Friday, August 2, 2019

‘अटल भण्डारी’ लोकार्पण समारोहका सम्झनाहरू

-अर्जुन राई
5 अक्टोबर, 1940-मा मालबाँसे, सोरेङ, पश्‍चिम सिक्किममा जन्मिएका नरबहादुर भण्डारी बितेको दुईवर्ष भइसक्यो। सिक्किमको राजनीतिमा एउटा अलग्गै शिखर बनेका उनलाई आधुनिक सिक्किमका अभियन्ताको उपाधिले पनि चिन्ने गरेको छ सिक्किमले। पहिलोपल्ट 18 अक्टोबर, 1979 देखि 11 मई, 1984 सम्म अनि पछि 1 मार्च, 1985 देखि निरन्तर 17 जून, 1994 सम्म सिक्किमका मुख्यमन्त्रीको पदभार सम्हाल्दै धेरै ऐतिहासिक कार्यहरू गर्नका साथै उनको नेपाली भाषालाई देशमा संवैधानिक मान्यता प्राप्त गराउनुमा पनि मुख्य भूमिका रहेको छ। 16 जुलाई, 2017-मा 76 वर्षको उमेरमा उनले आफ्ना सम्पूर्ण परिवारसितै सम्पूर्ण सिक्किमेली जनसमुदायलाई छोड़ेर गए, सम्पूर्ण नेपाली भाषीहरूबाट विदा भएर गए। तर, उनी सधैँ सबैको मन-मस्तिष्कमा बसिरहे। उनले गरेका कार्यहरू कति बिर्सियौं हामीले अनि कति अहिले पनि ज्यूका त्यूँ छन्। उनी बितेर गए, तर उनका सम्झना अहिले पनि आलै छन्। उनका कर्महरूसितै उनी बाँचिरहेछन्। तर, उनका कार्यहरू, उनले राज्य र देशलाई पुर्‍याएका योगदानलाई केवल सम्झनामा होइन दस्तावेजमा राख्नु जरुरी थियो। त्यसैर त उनको दोस्रो पुण्यतिथि 16 जुलाई, 2019-को दिनलाई अविस्मरणीय बनाइयो।  उनको स्मृतिमा ग्रन्थ नै सार्वजनिक गरियो। देहरादुन, बनारस, असम, डुवर्स, कालेबुङ, दार्जीलिङ, सिलगढीलगायत सिक्किमका विभिन्न क्षेत्रसितै देशभरिका सर्जक, साहित्यिक व्यक्तित्व, विद्वत्जन त्यसका साक्षी बने। ‘अटल भण्डारी’ लोकार्पण समारोह-का केही सम्झनाका कुराहरू यहाँ साझा गर्ने प्रयास गरिरहेछु।
वरिष्ठ साहित्यकार एवं पत्रकार श्री अर्जुन पीयूषको कुशल सम्पादनमा तयार गरिएको ‘अटल भण्डारी’ नरबहादुर भण्डारी स्मृतिग्रन्थ विमोचन गरिने कुरा निक्कै अघिदेखि चलिरहेको थियो, जसलाई प्रकाशन गरिरहेको थियो नरबहादुर भण्डारीले नै शुरु गरेको ‘अर्चना् प्रकाशन’, गान्तोकले। सम्भवतः दशौं सिक्किम विधानसभा तथा 17 लोकसभा चुनाउअघि नै ग्रन्थ आइपुग्ने सम्पादक श्री पीयूषबाट सुनिरहेको थिएँ। त्यसको लोकार्पण चाँड़ै गर्ने प्रयासमा हुनुहुन्थ्यो उहाँ। ‘अर्चना प्रकाशन’ र भण्डारी परिवारले ठूलो जिम्मेवारी लिइरहेका थिए। तर, सबै कुरा भनेजस्तो र सोचेजस्तो हुन्न। त्यसो भएर पनि ‘ढिलै होस्, छोरै होस्’ भनेजस्तै भयो ‘अटल भण्डारी’ लोकार्पण समारोह। स्वयं पूर्व सांसद श्रीमती डीके भण्डारी र सम्पूर्ण भण्डारी परिवार, अर्चना प्रकाशन, सम्पादक श्री अर्जुन पीयूष र समारोह समितिले जति र जुन स्तरमा कार्यक्रम सम्पन्न हुने सोचेका थिए, सायद त्योभन्दा अझ भव्यतापूर्ण नै भयो। आगन्तुक-अतिथिगणले कार्यक्रम जस्तो हुनुपर्ने सोचेका थिए, अथवा जस्तो हुनेसक्ने वा हुने सोचिरहेका थिए, आशा गरिरहेका थिए निश्‍चय पनि त्योभन्दा धेरै माथिल्लो तहसम्म पाएका थिए कार्यक्रम सम्पन्न भइसक्दा। साँच्चै राष्ट्रियस्तरको यति भव्य कार्यक्रम तोकिएको समयमा शुरु भएर तोकिएको समयमा नै सम्पन्न हुनु ख्यालठट्टा थिएन। यसका निम्ति मलाई लाग्छ, कार्यक्रम आयोजक पक्षमात्रै होइन 16 जुलाई, 2019-को दिन ‘चिन्तन भवन’-मा उपस्थित सम्पूर्ण नै धन्यवाद र बधाईका पात्र-पात्रा हुन्।
...
सानासाना कामहरूले व्यस्त बनाइराख्ने भए पनि आफ्ना अग्रजको कुरालाई काट्न नसकेपछि म पनि पुगेको थिएँ ‘प्रिमुला कटेज’, चर्च रोड, गान्तोकमा सम्पन्न पहिलो सभामा। स्वयं सम्पादक अर्जुन पीयूषले प्रत्यक्ष भेट र फोनमार्फत् पनि भन्नुभएको थियो- ‘अटल भण्डारी आइपुग्यो। लोकार्पणको कुरा चल्दैछ। एउटा समिति नै बनाउने भएका छौं। आउनुपर्छ है।’
पूर्व लोकसभा सांसद श्रीमती डीके भण्डारीको अध्यक्षतामा 20 जून, 2019-को दिन सम्पन्न सभाले ‘नरबहादुर भण्डारी स्मृतिग्रन्थ विमोचन समारोह समिति’ भनेर एउटा समिति-सदस्यहरूको सूची तयार गर्‍यो। अध्यक्ष- दिलकुमारी भण्डारी, कार्यकारी अध्यक्ष- जोसेफ लेप्चा, उपाध्यक्ष राज के श्रेष्ठ र  अनिता निरौला, महासचिव-  चुनिलाल घिमिरे, संयुक्त सचिव- राजेन्द्र प्रधान र भीम रावत, कोषाध्यक्ष- प्रिमुला भण्डारी, संयुक्त कोषाध्यक्ष- रूपा तामाङ र निरेन भण्डारी, प्रचार-प्रसार प्रभारी- कविता शर्मा, अम्बर लाछिकाठी, एसबी कार्की, अर्जुन यावा र झरना शर्मा, प्रमुख सल्लाहकार- प्रद्मुम्न श्रेष्ठ र प्रमुख संयोजक- अर्जुन पीयूष। यति थियौं हामी मुल समितिमा।
यसबाहेक पनि कार्यकारिणी सदस्यहरूमा विजयकुमार सुब्बा, डीबी बस्नेत, नीलम न्यौपाने, नवराज तिवारी, एनपीएस निरौला, एनएल कपिल, जीविका अश्रु, राधा पाण्डे, ललित लोहार, दीपा राई, भीम प्रधान, विष्णु न्यौपाने, मुना बराल, टीका ढुङ्गेल, कुबेर विष्ट, साहिद हुसेन, पारिजात शर्मा, ममता शर्मा, रवि पौड्याल, कृष्णा कृति, प्रणिता घिमिरे, तिमोथी राई, प्रदीप रसाइली, भूमिष्ट शर्मा, नैनाकला शर्मा, कल्पना शर्मा, मनिषा पाण्डे आदि रहेका थिए। यसबाहेक खुश्बू छेत्री, भक्ति शर्मा, लुइस विष्ट आदिले पनि सक्रियतापूर्वक सहयोग पुर्‍याएका थिए।
पहिलो सभामा चयनित समिति सदस्यहरूमाझ पुनः दोस्रो सभा राखिएको थियो 29 जून, 2019-को प्रिमुला कटेजमा, जसलाई अध्यक्षता गर्नुभएको थियो जोसेफ लेप्चाले। त्यसपछि 14 र 15 जुलाईमा पनि धेरैजना सदस्यबीच पुनः भेटघाट भयो। यसबीच धेरैले समय दिन सकेनन्, जसमा यो कलमकार पनि पर्दछ। पहिलो र दोस्रो सभाको समय ‘चिन्तन भवन सानो हुन्छ होला’ भन्ने चर्चा भएको थियो। अन्तमा धेरैवटा पक्षलाई ध्यानमा राखेपछि ‘चिन्तन भवनमै कार्यक्रम गर्नुपर्छ’ भन्ने निर्णय भएको थियो।
...
