Friday, July 29, 2016

सेतु जस्तो लाग्छ आफैलाई : पत्रकार जोशेफ लेप्चा

-अर्जुन यावा
सिक्किमेली पत्रकारिता जगतले जोशेफ को हुन् भन्ने राम्ररी जानिसकेको हो, जसलाई 12औं कञ्चनजङ्घा कलम पुरस्कारले सम्मान जनाइसकिएको छ 17 जुलाई 2016-को दिन। अढाई दशकअघिदेखि पत्रकारिता जगतमा प्रवेश गरेका लेप्चाले साप्ताहिक समाचार पत्रदेखि काम गर्न थालेका थिए भने पछि आफै साप्ताहिक समाचार पत्रका सम्पादकको अनुभव पनि बटुलीसकेका हुन्। त्यसपछि उनले स्थानीय दैनिक नेपाली समाचार पत्रहरूमा पनि कार्य गरिसकेका हुन्। धेरैवर्षयता उनी ‘दैनिक जागरण’ जस्तो लोकप्रिय राष्ट्र हिन्दी दैनिकका सिक्किम संवाददाता हुन्। सिक्किमेली पत्रकारिताको निम्ति यो पनि एउटा पाटो मान्न सकिन्छ जहाँ हामी गर्व मान्न सक्छौं। रिनाक पूर्व सिक्किममा जन्मेका जोशेफ लेप्चाले पत्रकारिता जगतमा जसरी स्वयंलाई सफल पत्रकारका रूपमा परिचित गराएका छन्, उसरी नै साङ्गठनिकरूपमा पनि एक जिम्मेवार कार्यकर्ताका रूपमा सबैका प्रीय छन्। प्रेस क्लब अफ् सिक्किमसितै धेरै वर्षदेखि आबद्ध रहेर काम गरिसकेको उनी चारवर्षसम्म अथवा दुईवटा कार्यकालसम्म प्रेस क्लब अफ् सिक्किमको महासचिवको पदमा बसेर काम गरिसकेका हुन्। 19 जुलाई 2016-को दिन सँगै बसेर एक-एक कप चिया पिउँदै उनको 25 वर्षको अनुभवबाट केही झलकहरू बुझ्ने अवसर प्राप्त भएको थियो मलाई, जोसँग मैले भर्खर-भर्खर औपचारिकरूपमा पत्रकारिता शुरू गरिरहेको बेला 2007-8 मा ‘समय दैनिक’ नेपाली समाचर पत्रमा सँगै काम गर्ने अवसर पाएको थिएँ। उनै वरिष्ठ पत्रकारसितको कुराकानी पाठकवर्गमा राख्ने प्रयास हो यो। यतिबेला हामीसित थिए वरिष्ठ पत्रकार विजय बान्तवा, जसले मलाई पहिलोपल्ट समाचार लेख्न सिकाएका हुन् 1997-98 तिर अनि छापिएका थिए मेरा शुरूका समाचारहरू उनको साप्ताहिक समाचार ‘हिमगिरि’-मा।
---
मेरो पहिलो प्रश्‍नको जवाबमा प्रेस क्लब अफ् सिक्किमको कार्यकारी समितिमा रहेर गरेका कार्यहरूबारे उनी भन्छन्, ‘‘यसको माध्यमबाट पत्रकारितालाई अलिकति फस्टाउने, सही बाटोमा डोहोर्याउने र भुलेका कुराहरूलाई कार्यनवयन गर्ने अनि लागु गर्ने योजनाहरूलाई हामीले व्यावहारमा उतार्न सक्यौं। पत्रकारिता आफ्नो ठाउँमा छँदैछ, त्यसको साथै हामीले हाम्रो ऐक्यवद्धता, ‘कन्सोलिडेटेड जर्नलिज्म’ अथवा ‘कन्सोलिडेटेड जर्नलिस्ट’ भन्ने कुरा आउँछ। त्यसको लागि पनि हामीले एउटा राम्रो अवस्था प्रेस क्लब अफ् सिक्किमद्वारा बनायौं। यसबाट हामीले पत्रकारहरूलाई एकजुट बनाएर धेरैवटा कामहरू गर्ने मौका पायौं।’’
12औं कञ्चनजङ्घा कलम पुरस्कारले सम्मानित भएकोमा खुशी व्यक्त गर्दै यसो भन्छन् पत्रकार लेप्चा, ‘‘यो एउटा साँच्चै गरिमामय क्षण थियो मेरो निम्ति। यसले मलाई भविष्यमा मैले गर्नुपर्ने कार्यहरूका निम्ति जिम्मेवारी बोध गराएको छ। पत्रकारिताको क्षेत्रमा मैले अझै धेरै कार्यहरू गर्नुपर्छ भन्ने बोध गराएको छ।’’
