पाँच अप्रेल : पहाडको राजनीतिमा नयाँ मोडको आशा
पहाडमा फेरि एकपल्ट राजनैतिक चलखेलमा ठूलो तहल्का देखिने भएको छ। तर यसले पहाडलाई कस्तो प्रभाव पार्ने हो, गोर्खा र गोर्खाल्याण्डको निम्ति भनेर लडिरहेको जातीय अस्तित्व र अस्मिताको लडाईंलाई कुन मोड दिने हो, त्यो अहिले नै भन्न नसकिएला तर आउँदो पाँच अप्रेलको सबैलाई प्रतीक्षा रहेकै छ। कारण, यसैदिनै गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को युवा शाखाले पहाडभरि नै जनसभाहरू आयोजन गरिरहेको छ। अर्कोतिर यसै दिन आफ्नो अस्तित्वबाट ओझल बन्न-बन्न खोजेको समयमा फेरि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को स्थापना दिवस पालन गरिने तय अघिबाटै भइसकेको छ। अर्को महत्वपूर्ण कुरा के छ भने गोजमुमो प्रमुख विमल गुरुङका एकपछि अर्को वचन पूरा हुनबाट विफल बन्दै गइरहेकै समयमा गोरामुमो सुप्रिमो सुवास घिसिङले छ वर्षपछि फेरि पहाडवासीलाई 5 अप्रेलकै दिन मिरिकमा भव्यरूपमा पालन गरिइने गोरामुमोको 32औं स्थापना दिवसको अवसरमा सम्बोधन गर्ने भएका छन्। यद्यपि, चासोको कुरा के छ भने गोर्खा जनमुक्ति मोर्चाले अलग राज्य गोर्खाल्याण्डको माग छोडेको छैन भनिरहेको समयमा एकातिर मतभिन्नता रहे पनि आ-आफ्नै सिद्धान्त अनि राजनैतिक अडानमा रहे पनि गोर्खा जनमुक्ति मोर्चाका साथै क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, अखिल भारतीय गोर्खालीग, गोर्खाल्याण्ड टास्क फोर्स आदिले अलग राज्यलाई नै प्राथमिकता दिएर आवाज बुलन्द गरिरहेको पाइन्छ। अर्कोतिर ठीक विपरीत गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका समर्थकहरू भने छैटौं अनुसूचीको मागलाई समातेर मैदानिमा ओर्लिरहेका छन्। अतः आगामी 5 अप्रेलको दिन के घिसिङले झण्डै 6 वर्षअघि तीव्र प्रतिवादको कारण सेलाएको छैंटौं अनुसूचिको मागलाई बुलन्द गर्ने हुन् त? घिसिङले मौनब्रत तोडने दिनको प्रतीक्षा सबैलाई छँदैछ।
गोजमुमोले राज्य सरकारल र केन्द्र सरकारसित जीटीए (गोर्खा टेरोटेरियल एड्मिनिस्ट्रेशन)-को निम्ति त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिसकेपछि ‘पहाडको विकासको निम्ति जीटीए’ अनि गोर्खाल्याण्डसम्म पुग्ने सिँडी जीटीए पनि भनेका थिए। तर अलग राज्य गठनको आन्दोलनबाट पछि नहट्ने पनि भनेकै हुन्। तर सम्झौताअनुसार कार्यभार हस्तान्तरण हुननसक्दा विमल गुरुङले तेस्रो आन्दोलनको निम्ति जनतालाई समर्पणको निम्ति तयार रहनु भनेर आह्वान गरेका थिए। तरपनि फेरि ‘जीटीए दिएर हामीलाई बङ्गालले ठग्यो भन्दै राजिनामा दिन्छु र गोर्खाल्याण्डको आन्दोलन गर्छु’ भन्ने विमल गुरुङको फेरि ‘म जीटीए मरिकाट्टे छोड्दिन’ भन्ने उनको सम्बोधनले सम्पूर्ण पहाडवासीलाई अन्योलमा पारिरहेको बेला गोरामुमोले सम्पूर्ण पहाडी जनताले छैटौं अनुसूचीमार्फतनै पहाडको सर्वाङ्गीण विकास हुने तथा भविष्यमा गोर्खाल्याण्ड राज्य समेत पाउन सकिने कुरा बताइरहेको छ।
यस्ता अनेकन अन्योलताहरूमाझ अल्झिरहेको समय जनता पनि दोधारमा अवश्यै परिरहेका छन्। यस्तोमा 5 अप्रेलको दिन एकातिर गोरामुमोले आफ्नो 32औं स्थापना दिवस पालन गर्ने अनि अर्कोतिर गोजमुमोले यसै दिन पहाडभरि सभा डाकिनुले पहाडको राजनीतिमा कुन मोड ल्याउने हो, भन्ने चासो मानिसहरूलाई बढिरहेको छ। जे होस्, पाँच अप्रेलको दिन पहाड र पहाडवासीको निम्ति धेर महत्व राख्ने निश्चित छ, कारण यस दिन पहाडको राजनीतिले कुनै नयाँ मोड पाउला भन्ने अहिले सबैले आशा गरिरहेका छन्।
29.03.2013