सुख, शान्ति र विकासको दृष्टिले एउटा समृद्ध समाजलाई हेरिनु हो भने त्यो समाजका हरेक व्यक्तिको साझा जिम्मेवारी हुँदछ। सिक्किमको सन्दर्भमा कुरा गर्दा सरकारले समग्र राज्य र राज्यवासीलाई शिक्षा, स्वास्थ्य, स्वच्छता, रोजगारी सबै क्षेत्रमा माथि उठाउने काममा सफलता प्राप्त गरिरहेको छ। हरेक क्षेत्रमा अवसरहरू सिर्जना गर्ने काम गर्दै आइरहेको छ। पूर्वाधार निर्माणमा सरकार उत्तिकै सफल रहेको छ। यद्यपि, जबसम्म कुनै समाज पूर्णरूपले सुरक्षित बन्दैन तबसम्म त्यो समाजलाई पूर्णरूपमा समृद्ध भन्न सकिन्न। फेरि, जुन समाज स्वच्छ छ, जुन समाजमा सुख र शान्ति छ अनि सबैभन्दा महत्त्वपूर्ण कुरा जहाँ अवसरहरू प्रशस्तै छन् त्यहाँ सबैको नजर परेको हुन्छ। त्यसैले यस्ता ठाउँ अर्थात समाज वा राज्यमा विभिन्न व्यावसायीहरू, उद्योगीहरू आउन रुचाउँछन्। देश र विदेश जहाँ पनि हेर्यौं भने यी कुराहरूले नै सबैलाई आकर्षित गरिरहेको पाउन सकिन्छ। अथवा अन्य राज्यहरूबाट पलायन भएर आउनेहरूसितै अनुप्रवेशको पनि धेर सम्भावना हुन्छ।
यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने, जब कुनै समाजदेखि अर्को समाजतर्फ पलायन अथवा अनुप्रवेशको वृद्धि हुन्छ भने त्यसले समाजलाई सकारात्मक र नकारात्मक दुवै प्रकारले प्रभाव पार्दै लाने हुन्छ। जस्तै कि एउटा शिक्षित समाजमा उद्योग कारखाना आउने बित्तिकै स्थानीयहरूमा रोजगारको अवसर अझ बढेर जाने हुन्छ। यसले समाजको विकासलाई थप टेवा पुर्याउने कुरामा विश्वास गर्नै पर्छ। त्यसका साथै त्यही समाजमा विभिन्न प्रकारका घटनाहरू पनि हुने सम्भावना बढेर जान्छ। त्यसैले यी दुवै कुरालाई ध्यानमा राखेर समाजका हरेक तप्का, हरेक तहका मानिसहरू जिम्मेवार बन्न जरुरी हुन्छ। यसो हुनसके समाजको विकाससितै दुर्घटनाहरूको सम्भावना कम हुने कुरामा विश्वास राख्न सकिन्छ।
यही कुरालाई ध्यानमा राखेर भर्खरै राज्य सरकारको पुलिस विभागले चालकहरूका लागि जागरुकता बढाउने अनि उनीहरूमा जिम्मेवारी बोध गराउने उद्देश्यले कार्यक्रम नै शुरू गरेको छ। जसअन्तर्गत गत 15 जूनको दिनमात्रै उत्तर सिक्किममा जागरुकता कार्यक्रम आयोजन गरिसकेको छ। उपस्थित मानिसहरूलाई ट्राफिक अपराध, जिम्मेवार चालक, हालै शुरू गरिएको ट्राफिक सिकायत तथा सुझाउ बक्स (टीआरएसीएस-बक्स) आदि विषयमा पनि जानकारी गराइएको थियो। सिक्किम पुलिसले लिएको यो निर्णय तथा उनीहरूले थालेको यो कार्य वास्तवमै सराहनीय छ। किनभने एउटा समाजको सुख, सान्ति, विकास र समृद्धिको लागि त्यस समाजका हरेक व्यक्तिको उत्तिकै जिम्मेवारी रहने भए पनि चालकवर्ग एउटा ठूलो समूहमा मात्रै नरहेर समाजका हरेक वर्गसित सिधा सम्पर्क पनि राख्दछन्। यसैले उनीहरूमा ट्राफिक अपराधका पक्षहरू, त्यसका कारणहरू र सम्भावनाहरूको राम्रो जानकारी हुन अति जरुरी हुँदछ। यसका साथै उनीहरूमा आफू स्वयं र यात्रीहरूका निम्ति जिम्मेवार चालक बन्न के-कस्ता कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ, आत्मसुरक्षासितै अरुको पनि सुरक्षाका लागि के-के कुरामा ध्यानदिनु पर्ने हुन्छ? यी कुराहरू बुझ्न आवश्यक विषय हो। अर्को कुरा, चालकवर्गले आफू र आफ्नो वाहनमा सवार गर्नेहरूको मात्रै होइन समाजलाई अन्य धेरै घटना र विपदहरूबाट पनि जोगाउन सक्ने हुन्छन्।
उत्तर जिल्लामा आयोजित जागरुकता कार्यक्रममा मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरेर वाहन चलाउने चालकहरूको लाइसिन्स रद्द गर्न सकिने सिक्किम पुलिसले लागू गरेको मोटर वाहन ऐन जस्तो कडा प्रावधानको बारेमा पनि उपस्थित चालकहरूलाई अवगत गराइएको थियो। यसका साथै टीआरएसीएस-बक्सको बारेमा जानकारी गराउँदै सम्पूर्ण नागरिकले ट्राफिक नियम भङ्ग गरिएको भए, सडक सुरक्षा, ट्राफिक प्रबन्धन आदि विषयमा सिकायत तथा सुझाउ राख्न सक्ने विषयमा पनि अवगत गराइएको थियो। यद्यपि, ऐन, कानुन, अधिसूचना र संविधान जस्ता कुराहरू तयार गर्नु र लागू गरिनु मात्रैले समाजलाई सुधार गरेर लाने होइन। त्यसलाई ठीकसित कार्यान्वयन गरिनु र व्यवहारमा उतार्नु पनि उत्तिकै आवश्यक हुन्छ। अर्को कुरा, यदि समाजका हरेक वर्गले यस्ता कुराहरूलाई ध्यानमा राखेर अघि बढ्नसके ऐन, कानुन, अधिसूचना र संविधानको सहारा लिनुपर्ने आवश्यकता नै पर्दैन। अहिलेलाई भने, सिक्किम पुलिस विभागले जुन कार्यक्रम शुरू गरेको छ, राज्यका चारै जिल्लाका हरेक चालकवर्गसितै आम नागरिकलाई पनि त्यसको ज्ञान हुन जारुरी हुन्छ। यसो गर्न सकिए अहिले देशभरिनै जताततै भइरहेको महिला हिंसा, घरेलु हिंसा, मानव तस्करी तथा बलात्कार जस्ता जघन्य अपराधमा पनि न्यूनताको आशा, भरोसा र विश्वास गर्न सकिन्छ।-17.06.2016
No comments:
Post a Comment