीसितको कुराकानीपछि थाहा भयो- डुगा निवासी श्री एम.बी. प्रधान र श्रीमती पूर्णकुमारी प्रधानका छोरा कमल श्रेष्ठ 22 वर्षअघि नै काठमाडौंतिर लागेका थिए। त्यसअघि अथवा काठमाडौंतिर लाग्नभन्दा धेरैअघि उनी डुगा स्कूलमा तेस्रो श्रेणीमा अध्ययनरत रहँदादेखि नै उनले चित्रकारिता शुरू गरेका थिए। “चित्रकारिताको शुरुवात कहिलेदेखि शुरू गर्नुभएको हो?’’ भन्ने मेरो प्रश्‍नमा उनी भन्छन्, “सानोमा इक्जामको समय ‘क्राफ्ट’ बुझाउनुपर्थ्यो। एकपल्ट क्राफ्टको लागि मामा (नन्दकुमार प्रधान, जो अहिले वितेर गइसके)-ले चित्र बनाइदिनुभएको थियो। त्यो क्राफ्ट हेरेर टिचरले ‘कस्ले बनाएको?’ भनेर सोध्नुभएको थियो। त्यतिबेला मैले ‘आफै बनाको’ भनेको थिएँ। त्योबेला मलाई पनि चित्रहरू बनाउन खुब मन पर्थ्यो। मैले आफै बनाएको भनेपछि सरले अर्को चित्र पनि बनाउन लगाउनु भएको थियो। मैले बनाएँ पनि। त्यो चित्रको उहाँले प्रशंसा गर्नुभएको थियो र पछिसम्म राख्नुभएको पनि थियो। त्यहीँबाट शुरू भएको थियो मेरो चित्रकारिताको यात्रा।’’
“तपाईंलाई अहिले चित्रकार कमल भनेर चिनिन्छ। अथवा चित्रकारिता तपाईंको परिचय भएको छ। तपाईंको चित्रकारिता त झुटबाटै शुरू भएछ नि, होइन?’’ मेरो यो प्रश्‍नमा उनी भन्छन्, “त्यस्तै भयो। त्यतिबेला झुट बोल्छु भन्ने सोचेको थिइन। क्राफ्टको कुराले सायद झुटो बोल्नु त्यो बेला मेरो बाध्यता थियो। तर, खुशी छु कि अहिले यही नै मेरो परिचय बनेको छ।’’
थोरै बोल्ने, मझौला कदका, हेर्दा गम्भीर लाग्ने कमल श्रेष्ठको व्यक्तित्व वास्तवमै उनका चित्रहरूजस्तै लाग्छन्। काठमाडौंजस्तो व्यस्त शहरमा दुईदशकभन्दा अघिदेखि बसोबासो गर्दै आइरहेका उनी 1994-मै काठमाडौं गएका हुन्। डुगा स्कूलपछि पाण्डाम उच्चमाध्यमिक स्कूलको अध्ययन पूरा गरेपश्‍चात उनी सिक्किम सरकारको कृषि विभागमा मास्टर रोलमा कार्यरत थिए। मास्टर रोलमै भए पनि सरकारी नोकरी थियो, तर त्यो बेला मास्टर रोलको नोकरीमा उनको मन बाँधिएन। त्यसैले काठमाडौंमा आफ्ना साथीहरू र आफन्तहरू पनि भएकाले लागे उनी काठमाडौंतिरै। काठमाडौं पुगेर उनको चित्रकारिताप्रतिको रूचीले अझ मौलाउने अवसर पायो। “परिश्रम र सङ्घर्ष भन्ने जहाँ पनि गर्नैपर्छ’’ भन्ने उनले पनि काठमाडौंमा पुगेर स्वयंलाई चित्रकारकारूपमा स्थापित गराउन कतिसम्म परिश्रम गरे होलान, कति सङ्घर्ष गरे होलान्? त्यो कुरा व्यक्त गर्न गाह्रो होला। अहिले तर उनी काठमाडौंमा चित्र बनाउन पनि सिकाउँछन्। ललितपूर जिल्लामा पर्ने काठमाडौंको झम्सीखेलमा बसोबासो गरिरहेका उनले आफ्नै ‘आर्ट ग्यालेरी’ खोलेर बसेका छन्।
“तपाईंले मास्टर रोलकै भए पनि सरकारी नोकरी छोडेर जानुभयो, अहिले चित्रकारिता तपाईंको व्यवशाय छ। जीवन धान्ने माध्यमका रूपमा यसलाई कसरी हेर्नसकिन्छ?’’ भन्ने प्रश्‍नको जवाबमा उनी भन्छन्, “सजिलो छैन। भनौं, सरकारी नोकरी अथवा अन्य विधाजस्तो छैन। अहिलेसम्म तर मेरो व्यवशाय यही छ। यसैबाट जीवन चलिरहेको छ। यसमा राम्रो कुरा के छ भने जीवन धान्ने माध्यम मात्रै होइन यसमा इज्जत छ, सम्मान पनि छ।’’
