वर्तमान सिक्किमेली पत्रकारिता जगत निक्कै नि विकासको सिँड़ी उक्लिसकेको छ। विकासकै सन्दर्भमा यदि राषट्रिय जगतसित तुलनात्मक दृष्टिले हेरिनु हो भने जसरी भौगोलिकरूपमा सिक्किम सानो छ, त्यसरी नै पत्रकारिता जगतको विकास पनि त्यहीअनुरूप पाउन सकिएला। स्वभाविक पनि छ। किनभने सानो राज्यमात्रै होइन यहाँको भौगोलिक बनावटी, देशका अन्य भागसितको सम्पर्क माध्यम, अन्तरराष्ट्रिय सीमा सबैकुरालाई ध्यानमा राखिनु हो भने पनि सिक्किम धेरै संवेदनशील क्षेत्रमा पर्ने कुरा नकार्न सकिन्न। त्यसैले यी कुराहरूको प्रभाव राज्यले झेल्नुपर्ने हुन्छ।
पत्रकारिता भन्ने बित्तिकै हामी त्यो माध्यम बुझ्नसक्छौं, जसले समाजका कुराहरू समाजबाटै लिएर समाजकै निम्ति सम्प्रेश गरिरहेको हुन्छ। विश्व इतिहास र राष्ट्रको कुरालाई पर सारेर सिक्किमकै सन्दर्भमा हेरिनु हो भने पनि सिक्किममा पत्रकारिता जगतको यात्रा शुरू भएको लगभग 6 दशक मात्रै हुँदैछ। यद्यपि, स्व. काशीराज प्रधानको समय (1957)- तिरदेखि शुरू भएको सिक्किमेली पत्रकारिता जगतलाई नियाल्नु हो भने वर्तमान निक्कै उज्यालो देखिन्छ। पत्रकार वा पत्रकारिताको मुख्य उद्देश्य भनेको व्यक्ति वा समाजलाई कुनै कुरा अर्थात घटनाविशेषको अवगत गराउनु, जानकारी गराउनु भन्ने बुझिए पनि अहिले आएर यसलाई व्यावसायीको दृष्टिले धेरै हेर्ने गरिन्छ। समयको माग भन्न सकिएला यसलाई। त्यसैले अहिले पत्रकारिता व्यावसाय सूचनाको माध्यमसितै देशका अन्य भागहरूमा जस्तै रोजगारीको असल माध्यम पनि बन्दै गइरहेको छ।
सिक्किमेली पत्रकारिताको इतिहासको प्रवेश विन्दुको कुरा अघि भयो। यो 6 दशकको यात्रा पनि त्यति छोटो भने पक्कै होइन। ‘लेटर पेस्ट’-को समयदेखि सिक्किमेली पत्रकारिता जगतले अहिले देशको ‘डिजिटल यात्रा’-मा पनि उत्तिकै सहयात्री बनिरहेको छ वर्तमानमा। भौगोलिक परिस्थितिका कारण देशका अन्य राज्यहरूसरह प्रतिस्पर्द्धा गर्न नसकेको होला सिक्किमले, तर सिक्किम आफै पनि देशमा हरेक क्षेत्रमा एक उदाहरण बनिरहेको विश्वसामु उदाहरणहरू धेरै छन्। तीमध्ये पत्रकारिता जगतलाई नै पनि लिन सकिन्छ। भनिन्छ, सिक्किमको पत्रकारिता जगतले विकासको यो सिँडी यतिसम्म उक्लिनलाई तर असल प्रशासनिक व्यवस्थाकै प्रतीक्षा गर्नुपरेको देखिन्छ। विकासक्रमको इतिहासलाई हेर्नु हो भने यति कुरा प्रष्ट हुन्छ। किन भने पत्रकारिताको लगभग 60 वर्षको यात्रा तय गरिसक्दा पनि सिक्किममा दैनिक समाचार प्रकाशन नै पनि दुई दशक पूरा हुनसकेको छैन। झण्डै दुई दशकअगिदेखि मात्रै सिक्किमको पत्रकारिता जगतले विकासको सिँडी उक्लिन शुरू गरेको पाइन्छ। त्यहाँदेखि यता नै एक-एक गर्दै दैनिक समाचार पत्रहरू प्रकाशनमा आउन थाल्यो, स्थानीय क्याबल लाइनहरूद्वारा समाचार प्रशारण हुन थाल्यो अनि डेड दशकको अघि-पछिदेखि मात्रै यहाँको तक्निकीय विकास भएर आउन थाल्यो। यसरी सिक्किममा पत्रकारिताको विकाससितै रोजगारीको अवसर पनि फराकिलो बनिरहेको छ।