16 जुलाई, 2019-को दिन चिन्तन भवनका प्रायःजसो चौकीहरू भरिँदै थिए। कार्यक्रम सञ्चालिका श्रीमती अनिता निरौला अनुभवले परिपक्व। त्यसैले उनी केवल सञ्चालिका मात्रै थिइनन्। कसको के जिम्मेवारी छ, कहाँ के कमी हुँदैछ, कहाँ कसलाई के चाहिएको छ आदि-इत्यादिको निर्क्योलसम्म गरिरहेकी थिइन्। उनीलगायक अन्य सदस्यहरू उत्तिकै चङ्खो-चनाखो देखिन्थे। ‘अटल भण्डारी’ लोकार्पण समारोहमा कुनै प्रकारको कमजोरी, असफलता वा साना-साना त्रुटिहरू भइदिए केवल आयोजन समितिको होइन तर समग्र सिक्किमको इज्जतको कुरा थियो। सिक्किमले भुतपूर्व मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीजस्ता व्यक्तित्वलाई कति सम्मान गर्दछ भन्ने प्रश्‍न पनि थियो।
चौकी-चौकीमा लेखिएका थिए स्मृति ग्रन्थभित्र परेका लेखक-लेखिकाहरूका नाम। हामी आयोजक समिति सदस्यहरूले आगन्तुकहरूलाई त्यहीअनुसार आसन व्यवस्था मिलाइरहेका थियौं। यस प्रकारको नौलो अनुभव भइरहेका हुनाले पहिले थोरै हचपच भए झैं देखिए पनि श्री निरेन भण्डारी निक्कै सजग देखिन्थे। त्यसैले निक्कै सहज भयो।
कार्यक्रम शुरु हुने समय लगभग भइसकेको थियो। मुख्य अतिथि राज्यपाल श्री गङ्गाप्रसादको आगमनअघि नै विशिष्ठ अतिथिद्वय मुख्यमन्त्री श्री पीएस तामाङ र विधानसभा अध्यक्ष श्री एलबी दास मञ्चमा आसीन हुनुहुन्थ्यो। यतिबेलासम्म चिन्तन भवनको पछिल्लो लहरमा राखिएका चौकीहरू खाली देखिन्थे। हामी एक-दुई सदस्य थोरै डराएका थियौं। ‘लास्ट लाइनतिर त भरिँदैन कि क्या हौ...?’ एकजना कसैले भनेका थिए।
समारोह आयोजन समितिकी अध्यक्ष श्रीमती दिलकुमारी भण्डारीको अध्यक्षतामा कार्यक्रम जस्तो शुरु भयो पछिल्लो लहरका चौकीहरूले पनि पुग्न छोड्यो। बाहिरबाट हामीले चौकी ल्याएर थप्ने काम गर्‍यौं। त्यतिले पनि पुगेन। धेरैजनाले ठिङ्ग उभिएरै पनि कार्यक्रमको चाख लिए। सबैभन्दा खुशीको कुरा त शुरुदेखि कार्यक्रमको अन्तसम्म सम्पूर्ण आगन्तुक छपक्क बसेका थिए। गान्तोकमा कतिपय कार्यक्रममा धन्यवाद ज्ञापनको क्रममा आधासरो चौकी रित्तिसकेका हुन्छन्। 16 जुलाई, 2019-को दिन चिन्तन भवनको कार्यक्रम सकिँदा पनि सायदै एउटा-दुईवटाबाहेक कुनै चौकी खाली थिएनन्। यसलाई आयोजिक पक्षको सफलता हो भन्ने लागेको छ।
स्व. नरबहादुर भण्डारीकी नातिनी मनिषा भण्डारीको मीठो स्वागत सम्बोधनबाट शुरु भएको कार्यक्रममा युवा गायिका रेमन्ती राईद्वारा प्रस्तुत गणेश वन्दनाले धेरैको ध्यान खिँचेको थियो। ‘स्मृतिगन्थ लोकार्पण’ कार्यक्रमकै मुख्य आकर्षण थियो। तर, स्मृतिग्रन्थका लेखक-सर्जकहरूलाई सम्मान जनाउँदै ‘स्मृतिग्रन्थ’ हस्तान्तरणको कार्यक्रमले लामो समय लिनसक्ने र कार्यक्रम लम्बियो भने कार्यक्रमको रौनकता नै हराउनसक्ला भन्ने धेरैलाई चिन्ता थियो। यद्यपि, सञ्चालिकाद्वारा यो कार्यक्रम पनि यति कौशलतापूर्व सम्पन्न भयो, यति चातुर्यताका साथ सम्पन्न भयो कि मञ्चमा 70-75 जना सर्जकहरूलाई सम्मान जनाइएको र स्मृतिग्रन्थ प्रदान गरिसकिएको पत्तै पाइएन। यो सबै सञ्चालिका अनिता निरौलाको पूर्व अनुभव र गृहकार्यसितै तक्निकीय सहयोगीहरूको सुपरिणम थियो।
समग्र कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित मुख्यमन्त्री श्री पीएस तामाङको घोषणालाई कार्यक्रमकै अर्को मुख्य समफलता मान्न सकिन्छ। उनले  मुख्य तीनवटा घोषणा गरेका छन्। पहिलो- ‘अटल भण्डारी’ नरबहादुर भण्डारी स्मृतिग्रन्थ सरकारले किनिदिने अनि राज्यका प्रत्येक स्कूल, महाविद्यालय, विश्‍वविद्यालय, पुस्तकालयादिमा पुर्‍याउने। दोस्रो- सरकारले सिक्किमका दोस्रो मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीको सालिग निर्माण गरिदिने अनि तेस्रो- नरबहादुर भण्डारीको जन्मदिन 5 अक्टोबरको दिन सरकारी छुट्टीको घोषणा। यी तीनवटा घोषणामध्ये दोस्रो घोषणाका लागि ‘अटल भण्डारी’-का सम्पादक श्री अर्जुन पीयूषलाई यो लेखमार्फत् नै बधाई-धन्यवाद दिन चाहन्छु। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सम्पादक पीयूषले राखेको प्रस्तावलाई ध्यानमा राख्दै मुख्यमन्त्री पीएस तामाङले यो घोषणा गरेका थिए। यी घोषणाहरूले भविष्यमा भुतपूर्व मुख्यमन्त्री स्व. नरबादुर भण्डारी को थिए, कस्ता थिए, के-के गरेका थिए आदि-इत्यादि कुराहरू बुझ्न आउने पिँढ़ीका लागि थप सहयोग हुनेछ। अर्को कुरा, स्मृतिग्रन्थ लोकार्पण समारोह सफलतापूर्वक सम्पन्न हुनुको पछाड़ि समारोहका वक्ताहरूलाई पनि उत्तिकै श्रेय जाँदछ। मुख्य अतिथि-राज्यपाल र विशिष्ट अतिथि- मुख्यमन्त्रीको साथमा सभाध्यक्ष, स्मृतिग्रन्थका समापदक र समीक्षक श्री दीपक तिवारी सबैले समयलाई ध्यानमा राखेर आफ्नो वक्तव्य राख्नुलाई पनि धेरैले कार्यक्रम सफल हुनुको एउटा कारण मानेका छन्। त्यसदिनको कार्यक्रममा मुख्यमन्त्रीले स्व. नरबहादुर भण्डारी मुख्यमन्त्री हुँदा उनी आफूले भर्खर कलेजको अध्ययन सिद्ध्याएको र 1979-मा पहिलोपल्ट भेट भएदेखि 4 अप्रेल, 2017-मा अन्तिम भेट भएसम्मका कुराहरू, नरबहादुर भण्डारीसितको सम्बन्धका कुराहरू, उनले गरेका कार्यहरू आदि समग्रह विषयलाई कुल 16.48 मिनटको सम्बोधनमा मुख्यमन्त्री तामाङले समेटेका थिए। मुख्यमन्त्रीको सम्बोधनको तुलनामा महासचिव श्री चुनिलाल घिमिरेले धन्वाद ज्ञापनमा अलिकति समय लिएका थिए। यद्यपि, धेरै कुराको जानकारी भने पाउनसकेकाले सबैका लागि लाभदायक थियो।
‘अटल भण्डारी’ स्मृतिग्रन्थ आफैमा एउटा ऐतिहासिक कार्य भएको छ भने यसको लोकार्पण समारोहले अर्को ऐतिहासिकता कायम गरेको छ। यद्यपि, स्व. नरबहादुर भण्डारीलाई गर्नु कार्यहरू अझै थपिँदै गएको, उनलाई लिएर हामीले निर्वाहगर्नुपर्ने जिम्मेवारी अझ बढ़ेको आभाष पनि भइरहेको छ। यतिबेला ‘नरबहादुर भण्डारी स्मृतिग्रन्थ विमोचन समारोह समिति’ 19 जुलाई 2019-को दिन विघटन भइसकेको छ। यो समिति विघटन जरुरी पनि थियो। तर, स्व. नरबहादुर भण्डारीलाई लिएर सरकारको तर्फबाट जुन घोषणाहरू मुख्यमन्त्रीले गरेका छन्, त्यस कुरालाई लिएर पनि फेरि एकपल्ट सबै अग्रसर रहने आशा, भरोसा र विश्‍वास छ।

