Monday, March 4, 2013


गरिबी उन्मूलनमा शिक्षाको महत्व
आज देशभरिनै विभिन्न जागरुकता अभियान सञ्चालन भइरहेका छन्, युवा सचेतना कार्यक्रमहरू आयोजन भइरहेका छन् देशको गरिबी अवस्था वा समस्या निर्मूल गराउन। देशको गरिबी अवस्थाको कारण प्रायः सबैले नै भ्रष्टाचार देखाइरहेका छन् भने त्यसपछिको अर्को प्रमुख कारण हो बढ्दो जनसङ्ख्या जसले गर्दा सरकारले चाहेर पनि सबैलाई रोजगारी उपलब्ध गराउन सक्दैन। त्यसैले देशको जनसङ्ख्या वृद्धिलाई नियन्त्रण गर्न अहिले हरेक नागरिक शिक्षित हुनुपर्छ भन्ने पनि जानिफकारहरूको भनाइ छ। यसको निम्ति सरकारी पहलमा विभिन्न अभियान सञ्चालन भइनै रहेका छन् जस्तै साक्षर भारत अभियान, वृद्ध शिक्षा अभियान, सर्वशिक्षा अभियान आदि-आदि। तर अर्को पक्षले यस्ता अभियानहरू भनेको अक्षर ज्ञानमात्र हो र ‘अक्षर ज्ञान हुनु’-हुनुलाई ‘शिक्षित हुनु’ भनेर स्वीकार्न नसकिने र पनि बताइरहेको छ। अथवा माथि उल्लेख अभियानहरूले देशको निरक्षरताको उन्मूलन गराउछ। निरक्षरता उन्मूलनले मानिस शिक्षित हुँदैनन्। शिक्षित नभएसम्म उनीहरू पूर्ण जागरुक अथवा पूर्ण सचेत बन्दैनन् अनि पूर्ण जागरुक वा सचेत नभएसम्म देशको जनसङ्ख्या वृद्धिमा नियन्त्रण ल्याउन गाह्रो छ। यसैले यस्ता अभियानहरूद्वारा निरक्षर नागरिकलाई अक्षर ज्ञान दिनुपर्छ, साथमा उनीहरूलाई शिक्षित पनि बनाउनुपर्छ भन्ने कुरा अहिले देशभरि नै चलिरहेका विभिन्न शिविरहरूमा चलिरहेको छ।
अथवा, निरक्षर उन्मूलनले मात्रै जनसङ्ख्या वृद्धिदरमा नियन्त्रण हुनसक्दैन, कारण साक्षर बन्नु वा अक्षर ज्ञान हुनु भनेको शिक्षित हुनु होइन। पटना विश्‍वविद्यालयका प्रो. विनय कुमार कण्ठले पनि ‘शिक्षा त्यो वस्तु होइन जो स्कूल वा कलेजमा प्राप्त गरिन्छ, शिक्षा त त्यो हो जसले एक व्यक्तिलाई असल व्यक्ति बनाउँछ। पुस्तक पढेर कुनै जानकारी लिनु वा पुस्तक पढ्नु अथवा डिग्री प्राप्त गर्नुमात्र पूर्ण शिक्षित हुनु होइन। त्यसैले अक्षर ज्ञान हुनु र शिक्षित हुनुमा धेरै भिन्नता छ’ भनेका छन्।
देशका पथ प्रदर्शक महात्मा गान्धी, जवाहरलाल नेहरू, चिन्तक स्वामी विवेकानन्द आदिले पनि साक्षर हुनुलाई शिक्षित हुनु भन्ने स्वीकारेका छैनन्। शिक्षाको परिभाषा यसरी दिएका छैनन्। महान व्यक्तिहरूले सधै शिक्षित हुनु भनेको त आफूले जुन असल कुराको अध्ययन गरिन्छ, जो कुरा सिखिन्छ वा पढिन्छ ती कुराहरूलाई परोपकारका लागि वा समाजोपयोगका लागि प्रयोग गर्न सक्नु हो भन्ने कुरालाई नै स्वीकारेका छन्। अक्षर ज्ञानद्वारा प्राप्त जानकारी वा ज्ञानलाई यदि आफ्नो जीवनमा उतारेर समाजपयोगी ढङ्गमा प्रयोग गर्दछौं भने तब हामी शिक्षित अथवा एजुकेटेड हुन्छौं भन्ने पनि धेरैको मान्यता छ।
यसको निम्ति हाम्रो देशको नीति (सिस्टम)-मा पनि कतिपय कमी-कमजोरी रहेको पाइन्छ। अब भारतीय संवैधानिक पक्षबारे बोल्दै उनले भनेे, 26 जनवरी 1950-मा संविधान कार्यनवयनमा आयो। 14 वर्षसम्मका नानीहरूका लागि अनिवार्य र निशुल्क शिक्षाको अधिकारलाई वर्ष 2002-को संसोधनले ‘मौलिक अधिकार’-को संवैधानिक मान्यता प्रदान गर्यो। यसलाई 2009-देखि लागु गरियो भने 1 अप्रेल 2010-देखि देशभरि पूर्ण रूपमा लागु हुने बताइएको थियो। यसअनुसार 1 मार्च 2013-सम्म देशभरि अनिवार्यरूपमा ‘शिक्षाको अधिकार’ कार्यनवयनमा आउनु पर्ने भए तापनि अहिलेसम्म मात्रै 10 प्रतिशत पूरा भएको एक शोधले पुष्टि गरेको पनि प्रो. कंठले बताएका थिए। उसो भए अब के प्रश्‍न उठ्न सक्छ भने जब मौलिक शिक्षाको अधिकार नै पूर्ण कार्यनवयनमा आउन नसकेपछि देश कहिले पूर्ण शिक्षित बन्ने अनि कहिले हाम्रो देशको गरिबी अवस्था सुध्रिने, कहिले समाधान हुने हाम्रो गरिबी र बेरोजगारीको समस्या? यो एउटा बडो विडम्बनाको कुरा छ।
अहिले देशको वागडोर युवा समूहको हातमा सुम्पनु पर्ने कुरापनि जोरतोडले चलिरहेको छ भने पहिले त युवा जमात स्वयं जागरुक एवं सचेत बन्नुपर्छ। जब युवाहरू जागरुक र सचेत बन्छन् अनिमात्रै यस्ता समस्याहरू समाधान होला। यद्यपि, हामीमा इमान्दारिता कति छ भन्ने कुराले यहाँ ठूलो महत्व राख्दछ। नभए जतिनै ठूलो शिविर, जतिनै दार्शनिक वक्तव्य र जारुक्ता एवं सचेतना कार्यक्रम वा अभियान चलाइएपनि हामी जहिँको ही नै रहने निश्‍चित छ।
01.03.2013

No comments:

Post a Comment