ओयल, एक्रेलिक, पोस्टर र मिक्स मिडियामा रङ र कुचीहरूसित रमउन रुचाउने चित्रकार कमलले यसपालीसित तेस्रोपल्ट प्रदर्शनीमा भाग लिन सिक्किम आएका थिए। सिक्किममा चित्र-प्रदर्शनीको लागि आउँदाको आफ्नो अनुभवबारे सोधिएको एउटा प्रश्‍नमा उनी भन्छन्, “सिक्किममा आउँदा स्थानीय साथीहरूले राम्ररी सहयोग पुर्‍याइरहेका छन्। म सिक्किमबाहिर बसेकाले हुनसक्छ, सबैको राम्रो सहयोग पाइरहेको छु। खुशी लाग्छ।’’
“सिक्किममा तेस्रोपल्ट चित्रकारिता प्रदर्शनीमा सहभागिता जनाइसक्नुभएको छ। चित्रकारितामा सिक्किमको भविश्य कस्तो देख्नुहुन्छ त?’’ भन्ने प्रश्‍नमा उनी भन्छन्, “सबैबाट राम्रो साथ छ, स्थानीयहरूबाट पनि प्रशंसा पाइरहेको छु। सबैले चित्रहरू राम्रो रहेछ भनेर प्रेरित गरिरहेका छन्। यसपालीको प्रदर्शनीमा मेरो पाँचवटा चित्रहरू बिक्री पनि भए। तर पाँचैवटा चित्र राज्यबाहिरका दर्शकहरूले किनिदिएका छन्। स्थानीयहरूबाट किनिएको छैन। सिक्किममा धेरै पैसा छ, तर स्थानीयहरूबाट चित्रकारहरूले भनेजस्तो प्रोत्साहन पाउन सकेका छैनन्। मलाई लाग्छ स्थानीयहरूले पनि प्रशंसासितै चित्रहरू किनिदिए यहाँका युवा चित्रकारहरूले प्रोत्साहन पाउने थिए’’ उनी भन्छन्।
यसपालीको चित्र-प्रदर्शनमा चित्रकार कमल श्रेष्ठको सबैभन्दा धेरै पाँचवटा चित्र बिक्री भएको हो। चित्रकारहरूलाई प्रेरणा, प्रोत्साहन, उत्साहका लागि चित्रहरू बिक्री हुनु जरुरी हुन्छ भन्ने कलमको विचारमा राज्य सरकारको पक्षबाट पनि यसमा पहलन हुनुुपर्ने र स्थायी आर्ट ग्यालेरी हुन जरुरी छ। उनी भन्छन्, “राज्यमा एउटा राम्रो आर्ट ग्यालेरी भए यहाँका युवा भाइ-बहिनीहरूलाई उत्साह हुनेथियो। ग्यालेरीमा स्थानीय चित्रकारहरूका चित्रहरू राख्न सकिनेछ। राज्य वा देश बाहिरबाट आएका पर्यटक अथवा कोही पनि आउँदा स्थानीय कलाकारिता देखाउन सकिनेछ। त्यो भन्दा पनि महत्वपूर्ण कुरा यहाँको कलाकारिताको संरक्षण गर्न सकिन्छ। त्यसैले सिक्किममा पनि एउटा राम्रो आर्ट ग्यालेरी हुन आवश्यक छ।’’ स्मरणीय कुरा के छ भने, 30 अप्रेलकै दिन मात्रै चित्र-प्रदर्शनीको समापन समारोहलाई मुख्य अतिथिको आसनबाट सम्बोधन गरिरहेकी संस्कृति एवं धरोहर विभाग सचिव श्रीमती निमा लाडेन इथेन्पाले राज्य सरकारले सिक्किम विधानसभा अघिपटि एउटा ‘आर्ट ग्यालेरी’ स्थापना गर्ने भएको जानकारी गराएकी छन्।
श्रीमती सुमिता प्रधान र एकमात्र सन्तान सुमल प्रधानको सानो र सुखी परिवारका धनी चित्रकार कमल भन्छन् “चित्रकारिता मेरो निम्ति जीवन धान्ने असल माध्यम हो, आधार हो। हामीले जीवनमा जो भोगिरहेका हुन्छौं, ती कुराहरू कुनै न कुनैरूपमा बाहिरिन खोजिरहेका हुन्छन्। त्यसैको एउटा माध्यम हो चित्र।’’ उनी आफ्ना चित्रहरूलाई जति माया गर्छन् त्यति नै माया आफ्ना परिवारलाई पनि गर्छन्। त्यसैले त छोराको नाम पनि राखिदिए दुवैले ‘सुमल’। अर्थात सुनिताको ‘सु’ र कमलको ‘मल’-बाट भयो छोराको नाम ‘सुमल’। आफ्ना गुरुसित बोलेको सानो झुटबाट शुरू भएर सफलताको सिँडी चढिसकेका चित्रकार कमल श्रेष्ठलाई उत्तरोत्तर प्रगतिको कामना।
---000---
03 मई 2016-को समय दैनिकमा प्रकाशित