Friday, December 16, 2016

नोटबन्दी र शीतकालीन सत्र

प्रधानमन्त्री नरेन्द्र मोदीले 8 नोभेम्बरको दिन नोटबन्दीको घोषणा गर्ने बित्तिकै देशभरि नै ठूलो हलचल मच्चिएको थियो। देशदेखि विदेशहरूमा पनि नोटबन्दीको चर्चा हुनथालेको थियो। प्रधानन्त्री मोदीले जुन उद्देश्य राखेर नोटबन्दीको घोषणा गरे, त्यसले पहिले त समग्र देशबासीलाई नै चकित नतुल्याएको होइन। यद्यपि, पछिबाट देशमा बहुमतले यस घोषणालाई स्वीकार गरेको छ। अतः यहाँबाट के बुझिन्छ भने प्रधानमन्त्री नरेन्द्र मोदीले देशको अर्थव्यवस्थामा सुधार गर्न कालोधन, भ्रष्टाचार, नक्कली रुपियाँ र आतङ्कवादजस्ता कुराहरूलाई विकलाङ्ग बनाउने जुन सोच लिएर यो निर्णय लिएका थिए त्यसलाई देशबासीले स्वीकार गरेका छन्। ‘केही दिन समस्या झेल्नुपर्छ, तर प्राधानमन्त्रीले लिएको निर्णय अथवा घोषणा स्वागतयोग्य छ’ भन्ने जनमन्तव्य आइरहेकै छ।
नोटबन्दीको घोषणा गरिएको ठीक 8 दिनपछि शुरू भएको थियो संसद सभा। अघिबाटै सबैले अनुमान लगाएजस्तै संसद सभामा अरु सबै मुद्दाहरूलाई पछि राखेर अहिलेसम्म पनि एउटै कुरामा दुवै सदनका दुवै सभा नोटबन्दीलाई लिएर हलचल हुन नसक्ने अवस्थामा छ। संसदको शीतकालीन सभा शुरूदेखि नै निरन्तर बाधित छ। शीतकालीन सभा शुरू भएको आज 24औं दिन पनि पुनः 14 दिसम्बरसम्मका लागि स्थगित गरिएको छ। शीतकालीन सत्र आगामी 16 दिसम्बरसम्म चल्ने अघिबाटै तय भइसकेको हो। यद्यपि, विपक्षीहरू नोटबन्दीको मुद्दालाई लिएर कुनै सम्झौता गर्ने पक्षमा छैनन्। बिहिबार चलेको सभा पनि विपक्षहरूको व्यवहारकै कारण शुक्रवार अथवा आजसम्मका लागि स्थगित गरिएको थियो भने आज पुनः दुवै सभामा विपक्षीहरूले हङ्गामा मच्याएका कारण आगामी 14 दिसम्बरसम्मका लागि दुवै सभालाई स्थगित गरिदिइएको छ।
संसदसभा हुनु अन्ततः देशहित र देशको विकासका लागि हुनुपर्ने हो। त्यसैले यदि कुनै विषयमा बहशपछि निर्णय लिइनुपर्ने वा बजट पारित गरिनु हो। बहशका लागि पक्ष र विपक्षी दुवैतर्फबाट तर्क राखिनु जरुरी हुन्छ। मूलतः अहिले संसदको दुवै सभा घरिघरि बाधित हुनुको एउटै कारण हो नोटबन्दी। राज्यसभालाई सत्तापक्षले सम्हाल्न नसकिरहेको हो कि भन्ने भान हुन्छ भने लोकसभामा त स्पष्ट छ कि