1972-मा संयुक्त राष्ट्रको महासभामा विश्व पर्यावरण दिवस पालन गर्ने निर्णय लिइएपछि 1974 देखि प्रत्येक वर्ष 5 जूनको दिन यो दिवस पालन गरिँदै आइरहेको छ। प्रकृति र विश्वकै संरक्षणार्थ पर्यावरणको क्षेत्रमा सकारात्मक पहल गर्न भनेर वैश्विकरूपमा जागरुकता बढाउनु यसको मुख्य उद्देश्य हो। प्रत्येक वर्ष मनाइने यो दिवस संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (यूएनईपी)-द्वारा सञ्चालन गरिन्छ। प्रत्येक वर्ष नै अलग-अलग विषय (थिम)-मा मनाइने विश्व पर्यावरण दिवसलाई प्रत्येक वर्ष नै कुनै एउटा देशलाई यसको ‘होस्ट’ गर्ने जिम्मेवारी दिइन्छ। भारतले पहिलोपल्ट 2011-मा ‘फरेस्ट ः नेचर एट योर सर्भिस’ विषयमा ‘होस्ट’ गरेको विश्व पर्यावरण दिवसको यो वर्षको ‘थिम’ रहेको छ ‘जिरो टोलरेन्स फर दि इलिगल वाइल्डलाइफ ट्रेड’ जसलाई अङ्गोला राष्ट्रले ‘होस्ट’ गरिरहेको छ।
समस्त प्राणी जगतलाई स्वस्थ र सन्तुलित राख्न वैश्विक पर्यावरण सन्तुलित हुन जुरुरी हुन्छ। प्रतिदिन बढ्दो जनसङ्ख्या, शहरीकरण, औद्योगीकरण आदि हाम्रो निम्ति चुनौती बन्दै आइरहेको छ। त्यही चुनौतीलाई न्यून गर्दै पर्यावरणलाई सन्तुलित गराउने सबैभन्दा महत्वपूर्ण पहल हुनसक्छ वन्यक्षेत्रको बढोत्तरी। त्यसैले प्रत्येक वर्ष 5 जूनको दिन पालन गरिने विश्व पर्यावरण दिवसमा वन-जङ्गल तथा रूखपातको बढोत्तरीमा बल दिइने गरिन्छ अनि विभिन्न प्रजातिका बिरुवाहरू रोपिन्छन्। प्रत्येक व्यक्ति, समाज, सङ्घ-संस्था, विभाग र सरकार यसमा वर्षौंदेखि लागि परिरहेका छन्। यसो हुन जरुरी पनि हुन्छ।
सिक्किमको सन्दर्भमा हेरिनु हो भने देशकै पहिलो जैविक राज्य बनिसकेको राज्यमा अघिबाटै हरित क्रान्ति अभियान, पृथ्वीका लागि दश मिनट जस्ता अभियानहरूलाई सञ्चालन गरिँदैछन्। विभिन्न गैरसकारी सङ्घ-संस्था, स्कूल तथा विभागीय पहलमा यी अभियानहरूलाई प्रभावी ढ्ङगले कार्यान्वयन गरिँदै ल्याइएको छ। फलस्वरूप सिक्किमको वन्यक्षेत्रमा बढोत्तरी पनि आइरहेको छ। राज्यको कूल भौगोलिक क्षेत्रबाट 82.31 प्रतिशत वन विभागको अधिनमा रहेको छ। यसमा कूल भौगोलिक क्षेत्रमध्ये 1987-मा 38.84 प्रतिशत रहेको वन्यक्षेत्र वर्तमानमा 3392 वर्ग किलोमिटर अथवा 47.80 प्रतिशत रहेको छ। सिक्किमको वन्यक्षेत्र 1993-मा 43.95 प्रतिशत रहेको थियो भने 1999-मा 44.00 प्रतिशत, 2003-मा 46.00, 2013-मा 47.30 प्रतिशत पुगेको थियो भने वर्तमानमा 47.80 पुगेको छ।
अर्कोतिर, देशको कूल भौगोलिक क्षेत्रमध्ये 1991-मा 21.6 प्रतिशत रहेको वन्यक्षेत्र 1996-मा 21.8, 2001-मा 22.1, 2006-मा 22.9, प्रतिशत, 2011-मा 23.5, 2015-मा 23.8 प्रतिशत रहेको छ। यद्यपि, डीएनएइन्डियाको एउटा रिपोर्टले भने यो प्रतिशत बढेको बताए पनि 21.34 प्रतिशत मात्र देखाएको छ।
माथि उल्लेख आँकडालाई हेरिनु हो भने 1987-को तुलनामा वर्तमान सिक्किमको वन्यक्षेत्रमा 8.96 प्रतिशत बढोत्तरी भएको जान्न सकिन्छ। अर्कोतिर, 1991-को तुलनामा देशको वन्यक्षेत्रलाई हेरिनु हो भने 2015-मा आइपुग्दा 3.80 प्रतिशत मात्रै बढोत्तरी भएको देखिन्छ। यहाँबाट के स्पष्ट हुन्छ भने पर्यावरण संरक्षणको निम्ति राज्यले जुन पहल गरिरहेको छ, त्यो फलदायी र सराहनीय पनि छ।
अहिले हामी यो वर्षको पर्यावरण दिवस मनाउन लागिरहेका छौं। अब यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने प्रत्येक वर्ष पर्यावरण दिवस पालन गरिन्छ, विभिन्न प्रजातिका बिरुवाहरू रोपिन्छन् लाखौंको सङ्ख्यामा तर राज्य र राष्ट्र दुवैको वन्य क्षेत्रलाई हेरिँदा बढोत्तरी भइरहेको देखिए पनि यसबाट पर्यावरण दिवस मनाइनुको उद्देश्य पूरा हुँदैन। माथि भनिसकिएको छ, संयुक्त राष्ट्रले विश्व पर्यावरण दिवस मनाइनुको मुख्य उद्देश्य प्रकृति र विश्वकै संरक्षण गरिनु हो। पर्यावरणको संरक्षणका लागि रुखपात तथा वन्यक्षेत्रको बढोत्तरी हुन आवश्यक छ, तर वन्यक्षेत्रको बढोत्तरीसितै हामीले स्वच्छतालाई पनि उत्तिकै ध्यान दिनु आवश्यक हुन्छ। त्यसैले पर्यावरण दिवसमा मात्रै होइन आवश्यकताअनुसार कुनै पनि समय, कुनै पनि ठाउँमा, कसैले पनि रुखका बिरुवाहरू रोप्नका साथै विशेष शहरी क्षेत्रमा फोहोरमैलाको उचित प्रबन्धन र प्लास्टिकजन्य सामग्रीहरूको प्रयोगमा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ।-03.06.2016
No comments:
Post a Comment