Friday, August 19, 2016

भाषा आन्दोलन र भाषिक एकताको कुरा


नेपाली भाषाले भारतीय भाषाको मान्यता पाएको 24 वर्ष पूरा भयो। 20 अगस्त 1992-मा को दिन नेपाली भाषा भारतीय संविधानमा अन्तर्भुक्त हुँदा हामीमा खुशीको कुनै सीमा थिएन। स्वभाविक पनि हो, किनभने 36-37 वर्षसम्मको लामो आन्दोलनपछि प्राप्त सफलतामा खुशी को नहोला र! लगभग चार दशक लामो सङ्घर्षमात्र थिएन त्यहाँ। भनिन्छ एकतामा बल हुन्छ। त्यस सफलताको पछि पनि सम्पूर्ण भारतीय नेपाली भाषीहरूको एकता थियो। भाषालाई जातीय अस्तित्व र चिन्हारीको रूपमा पनि हेर्ने गरिन्छ, जसले आफ्नो जाति कति समृद्ध छ, कति विकसित छ भन्ने बोध पनि गराउँदछ। भाषाले जोडन पनि सक्छ र भाषाले तोडन पनि सक्छ। देहरादुनबाट 1955-56 देखि शुरू भएको नेपाली भाषा मान्यताको आन्दोलनले समग्र भारतीय नेपालीहरूलाई जोड्ने काम गरेको थियो। त्यसैको परिणामस्वरूप 20 अगस्त 1992-मा संसद सभाले नेपाली भाषा मान्यताको प्रस्तावलाई पारित गरेपछि 31 अगस्तको दिन राष्ट्रपतिले हस्ताक्षर गरेका थिए।
नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन धेरै भाषा आन्दोलकहरूले उल्लेखनीय योगदान पुर्याएका थिए। यसबाहेक डा. सुनीतिकमार च्याटर्जीले पनि नेपाली भाषालाई संविधानको आठौं अनुसूचिमा अन्तर्भुक्त गर्न सकिनेछ भनेर 1956-मा आफ्नो सिफारिश दिएका थिए भने डा. पारसमणि प्रधानले साहित्य अकादमी, नयाँ दिल्लीद्वारा नेपाली भाषालाई भारतको विकसित भाषा भनी मान्यता दिलाउन अगुवाई गरेका थिए। नेपाली भाषा मान्यताका लागि 1965-मा राष्ट्रपतिलाई स्मारक-पत्र पठाइएको थियो भने त्यसपछि नेपाली भाषामा पठन-पाठन शुरू भयो अनि साहित्य अकादमी, दिल्लीले मान्यता पनि दियो। यद्यपि, संवैधानिक मान्यता भने पाएको थिएन। त्यसैले 1972-मा ‘अखिल भारतीय नेपाली भाषा समिति’-को जन्म भयो। यो समितिको माध्यमद्वारा नेपाली भाषालाई संवैधानिक मान्यताका लागि ठूलो संघर्ष गरिएको थियो। यसैबीच सिक्किम 1975-मा भारतमा विलय भयो, जसले नेपाली भाषा मान्यताको अभियानलाई ठूलो टेवा पुग्यो। 1977-78 मा सिक्किमलगायत पश्‍चिम बङ्गाल र त्रिपुरा राज्य विधासभामा पारित गर्दै नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गर्नुपर्छ भनेर केन्द्रमा प्रस्ताव पुर्याएको थियो। त्यसअघि नै 21 फरवरी 1967-मा रतनलाल ब्राह्मानले लोकसभामा नेपाली भाषाको संवैधानिक मान्यताका लागि पहिलोपल्ट संविधान संशोधन बील प्रस्तुत गरेका थिए। यसका लागि भारतीय नेपाली राष्ट्रिय परिषद, अखिल भारतीय नेपाली भाषा समिति, सक्किम साहित्य परिषद आदिको ठूलो योगदान थियो। त्यही वर्ष डुवर्सको कालचिनीमा भारतीय नेपाली राष्ट्रिय परिषद-ले दोस्रो सभा राखेपछि फरवरी 1991-मा देशभरिबाट प्रधानमन्त्रीलाई टेलीग्राम पठाइएको थियो। यतिमात्रै होइन, 176औं भानु जयन्तीलाई देशभरि नै ‘नेपाली भाषा माग दिवस’-को रूपमा पालन गरियो भने 1991-को भानु जयन्तीलाई ‘भारतीय नेपाली भाषाः एकता दिवस’-को रूपमा पालन गरिएको थियो। यहाँसम्म आइपुग्दा के बुझिन्छ भने भाषा मान्यता प्राप्त गर्नु वास्तव मै हाम्रो एकताको परिणाम थियो।
