Thursday, March 21, 2013


नेसापको नयाँ समितिलाई बधाई र शुभकामना
नेपाली साहित्य परिषद, सिक्किमको नयाँ कार्यकारी समिति गठन भइसकेको छ। साहित्य, कला र सङ्गीतको क्षेत्रमा केही गर्न भनी नयाँ जोश, उमङ्ग र उत्साह बोकी पूर्ण समर्पित भएर नेपाली साहित्य परिषद्, सिक्किमका नयाँ कार्यकारिणी समिति कम्मर कसेर उत्रिसकेको छ। 17 मार्च, 2013-मा सम्पन्न चुनाउसितै नेपाली साहित्य परिषद, सिक्किमप्रति सिक्किमेली नेपाली साहित्यप्रेमीहरूले ठूलो आशा साँचेेको छ कला, साहित्य तथा सङ्गीतको क्षेत्रमा।
नेपाली साहित्य परिषद, सिक्किम भन्ने बित्तिकै कम्तिमा सिक्किमेली भेककै कुरा गर्दा एक शीर्ष सङ्गठनको रूपमा धेरै अघिदेखि हेर्ने गरेको कुरा अवश्यै सबैले स्वीकार्ने छन्। राज्य र राज्यवासीको निम्ति त नेपाली साहित्य परिषद, सिक्किम भन्ने बित्तिकै एक आदर्श संस्था मानिन्छ। यतिमात्र होइन, नेपाली साहित्य परिषद, सिक्किमलाई सिक्किमबाहिर पनि अथवा भारतीय नेपाली साहित्यको क्षेत्रमा अथवा भारतीय नेपाली समाजले पनि श्रद्धाको दृष्टिले हेर्ने गरेको छ। कारण, नेपाली साहित्य परिषद, सिक्किमको आफ्नै स्थान, आफ्नै गरिमा, आफ्नै प्रतिष्ठा छ।
अतः नेपाली साहित्य परिषद्, सिक्किमप्रति समाजले धेरै आशा गरेको छ र गर्नुपनि पर्छ। किनभने ‘साहित्य’ भनेको ‘समाजको दर्पण’ पनि भन्ने गरिएको छ, सहाँ समाजमा भइरहेका हरेक राम्रा-नराम्रा गतिविधिलाई नियाल्न सकिन्छ वा नियालिन्छ अनि त्यहाँ रहेका कमी-कमजोरीलाई सुधार्ने वा समाधान गर्ने काम गर्न सकिन्छ। यहींबाट समाज वा राष्ट्रिय निर्माणतर्फ अग्रसर पनि बन्न सकिन्छ। त्यसैले साहित्यबिना हाम्रो जीवन, हाम्रो समाज र हाम्रो राष्ट्र पनि अधुरो हुन्छ, अपुरो रहन्छ। त्यही साहित्यको विजारोपणसितै विकसित गराउने संस्था हो साहित्य परिषद, अथवा भनौं हाम्रो समाजको मूल खाँबो।
यद्यपि, केहीवर्ष यता नेपाली साहित्य परिषद, सिक्किम कतिपय विषयमा विवादको घेरोमा परेको हुनाले यसको गरिमा, यसको मर्यादा, यसको अस्तित्व कतै धमिलिएला कि भन्ने त्रासले पनि साहित्यप्रेमीवर्गमा आशंका सिर्जना नभएको भने होइन। यसैले कला, साहित्य र सङ्गीतको क्षेत्रमा सिक्किमले गर्नुपर्ने प्रगतिप्रतिको जनविश्‍वासमा केही आँच पनि अवश्यै आएको हो। विशेषतः सिक्किमेली नेपाली साहित्य समाज अलिकति त निराश र दुःखी पनि देखिएकै हो।
 अब ध्यान दिनुपर्ने कुरा के छ भने बितेका समयमा राम्रा-नराम्रा काम जति भए, भइसके। ती कुराहरूलाई गौणरूपमा राखेर अब के गर्नुपर्ने, कुन-कुन काम छोडिएका छन्, के-के काम हुनुपर्ने र कसरी परिषदको कार्यगतिलाई अग्रसर पार्नुपर्ने भन्ने कुरामा केन्द्रित रहनु पर्नेछ। हुन त यहाँ बरबराउनेलाई उति नै सजिलो छ, जति गाह्रो छ काम गर्नेलाई। तर परिषद्का नयाँ समिति सदस्यहरूप्रति सबैको आशा छ, केही त नयाँ हुनेछ भन्ने।
यसै सन्दर्भमा कुरा गर्नुपर्दा, सिक्किमेली साहित्यको विकासमा परिषदले थप टेवा त पुर्याउने नै छ। यसमा दुइमत छैन। तर एकाध कार्यक्रममै मात्र पनि सीमित रहने छैन परिषदको नयाँ समिति भन्ने पनि पूर्ण विश्‍वास छ। यसको साथै सिक्किमेली बाल तथा युवा साहित्य-साहित्यकारहरूलाई अधिक प्रोत्साहन, साहित्यिक कृतिहरूको प्रकाशन जस्ता कार्यहरूमा पनि परिषद ध्यानकेन्द्रित रहने कुरामा सिक्किमेली साहित्य जगत विस्वस्त छ।
अर्को ध्यान दिनुपर्ने कुरा के छ भने, भारतीय नेपाली साहित्यमा निश्‍चय सिक्किमेली साहित्य वा साहित्यकारहरूको योगदान रहेको छ। आज सिक्किमेली भूभागमा कति साहित्यकार छन् त चाहे युवा चाहे वरिष्ठ? अनि तीमध्ये साहित्य परिषदसित कतिजना संलग्न रहेका छन्, सिक्किमेली वरिष्ठ साहित्यकार कतिले नेपाली साहित्य परिषदको सदस्यता लिएका छन्? यो कुरा पनि बढो रोचक छ। कति युवा अथवा वरिष्ठ साहित्यकार परिषदको सदस्यतादेखि टाडा छन् अनि किन? गम्भीर विषय छ अनि तिखो काँडासरि पनि।
अतः नेपाली साहित्य परिषद्, सिक्किमको नयाँ कार्यकारी समिति सदस्यगणले यस्ता साना-साना तर महत्वपूर्ण कुराहरूलाई पनि ध्यानमा राखेर काम गर्नसके नेपाली साहित्य परिषद, सिक्किमले आगामी दिनमा कला, साहित्य र सङ्गीतको क्षेत्रमा सिक्किमले जुन उँचाई चढेको छ, त्यसले अझ शिखर चुम्ने विश्‍वास गर्न सकिन्छ। यस्तै आशा-विश्‍वासको साथमा अहिलेलाई भने नेपाली साहित्य परिषद, सिक्किमका नयाँ समिति सदस्यवर्गलाई बधाई र शुभकामना।
17.03.2013

No comments:

Post a Comment