नेपाली भाषाले संवैधानिक मान्यता पाउनु भारतभरि छरिएर बसेका नेपालीको नागरिकता हो - श्रीमती भण्डारी

नोट- सिक्किमकी पूर्व लोकसभा सांसद श्रीमती दिलकुमारी भण्डारीको अध्यक्षतामा गत 16 जुलाई, 2019-को दिन चिन्तन भवन, गान्तोकमा साहित्यकार एवं पत्रकार श्री अर्जुन पीयूषद्वारा सम्पादित सिक्किमका भूतपूर्व मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीको स्मृतिग्रन्थ ‘अटल भण्डारी’ लोकार्पण समारोह सम्पन्न भएको थियो। राज्यपाल श्री गंगा प्रसादको मुख्य आतिथ्य एवं मुख्यमन्त्री श्री पीएस तामाङको विशिष्ठ आतिथ्यमा सम्पन्न समारोहको आयोजन समिति अध्यक्ष पनि रहेकी श्रीमती दिलकुमारी भण्डारीको सम्बोधनलाई यहाँ जस्ताको तस्तै राख्ने प्रयास गरिरहेको छु।-अर्जुन यावा


गुरु र ब्रह्म गुरु र विष्णु गुरु देव महेश्‍वर
गुरु साक्षात परमब्रह्म तसमय श्री गुरुवे नमः
आज गुरु पूर्णिमाको दिन परेछ। यो संयोगवश नै परेको भन्छु। हामीले जब आजको दिनलाई यो स्मृतिग्रन्थ लोकार्पणको दिन तोकेका थियौं, त्यस समय श्रीमान भण्डारीले आफ्नो नश्‍वर देह त्यागेर इहलोकमा जानुभएको दिन सम्झेर यो दिन तोेकेका थियौं। तर आज गुरु पूर्णिमा पनि परेछ। यो पुनीत दिवस संयोगवश जुटेछ। हामी खोलाको छेउमा, बाटोको छेउमा राम्रो ढुङ्गा देख्यौं भने पनि त्यो ढुङ्गा टिपेर, सिन्दुर लगाएर भगवान मानेर (भनेर) पुज्ने जाति। ठूला-बड़ालाई भगवान सम्झेर ढोग गर्ने जाति। आज यहाँ तपाईंहरू वर्षा याममा भल-बाढ़ी के नभनी यो ठाउँमा उपस्थित भइदिनुभएको छ। तपाईंहरू सबै-सबै, प्राज्ञहरू हुनुहुन्छ, मेरा अग्रजहरू हुनुहुन्छ, साहित्यकारहरू हुनुहुन्छ, अनुजहरू हुनुहुन्छ, सबै सबैलाई गुरु नै सम्झेर पहिला म नमन गर्दछु।
अटल भण्डारी स्मृतिग्रन्थ सार्वजनीकरणको यो कार्यक्रममा हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी कार्यक्रमको गरिमा बढ़ाइदिनुहुने सिक्किमका माननीय राज्यपाल महोदय श्री गङ्गाप्रसाजज्यू, आफ्ना अति व्यस्त कार्यक्रमहरू छोड़ेर हामीमाझ आफ्नो ओजस्वी उपस्थिति दिनुहुने सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङज्यू, सिक्किम विधानसभाका माननीय अध्यक्ष श्री एलबी दासज्यू, माननीय मन्त्रीगण, विधायकगण, हामीसित हाम्रा गौरव पद्मश्री सानु लामाज्यू हुनुहुन्छ, उहाँलाई पनि सम्बोधन गर्न चाहन्छु। म देख्दै थिएँ, हाम्रा अर्का गौरव श्री भाइचुङ भोटिया पनि देख्दै थिएँ, उहाँलाई पनि अभिनन्दन जनाउँदछु। हाम्रा पूर्व मन्त्रीगण तथा विधायकगण, मुख्यमन्त्रीका विविध संकुलका सल्लाहकारवृन्द, सिक्किम सरकारका मुख्य सचिव, विभिन्न विभागीय अधिकारीगण, सिक्किम सरकारका पूर्व मुख्य सचिव श्री पीके प्रधानज्यू, उहाँको नाम लिँदा मलाई भन्न मन लाग्छ कि श्रीमान भण्डारीको समयमा भएको ग्रामीण विकासका जति कामहरू भएका थिए त्यसमा उहाँको पनि धेरै ठूलो हात, ठूलो योगदान रहेको थियो। विमोचित हुन गइरहेको ग्रन्थमा आफ्ना रचनाहरू दिएर यसको आयाम विस्तार गर्ने आदरणीय सर्जकवृन्द, विभिन्न सङ्घ-संस्थाहरूलाई प्रतिनिधित्व गरी आउनु भएका महानुभावहरू, यस ग्रन्थमा बहुमूल्य सलल्लाह प्रदान गरी साथ दिनुहुने सम्पूर्ण सल्लाहकारवर्ग, सञ्चार माध्यमका प्रिय साथीहरू लगायत सम्पूर्ण प्रियजनमा मेरो अभिनन्दन। अभिवादन। यो सम्बोधनको अन्तमा राखेर मैले इज्जतसित नाम लिनुपर्ने हुन्छ श्रीमान अर्जुन पीयूषज्यूको, जसले यो महत् कार्यलाई काँध हाल्न हिच्किचाएनन्, डराएनन्। उहाँलाई पनि धेरै धन्यवाद, अभिनन्दन।
स्व. नरबहादुर भण्डारीको पुण्यात्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै आजको कार्यक्रमको औचित्य र अवधारणाबारे आफ्ना केही विचार राख्ने धृष्टताका साथ यहाँ उभिएकी छु। 
नरबहादुर भण्डारी बिते, 16 जुलाई, 2017-मा। इष्टमित्र, बन्धु-बान्धव र सहृदयीहरूले उहाँको स्मरणमा केही गर्नुपर्छ भन्ने आग्रह, सदिच्छा उहाँको मृत शरीरको छेउमा म बसिरहेकी बेला नै व्यक्त गर्न थाल्नुभएको थियो। नरबहादुर भण्डारी यसबेला एकजना व्यक्ति नरहेर संस्थाका रूपमा स्थापित भइसकेको कुरो उहाँको गुण, कृति, कीर्ति र प्रकृतिले सर्वव्यापक भइसकेको कुरा हामीसमक्ष हामी परिवारले पनि नकार्न सकेनौं। तर यस्ता व्यक्तित्वलाई पारिवारिक पेवामा मात्रै सीमित राख्नुमा पनि उचित होइन भन्ने कुरामा हाम्रो घरसल्लाह भयो। तर के गर्ने, कसो गर्ने भन्ने कुरामा हामी निश्‍चित हुनसकेका थिएनौं। केही मन मिल्ने हितैषीहरूलाई पनि सल्लाह माग्यौं। अतः एउटा स्मृतिग्रन्थ प्रकाशन गर्ने निधो भयो। यसका लागि लेखादि चाहियो अनि कुशल सहयोगीहरूको आवश्यकता पर्दा हामीले भनेजस्तो साथीहरूको अहोरात्र अथक परिश्रमबाट आज हामी ‘अटल भण्डारी’ लिएर यहाँहरूसमक्ष उपस्थित छौं। 
भण्डारीका धेरै आयाममाथि आदरणीय लेखकको अभिव्यक्ति यस पुस्तकमा समावेश गरिएको छ। तर, यस पुस्तकको प्रकाशन क्रममा सिक्किमको राजनीतिक उहापोहबीच कतिपय लेखकहरूको उद्गार, विचार हामीसमक्ष आइपुग्न सकेन। इच्छाविपरीत होइन, तर बाध्यतावश उहाँहरूलाई हामीले भेट्न सकेनौं। पालो गयो, खेप गएको छैन। नरबहादुर भण्डारीसँगको मेरो लगभग 50 वर्षको दाम्पत्य जीवन राजनैतिक सहकर्मी, सामाजिक सरोकारबीचमा सहयोद्धा भई बाँचेको समयलाई यहाँ संक्षिप्तमा राख्ने जमर्को गरेकी छु।
मैले जानेको उहाँको आयाम सिक्किमप्रेमी सपुत, निर्भीक र निडर प्रजातन्त्रवादी राजनीतिज्ञ, साहित्यप्रेमी, कोमल र भावुक अभिभावक अनि प्रमिल व्यक्तित्वका धनी। आफ्नो सम्पूर्ण जीवन सिक्किम र सिक्किमेको हितार्थ समर्पित गर्ने भण्डारीलाई विभिन्न लाञ्छनाबीच मरणासन्न स्थितिमा पुर्‍याइएको विषय यहाँहरूले सुनिसक्नुभएको छ। त्यसको अलग्गै समयमा सिक्किमलाई जङ्गला मुलुकबाट आधुनिकताको मिरमिरेतर्फ डोहोर्‍याउन श्री भण्डारीले पुर्‍याउनुभएको योगदान कतै विस्मृतिमा पो बिलाएर जाला कि भन्ने लागेको हुनाले पनि यो स्मृतिग्रन्थ प्रकाशन आवश्यक लाग्यो। 
सिक्किमको शैक्षिक परिवेशको कुरा गर्नु हो भने सीमित संसाधनमा देशमा अब्बल शैक्षिक वातावरण र संसाधनको तयारीमा उहाँ सधैं लाग्नुभयो। शिक्षाको मर्म बुझेकैले यो सब सम्भव हुनसक्यो। राजनैतिक फाइदाका लागि नभएर आवश्यकताका आधारमा विद्यालयहरू, महाविद्यालय स्थापना भए र गुणस्तरसँग कहिल्यै सम्झौता नगर्नु उहाँको सबल पक्ष म ठान्छु।
जनताको प्राथमिक आवश्यकता बत्ती, पिउने पानी, सड़क, बाटो र स्वास्थ्य सम्बन्ध भन्नुपर्दा आज पनि ग्रामीण भेगका मानिस ‘पिउने पानीको पाइप, बिजुलीको फलामे खाँबा, पुल यसो कोट्याएर सुँघे भण्डारीकै वासना आउँछ’ भन्ने उद्गार व्यक्त गर्छन्। सत्य-असत्यको आँकलन म सुधीजनलाई नै सुम्पन्छु। प्रभावी र सक्षम प्रशासनकै कारण यी सब सम्भव भए, किनभने स्रोत थोरै तर सोच धेरै भएका सकारात्मक र जनतामुखी राजनीतिज्ञ र प्रशासक हुनुहुन्थ्यो भण्डारी। सिक्किम र सिक्किमेको हित, अधिकारलाई कहिल्यै हार्न दिनुभएन। यसका लागि धेरैपटक राजनैतिक कोपभाजनको शिकार पनि बन्नुभयो। फालमको चिउरा चपाउनु परेको यहाँ साङ्केतिक रूपमा राखेँ। भण्डारी सिक्किममा मात्र सीमित रहेनन्। भारतमा समय-समयमा एउटा प्रमुख जाति जसको योगदानबिना भारतको परिकल्पनासम्म गर्नसकिन्न, त्यस नेपाली तथा गोर्खा जातिलाई बारम्बार विदेशीको लाञ्छना लाग्नेगर्थ्यो। यस समस्याको सार्थक समाधानको बाटो थियो भारतीय संविधानमा नेपाली भाषाको मान्यता। धेरै अग्रजहरूले यस सम्बन्धमा थुप्रै र प्रभावशाली प्रयास गरे तापनि त्यसले सफलता पाउन सकेको थिएन। तिनै महान् व्यक्तित्वको पाइला पछ्याउँदै आफ्नो तहबाट गर्नपर्ने काम, जिम्मेवारीपूर्वक निर्वाह गर्नुभयो। त्यो हो- भारतीय नेपाली राष्ट्रिय परिषदको स्थापना। यस संस्थाको अहोरात्र र अथक प्रयासको फलस्वरूप नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त भयो। नेपाली समुदायले विदेशीको लाञ्छनाबाट निकास पाए। नेपाली भाषाले संवैधानिक मान्यता पाउनु कसैको लागि सामान्य कुरा होला, तर भारतभरि छरिएर बसेका नेपालीका निम्ति यो भारतीय नागरिकता हो। यसले दिल्ली सरकारलाई पनि ‘हामी खाँट्टी भारतीय नागरिक हौं’ भन्ने प्रमाण दिई हामीलाई ‘तिमीहरू विदेशी हौ’ भन्ने लाञ्छना लगाउनेहरूलाई मुखमा बुचो हालीदियो। भारतभरि छरिएर बसेका नेपाली भाषीलाई एकताको सूत्रमा माध्ने काम भयो, तब भण्डारी सारा भारतीय नेपाली भाषी गोर्खाहरूका अभिभावक बने, माने। नेपालमा हामी भारतीय नेपालीलाई प्रवासी भन्ने चलन थियो। नरबहादुर भण्डारी यस कुरोको घोर विरोधी थिए। उहाँ आफूलाई भारतको साँचो नागरिक मान्नुहुन्थ्यो। अनि आफ्नो आत्मस्वाभिमान र अस्तित्व यही राष्ट्रमा छ भन्ने कुरा सम्पूर्ण भारतीय नेपालीहरूको मन-मस्तिष्कमा विजारोपण पनि गर्नुभयो।
नेपाली भाषा-साहित्यप्रतिको अगाध मोह थियो उनमा। यसैको उत्पादन हो अर्चना प्रकाशनको स्थापना, जसले थुप्रै-थुप्रै सर्जकहरू जन्मायो। यसैको प्रकाशनमा आज विमोचित भइरहेको पुस्तक प्रकाशित छ। यसबाहेक उहाँका साहित्य सिर्जना र भाषा सम्बन्धित कृति-कीर्तिबारे पुस्तकमा विज्ञ लेखकहरूका लेखले बताएको छ। उप्रान्त पनि अर्चना प्रकाशनलाई निरन्तरता दिने प्रयास रहनेछ। लेखक-सर्जकबाट भविष्यमा यसले साथ-सहयोग पाउने अपेक्षा राखेका छौं। श्री भण्डारी सिक्किमको राजनीतिक इतिहासमा झण्डै विलुप्त बन्नुभयो। यसको कैरण यहाँ नगरेकै बेस् होला। तर उहाँप्रति अगाध माया गर्ने श्रद्धा गर्ने मानिसहरूको अभाव पनि छैन। उहाँ मतदानमुखी राजनीतिमा हारे होलान्, सिक्किमेली मन-मस्तिष्कमा उत्तिकै जीवित छन् भन्ने कुरा आजको उपस्थितिले जनाएको छ भन्ने मलाई लाग्छ।
सिक्किमका वर्तमान युवा मुख्यमन्त्री महोदयले धेरैपटक उहाँलाई आफ्नो राजनैतिक अभिभावकका रूपमा स्वीकार गर्नुभएको कुरा उहाँको भाषणहरूमा मैले सुनेकी छु। यति मात्र होइन, भण्डारी बिनाको सिक्किमको राजनीतिको परिकल्पना पनि गर्ननसकिने कतिपय जानकारहरूको मन्तव्यबाट उहाँको राजनीतिक महत्व र प्रतिष्ठा बुझिन्छ। म यहाँ के भन्नु चाहन्छु भने उहाँलाई सिक्किमेली जनताले सत्ताच्युत गरेका होइनन्। तर कतिपय कुत्सित मनसायलाई उहाँको निडर, निर्भीक, भविष्यदर्शी अनि जनसाधारणको हितका विषयको उठान अनि सिक्किमको सर्वभौमिकता सम्बन्धी अवधारणा अपच हुँदा चुनावी राजनीति हारे। राजनीति हारे, तर सधैं ठाड़ो शीर गरेर बाँचे। नयाँ पुस्तासम्म भण्डारीको राजनैतिक, सामाजिक योगदान अनुशासित प्रशासकीय गुण, भाषा-साहित्यप्रतिको समर्पण र त्याग सम्बन्धित विषयहरू पुग्न आवश्यक छ भन्ने बोध धेरैले गरेको बुझियो। यसैको फलस्वरूप आज ‘अटल भण्डारी’ यहाँहरूलाई समर्पित गर्दैछौं। यहाँ भण्डारी माध्यम हुन्। हामीले हाम्रो विगत बिर्से आगतका लागि कहाँबाट प्रेरणा लिने? नबिर्सौं अन्य थुप्रै यस्ता महान व्यक्ति जसले देश र जाति-समाजका लागि प्राण निछ्यौवार गर्न पनि किञ्चित ठानेनन्। 
म यहाँहरूलाई यो भन्न चाहन्छु कि म पनि उहाँलाई एक साधारण प्रशंसकको रूपमा आकलन गर्नेगर्थें। यी उद्गारहरू त्यसैका प्रतिफल हुन्। 
यो मध्य वर्षाको बेला, भल-पैह्रोको बीच पनि भण्डारीको माया, श्रद्धाका कारण यहाँहरूको गरिमामय उपस्थितिले हामीलाई ठूलो गुण लगाएको छ।  सबैलाई आभार ज्ञापन गर्न चाहन्छु। सबैलाई म यहाँ विनम्र साधुवाद प्रकट गर्नचाहन्छु। मसँग आभार ज्ञापनका शब्दहरू अपुग छन्। भविष्यमा पनि यहाँहरूको साथ, सहयोग र स्नेह हामी पाइरहनेछौं भन्ने आशाका साथ यहाँहरूलाई फेरि पनि धेरैधेरै धन्यवाद-आभार प्रकट गर्दै मेरो यो वक्तव्य यही शेष गर्दछु। धन्यवाद।
-प्रतिलेख : अर्जुन यावा