विपक्षीहरूले आफ्नो बहुमतको दबाव पारिरहेका छन्। यसले गर्दा संसद सभा बाधित हुनु भनेको देशको हित र विकासका लागि लिइनुपर्ने साझा निर्णयहरूमाथि पनि बाधा हुनु हो। यसैले संसद सभालाई लिएर सत्तापक्ष त असन्तुष्ट रहने नै हो, तर राष्ट्रपतिसमेत रुष्ट देखिन्छन्। यतिमात्र होइन देशका जनता पनि अहिलेघरि संसद सभाको शीतकालीन सत्रलाई लिएर आक्रोशित बन्न थालेका छन्।
संसद सभामा अहिले जुन मुद्दा उठिरहेको छ नोटबन्दीको, त्यसको समाधान भनेको पक्ष र विपक्ष दुवैमाझ चर्चा, बहश वा तर्कबाटै हुने हो। यसैको निम्ति सत्तापक्षले विपक्षीलाई घरिघरि निम्त्याइरहेको छ। अर्कोतिर यसको ठीक विपरीत विपक्षीहरू संसदमा प्रधानमन्त्री आउनुपर्ने एउटै मागलाई लिएर अडिग रहेका छन्। यता प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई 50 दिन मागेका छन् 70 वर्षदेखि लाग्दै आइरहेको ‘लाइन’ तोड्न अनि देशको विकासगति बढाउन, देशलाई कालोधनमुक्त बनाउन, भ्रष्टाचारी र आतङ्कवादहरूलाई सडकमा उतार्न। नोटबन्दीको 30 दिन पूरा भइसकेको छ। रुपियाँलाई लिएर देशभरि जुन हलचल मच्चिएको थियो, त्यो केही हद समाधान भइरहेको छ। यसका विभिन्न उपायहरू खोजिरहेकै छ सरकारले, जसको निम्ति छुट्टै समिति नै गठन पनि गरेको छ।
प्रधानमन्त्रीले देशबासीसित मागेको 50 दिनबाट रहेको छ हातमा लगभग 20 दिन। अर्थात, दिसम्बरको लगभग अन्तिमसम्म। त्यसअघि नै संसदसभा 16 दिसम्बरको दिन सकिने छ। यद्यपि, अहिलेसम्म नोटबन्दीलाई लिएर कुनै निर्णय हुनसकिरहेको छैन भने अझै 14 दिसम्बरसम्म दुवै सभालाई स्थगित गरिएको छ। रहेको दुई दिनमा संसदले के निर्णय लिने हो त? कतिवटा र के-के बजट पारित होलान् त? के अहिलेसम्म बाधित बन्दै आएको संसदको शीतकालीन सत्रको रहल दुई दिनमा कुनै सकारात्मक निर्णय हुनसक्ला? अथवा एकमहिने लामो अवधिमा जे-जति विषयमाथि चर्चा र निर्णय हुनसक्ने सम्भावना थियो त्यो रहेको दुई दिनमा सम्भव होला? आजदेखि चार दिनपछि पुनः सञ्चालन हुने संसद सभालाई सफल पार्न सरकारले कस्तो गोटी फ्याँक्ने हो? त्यसको निम्ति पर्खनुबाहेक अर्को विकल्प अहिले देखिँदैन। संसद तार्किक निष्कर्षमा पुग्छ भन्ने अपेक्षा देशका नागरिकहरूको रहेको छ।-09.12.2016

