Saturday, June 18, 2016

अङ्ग तस्करी चिन्ताको विषय

तस्करी शब्दले समाजलाई सँधै सताइरहेको हुन्छ। अवैध मानिने भए पनि समाजमा विभिन्न प्रकारका तस्करीले प्रश्रय पाइरहेको पाइन्छ। तीमध्ये पनि समाजलाई धेरै आतङ्कित पार्ने भनेको बाल तस्करी, महिला तस्करी अथवा मानव तस्करीलाई प्रमुखरूपमा लिनसकिन्छ। यसका पछि जस्तै कारणहरू किन नहोस, तर यस्ता घटनाहरूसित हामी अनभिज्ञ नरहे पनि हाम्रो समाजले भोग्दै आएको समस्या हो यो। अहिले तर विश्‍वलाई सताइरहेको छ मानव अङ्ग तस्करीले, जसबाट भारत पनि अछुतो रहेको छैन।
विश्‍व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)-को एउटा रिपोर्टले भनेको छ अङ्ग प्रत्यारोपण अङ्ग विफलताको एक प्रभावी उपचार भएकाले विश्‍वभरि नै यसको प्रचलन व्यापक छ। डब्लुएचओले विश्‍वका 91 देशमा मृगौला प्रत्यारोपण हुने बताएको छ। 2005-मा विश्‍वभरिमा लगभग 66000 मृगौला, 21000 कलेजो र 6000 मुटु अथवा हृदय प्रत्यारोपण गरिएको थियो। यद्यपि, ती देशहरूको परिस्थितिमा तक्निकी क्षमता, अङ्गहरूको उपलब्धता, स्वास्थ्य देखरेखमा हुने लागत आदि कुराहरूले परिवर्तन ल्याइरहेको छ।
मानव अङ्ग प्रत्यारोपण ऐन (टीएचओएA)-1994 बन्नअघि भारतलाई कानुनीरूपमा अङ्ग व्यापार बजारको रूपमा जानिने गरिन्थ्यो। कम लागतमा उच्च उपलब्धताका साथ विश्‍वकै एक शीर्ष अङ्ग प्रत्यारोपण केन्द्रका रूपमा भारतलाई जान्ने गरिन्थ्यो भन्ने तथ्य पाउन सकिन्छ। पछि यसबाट समस्याहरू हुनथाले। अङ्गदातादाहरू स्वयं आफ्नो मृगौला पनि निकालियो कि भन्ने कुरादेखि अनभिज्ञ रहन थाले। भुक्तान गर्नुपर्ने भन्दा अधिक राशि लिन थालिएको अर्को समस्या पनि देखिन थाले। फलस्वरूप, भारतले नैतिक तथा अन्य कतिपय कारण अङ्ग बिक्रीमा प्रतिबन्ध लगाउने भयो। त्यसैले ‘टीएचओए-1994A’ ऐन बनियो। टीएचओए बनिएपछि यसमा रोक लगाइन थालियो र अङ्ग प्रत्यारोपण गर्नुअघि अस्पतालको इण्टरनल असेसमेन्ट कमिटीबाट अनुमोदन अनिवार्य गरियो। टीएचओएअनुसार कसैलाई अङ्ग चाहिएको खण्डमा अङ्ग दाता उसका आफन्त वा नातेदार हुनुपर्ने पनि बताइएको छ।
डब्लुएचओअनुसार विश्‍वबजारमा अवैध अङ्ग व्यापार मूलत त्यतिबेला हुनेगर्छ जतिबेला मानिसहरूले पैसाको लागि आफ्नो शरीरबाट अङ्ग निकाल्ने गर्छन् अथवा दिने गर्छन्। अर्थात अङ्ग दान गर्नेहरू धेरजसो गरीब र आर्थिक कमजोर वर्गका हुनेगर्छन्। यसैको फाइदा उठाउनेहरूले अङ्ग तस्करी गर्ने घटना धेर प्रकाशमा आउने गरेको छ। 2005-को एउटा रिपोर्टअनुसार अङ्ग विक्री गर्न नपाइले हुँदाहुँदै पनि कूल अङ्ग प्राप्तकर्ताहरूमध्ये 5 प्रतिशतले पैसाकै लागि प्रदान गरेको हुनसक्ने डब्लुएचओले अनुमान लगाएको छ। '‘ग्लोबल फाइनेन्सियल इन्टेगे्रटी’-को एउटा रिपोर्टअनुसार विश्‍वमा प्रतिवर्ष 1.2 अरब अङ्ग तस्कर हुने अनुमान लगाइएको छ। अवैध अङ्ग प्रत्यारोपण तथा अङ्ग कस्तरीको रोकथामका लागि मानव अङ्ग व्यापारलाई कानुनीरूपमा वैध ठहर गर्नुपर्ने चर्चा चलिरहेको छ। यद्यपि, यो अहिले विश्‍वमै ठूलो विवादको विषय बनिरहेको छ। यस्तोमा भारतमा पनि अहिले एकपछि अर्को यसप्रकारका घटनाहरू प्रकाशमा आइरहेका छन्।
गत 4 जून कै दिनमात्र दिल्ली पुलिसले देशका पाँच राज्यमा मृगौला तस्करी भइरहेको खुलासा गरेको थियो। दिल्लीको एउटा निजी अस्पतालको काण्डपछि पुलिसले 6 महीनामा यस्ता पाँचवटा मामिला दर्ता भइसकेको बताएको थियो, जसमा दिल्लीसहित उत्तर प्रदेश, पश्‍चिम बङ्गाल, बिहार र तमिलनाडु सामेल छन्। त्यसअघि 3 जून कै दिन यी पाँच राज्यका 6 आरोपिलाई पुलिसले पक्राउ गरेको थियो। पुलिसअनुसार मृगौला दिनेहरूलाई दिल्लीमा यसको मूल्य दुईदेखि अढाई लाख रुपियाँसम्म दिइने गरिएको र मृगौला लिने बिमारीहरूले त्यसैको निम्ति 25 देखि 30 लाख रुपियाँको भूगतान गरिरहेका थिए। यस काममा लागि परेका दलालहरूबाहेक डाक्टरहरूदेखि उनीहरूका सहायकहरू पनि भागिदार रहने पत्तो लागेको थियो। यसका लागि गरीब मानिसहरूलाई ल्याएर उनीहरूको जाली दस्तावेजसम्म तयार गर्ने गरिरहेको पुलिसको भनाई छ। अवैध अङ्ग तस्करीको मामिला बढ्दो भए पनि यसको सही आँकडा भने प्राप्त गर्नु गाह्रो छ।
उल्लेखयोग्य विषय के छ भने कानूनी ढङ्गमा जीवित व्यक्तिको अङ्ग निकाल्ने धाराअन्तर्गत भारतमा 1,81,920 मामिला दर्ता गरिएको छ। यति भएरै पनि देशमा यतिविघ्न अङ्ग तस्करीको मामिलाले प्रश्रय पाइरहनु भनेको देशको निम्ति गम्भीर चुनौतीको विषय हो।-10.06.2016

No comments:

Post a Comment