Tuesday, July 30, 2019

गुरुदोङ्मारः यात्रा एक सम्झाना अनेक - शेरबहादुर कार्की

धेरै समयदेखिको योजना। धेरै पर्खाईपछिको सफलता। धेरै तर्कपछिको निष्कर्ष। चिया कविता समूहको उत्तर सिक्किमको गुरुदोङ्मारमा हिउँमा कविता-2019-को अन्तिम समय अइसकेको थियो। सिक्किम तथा दर्जीलिङका कविहरूको भेट हुने। सौहार्द भेटघाट्। कवितामा मर्म, विचार अनि भोगाइहरू साटासाट गर्ने, राम्रो भेट्। को-को जाने, को-को नजाने। नामवाली जारी गरिन थालियो। कविहरूको नामवाली जाँचेर कसलाई लोभ लागेन, यस्तो समयमा सामेल हुन। चिया कविता समूहले अलिक भिन्न प्रकारले वर्षमा एकपल्ट कार्यक्रम गर्नेगर्छ। यही क्रममा गुरुदोङ्मारमा हिउँमा कविता गर्ने कार्यक्रम पनि यही सूचीमा परेको छ। यो भन्दा अघि 2017-मा पनि उत्तर जिल्लाकै युमथाङमा हिउँमा कविता आयोजना गरेको थियो। जो आफैमा एक रेकर्ड थियो। गुरुदोङ्मारमा भएको हिउँमा कविताले आफ्नै अर्को रेकर्ड कायम गर्‍यो। यसमा चिया कविता समूह हर्षित एवं आनन्दित छ। विस्तारै मई महिनाको 4, 5 अनि 6 हुँदै 10 तारिक भइसकेछ। 11 तारिक उत्तर सिक्किमको निम्ति प्रस्थान गर्ने पूर्व योजना। उत्तर सिक्किम जानको निम्ति प्रशासनको औपचारिकताहरू क्रमैले चिया कविता समूहले पूरा गरिसकेको थियो। बिहान 8 बजीभित्रमा उत्तर सिक्किमको निम्ति गान्तोक छोड्नु पर्ने सबैको सल्लाह।
रात 11 बजीसम्म काम गरेको थकान शरीर। प्यारो कान्छी निद्राले निक्कै च्यापेछ। भाइ जगनको फोन आउँदा बिहान पनि निक्कै छिप्पी सकेको थियो। पल्लो कोठामा भाइ सुदर्शन आफ्नै कान्छी निद्रासित निमग्न थियो। फोन बजेपछि उठाएर आउँदैछु भनेर मुख खोलेपछि मात्र मुख धुन लागेँ। निक्कै हतारका साथ सानो ब्यागमा तातो फेर्ने लुगाहरू खाँद-खुँद पारेर एक काँधमा झुण्ड्याएर बाहिर निस्केँ। उकालो नाक ठोकिने सिँडी फोक्सोले हावा तान्लाजस्तो भएपनि पाइलाहरू निक्कै स्पिड चलाएँ। एउटा ट्याक्सी रोकेर गान्तोकको एमजी मार्गतिर हानिएँ। देउराली पुग्दा कवि प्रवीण दाजुको अर्को कल बज्यो। उठाएर केही बात भएपछि एउटा गाड़ीको नेतृत्व मैंले गर्नुपर्ने बुझें। अरूहरू निक्कै अघि पुगी सकेका थिएँ। सायद उनीहरूको निम्ति यसचोटि म वेटिङ फर गोदोद् भएँ। एउटा गाड़ी हिँड़ी सकेको थियो। तीनवाट गाड़ी बजारमा थिए। बजार पुगेपछि सबै मिलाएर हिँड़ियो। डिस्ट्रिक्ट कोर्टको बाटो भएर टाशी भ्यू पोइन्टमा भेट्ने सबैको सहमति भयो। सबै गाड़ीहरू माथिल्लो बाटो बोझोघारी भएर गए, तर किन हाम्रो चाहिँ तल्लो बाटो गएको अझै बुझ्न सकेको छुइन। डिस्ट्रिक्ट कोर्ट के पुगेको थियो जाम लागेकोले फेरि फर्किएर उल्टा गुड़ाई हुनपर्‍यो बोझोघारीकै बाटो भएर।
बिहानीको टाशी भ्यू पोइन्ट निक्कै रोमाञ्चित थियो। केही खाने सूर। बोझोघारी फाटकबाट कवि गोपाल ढकाल अनि कवि, सम्पादक एवं राजनीतिज्ञ डीएन नेपाल पनि हाम्रो गाड़ीमा पसे। टाशी भ्यू पोइन्टमा सबै कवि साथीहरूसित भेट भयो। दार्जीलिङबाट आएका पूर्व परिचित कवि कमल भट्टराईसित केही क्षण भलाकुसारी गरें। कति चिनेका अनि कति टाशी भ्यू पोइन्टले देखेको नयाँ बिहानी जस्ता नयाँ अनुहारहरू, हल्लाहरू, खित्काहरू, औपचारिकताहरू, यस्तै-यस्तै हुँदै गर्दा मेरो खाजा आयो। तर्लङ्ग झोल भएको मटर र आलु मिसिएको सब्जीसित पुरी चबाउन थालेँ। गोपाललाई आँखाको ईशाराले नेपालको वीरगञ्ज यात्राको स्मरण गराएँ। शायद अमीर भण्डारी भए पनि उस्तै गर्थे होला। खाइसकेर सबैजना आ-आफ्नो गाड़ीमा बस्न थाले। गोपाल भाइ अनि म वाश रूम गएर फर्किएपछि दोकानबाट दुईवटा कोक किन्यौं। यति भएपछि गाड़ीमा गएर हामी पनि चुपचाप बस्यौं। हाम्रो गाड़ीमा कवि गोपाल ढकाल, कवि जगन दाहाल, आर.जे प्रबल, गोल्डन टिप्सका दुई अकवि मित्र र म थियौं। सबै गाड़ीहरू क्रमैले अघि बढ्न थाले। टाशी भ्यू पोइन्टको छातीमा सुतेको कालो अलकत्रे मार्गलाई चिर्दै हाम्रो गाड़ी पनि अघि बढ्न थाल्यो।
टिस्टाको काँधमा उभिएको मगन बजारलाई चिरेर अलिक पर पुगेर हामी अडियौं। एउटा कोक सकिसकेको थियो। एउटा अझै बाँकी। त्यहाँ एक-अर्कालाई पर्खियौं। केही फोटोहरू सम्झनको निम्ति खिच्यौं। होइन, अहिले मान्छेलाई फोटो छ भने मात्र सम्झाना आउँछ। प्रश्नहरू थिए मनमा मगनको चिसो बिहानी जस्तै। पुनः सबै भेला भयौं। गाड़ीहरूले हामीलाई बोकेर चुङ्थाङको लक्ष्य लिएर हिँड्यो। मगन पुगेपछि किन हो कुनी गजलकार जीविका खतिवड़ा अनि उनकी भदैनी रेनुका खतिवड़ा हाम्रो गाड़ीमा आउने भए अनि हाम्रो गाड़ीबाट गोल्डन टिप्सका मित्रहरू अर्को गाड़ीमा जाने भए। जीविका दिदी हाम्रो गाड़ीमा आएपछि ओठमा औपचारिकताहरू र मस्तिस्कमा संस्कारहरू कुदे। अघिसम्मको जुन अनियन्त्रित संवादहरू थिए, जुन खित्का अनि कुटिल वाक्यहरू थिए, सबैमा हड्ताल लाग्यो। एक प्रकारले हाम्रो गाड़ी संस्कारित बन्यो। विस्तारी हाम्रो गाड़ीलाई आदर्शले थिच्यो। जुन प्रकारले प्रकृतिसित रमाएर उन्मातमा फुलेको फूल राम्रो लाग्छ कहीँ कतै कृत्रिम रङहरू पोतिएको आभाष हामीमा नभएको होइन्। आर्दश अनि नियन्त्रित संवादहरूलाई घिस्याएर हाम्रो गाड़ीले मगनबाट टुङ-नागा हुँदै चुङ्थाङको बाटो समाति सकेको थियो।
कवि एवं कथाकार युवा बराल ‘अनन्त’-ले चुङ्थाङमा पर्खिरहेका थिए। उहाँ यो कार्यक्रमको मूल संयोजकका रूपमा रहेका छन्। प्रायः सबै प्रबन्ध अनि यात्राको खाका उहाँकै अवधारणा मानेको छ चिया कविता समूहले। चुङ्थाङ मात्र पुग्नु पर्ने भएकाले यात्राको गतिमा उति हतार थिएन। बस्ने व्यवस्था अनन्तज्यूले नै गर्नु भएको छ। चुङ्थाङदेखि राज्यको कानून व्यवस्था उति प्रभावकारी बन्दैन। त्यहाँको सामाजिक संरचना अनि सञ्चालन व्यवस्था भिन्नै प्रकारको छ। यी क्षेत्रहरूमा घुम्न अथवा प्रवेश गर्नको निम्ति ‘स्पिशेल पास’ बनाउनु पर्ने हुन्छ। जसको औपचारिकता पूरा भइसकेको छ। दिनको 4 बजीतिर हामी चुङ्थाङमा पुग्यौं। सबैजना गुरुद्वारामा भेला भएर को कहाँ बस्ने प्रबन्ध मिलाउन थाल्यौं। युवा दाजुले जोरले खट्नु हुँदैछ, सबैलाई सुविधा दिन अनि सबैमा सेवा पुर्‍याउन। सबैको बस्ने प्रबन्ध भइसकेपछि म, जगन अनि गोपाल होटलतिर लाग्यौं। अघिबाटै एचएम दाजु र खगेन्द्र दाजु गएर आफ्नौ संसार बनाउँदै रहेछन्। त्यो संसार निर्माण गर्ने प्रक्रियामा हामी पनि सामेल भयौं। साँझमा परिचय साट्ने, चुङ्थाङका कविहरूसित मिलेर कवि गोष्टी गर्ने कार्यक्रम पनि छ। त्यसमा जानको निम्ति संसार निर्माण गर्ने प्रक्रियालाई केही थाँतीमा राख्यौं।