यो व्यावसायले जब रोजगारीको अवसरको रूपमा फस्टाउन थाल्यो तब शुरूका लगभग चार दशकसम्म पनि यसलाई आफ्नो रहर, योग्यता र कतिपय स्थितिमा बाध्यतामा पनि पत्रकारिता गरिरहेको अवस्थाबाट माति उठ्दै गरेको पाउन सकिन्छ अहिले पत्रकारितालाई। त्यसैले पत्रकारिताप्रति युवा जमातले व्यावसायी शिक्षार्जन गर्न थाले, तालिमहरू लिन थाले। सिक्किमेली पत्रकारिता जगतको निम्ति यो खुशीको कुरा मात्रै होइन आवश्यकता पनि हो। किनभने, पत्रकारितालाई व्यावसाय मात्र होइन तर जिम्मेवारीको रूपमा पनि स्वीकार्न सक्नु हाम्रो निम्ति चुनौति पनि बनेको छ। जबसम्म हामी रहर, कर वा बाध्यताले अथवा अन्तिम विकल्पका रूपमा मात्र यस व्यावसायलाई अप्नाउने गर्छौं तबसम्म हामीमा जिम्मेवारी बोध हुँदैन। देशकै मेरुदण्ड थाम्ने चौथो स्तम्भका रूपमा स्वीकारिएको पत्रकार देशको विकास र सुरक्षाको दृष्टिले पनि जिम्मेवार रहेका हुन्छन्।
सिक्किमको सन्दर्भमा हेरिनु हो भने तीन-तीनवटा अन्तर्राष्ट्रिय सिमानाले घेरेर राखेको राज्य हो। त्यसैले सिक्किमलाई देशकै एक संवेदनशील राज्यको रूपमा हेरिने गरिन्छ। राष्ट्रसितै अन्तर्राष्ट्रिय फोकसमा छ सिक्किम भन्न सकिन्छ यस हिसाबले। अतः यहाँ बसेर पत्रकारिता गर्नलाई पनि स्वयंमा राज्यको विकाससितै राष्ट्र सुरक्षाको दृष्टिले पनि जिम्मेवारीबोध हुन आवश्यक हुन्छ। यसको निम्ति पत्रकारहरू पनि पूर्ण व्यावसायी बनेर अघि आउन जुरी हुन्छ।
अर्को कुरा, प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले डीएभीपीको लागि समाचार पत्रहरूलाई कतिपय प्रवधानहरू तय गर्दै विज्ञापनको भोल्युम बढाएर पत्रकारिताको विकासका लागि सहयोग पुर्याइरहेको छ भने कर्मचारी भविष्य निधि अनिवार्य गरेर पत्रकारहरूको पक्षमा पनि उल्लेख्य काम भएको छ। यद्यपि, पत्रकारहरूको वेतनलाई लिएर भने समयानुकुल अथवा सन्तोषजनक देखिँदैन, जो भविष्यमा चर्चा हुँदै जाने विश्वास गर्न सकिन्छ। अहिलेलाई भने पत्रकारिता जगतको जुन विकासक्रम चलिरहेको छ राज्यमा त्यसलाई अझ तीव्रता दिँदै राज्यको विकास र देशकै सुरक्षाको निम्ति हामी सत्यकुराको उजागर गर्दै स्वयं संवेदनशील रहेर जिम्मेवारी बन्नसक्नु वर्तमान आवश्यकता भएको छ। -29.07.2016
No comments:
Post a Comment