सिक्किमको अनुसरण गर्दै केन्द्र

सिक्किमले हरेक क्षेत्रमा नै आफैलाई उदाहरण बनाउँँदै देशको विकासमा योगदान पुर्‍याइरहेको छ। फलस्वरूप देशमा मात्र होइन सिक्किम विस्तारै विश्‍वमै चर्चामा आइरहेको छ। तीमध्ये जैविक खेती एउटा राम्रो उदारहण लिन सकिन्छ। जैविक खेतीको लागि विश्‍वमा पहिलो राष्ट्र क्युबापछि भारतको 22औं राज्य सिक्किमलाई चिन्न थालिएको छ। 18 जनवरी 2016-मा प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किम मै आएर सिक्किमलाई देशको पहिलो जैविक राज्य घोषित गरेका थिए। यो घोषणासितै सिक्किमको चर्चा विश्‍वस्तरमा हुन थालेको हो।
राज्यले गरिरहेका विभिन्न कार्यहरूसितै जैविक खेतीमा पनि देशले सिक्किमलाई अनुसरण गरिरहेको छ। यस क्षेत्रमा केन्द्रले अघिबाट विभिन्न पहल गरिरहेको छ। देशका विभिन्न राज्यहरूमा जैविक खेतीलाई बढावा दिँदै यसको प्रचार-प्रसारको क्षेत्रमा पनि उत्तिकै जोर दिइरहेको छ। गत 27 नोभेम्बर कै दिन मात्र केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्री राधा मोहन सिंहले भारत सरकारले देशभरिमा जैविक कृषिलाई बढावा दिरहेको बताएका थिए। वर्तमान स्थितिमा जैविक खेतीको महत्व र उसको लाभलाई ध्यानमा राखेर भारत सरकारले देशभरि जैविक खेतीको महत्व र यसको लाभलाई ध्यानमा राखेर देशभरि नै जैविक कृषिलाई बढावा दिइरहेको छ। सरकारले यसको निम्ति राष्ट्रिय सततः कृषि अभियानअन्तर्गत परम्परागत कृषि विकास योजना (पीकेवीवाइ) र पूर्वोत्तर क्षेत्रको निम्ति जैविक मूल्य शृङ्खला विकास (ओवीसीडीएनईआर) योजनाहरू अघिबाटै शुरू गरिसकेको छ।
शुरू केन्द्र सरकारले जैविक खेतीलाई समतल, पहाडी एवं आदिवासी क्षेत्रहरूमा बढावा दिने योजना बनाएको छ। यी क्षेत्रहरूमा रासयनिक उर्वरक एवं कीटनाशकहरूको प्रयोग थोरै हुने हुनाले यी क्षेत्रहरूलाई चयन गरिएको हो। यस विषयमा गत 27 नोभेम्बरको दिन देहरादूनमा राष्ट्रियस्तरमा जैविक खेती सम्मेलन नै आयोजन पनि गरिएको थियो।
यहाँ स्मरणीय कुरा के छ भने, जैविक कृषिले केवल वायु, जल एवं माटोबाट अत्याधिक रसायन पदार्थहरूलाई कम गर्ने र पर्यावरणलाई पनि स्वच्छ गर्ने मात्रै नभएर यसले लामो अवधिसम्म स्वस्थ अथवा खेतीयोग्य माटोलाई तयार गर्नु र जैव-विविधतालाई विकसित गर्नुसितै संरक्षित गर्नमा पनि सहयोग पुर्‍याउँछ। केन्द्र सरकारको यस पहलअन्तर्गत वर्ष 2015-16 को अवधिमा जैविक प्रमाणअन्तर्गत वर्तमानमा जैविक कृषिको कुल क्षेत्र 14.90 लाख हेक्टरको प्रयोग गरिँदै छ। यद्यपि, कतिपय कृषकहरूले आर्थिक विपन्नताका कारण यसलाई अप्नाउन सकिरहेका छैनन्। यसकारण घरेलू जैविक मण्डी विकासको निम्ति विकेन्द्रीकृत जैविक खेती प्रमाणन प्रणालीअन्तर्गत पीजीएस (पार्टिसिपेटरी ग्यारेण्टी सिस्टम)-भारत कार्यक्रम शुरू गरिसकेको छ।
परम्परागत कृषि विकास योजना (पीकेवीवाई) कार्यक्रम केन्द्र सरकारको पहिलो व्यापक योजना हो जसलाई अहिले एउटा केन्द्रिय प्रायोजित कार्यक्रम (सीएसपी)-को रूपमा शुरू गरेको छ। यस योजनाको कार्यान्वयनप्रति 20 हेक्टेयर समूह आधारमा राज्य सरकारहरूद्वारा गरिने भएको छ। यस योजनाअन्तर्गत कृषकहरूलाई 1 हेक्टरसम्मको वित्तीय सहायता दिइने छ भने 3 वर्षको अवधिसम्म प्रतिहेक्टयर 50,000 रुपियाँ दिइने छ। 2 लाख हेक्टयर क्षेत्रलाई समावेश गर्दै 10,000 समूहहरूलाई बढावा दिने लक्ष्य रहेको छ।
अहिले विश्‍वबजारमा जैविक खेतीको जुन माग बढिरहेको छ, त्यो राज्यको निम्ति चुनौतीजस्तै भइरहेको छ। किनभने सिक्किमलाई जैविक राज्य घोषित  हुने बित्तिकै विश्‍वबजारमा जैविक उत्पादको माग बढेर गएको छ। जैविक उत्पादको मागअनुसार राज्य तथा देशमै पनि उत्पादन हुन सकिरहेको छैन। त्यसैले राज्यसितै केन्द्रले पनि अहिले विभिन्न योजना शुरू गर्दै जैविक खेतीलाई बढावा दिइरहेको छ। निश्‍चितरूपमा यसको फाइदा राज्यले पनि उठाउनसक्नेछ भने अब राज्यका कृषकहरूले पनि आफैलाई यसतर्फ अग्रसर गराउँदै अघि बढ्नुपर्ने देखिन्छ। जैविक कृषि प्रणालीलाई उत्पादनको दृष्टिले मात्र नहेरेर यसलाई पर्यामैत्री  दृष्टिबाट पनि हेर्नुपर्छ। जसलाई अहिले देशले अनुसरण गर्न गइरहेको छ।-02.12.2016