परिचयहरू साटा-साट भइरहेको छ। दुई-चारजना चुङ्थाङका कविहरूका कविता सुन्यौ। खुब राम्रा कविता। उत्तरको सौन्दर्यझै सौन्दर्य भएका कविता, कही जीवनको सौन्दर्य, कहीँ समाजको सैन्दर्य भने कहीँ मनको सौन्दर्य। यस्ता तमाम सौन्दर्यहरूले बुनिएका कविताहरू सुन्ने क्रममा दार्जीलिङबाट आएका कविद्वय विनीता छेत्री अनि कमल भट्टराईले पनि कविता सुनाए। सिक्किमका कविहरू क्रमैले गोपाल ढकाल, जगन दाहाल, प्रवीण खालिङ, जीविका खतिवड़ा अनि म स्वयंले पनि एक-एकवटा कविता सुनाएका थियौं। यसैबीच कवि विनीता छेत्री अनि जगन दाहालमाझ कविताको विषयवस्तुमाथि केही तर्क पनि भएको थियो। अर्कातिर, यही क्रममा खाना पनि खाइसकेका थियौं। खाना खान बसेका के थियौं बिजुलीले चटक देखायो। केही देशी पर्यटक अनि केही हाम्रै मित्रहरू खाना खाने स्थानबाट उठेर भाग्न खोजे। गुरुद्वाराबाट दिएको सानो रुमालले टाउको छोपेका थियौं भने भान्सेले रोटी दिँदै आउँदा थाल अथवा प्लेट नथापेर हात थाप्नुपर्ने नियमलाई पालन गर्‍यौं। सिक धर्मावलम्बीहरूको मान्यताअनुसार कसैले केही दिँदैछ भने हात नै थाप्नु पर्ने हुन्छ होला, त्यही अनुरूप यो क्रमपनि सकियो। मज्जाले साधा दाल-भात अनि रोटी खाएर त्यहाँबाट निस्कियौं। बिहान 3 बजी नै चुङ्थाङलाई छोडेर गुरुदोङ्मारको यात्रा तय गर्नु थियो यसैले बेलुका छिट्टै सुत्ने सल्लाह भए तापनि कवि गोपाल अनि जगन भाइसितको गफ अनि छेड़-छाड़ले 12 त नाघि सकेको थियो। जबरजस्ती सुतेको के थियौं मोबाएलमा मसिन भाले बासी हाल्यो। उठ्यौं जसो-तसो अनि मुख-सुख धोएर तयार भयौं।
बिहनीको भुकभुकेमा चुङ्थाङलाई छोड़ेर गुरुदोङमारको निम्ति प्रस्थान गर्‍यौं। बिहानीको चिसोले निक्कै मज्जाले शरीरलाई स्पर्श गरिरहेको थियो। तर त्यो चिसो पनि आनन्दमय थियो। सबै हिजो आएकै गाड़ीमा बसेका थियौं। चाहँदा-चाहँदै पनि अर्को गाड़ीमा जान सकिएन। मन भएर पनि मनलाई टाल्न नसकेको अवस्था अनुभूत भइरहेको थियो। अनि आजसम्म त्यस्तै छ। बिस्तारै गाड़ीले अँध्यारोको पर्दा ओडेर निर्वस्त्र सुतेको सडकलाई चिर्दै अघि बढ़िरहेको थियो। कवि गोपाल, जगन अनि म आफै मगन थियौं। केही शरीरमा ऊर्जा नभएजस्तो, कतै टाउको दुखी रहेको जस्तो, यस्तै के-के अनुभूति अनि अफ्ठ्याराहरूलाई लिएर गाड़ीमा फेरि म निदाएछु। छेउमा भएका कवि गोपालले ‘हऊ उठौं’ भन्दा पो आँखा उघारेँ। बाहिर त उज्यालो खसिसकेछ। निक्कै समय पनि बितेछ। यतिखेर हामी थाङ्गुको आगानमा पोखिएका थियौं। थाङ्गुमा चिया-खाजा खाने प्रबन्ध गरिएको थियो। सबै नतङ्ग्रिएको पाड़ोजस्तो भएर आ-आफ्नो गाड़ीबाट उत्रियौं। ‘आइय्या...’ भन्दै सबैले आङ तन्कायौं। अनि एउटा दोकानभित्र पसेर चियाको ‘अर्डर’ दिएर त्यही दोकानको चुल्हामा घ्याक पसार्‍यौं। तातो चिया बनिन्दै थियो। खाजा पनि खाने सल्लाह भएपछि सुक्खा रोटी बनाउने कुरामा सहमत भयौं। भाइ जगनले आफै रोटी बनाउन अनि पोल्न थाल्यो। कति राम्रो दोकाने दिदी आफ्नो चुल्हामा मज्जाले अरूले बनाउँदा सहयोग दिने साथै चाहिने सर-सामाग्रीहरू ल्याइदिने, खुब फर्स्याइली। सबैले आ-आफनो जिउलाई तातो अनि अघाको बनाएर पुनः यात्रामा सामेल भयौं।
बिस्तारै हरिया डाँड़ाहरूलाई पछि पार्दै अघि बढिरह्यौं। हरिया पनि सेता पहाड़ अनि हिमालीय श्रृङ्खलाहरूलाई क्रमैले पछि पार्दै हाम्रो यात्रा अघि बढ़िरहेको छ। ठाउँ-ठाउँमा गुराँसले मुस्कुराएर स्वागत गरिरहेको थियो भने कति ठाउँमा प्रिमुला लाजले भुइँभरि पोखिएकी थिई। स्थान र परिवेशअनुसार फूलहरूको अर्थ र महत्व पनि फरक बन्दै जाँदोरहेछ जीवनमा। ठाउँ-ठाउँ हिउँजस्तै जमिएको अनि ठाउँ-ठाउँमा उत्ताउलो भएर प्रकृतिसित रोमान्स गर्दै बग्ने एउटा खोलाको किनार-किनारै हामी हिँडिरहेका थियौं। अन्तिम सीमा सुरक्षा बलको चेकपोष्टमा पुगेर कफी पिउने साथीहरूले मन बनाए। म र गोपाल भाइ गाड़ीको पछिल्लो सिटमा भएको हुनाले निस्कीन अल्छी भन्दा पनि चिसोको पीर लाग्यो। भाइ जगनले हामीलाई त्यहीँ कफी ल्याइदियो। तातो कफी पिउनुको आनन्द पनि यहाँ फरक थियो। सबैले कफी पिइसकेपछि फेरि हाम्रो यात्रा अघि बढ्यो। बिस्तारै अघिका हरिया अनि हिउँले ढाकेका सेता पहाड़ अनि हिमालहरू क्रमैले हराउँदै गए। हामी बिस्तारै चिसो मरुभूमीमा प्रवेश गरिसकेका थियौं।
चिसो मरुभूमीमा अर्कै आनन्द अनुभूत भयो। यता हेर्‍यो यतै राम्रो उता हेर्‍यो उता राम्रो। फोटो पनि कता कताको खिच्नु दोधार। प्रकृतिको सुन्दरताको साँचो अनुभूत भइरहेको अवस्थामा फोटो-सोटो खिचेनौं हामीले। तर, जीविका दिदी अनि उनकी भदैनीले भीडियो गरिरहेका थिए। दुईजनाले छेउ-छेउबाट यता र उताको भीडियो लिँदा बीचको जगन भाइलाई के भइरहेको थियो, गोपाल अनि मलाई कुरा काट्न मज्जा आएको थियो। अघिल्लो सिटबाट आर.जे. प्रबलले पनि गोपाल र मलाई साथ दिनु हुन्थ्यो। यस्तै रमाइला अनि कुरा काट्दा काट्दै गाड़ी गुरुदोङमार झीलको डिलमा पुगेर अड़ियो। केही क्षण हामी सबै गाड़ीभित्रै बस्यौं। केही क्षणमा निस्किएर झीलको दर्शन गर्‍यौ। श्रद्धा गर्‍यौं। नमन गर्‍यौं। देशी तथा विदेशी पर्यटकहरूको घुइँचो लागेको यो स्थान साँच्चै घरतीको स्वर्ग नै लाग्यो। अक्सिजनको कमी भएकोले सास फेर्न कठिनाई भइरहेको भएपनि कार्यक्रम गर्ने स्थान तयार गर्‍यौं। साथीहरू कता-कता फोटो खिच्न लागे, रहेकाले तयार गरेर कविता भन्ने शुरु गर्‍यौं। जोर-जोरले हावा चलिरहेको हुनाले फ्ल्याक्स ब्यानर मिलाउन भने गाह्रो भयो अनि हामीले हातले नै पक्रिएर अरूले कविता भन्ने व्यवस्था गर्‍यौं। यहाँ कवि दीपा राई, कमल भट्टराई, विनीता छेत्री, गोपाल ढकाल, म, जगन र अन्य केही कविहरूले मात्र कविता वाचन गर्‍यौं। किन भने कविताभन्दा निक्कै बोल्नुपर्ने अनि जोर दिनुपर्ने भएकोले अक्सिजन कम्ती भएको कारण अलिक तल झरेर अन्यले कविता भन्ने सल्लाह भयो। यसैबीच जीविका खतिवड़ा दिदीलाई साह्रो बनाएको रहेछ। उहाँ गाड़ीमा विश्राम गरिरहनुभएको थियो। यति गरेपछि सबै फर्कियौं। निक्कै तल झरेपछि एक ठाउँ पाइक परेको स्थानमा ढुङ्गामा ब्यानर टाँगेर फेरि अघि छोड़िएका कविहरूको कविता सुन्न पलैंटी कसेर बस्यौं। यहाँको कार्यक्रम सकिएपछि लाचेनमा दिउँसोको खाने प्रबन्ध भएकाले फर्किनतिर लाग्यौं।
जुहारी नेपालीहरूको साङ्गीतिक रोमान्स गर्ने एउटा माध्यम हो। फ्रकिन्दा कवि गोपाल ढकाल अनि म भएर कवि भाइ जगन दाहाल अनि रेनुका खतिवडालाई नायक नायिका बनाएर निक्कै जुवारी हाँक्यौं। जुवारीमा केही रमाइला अनि केही उत्ताउला शब्द अनि हरफहरूले नायक-नायिकाको अन्तर-कुन्तरलाई के असर गर्‍यो तर हामीलाई भने गाउनमा अर्कै मज्जा आएको थियो। लगभग दुई घण्टाको यात्रा जुवारीले कटायो। थाङ्गु आइपुग्दा जीविका दिदीलाई टाउको दुखेर निक्कै हैरान बनाएको थियो। यतिकै यात्रा अघि बढ़िरह्यो। हामीले सोच्यौं लाचेन पुगेर खाना खाएपछि ठिक हुन्छ। तर त्यसो भएन। यात्रा जारी छ। चुङ्थाङ आइपुग्दा थाम्न सक्नु भएन। केही बान्ता भएपछि दबाई-पानी दियौं। केही रमाईलो अनि केही खल्लो अनुभूत गर्दै टाशी भ्यू पोइन्टमा गोपाल झर्दा केही खल्लो भयो। जीवनमा यात्राले नयाँ केही न केही दिन्छ। केही नभए पनि एउटा रमाईले क्षण दिन्छ। शायाद त्यो यात्राको सम्झाना सबै कवि मित्रहरूमा आजीवन रहनेछ। अनुभव रहनेछ।
-(सोरेङ, पश्‍चिम सिक्किम)

