Friday, August 19, 2016

पुरस्कार र स्वच्छ मानसिकता

स्वच्छताको क्षेत्रमा फेरि एकपल्ट सिक्किमलाई पुरस्कार प्राप्त भएपछि हामी समग्र सिक्किमेको छात्ती गर्वले प्रफुल्लित भएको छ। गान्तोक महानगरपालिकाका मेयर शक्तिसिंह चौधरीले 10 अगस्तको दिन मात्रै ‘देशकै स्वच्छ शहर पुरस्कार’ ग्रहण गरेका छन्। यो पुरस्कार गान्तोक शहरका लागि प्राप्त भएको हो। स्वच्छतामाथि गान्तोक शहरले यसअघि पनि ‘क्लिनेस्ट हिल स्टेशन’-का लागि ‘सफाईगिरी’ जस्तो पुरस्कार पाइसकेको छ भने पश्‍चिम जिल्लाले पनि अघिबाटै स्वच्छता पुरस्कार पाइसकेको छ। स्वच्छताकै लागि 11 अगस्त 2016-कै दिन पश्‍चिम जिल्लाको लिङ्चोम स्कूललाई ‘स्वच्छता च्याम्पियन पुरस्कार’ प्राप्त भएको छ।
अतः राज्य सरकारले राज्यको चौतर्फी विकाससितै स्वच्छताको निम्ति गरिरहेका पहलहरूबारे जुन कुराहरू प्रकाशमा आइरहेका छन् त्यसको परिणाम पनि सकारात्मक आइरहेका छन्। राज्यलाई प्राप्त पुरस्कारहरूले यस कुरोको प्रमाण दिँदछ। यति भएरै पनि तर हामी ढुक्क रहन सक्दैनौं। किनभने शहर स्वच्छ बन्नु-बनाउनु र पुरस्कार पाउनु मात्रै राज्य सरकारले स्वच्छतामाथि वर्षौंदेखि गरिरहेको पहलको उद्देश्य होइन। पुरस्कार पाउनु भनेको लक्ष्य प्राप्तिको सङ्केत पनि अवश्य होइन। यसले त आफ्नो कार्यगतिमा तीव्रता ल्याउन सकौं भन्ने उत्साह दिने हो, ऊर्जा प्रदान गर्ने हो अनि सबैभन्दा महत्वपूर्ण कुरा स्वच्छताको सन्दर्भमा आफ्नो धरातलीय अवस्था के छ अनि हामीले निर्वाह गर्नुपर्ने जिम्मेवारी के-के हुन् भन्ने कुराको बोध गराउँदछ। कारण, कुनै पनि कुरा प्राप्त गर्नुभन्दा त्यसलाई बचाइराख्नु चुनौतीपूर्ण हुन्छ। स्वच्छताको क्षेत्रमा सिक्किमले अहिले बुझ्नुपर्ने महत्वपूर्ण कुरा भनेको पनि यही हो।
स्वच्छताको क्षेत्रमा सिक्किमलाई अहिलेसम्म जे-जति पुरस्कारहरू प्राप्त भइरहेका छन्, मूलतः शहरकेन्द्रित छन्। शहरलाई मात्र पूर्णरूपमा स्वच्छ राख्नु पूरा राज्य स्वच्छ हुनु हो भन्ने धारणा यदि राखिन्छ भने त्यो सरासर गतल हो। उसो त सिक्किमका गाउँहरूलाई स्वच्छताको क्षेत्रमा प्रेरित गरिरहनु पर्ने आवश्यकता उत्ति देखिँदैन। पहाडी भेग, चारैतिर हरियाली, जनसङ्ख्याको दृष्टिले पनि देशकै सानो राज्य। त्यसैले फोहोर-मैलासित गाउँ-घरलाई कुनै भय छैन भने अर्कोतिर केही वर्षयता राज्य सरकारकै प्रेरणामा प्रत्येक ग्राम पाञ्चायत एकाइहरूले स्वच्छतामा ध्यान दिइरहेको छ। त्यसैले स्वच्छता कै कुरा गर्ने हो भने राज्यले मूलतः शहरहरूलाई नै केन्द्रित गर्नुपर्ने देखिन्छ।
