Friday, March 15, 2013


अन्तरराष्ट्रिय महिला दिवस अनि महिला अधिकार, हक र समानताका कुरा
सिक्किममा आज अन्तरराष्ट्रिय महिला दिवस पालन गरियो। ‘एउटा प्रतिज्ञा एउटा प्रतिज्ञा नै हो ः महिलाहरूविरुद्ध हिंसा समाप्त गर्न कार्यवाहीको समय’ यस वर्षको अन्तरराष्ट्रिय महिला दिवसको विषय रहेको थियो। जब महिला दिवसको सन्दर्भ उठ्छ, तब महिलाहरूको हक, अधिकार र उनीहरूको पहिचानको कुरा उठ्दछ। लैंगिक समानताको कुरा उठ्दछ। सधैं भनिँदै आइरहेकै छ यहाँ नारी सशक्तिकरण हुनुपर्छ, नारी-पुरुष समान अधिकार प्राप्त हुनुपर्छ महिलाहरूलाई।
यही कुरालाई केन्द्र गरी आज राज्यभरिनै अन्तरराष्ट्रिय महिला दिवस पालन गरिएको थियो। प्रत्येक वर्ष पालन गरिँदै आइरहेको अन्तरराष्ट्रिय महिला दिवस 1975-मा पहिलोचोटी पालन गरिएको थियो भने यसअघि 28 फरवरी, 1909-मा पहिलो पल्ट संयुक्त राज्य अमेरिकाले राष्ट्रिय महिला दिवसको रूपमा पालन गरेको थियो। यस हिसाबले विश्‍वमा महिला दिवस पालन गर्न शुरु गरिएको सयवर्षभन्दा पनि धेरै भइसकेको छ, जसलाई देशको संविधानले पनि मान्यता प्रदान गरेको छ। त्यसै समयदेखि नै महिलाहरूको हक, हित, अधिकार र समानताका प्रश्‍न उठ्दै आइरहेको हो भने अन्तरराष्ट्रियस्तरमा महिला अधिकार र महिला दिसको चर्चा चलेको 38 वर्ष पूरा भइसकेको छ।
विश्‍व सन्दर्भका कुरा छोडेर यहाँ देश तथा राज्यको कुरा गर्नु हो भने समाजमा परापूर्व कालदेखि नै महिलाहरू पछि परेका वा पारिएका थिए। चाहे कला-साहित्य होस या फेरि संस्कृति-परम्परा र शिक्षा, जहाँ पनि महिलाहरूलाई पछाडि राखिएको भएपनि आज त्यो स्थिति छैन। यहाँ राज्यको मात्रै सन्दर्भमा कुरा गर्नुपरे आज प्रत्येक नारी अथवा प्रत्येक महिलाले पुरुषसित काँधमा काँध मिलाएर हिँड्न सक्ने भएको छ।
त्यसैले यहाँ हक, अधिकार, पहिचान र स्वतन्त्रताको कुरासितै महिलाहरूले आफ्लाई सशक्त गराउन अनि स्वयं एक जिम्मेवार उत्तरदायित्व निर्वाह पनि गर्नसक्नु पर्नेछ। जब लैंगिक समानताको कुरा उठ्छ तब यहाँ महिलाहरूले पनि स्वयंलाई पुरुषसरह शिक्षा, खेलकुद, कला-साहित्य हरेक क्षेत्रमा खरो उतार्नुपर्ने हुन्छ। यसरी हरेक कुरामा महिलाहरूले आफैलाई अग्रसर गराउन सके यहाँ महिलाहरूलाई हक, अधिकार, पहिचान र स्वतन्त्रता दिइरहनुपर्ने लाग्दैन। नभए अहिले ‘उत्तराधुनिकालमा महिलाहरूले आफैलाई स्वतन्त्र बनाउने जतिनै प्रयास गरेपनि समाजिक बन्धनबाट मुक्त हुन असफल छन्’ भनिँदै आइरहेको कुरा यथावत रहँदैन भन्न सकिन्न। अझै पनि कतिपय समाजमा नवजात शिशुको जन्म भएको भए ‘छोरा कि छोरी?’ भन्ने गरेको सुन्न पाइन्छ। एकातिर नारी-पुरुष वा छोरा-छोरी बराबर भनिँदै आइरहेको छ, अर्कोतिर सामाजिक मान्यताले जड पूर्ण रूपमा छोडिहालेको छैन। यस्तोमा सय वर्षअघिदेखि महिला अधिकार, हक-हित र समानताको कुरा गर्दै आएको कुराले अझसम्म व्यावहारिक रूपमा सफल बन्न सकेनभने के यहाँ अझ अर्को सय वर्ष नलाग्ला र?
त्यसैले हरेक वर्ष अन्तरराष्ट्रिय महिला दिवस पालन गरेर, महिला अधिकारको कुरा गरेर, समान्ताको माग गरेरै मात्र केही हुँदैन अनि संविधान र कानूनले दिएरै मात्र पनि कुनै ठूलो सफलता हात लाग्ने होइन, यदि त्यसलाई व्यावहारमा उतार्न सकिएन भने। अतः यहाँ जबसम्म नारी वा महिलावर्ग स्वयं आफ्नो हक-हित, अधिकार र समानताका लागि डटेर अघि बहढ्न सक्दैनन्, जबसम्म पुरुषसरह हरेक कुरामा काँधमा काँध मिलाएर उभिन सक्दैनन्, जबसम्म उनीहरू स्ववलम्बी बन्दैनन् अनि उत्तरदायी बन्दैनन् तबसम्म महिला दिवस पालन गरेरमात्र केही हुँदैन।
यहि देशका हरेक महिला आफ्नो हक-हित, अधिकार, समानता चाहन्छन् भने मनमा एउटा प्रतिज्ञा लिनुपर्छ हामी आफ्नो अधिकार प्राप्त गर्नेछौं भनेर। नभए आज समाजमा महिलाहरूविरुद्ध जुनप्रकार हिंसा भइरहेको छ, जसरी अन्याय भइरहेको छ ती कुराहरू भोलिपनि रहिरहने छ। महिलाहरूले पनि आफैलाई चिनाउन सक्नुपर्छ कि महिलाहरू पनि पुरुषभन्दा कम छैन भनेर। 1909-मा पनि महिला अधिकार, हक-हित कै कुरा थियो, 1975-मा अन्तरराष्ट्रिय स्तरमा त्यही कुरा उठाइएको हो र आज 2013-मा पनि त्यही कुरा छ। यसैले यहाँ अर्को सयवर्ष पछिपनि महिला अधिकार, महिला हक-हित र समानताकै प्रसंग उठाएर मञ्चमा चिच्याइ रहनुपर्ने स्थिति नरहला भन्न सकिन्न! 
08.03.2013

No comments:

Post a Comment