Thursday, July 4, 2019

एक महिनासम्म थाहा नभएको कुरा

सत्तारुढ एसकेएम पार्टीले सरकारमा आएको एक महिनाभित्रमा 11 वटा उपलब्धिहरू प्राप्त गरिसकेको दावी गरिरहेको छ। यी 11 वटा उपलब्धिहरू कति मान्य छ या छैन, त्यो छुट्टै विषय हो। तर, 27 मईको दिन शपथ ग्रहण गरेको एसकेएम सरकारले 3 जूनको दिन विधानसभामा भएको ‘हुटिङ’ काण्डलाई लिएर अहिलेसम्म कुनै कार्वाही गर्न नसक्नुले एसकेएम सरकारको कानुन-व्यवस्थाप्रतिको दृष्टिकोणमा प्रश्‍नचिन्ह लाग्नसक्छ। एकातिर, एसकेएम सरकारले एसएनटी बसमा कन्डकटरहरूलाई सिट उपलब्ध गराउनु र राष्ट्रिय संस्कृत संस्थानअन्तर्गत 170 जनालाई नियुक्ति दिइएको कुरालाई पनि सरकारको उपलब्धि मानिरहेको छ।
यसअघि एसडीएफ सरकारले ‘एक परिवार एक नोकरी’ योजना शुरू गर्दै दिएको नोकरीमा प्रतिव्यक्ति प्रतिमहिना नौ हजार रुपियाँ वेतन दिएको कुरालाई राज्यभरि नै विरोध जनाइएको थियो। एसकेएम पार्टीले पनि त्यसलाई शैक्षिक योग्यता र वेतन स्तर नमिलेको आरोप लगाइरहेको थियो। यहाँसम्म कि निजी कम्पनीहरूमा कार्यरत कर्मचारीहरूको वेतन पनि 20 हजार रुपियाँ हुनुपर्ने र आफ्नो सरकारले त्यो गराउने जनतालाई वचन दिएको थियो। अहिले आएर राष्ट्रिय संस्कृत संस्थानअन्तर्गत राज्यमा 170 जना संस्कृतका शिक्षक नियुक्ति गरेको दावी गरिरहेको छ। यसमा प्रश्‍न आउँछ, यी  170 जना शिक्षकलाई नियुक्ति  पत्र प्रदान गर्ने राज्य सरकारको मानव संसाधन विकास विभाग एउटा नोडल विभाग हो कि राज्य सरकारले नै यो नियुक्ति दिएको हो? अर्को कुरा, ‘एक परिवार एक नोकरी’ योजनाअन्तर्गत नौ हजार रुपियाँ प्रतिमहिना वेतन दिँदा विरोध जनाउने एसकेएम पार्टीले अहिले उसो भए संस्कृत शिक्षकहरूलाई किन आठ हजार रुपियाँ मात्रै वेतन दिने भएको हो? यदि यो वेतन राष्ट्रिय संस्कृत संस्थानले दिने हो भने यसमा एसकेएमले 20 हजार रुपियाँ वेतन हुनुपर्छ भनेर किन दवाब दिँदैन?  कि त उच्च र उच्चत्तर माध्यमिक तहका शिक्षक-शिक्षिका योग्यता, वेतन स्तर आठ हजार रुपियाँ कै हो त! त्यति मात्रै होइन, नियुक्ति पत्र दिँदा यदि संस्थानले वेतन नदिएको खण्डमा मानव संसाधन विकास विभागले जिम्मेवारी नलिने कुरासम्म उल्लेख गरिएको कुरा पनि प्रकाशमा आइरहेको छ।
एसकेएम पार्टीले सरकारमा आउनअघि ‘10 दिनमै लिम्बू-तामाङलाई सीट दिलाउँछौं’ भनेर दिएको वचन पूरा गरेको भए त्यसलाई वचनको पक्का र सरकारको उपलब्धि मान्नसकिन्थ्यो। खै त गरेको? 3 जूनको दिन विधानसभामा दर्शकदीर्घाबाट एसडीएफ अध्यक्ष र विधायकहरूविरुद्ध भएको ‘हिटुङ’ सम्बन्धी त्यसै दिन मुख्यमन्त्री पीएस गोलेले ‘त्यो मलाई थाहा भएन, यदि त्यस्तो भएको रहेछ भने कानुनी कार्वाही गरिनेछ’ भनेका थिए। त्यसबाहेक पनि एसडीएफ अध्यक्षद्वारा विधानसभाको सो घटनालाई लिएर कार्वाहीको माग गरिसकेका हुन्। अहिलेसम्म त्यसको कुनै अत्तोपत्तो छैन। विधानसभाजस्तो गरिमामय स्थानमा भएको घटनालाई लिएर अहिलेसम्म सरकार किन चुचाप छ? त्यो अहिलेसम्म थाहा पाउन सकिएको छैन। कि त 3 जूनको दिन विधानसभाबाट बाहिरिने बित्तिकै पत्रकारहरूले सोधेको प्रश्‍नमा मुख्यमन्त्री पीएस गोलेद्वारा भनिएको ‘त्यो मलाई थाहा भएन’ जस्तै अहिलेसम्म विधानसभाभित्र ‘हुटिङ’ गर्ने उद्रवीहरू को हुन् भन्ने थाहा पाउनै नसकिएको हो कि। यसबाट विधानसभाभित्र भएका गतिविधिहरूमाथि कुनै निगरानी नै राख्न सकिन्न कि? यदि त्यो हो भने त भविष्यमा पनि यस्ता घटना हुन सक्दैन भन्न नसकिएला त? यो प्रश्‍न सबैको मनमा उठेको हुनुपर्ने हो।-28.06.2019