शहर र स्वच्छताको कुरा उठिसकेपछि राज्य सरकारले गरिरहेको पहलहरू भने बिर्सनु हुन्न। स्वच्छतासितै सम्बन्धित हरियाली अनि यी दुवैसित सम्बन्धित पर्यटनलाई पनि केन्द्र गरेर सरकारले काम गरिरहेको कुरा प्रिण्ट र इलेक्ट्रोनिक मीडियाहरूको माध्यमद्वारा आम मानिससम्म पुगिरहेकै छ। अहिले सन्दर्भ उठेको छ स्वच्छताको। स्वच्छताका लागि राज्यका प्रत्येक शहरहरूमा शहरी विकास एवं आवास विभाग (यूडी एण्ड एचडी) अनि नगरपालिकाहरूले सराहनीय कार्य गरिरहेको छ। उदाहरणका लागि गान्तोक महानगरपालिकाले गान्तोक शहर वरिपरिका प्रायः वार्डहरूका प्रत्येक घर अनि प्रत्येक घरमा बसोबासो गर्ने प्रत्येक किरायदारहरूलाई दुई-दुईवटा ‘डस्टविन’ प्रदान गरेको छ भने प्रत्येक बिहान ‘यूडी एण्ड एचडी’ फोहोर प्रबन्धनका लागि वाहन पठाउने गरेको छ। नगरपालिकाले शहरी क्षेत्रमा प्रत्येक परिवारबाट मासिक एक सय रुपियाँ शूल्क उठाइरहेको छ। यद्यपि, शहरी क्षेत्रका सबैतिर यो नियम लागू गरिएको भने पाइँदैन। जे होस्, स्वच्छताका लागि यस्ता धेरै सराहनीय कार्यहरू भने अवश्य भइरहेका छन्।
अब ध्यानदिनु पर्ने के छ भने स्वच्छताको क्षेत्रमा हाम्रो धरातलीय वास्तविकता के हो? अघि माथि नै भनियो, हामीले निर्वाह गर्नुपर्ने जिम्मेवारी के-के हुन्? त्यसको हामीलाई बोध हुनुपर्छ। त्यसो हुन सक्यो भने मात्रै अहिलेसम्म हामीलाई (सिक्किमलाई) प्राप्त पुरस्कारहरूको गरिमालाई बचाइराख्नु सकिने छ। अहिले हाम्रो निम्ति चुनौती भनेको पनि यही हो। किनभने गान्तोकको एमजी मार्ग नवीकरणपछि ‘यहाँ थुकेको पाइयो भने 50 रुपियाँ अनि धुम्रपान गरिएको पाइयो भने 2 सय रुपियाँ स्पट फाइन’ भनिएको थियो। त्यो केही हदसम्म व्यवहारमा पनि देखियो। त्यसले मानिसहरूमा एउटा सन्देश पनि गयो, यहाँ यसो गर्नु हुँदैन भनेर। यद्यपि, राज्यकै मुटु मानिने राजधानी गान्तोकको वरिपरिका वार्डहरू अथवा वरिपरिका शहरहरू हामीले अझै पनि ध्यान दिन आवश्यक छ। राज्य सरकारले प्लास्टिक बोतलमा लगाएको प्रतिबन्ध; भीआइपी, सरकारी, निजी वा ट्याक्सी सबै वाहनमा अनिवार्यरूपमा ‘गार्वेज ब्याग’ राखिनुपर्ने; पोलेथिन वा प्लास्टिक क्यारी ब्यागमा प्रतिबन्ध जस्ता कुराहरू राज्यमा कतिसम्म व्यावहारिक हुँदैछन्? ध्यानयोग्य विषय हुन्। सबैभन्दा अहम विषय, हाम्रो मानिसकतामा यी सबै कुराको चेत कहिले भरिने हो! त्यसैले स्वस्थ जीवनको निम्ति स्वच्छ समाज र स्वच्छ राज्यको निम्ति आजैदेखि हाम्रो मानसिकतालाई पनि स्वच्छ राखौं र स्वच्छ अभियानमा लागि परौं।-12.08.2016

No comments:

Post a Comment