नोटबन्दी र पर्यटन व्यवसाय

सधैं बेरोजगारीको समस्यासित जुझिरहने विश्‍वले समाधानका उपायहरूमध्ये सरकारी नोकरी र औद्योगिक क्षेत्रलाई एकातिर सारिदिनु हो भने पर्यटन व्यवसायलाई नै पहिलो स्थानमा पाउँदछ। देशको सन्दर्भमा हेरिनु हो भने पर्यटन व्यवसाय सबैभन्दा ठूलो उद्योगको रूपमा जानिन्छ। देशको राष्ट्रिय सकल घरेलु उत्पा (जीडीपी)-मा 6.23 प्रतिशत पर्यटन व्यवसाय रहेको छ भने देशको कूल रोजगारको 8.78 प्रतिशत रोजगारी पर्यटन व्यवसायीहरू छन्। वार्षिकरूपमा 5 मिलियन विदेशी पर्यटकहरू आउने भारत ‘विश्‍व यात्रा तथा पर्यटन परिषद’-अनुसार पर्यटनको मुख्य आकर्षक केन्द्र बन्ने भएको छ।
यही कुरालाई यदि सिक्किमको सन्दर्भमा हेरिनु हो भने पर्यटन विभागले मर्यटन मन्त्रालयलाई बुझाएको एउटा रिपोर्टअनुसार 6 लाखअधिक कूल जनसङ्ख्या रहेको सिक्किममा प्रतिमहिना प्रत्येक जिल्लामा 6 हजार पर्यटकहरू आउने गर्छन्। वर्तमानमा देशकै मुख्य पर्यटन केन्द्रको रूपमा लोकप्रिय बन्दै अघि बढिरहेको सिक्किमको निम्ति यो खुशी कुरा स्वीकार्नुपर्छ। सिक्किम सरकारले राज्यको पर्यटन व्यवसाय विकासको निम्ति जुन पहल गरिरहेको छ, राज्यमा प्रतिवर्ष पर्यटकहरूको सङ्ख्यामा वृद्धि हुनु पनि त्यसको परिणाम  हो। पर्यटन व्यवसायले देशमा जुन भूमिका निर्वाह गरिरहेको छ ठीक त्यही अवस्था सिक्किममा पनि पाउन सकिन्छ। अथवा, सिक्किमको निम्ति पनि पर्यटन व्यवसाय मुख्य आयश्रोतको माध्यम हो, बेरोजगारी समस्या समाधानको सरल र असल माध्यम पनि।
गएको 8 नोभेम्बर 2016-को दिन प्रधानमन्त्री नरेन्द्र मोदीले 500 र 1000-को नोटबन्दीको जुन धोषणा गरे, अहिले त्यसको चर्चा देशभरि मात्रै होइन विदेशहरूमा पनि चलिरहेको छ। मूलरूपमा कालो धन, नक्कली रुपियाँ, भ्रष्टचार र आतङ्कवादको विरुद्धमा लिइएको निर्णय अहिले समग्रमा देशले स्वीकार गरिसकेको छ। औपचारिकरूपमा अहिले यसको विभिन्न चर्चा-परिचर्चा भइरहेको भए पनि आम मानिस अथवा देशका नागरिकले यसलाई स्वीकार गरिसकेको छ। कतिपय नेताहरूले यसलाई स्वीकार गर्न सकिरहेका छैनन् भने संसदको शीतकालीन सत्रको आठौं दिन आज शुक्रबार पनि नोटबन्दीको मुद्दामा राज्यसभा र लोकसभामा दुवै सदनमा हङ्गामा भएपछि स्थगित गरियो। नोटबन्दीमाथि नै सर्वोच्च न्यायालयले 25 नोभेम्बरमा सुनाउने निर्णय भने 2 दिसम्बरसम्मको लागि स्थगित गरिएको छ। अर्कोतिर नोटबन्दीको यो छोटो अवधीमा देशभरिका ब्याङ्कहरूमा जुन रकम जमा गरिएको छ अनि देशको अर्थव्यवस्थामा जुन परिवर्तन आएको छ त्यो वास्तवमै उल्लेखयोग्य छ। भनौं यो छोटो अवधीको निम्ति अप्रत्याशित नै थियो।
अर्कोतिर, यसले देशलाई नकारात्मक प्रभाव पनि पारिरहेकै देखिन्छ। विशेषगरी पर्यटन व्यवसायको क्षेत्रमा। विश्‍वपर्यटनको क्षेत्रमा भारत जुन प्रगितमापथमा छ अथवा देशको पर्यटन क्षेत्रमा सिक्किमले जुन उचाइ समाएको छ, त्यसमा पनि प्रभाव परिरहेको छ। अघि भनियो, पर्यटन व्यवसाय बेरोजगारी समस्या समाधानको सरल र असल माध्यम हो। नोटबन्दीले ठीक यही कुरालाई अहिले आफ्नो चपेटमा ल्याउने भएपछि देशका साधारण जानता पनि यसको चपेटमा पर्नेहुन्छ।
नोटबन्दीको निर्णयपसितै रुपियाँ जमा गर्ने र निकाल्ने सीमारेखा तय गरिदिइएको छ। नोटबन्दीले आफ्नो लक्ष्यलाई त भेटिरहेकै छ। यद्यपि, पर्यटन व्यवसायलाई यसले जुन प्रभाव परिरहेको छ त्यसले देशका साधारण जनतालाई पनि प्रभाव पारिरहेको छ। पर्यटन व्यवसाय अथवा जुन व्यवसायसित वाहन चालक, होटल, टुर्स एण्ड ट्राभल्स आदि सबैलाई प्रभाव पार्ने हुन्छ। 8 नोभेम्बरको दिन प्रधानमन्त्रीले जुन निर्णय लिएका थिए त्यसले निश्‍चय समग्र देशलाई नै फाइदा पुगेको छ। यद्यपि, यसबाट हुने नकारात्मक प्रभावहरूलाई कसरी समाधान गर्न सकिन्छ? यी कुराहरूलाई पनि उत्तिकै ध्यान दिनु आवश्यक देखिन्छ।-25.11.2016