गान्तोकको ट्राफिक समस्या

राजधानी गान्तोकमा रहेका विभिन्न समस्याहरूमध्ये ट्राफिक समस्या समाधान पनि वर्तमान सरकारको निम्ति एउटा मुख्य चुनौती बनिरहेको छ। घरिघरि धेरैतिरबाट सरकारले ट्राफिक समस्या समाधान ननिकाले आरोहरू आइरहेका भए पनि प्रतिदिन, प्रतिवर्ष वाहनहरूको बढ्दो संख्या यसका मुख्य कारण सर्वविदित विषय हो। समयानुसार विभिन्न पक्षबाट विभिन्न सुझाउहरू नआएका होइन् गान्तोकको ट्राफिक समस्या समाधानका लागि। तर, जसले जतिसुकै समाधानका उपायहरू औंल्याउने भए पनि उसैले त्यसलाई पालना नगरेसम्म समाधान हुन नसक्ने जो-कोहीले पनि बुझ्ने विषय हो। वर्तमान एसकेएम सरकार यो समस्या समाधानका लागि कति खरो उत्रने हो, त्यो समयले बताउला। यद्यपि, ‘सरकार गठनको 10 दिनभित्र लिम्बू-तामाङ सीट दिलाउनछौं’ भनेर दिएको वचन पूरा गर्न नसके पनि सरकार गठन गरेको 10औं दिन पूरा भएको भोलिपल्टै गान्तोकको ट्राफिक समस्याको चुनौतीलाई सम्बोधन गर्नका लागि भने मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा एउटा सभा आयोजनासम्म गरिसकिएको छ। सत्तामा पुग्नअघि जनसमुदायसमक्ष राखेका राज्य तथा केन्द्रियतहसम्म पुर्याउनुपर्ने मुद्धाहरूमाथि कुनै पहल नभए पनि कम्तिमा राज्यको राजधानी गान्तोकले झेलिरहेको ट्राफिक समस्यालाई मुख्यमन्त्रीले सम्बोधन गरिसकेका छन्। 7 जूनको दिन सम्पन्न सभाले कतिसम्म सकारात्मक परिणाम दिने हो, त्यसको आमजनताले प्रतीक्षा गर्नैपर्ने हुन्छ।
पूर्व सरकारकाल मै रानीपुलदेखि सियारी हुँदै गान्तोक निस्कनसक्ने, रानीपुल नजिकको रुम्तेक फाटकदेखि अदमपुल-रे-रानीखोला हुँदै सिच्छे भएर राङ्का खेलगाउँ भएर गान्तोक निस्कने र अर्को सिच्छे हुँदै गान्तोक निस्कन सकिने सडक मार्गको कार्य शुरू गरिसकेको हो। गएको 7 जूनको दिन शहरी विकास एवं आवास विभागका मन्त्री अरूण उप्रेती, ग्रामीण प्रबन्धन एवं विकास विभागका मन्त्री सोनाम लामा, मुख्य सचिव एके श्रीवास्तव, अतिरिक्त मुख्य सचिव एससी गुप्ता, डीजीपी एसडी नेगी, विशेष डीजीपी ए. सुधाकर राव, डीआइजी रेञ्ज डीबी गिरी, सचिव सीएस राव, सचिव गंगा प्रधान, ट्राफिक एसपी छिरिङ नामग्याल ग्याछो, मुख्य अभियन्ता एलडी लाम्टा आदिको उपस्थितिमा बसेको सभाले सोही मार्गहरूलाई चाँडो सुचारु गराउने कुरामा बल दिएको छ। यसका साथै मुख्यमन्त्री प्रेमसिंह तामाङले ट्राफिक समस्या समाधानका वैकल्पिक उपायहरू खोजी निकाल्नुपर्ने सुझाउ पनि राखेका छन्।
गान्तोक वरिपरिका सडकमार्ग र ट्राफिक समस्यालाई छाडेर पनि राज्यभरि कै सडकमार्गको दुरावस्था रहेको घरिघरि आरोप लगाइरहने एसकेएम अहिले सत्तामा आएपछि यी कुराहरूलाई सरकारले सम्बोधन गर्दै लाने जनताले विश्‍वास गरिरहेका छन्। जनताको काम हुने विश्‍वासमा नै जनताले सरकारमा पुर्याएका छन् एसकेएमलाई। यही सन्दर्भमा काम पूरा गर्ने समय सीमाभित्र काम पूरा नगरेको खण्डमा जरिमाना जस्ता विषयहरू उठान गरिएका छन्। ट्राफिक सममस्या समाधानका लागि सभामा उठाइएका उपायहरूमध्ये ‘सरकारी कर्मचारीहरूका निम्ति सरकारी बसहरू चलाउनु’-लाई यदि व्यवहारमा उतार्न सके सरकारको त्यो पहल साँच्चै सराहनीय रहनेछ। यद्यपि, प्रत्येकजसो सरकारी अधिकारी तथा कर्मचारीहरूले सरकारी वाहन नपाउनेहरूले पनि निजी वाहनहरू जसरी चलाइरहेका छन्, त्यसमा पनि रोक लगाउनु जरुरी हुन्छ।
यद्यपि, मुख्य सचिवद्वारा ट्राफिक समस्या समाधानका लागि रोपवे, सिटी बस सञ्चालन, केही घण्टाको निम्ति निजी वाहनहरूको सञ्चलनमाथि रोक आदि उपायहरू अपनाउन सकिने सुझाउ राखिएका भए पनि हप्तामा एक दिन स्कूल र कार्यालय हिँडेर जाने जुन सुझाउ राखिएका छन्, त्यो कतिसम्म सम्भव होला? अहिलेलाई केवल नयाँ सरकारमाथि जनताले आशा गर्नसक्छन् कि कम्तिमा गान्तोकको ट्राफिक समस्यासम्म भए पनि सम्बोधन गरिरहेको छ। नभए सत्तामा आउनअघि जनतासामु जुन-जुन वचनहरू दिँदै आइरहेको थियो पार्टीले, ती मुद्धाहरूमाथि सरकारले कतिसम्म पहल गरिरहेको छ, त्यो चिन्तनीय विषय छ। त्यतिमात्र होइन, विधायकहरूको शपथ ग्रहण समारोहको समय भएको भएको हो-हल्ला र अपशब्दको प्रयोगलाई लिएर विधानसभाबाट बाहिरिने बित्तिकै पत्रकारहरूले प्रश्‍न राख्दा मुख्यमन्त्री तामाङले ‘त्यो मलाई थाहा भएन’ भनेर हास्यस्पद प्रत्युत्तर दिएका थिए। त्यसअघि नै राज्यपालबाट आफू मुख्यमन्त्री बन्नसक्ने विश्‍वासमत पाएर राजभवनबाट बाहिरिँदा उनको पार्टीले जनतालाई दिएको वचनहरूमाथि पत्रकारहरूले गरेको प्रश्‍नको पनि ठोस जवाब दिन सकेका थिएनन्।
यस्तोमा अब क्यानसर अस्पताल, 50 हजार बेरोजगारहरूलाई नोकरी, तीनमहिनाभित्र एमआर कर्मचारीहरूलाई स्थायीकरण जस्ता धेरै मुद्दाहरूमाथि दिएका वचनहरू पनि पूरा गर्दै लैजाला त। यसपछिको अर्को समस्या के भने, माथि उल्लेखित विषयहरू निश्‍चितरूपमा राज्यलाई आर्थिक बोझ बढ्ने विषयहरू हुन्। सत्तामा आउनअघि नै यी सबै बुझिसकेको एसकेएम पार्टीले कुन आधिरमा माथिका मुद्धाहरूमाथि जनतालाई आश्‍वाशित गराएको थियो, त्यो पनि बुझ्नुपर्ने विषय छ। किनभने, वर्तमान मुख्यमन्त्री स्वयंले दुईदिनअघि मात्रै प्रधानमन्त्री र केन्द्रिय मन्त्रीहरूसितको भेटमा सिक्किमलाई अघिबाटै 8 हजार करोड आर्थिक बोझ रहेको उल्लेख गरिसकेका छन्। यसका साथै राज्यलाई थप चारहजार करोडको वित्तीय सहायता माग्नु पनि राज्यलाई अझ आर्थिक भार थपिनु होइन र! अतः यहाँ स्पष्ट हुन्छ कि आफैले उठाएका मुद्धाहरू अनि जनतालाई दिएका वचनहरू एसकेएमका लागि आफैले खनेको खाडलसरि भइरहेको छ। जे होस्, अहिलेलाई कम्तिमा गान्तोकको ट्राफिक समस्या भने समाधान हुने आशा गरौं।-14.6.19

कालो अध्याय : सिक्किमको भविष्य कतातिर!

