चिया अनि पर्यटन उत्सव र हाम्रो जिम्मेवारी
सम्पूर्ण पहाडवासीदेखि देशी -विदेशी पर्यटकहरूको मन जित्न सफल चिया अनि पर्यटन उत्सव समापन भइसकेको छ। विभिन्न आकर्षक कार्यक्रमहरूका साथमा आयोजित यस उत्सवले सॉंच्चै सबैको मन जितेको कुरामा दुइमत छैन। दार्जीलिङको 17 दिवसीय चिया अनि पर्यटन उत्सव र मिरिकमा आयोजित 5 दिवसीय चिया अनि पर्यटन उत्सवले सबैको ध्यान यतिखेर दार्जीलिङ पहाडतिर आकर्षित गराएको छ। यो आयोजक समिति पक्षको ठूलो सफलता हामीले स्वीकार्नु पर्छ। त्यसैले चिया अनि पर्यटन उत्सव-को आयोजक समितिका सम्पूर्ण सदस्यवर्ग बधाइका पात्र बनेका छन्।
20 दिसम्बर 2011 देखि शुरु गरिएको यो उत्सव 5 जनवरी 2012-को दिन पूर्णरूपमा सफलतापूर्णक समापन भइसकेको छ। यद्यपि, दार्जीलिङ पहाडमा अहिले पनि चिया अनि पर्यटन उत्सव-को चर्चा मानिसहरूको मुखमा झुण्डिरहेकै छ। मानिसहरूको मनमा एउटा छुट्टै स्थान बनाएको छ चिया अनि पर्यटन उत्सव-ले।
चिया अनि पर्यटन उत्सव-ले सम्पूर्ण पहाडवासीका साथमा सिने कलाकार, खेलडी-खेलप्रेमी, साहित्यकार, गीत-सङ्गीतकार, प्रतिभाशाली र आम नागरिक तथा देशी-विदेशी पर्यटकहरूको मन जित्नु भनेको मात्रै चिया अनि पर्यटन उत्सव-को निम्ति महत्व राख्दैन तर समग्र पहाडकै निम्ति चासोको विषय हो, सरोकारको विषय बन्दछ। समग्र पहाडको सरोकारको विषय भनिसकेपछि समग्र पहाडको विकाससित जोडिएको विषय पनि मान्न सकिन्छ। चिया अनि पर्यटन उत्सव-को उद्देश्य भनेको पनि यही हो।
आफ्नो अस्तित्व अनि सामाजिक विकास मानव जीवनमा दुइ कुरा पहिलो विशेषता बन्दछ। पहाडमा पनि अहिले अस्तित्व र विकास दुवैको होडबाजी जस्तो चलिरहेको प्रै छ। पहिलो समग्र भारतीय नेपालीको अस्तित्वको लडाईं। अर्को समग्र पहाडको विकास कार्य। सयवर्षभन्दा लामो आफ्नो अस्तित्वको लडाईं गोर्खाल्याण्डको कुरा नगरेर यहॉं समाज उत्थान विकासकै कुरा गर्नु हो भने पनि यो उत्तिकै आवश्यक छ। त्यसको निम्ति दार्जीलिङ पहाडको सन्दर्भमा चिया अनि पर्यटन यी दुवै कुराले अति महत्व राख्दछ। त्यसैको सकरात्मक पहल मान्न सकिन्छ चिया अनि पर्यटन उत्सव-लाई जो भर्खरै सम्पन्न भइसकेको छ। कारण, दार्जीलिङको पहिलो आयश्रोत भनेको नै चिया उद्योगलाई लिन सकिन्छ। चियाकै नामद्वारा दार्जीलिङको नाम विश्वबजारमा रहेको छ। चियासितै पर्यटन उद्योग अर्को श्रोत हो पहाडमा जस्को प्रकृतिक सुन्दरताले विश्वलाई मोहित गराइरहेको छ। अतः यी दुवैलाई विकसित गराउनु नै चिया अनि पर्यटन उत्सव-को मुल उद्देश्य रहेको प्रै बुझिन्छ।