यति लामो सङ्घर्षपछि भाषा मान्यता प्राप्त भए पनि उद्देश्य पूरा भयो त? भन्ने लाग्छ अहिले। किनभने भाषा मान्यताको निम्ति जसरी हामीमा एकता नै बल हो भन्ने देखिएको थियो, त्यो अहिले देखिँदैन। उसो त भाषाको सम्दर्भमा एकताको कुरा खटकिएको विषय मान्न सकिन्छ। सन् 1908-मा ‘माधवी’ पत्रिकाले भाषा शुद्धिको आग्रह लिएर प्रकाशित भएको थियो। भाषा शुद्धिको प्रसङ्ग उठ्ने बित्तिकै भाषिक एकता र मानकीकरणको कुरा आइहाल्छ। मानकीकरणको अभाव हामी अहिले पनि छँदैछौं। पारसमणि प्रधानदेखि नै उठिरहेको यो आवाज अर्थात समस्या अझै जटील बन्दै गइरहेको छ। यस्ता समस्याका रूपमा देखिएका विषयहरू हुन् आञ्चलिकताको प्रभाव, जातीयताको प्रभाव, परिवेशको प्रभाव आदि। अर्को कुरा नेपाली भाषालाई एउटा विकासशील भाषाको रूपमा हेर्न सकिन्छ। जब विकासशील भाषाको कुरा हुन्छ तब मानकीकरणको सम्भवना पनि कम हुन्छ। त्यसैले नेपाली भाषामा प्रविष्टि निर्धारणको मानक पनि तयार गर्न जरुरी हुन्छ।
एकातिर नयाँ पिढीहरूमा नेपाली भाषाप्रतिको मोहभङ्ग देखिन्छ भने भाषा शुद्धि, मानकीकरण वा भाषित एकताको जटील समस्या बन्दै गइरहेको अवस्था छँदैछ। यसको समाधानका लागि चर्चा, सभा, गोष्ठी र सम्मेनलनहरू नभएका होइनन्। यद्यपि, यहाँ अहिले देखिएको अभाव भनेको भाषिक एकताको कमी नै हो। यसका पछाडि पनि धेरैवटा कारणहरू हुनसक्छन्, जस्तै अहं अथवा ‘इगो’। भाषा विकासका लागि पनि पहलहरू हुँदै नभएका होइनन्। राष्ट्रियस्तरसम्म नेपाली भाषाको विकासलाई ध्यान दिइएको छ, जसका लागि पुरस्कारहरू पनि छन्। तर, जबसम्म हामीमा  ‘इगो’ रहन्छ, तबसम्म हामी विकसित बन्दैनौं। ‘इगो’ विद्वताको, ‘इगो’ मान-सम्मानको, ‘इगो’ यश-नामको। अर्को कुरा हाम्रो सम्पर्कको भाषा नेपालीले संवैधानिक मान्यता पाउनलाई हाम्रा अग्रजहरूले दिलोज्यान लगाए। मान्यता पाएपछि अहिले हामी टुक्रा-टुक्रा भइरहेका छौं। त्यसैले भाषाले संवैधानिक मान्यता पाएको छ भनेर गर्व गर्ने दिवसभन्दा भाषाको विकास कसरी गर्नुपर्ने भन्ने विषयमा चिन्तन गर्नुपर्ने दिवसको रूपमा 20 अगस्तलाई पालन गर्न सकिए हाम्रो चिन्हारी, हाम्रो अस्तित्व रहला, हाम्रो भाषा बाँच्ला अनि बाँच्ला हाम्रो जाति। त्यसैले फेरि समग्र भारतीय नेपाली भाषी एउटै मञ्चमा उभिएर एउटै आवाज उठाउन जरुरी हुन्छ भाषिक एकताको, मानकीकरणको।-19.08.2016

No comments:

Post a Comment