तिम्रो निम्ति भनेर

तिम्रो निम्ति भनेर, संसार भुलिदिएँ
तिम्रो निम्ति भनेर घरबार तोड़िदिएँ।
तिम्रै खुशीमा आफूलाई समर्पण गरेथेँ
तिम्रै खुशी चाहँदा-चाहँदै आज एकलो भएँ।

बिर्स्यौ होला तिमले त सँगै बाँच्ने कसम खाएको
बिर्स्यो होला देउराली साक्षी राखी सिन्दुर हालेको
के भूल भयो मबाट त्यस्तो एकफेरि भनिदेउ
कहिले भयौं तिमी पर थाहै पाइन हात छोड़ेको।

भन्थ्यौ कहिले एकलो रातहरू बिताउँदैछु
भन्थ्यौ कहिले मातहरूसित रात बिताउँदैछु
भन्थ्यौ आफ्नो भएर साथ नभए पछि
पिएर धेरै मनका घातहरू म भुलाउँदैछु।

सँगै जिउने बाचा-कसम सबैसबै तोड़ेर
त्यही घात दियौ मलाई प्रेमको उपहार
तोड़ेपछि तिम्रै लागि सबै नाता-सम्बन्धहरू
बाँज्दैछु म यो जीवन एकलो-एकलो भएर।

10.12.2016

केही पल बित्यो


केही पल बित्यो,
केही वर्ष बित्यो
केही घटना घट्यो,
केही समय बित्यो
तिमीसँग जुनी बितेन, जीवन बितेन।

अझै समय छ केही गर्ने
अझै समय छ केही बन्ने
बाँच्छु तिमी साथ नभए नि
हास्छु मनमा चोटै दिए नि।

भुलेको छुइन मधुर मुस्कान
भुलेको छुइन तिम्रो त्यो स्पर्श
घातहरूले धेरैलाई मार्छन् रे
त्यही घातमा बाँचेर म हेर्छु।

10.12.2016