चिया अनि पर्यटन उत्सव आयोजन समितिले जुन पहल गऱ्यो, त्यो सराहनीय छ। यदि सॉंच्चै भर्खरै सम्पन्न चिया अनि पर्यटन उत्सव-लाई सफल तुल्याउनु हो भने जिम्मेवारी सकिएको बुझिँदैन अझै। उत्सव समितिको उद्देश्य र लक्षलाई सफल बनाउन सम्पूर्ण पहाडका आम नागरिकदेखि प्रशासनिक पक्षले पनि उत्तिकै जिम्मेवारी वहन गर्नुपर्छ। कर्तव्य आफै बुझेर त्यसलाई कार्यमा उतार्नुपर्छ। नभए दार्जीलिङ जिल्ला प्रशासन, दार्जीलिङ गोर्खा पार्वत्य परिषद, गोर्खा जनमुक्ति मोर्चा र कर्पोरेट हाउसहरूको सामूहिक पहल चिया अनि पर्यटन उत्सव रातभरि रुँग्यो बुढी त जिउँदै नहोला भन्न सकिन्न।
दार्जीलिङ टी अथवा दार्जीलिङ चियाको आफ्नै पहिचान छ, छुट्टै विशेषता विश्व चिया बजारमा। तर अहिले एकातिर दार्जीलिङ टी-को लोगोमाथि प्रश्न खडा भइरहेको छ भने चिया कर्मचारीहरूको रोजगारी विषय घरिघरि समस्या उत्पन्न भइरहेको छ। चिया कमान मालिकपक्षको आफ्नै अडान छ, सङ्गठनको आफ्नै। त्यसैले यदि दार्जीलिङ चियालाई विश्व बजारमै अझ लोकप्रिय बनाउनलाई यी सबै कुराको ध्यान दिन आवश्यक देखिन्छ।
पहाडमा चिया र पर्यटन झण्डै-झण्डै एउटै शिक्काका दुइ पाटा सरह देखिन्छन्। कारण, यहॉंको प्राकृतिक सुन्दरतामध्ये एउटा हरियाली चियाबारीलाई पनि लिनसकिन्छ। उसो त अग्ला-अग्ला पहाडदेखि चिसो वताससितै सबैलाई मन्त्रमुग्ध पार्ने कञ्चनजङ्घको मनोरम दृश्य, विश्वप्रसिद्ध टाइगरहिबाट चिसो विहानीसितै देखिने सूर्योद आदि पर्यटकहरूका निम्ति आकर्शनकै केन्द्रहरू हुन्। तर चियाबारीको पनि आफ्नै विशेषता छ। यी सबैको एउटै उद्देश्य पर्यटकहरूलाई ल्याउनु हो।
अर्कोतिर, शहरमा मानिसहरूको खचाखच भीड, वाहनहरूको लापरहावीपूर्वक पार्किङ अथवा पार्किङ समस्या, जताततै फोहोर, मैला-कुचैला, अत्याधिक ठूल-ठूला र अवैध भवन निर्माण अनि सबैभन्दा जटील बन्दै गइरहेको पानीको समस्या। हुन त पानीको समस्या समाधानार्थ केन्द्र सरकारद्वारा 155 करोड रुपियॉं अनुमोदन भइसकेको छ। नगरपालिकाको नयॉं बोर्डले अवैध भवनहरूविरुद्ध पनि कडा कदम चाल्ने बताइसकेको छ। दार्जीलिङलाई फोहोर-मैलामुक्त बनाउने ध्येयलेनै नगरपालिकाले कदम चालिसकेको छ।
यी सबै त भए प्रशासनिक पहल। यसलाई सफल बनाउन प्रशासनिक पक्षको मात्र पनि जिम्मेवारी होइन। यसमा आम नागरिकले पनि सहयोग पुऱ्याउनु पर्ने हुन्छ। नभए जुन उद्देश्य र लक्ष लिएर चिया अनि पर्यटन उत्सव आयोजन गरियो त्यसको मूल्य-महत्व कतिसम्म रहला, एउटा प्रश्नचिन्ह छ सबैको निम्ति। 06.01.2012
No comments:
Post a Comment