सिक्किमको राजनीतिमा अहिले सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) र सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) माझको द्वन्द्व निक्कै नि चुलिँदै गएको छ। 2009-को लोकसभा तथा सिक्किम विधानसभा चुनाउपरिणाम पश्‍चात मन्त्रीमण्डल वितरणपछि बसेको विधानसभाबाट तत्कालीन एसडीएफ पार्टीका विधायक पीएस गोलेले ‘वकआउट’ गरेका थिए। त्यही समयदेखि एसडीएफ पार्टी र सरकारमाथि विभिन्न दोष औंलाउँदै आइरहेका गोलेले 2013-मा एसकेएम पार्टी गठन गरेका हुन्। पार्टी स्थापनाको 6 वर्षपछि अहिले सत्तामा पुगेको एसकेएम र 25 वर्षसम्म सत्तामा रहेर अहिले विपक्षीको  भूमिकामा रहेको एसडीएफबीच जुन द्वन्द्व चलिरहेको छ, त्यसले सिक्किम र सिक्किमेली जनतालाई कतिसम्म फाइदा हुनसक्ला, चिन्तनीय विषय बनिरहेको छ।
25 वर्षपछि पनि एसडीएफ पार्टी यतिछिटै सत्ताच्युत हुने न त पार्टी कार्यकर्ताहरूले सोचेका थिए, न त सिक्किमेली जनसाधारणले नै। किनभने एसडीएफ पार्टीले दशौं विधानसभा चुनाउमा हारको सामना गर्नु परेपनि सत्तामा पुगेको एसकेएमको भन्दा 0.60 प्रतिशत अधिक मत प्राप्त गरेको थियो। एसकेएम अध्यक्ष पीएस गोलेले चुनाउ नलडी नै मुख्यमन्त्रीको पदभार सम्हाल्न थालेपछि ‘गोलेले 2024 सम्म न त चुनाउ लड्नु पाउँछ, न त मुख्यमन्त्री नै हुन पाउँछ’ भन्दै आइरहेको एसडीएफले पीएस गोले मुख्यमन्त्री हुनु असंवैधानिक रहेको ठहर गरिरहेको छ। त्यसैले पूर्वमुख्यमन्त्री एवं एसडीएफ अध्यक्ष पवन चामलिङले 3 जून 2019-को दिन शपथग्रहणपछि मुख्यमन्त्रीको विरोध गर्दै विधानसभाबाट ‘वकआउट’ गरेका थिए।
1993-मा प्रजातन्त्रको खोजी गर्ने उद्देश्यमा गठित एसडीएफका नेता पवन चामलिङले विधानसभाबाट ‘क्याण्डल’ बालेर निस्किएका थिए। यसपटक त्यही प्रजातन्त्रको अवमानना भएको बताउँदै 3 जून 2019-को दिन चामलिङले विधानसभाबाट ‘वकआउट’ गरेका हुन्। उनले सिक्किम विधानसभामा एसकेएम समर्थकहरूले जसरी ग्यालेरीबाट आफूहरूमाथि अपशब्द गरेका थिए त्यसबाट विधानसभाको गरिमा र मर्यादामा पनि ठेस पुगेको बताउँदै यहिँबाट ‘कालो अध्याय’-को शुरुवात भएको पनि बताएका छन्। यसले सिक्किमको राजनीतिले कुन मोड लिँदैछ भन्ने स्पष्ट पार्दछ भने अब सिक्किमको भविष्य कस्तो हुने हो त? भन्ने एउटा ठूलो प्रश्‍न चिन्ह पनि राखिदिएको छ।
यहाँ स्मरणयोग्य विषय यो छ कि, 3 जून 2019-को दिन सम्पन्न विधानसभामा एसकेएम समर्थकहरूले जसरी पूर्वमुख्यमन्त्रीविरुद्ध अपशब्दहरू प्रयोग गरेका थिए, सदनका नेता तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)-ले त्यो नसुनेको वयान दिएका छन्। पहिलो कुरा त विधानसभाभित्र जो-कोहीलाई पस्ने अधिकारसम्म छैन, पसिसकेपछि त्यसभित्रको गरिमा र मर्यादालाई ख्याल राख्दै चौकीमा बस्दासम्म पूर्णरूपमा अनुशाषित रहनुपर्ने हुन्छ। एकातिर यस्ता कुराहरू केही नबुझेकाहरूलाई विधानसभामा पस्न दिनु नै पहिलो समस्या देखिन्छ भने अर्कोतिर विधानसभाभित्र भएका सम्पूर्णले सुनेका कुरालाई विधानसभाका नेताले कसरी सुनेनन्? यो एउटा हाँस्यसपद कुरा हो। किनभने विधानसभापछि ‘सोसल मीडिया’-हरूमार्फत विधानसभाभित्र अपशब्द प्रयोग गरिएको मुख्यमन्त्री गोलेले ‘त्यो मलाई थाहा भएन’ भनेका छन्।
एसडीएफ अध्यक्ष पवन चामलिङले घरिघरि ‘गुण्डा पार्टी’ भन्दै आएका छन्। एसकेएमले त्यही कुराको घरिघरि विरोध गर्दै आइरहेको भए पनि स्वयं एसकेएम पार्टीका समर्थकहरूले विधानसभाजस्तो पवित्र स्थानमा चरितार्थ गरिदिएका छन्। किनभने विधानसभा ‘वकआउट’-को यो पहिलो इतिहास होइन। माथि उल्लेख गरिसकियो कि एसकेएम अध्यक्ष पीएस गोलेले पनि 2009-मा कालो पट्टी बाँधेर निस्किएका थिए। विगतका वकआउटमा कुनै पार्टीका समर्थकहरूले कुनै अपशब्द प्रयोग गरेका थिएनन्। यद्यपि, यसपटक एसडीएफ अध्यक्षले ‘जबसम्म एसकेएम अध्यक्ष मुख्यमन्त्री अथवा सदनका नेता रहन्छन् तबसम्म हामी विधानसभा पस्नेछैनौं’ भनेर निस्कँदा एसकेएम समर्थकहरूबाट अपशब्द प्रयोग भयो। उनीहरूको यस्तो व्यवहारले ‘सिक्किमको इतिहासमा एउटा कालो अध्याय शुरू भएको एसडीएफ अध्यक्षको भनाई छ, जुन अध्याय स्वीकार गर्न सकिन्न। त्यसैले अब सिक्किमको भविष्य कतातिर जाँदैछ, त्यो सोच्न सबैलाई बाध्य गराएको छ।-7.6.19

कथनी, करणी र पार्थक्य

12 दिसम्बर 1994-मा पहिलोपल्ट सरकार गठन गर्न सफल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) 17औं लोकसभासितै 10औं विधानसभा चुनाउमा केवल दुई आसनको अन्तरले पराजित भएपनि आफ्नो कार्यकालमा धेरैवटा रेकर्डहरू बनाएको छ। 4 मार्च 1993-मा स्थापित एसडीएफ पार्टीले आफ्नो 25 वर्षे कार्यकालमा देश-दुनियाँमा सिक्किमलाई जुन उचाईमा पुर्याएको छ, त्यो सराहनीय मात्र नभएर जो-कोहीको सरकारमा सम्भव हुनु गाह्रै छ। कम्तिमा अहिलेसम्म भारतीय राजनीतिक इतिहासमा त हुनसकेको छैन। यसबाट बुझ्नसकिन्छ कि एसडीएफ पार्टीको सरकारले जनताका लागि कतिसम्म काम गरिरहेको थियो। उदाहरणका लागि राज्यमा स्थापित शान्ति-शृङ्खला, सुख-सुविधा र सुरक्षालाई लिनसकिन्छ। अर्को कुरा, पाँचपल्टसम्म निरन्तर एउटै पार्टीको सरकार बन्नुमात्रै पनि आफैमा एसडीएफको ऐतिहासिक पक्ष हो।
संसारमा कुनै पनि पार्टी त्यस्तो छैन, जसले युगौंसम्म सरकार बनाइरहेको होस्। त्यसैले परिवर्तन अर्को सत्य हो। एसडीएफपछि  अहिले 4 फरवरी 2013-मा स्थापित सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-ले सरकार गठन गरेको छ। परिवर्तन कै नारा लिएर मैदानमा उत्रिएको एसकेएमको सरकार आउनुलाई अहिले केवल परिवर्तनको परिभाषामा राख्न सकिन्छ। वास्तवमा परिवर्तन के का लागि? भन्ने प्रसङ्गलाई भने अहिले जनताले पनि त्यति गम्भीरतापूर्वक नलिएका हुनसक्छन्। 11 अप्रेल 2019-मा भएको चुनाउको मतगणना 23 मई 2019-मा भएको थियो। सो मतगणनाअनुसार जनताले 17 आसनमा एसकेएमलाई विजयी गराएका हुन्। एसकेएमले सरकार गठन गरेको भए पनि यहाँ ध्यान दिनु विषय यो छ कि समग्र सिक्किमको एक-एक मतलाई हेर्ने हो भने अहिले पनि एसडीएफलाई माया गर्नेहरूको संख्या अधिक देखिन्छ। यसपालीको मतगणनाअनुसार एसडीएफलाई 47.63 प्रतिशतले मतदान गरेका छन् भने एसकेएमलाई 47.03 मत प्राप्त भएको छ। अर्थात, एसकेएमलाईभन्दा एसडीएफलाई 0.60 प्रतिशत अधिक मत प्राप्त भएको छ। यस अर्थमा एसकेएमलाईभन्दा एसडीएफलाई मनपराउनेहरूको संख्या अहिले पनि अधिक रहेको स्पष्ट छ।
25 वर्षे एसडीएफ सरकारमा धेरैको आरोप रहेको थियो, एसडीएफले राज्यको विकासमा गति ल्याउन सकेन, सार्वजनिक पूर्वाधार विकास गर्न सकेन, राज्यमा बेरोजगारीहरूको संख्या बढ्दो छ, सरकारले रोजगारका अवसरहरू सिर्जना गर्नुपर्ने, सकेन। यद्यपि, एसडीएफ सरकारले के-के गरेको छ, रोजगारको अवसर र स्वरोजगारका उपायहरूका लागि के-केसम्म गरेको छ भन्ने कुरा अहिले पनि प्रत्यक्ष छँदैछ। 1993-सम्म सिक्किमको लिटरेशी रेट कति थियो, कतिवटा स्कूलहरू, कलेजहरू, विश्‍वविद्यालयहरू थिए, सडक कति किलोमिटर थियो, सरकारी कर्मचारी कति थिए, राज्यमा वाहनहरू कतिवटा चल्दथ्यो, कतिवटा बिल्डिङ वा ठूला भवनहरू थिए र कतिवटा सिरूले छाइएका घरहरू कति थिए अनि अहिले यी सबैको संख्या कति-कति पुगेको छ? त्यसको आँकडामा तुलनात्मक दृष्टि पुर्याउनसके खुलस्त भइहाल्छ। यद्यपि, प्रजातान्त्रिक प्रणालीमा जनता सर्वोपरि रहन्छन्। जनताको निर्णय अन्तिम हो। जनताले परिवर्तन चाहेका थिए। त्यसैले सत्ता परिवर्तन भयो। यसलाई सबैले स्वीकार्नुपर्छ।
अब, सत्तामा आउनअघि परिवर्तन कै नारा लिएर, जनताको काम गर्ने वचन दिएर अनि जनताकै पक्षमा विभिन्न मुद्दाहरू राख्दै आश्‍वासन दिँदै आइरहेको एसकेएम पार्टीलाई सत्ताको वागडोर सम्हाल्ने जिम्मेवारी जनताले दिइसकेको छ। अब मन्तव्य दिनु र कर्तव्य पूरा गर्नुमा सामञ्जस्यता कतिसम्म राख्नसक्ला एसकेएमले? त्यो एउटा चाखलाग्दो विषय बनिरहेको छ। किनभने राज्यमा निक्कै चुलिएको मुद्दा लिम्बू-तामाङको मुद्दा थियो र छ। सरकार गठन गरेको दश दिनभित्र लिम्बू-तामाङको सीट दिलाउने कुरा एसकेएमले जनतासामु चुनाउअघि नै राखिसकेको हो। मिन्तोगाङमा क्यानसर हस्पिटल बनाउने, एकसय दिनभित्र सबै एमआर कर्मचारीहरू, एडहक शिक्षक-शिक्षिकाहरूलाई स्थायीकरण गर्ने जस्ता विषयहरू अहिले सामाजिक सञ्जालहरूको माध्यमद्वारा पनि उठाइँदै छन्। यस्ता तमाम मुद्दाहरूमाथि जुन ढडास दिएको छ एसकेएम पार्टीले, के ती सबैमाथि सरकार खरो उत्रनसक्लान? 25 वर्षे शासनकालमा एसडीएफ सरकारले गरेका कार्यहरूभन्दा माथि उठेर जनताको मन जित्न सफल बन्नसक्ला एसकेएम पार्टीको सरकार? यो पनि चिन्तनीय विषय छ। अर्को कुरा एसकेएमको सरकारले 25 वर्षसम्म जनताको मनमा बसिरहन सक्ला त! धेरैले भन्ने गरेका छन्, समय बलवान् छ। त्यसैले समयसितै चल्ने परिवर्तनलाई रोकिरहन कसैको वशको विषय होइन। यद्यपि, एसकेएमले आफ्नो कथनीलाई करणीमा परिणत कसरी गर्दैलाने हो अथवा दुईबीचको पार्थक्य छुट्याउने हो, त्यो पनि समयले नै बताउने छ।-31.05.2019