सिक्किमको वर्तमान पत्रकारिता जगतको अवस्थाबारे बोल्दै भन्छन् उनी, ‘‘यो पाली संयोगले मैले पत्रकारिता गरेको पनि 25 वर्ष पुगेको थियो। मेरो पत्रकारिता जीवनको यो सिल्भर जुब्ली नै भनौं। मैले 22 नोभेम्बर 1991-मा औपचारिक रूपमा सामेल भएर पत्रकारिता शुरू गरेको हुँ। त्यसताक हाम्रा गोविन्द प्रसाद अनाथ जी हुनुहुन्थ्यो, उहाँको ‘स्वतन्त्र समाचार’ साप्ताहिक समाचार पत्रिका प्रकाशित हुन्थ्यो गान्तोकबाट। मैले त्यसमा सहसम्पादक र संवाददादाता दुवैरूपमा काम गर्नुपर्थ्यो। त्यो बेला अहिलेको जस्तो व्यवस्थित ढङ्गमा बजार व्यवस्थापन, विज्ञापन भन्ने कुराहरू थिएनन्। हामी आफैले आफ्नै प्रकारले सोच बनाएर काम गर्नुपर्थ्यो र त्यतिबेला मैले एउटा मौका के पनि पाएँ भने समाचार पत्र निस्किसकेपछि म आफै पनि बेच्ने गर्थेँ। त्यसबाट मैले मान्छेहरूको वा पाठकवर्गको ‘फिटब्याक’-हरू पाउथेँ। पाठकहरूले ‘यो कुरा राम्रो लाग्यो, तपाईंहरूबाट यो कुरा मन परेन, यो कुरालाई यस्तो गरेको भए राम्रो हुने थियो’ भन्ने प्रतिक्रियाहरू जान्न पाउथेँ। ती कुराहरूलाई हामीले समाचार पत्रमा समावेश गर्न सक्थ्यौं। संशोधन वा सुधारहरू गर्ने अवसर पाइन्थ्यो। त्यसबाट एउटा राम्रो वातावरण सिर्जना गर्दथ्यो। त्यसैले पाठकवर्गबाट ‘फिडब्याक’ वा प्रतिक्रिया लिनुपर्दो रहेछ भन्ने लाग्थ्यो।’’
यी कुराहरू वर्तमानमा पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरूले पनि बुझ्न आवश्यक लाग्छ उनलाई। त्यसैले उनी भन्छन्, ‘‘अहिले ‘मास कम्युनिकेशन’-मा समाचार सम्प्रेशनका कुराहरू, समाचार संकलन गर्नु वा ‘रिपोर्टिङ’ गर्नु, लेख्नु, समाचार सम्पादन गर्नु सिकाइन्छ तर मलाई लाग्छ यी पक्षहरू पनि सामेल गरिए एकजना पत्रकारले पाठकसँग सोझो संवाद गर्ने र सम्पर्क गर्ने माध्यम पनि हुनेछ। समाचार पत्र बिक्रीको माध्यमबाट मैले त्यो पनि अनुभव लिएको थिएँ।’’
वर्तमान पत्रकारिता गजतको अवस्थाबारे उनको विचार बुझ्ने मेरो जिज्ञासामा पत्रकार जोशेफ लेप्चा आफूले पत्रकारिता शुरू गर्दाको सम्झना गर्दै भन्छन्, ‘‘त्यो समय ‘लेटर पेस्ट’-को थियो, जहाँ एक-एकवटा शब्द बटुलेर, मिलाएर एउटा ‘पेज’ (पृष्ठ)-बनिन्थ्यो। एकदिनमा एउटा समाचार पत्र निकाल्नु सम्भव पनि थिएन। त्यसैले प्रायः साप्ताहिक समाचार पत्रहरू नै थिए। अर्को कुरा, त्यो बेला तक्निकीय संसाधनको कमी थियो। फोन पनि थोरै पत्रकारहरूले मात्र राख्ने गर्थे। यसो हुनाले हामीले स्थानीय समाचारहरूलाई नै धेरै प्राथमिकता दिनुपर्ने हुन्थ्यो, रेडियोको माध्यमद्वारा समाचारहरू संकलन गर्ने गर्थ्यौं। तक्निकीयरूपमा सायद 2004 देखि सिक्किममा अलिकति परिवर्तन आयो। दैनिक समाचार पत्रहरू प्रकाशित हुन थालेको थियो। लगभग यहाँदेखि नै सूचना प्रौद्योगिकीको क्रान्ति शुरू भयो। सिक्किम पनि त्यस क्रान्तिमा समावेश भयो। अहिले सिक्किमको वर्तमान अवस्था जो देखिरहेका छौं, त्यो एकदमै राम्रो छ। पत्रकारिता पेशा मलाई लाग्छ प्रगतिशील छ। अहिलेको जुन रफ्तार छ त्यसले अरु कतिपय आयामहरू बद्लिएर जाला तर पत्रकारिताले अन्य पेशाहरूभन्दा पनि राम्रो र स्तरीयता आर्जान गर्छ भन्ने मलाई विश्‍वास लागेको छ।’’
वर्तमानमा युवाहरूका लागि रोजगारको अवसरको रूपमा पत्रकारिता पेशाबारे आफ्नो मन्तव्यमा उनी भन्छन्, ‘‘यहाँ कुरा भइसकेको छ कि यो पेशा प्रगतिशील छ। अर्कोकुरा प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई पनि आभार व्यक्त गर्न चाहन्छु कि उनको सरकारले डीएभीपी (डाइरेक्टोरेट अफ एड्भर्टाइजिङ एण्ड पब्लिसिटी)-को लागि समाचार पत्रहरूलाई अङ्क दिएर त्यसको आधारमा विज्ञापनको भोल्युम पनि बढाउने प्रावधान राखिदिएको छ। त्यसमा ईपीएफ (इम्प्लोइज प्रोभिडेण्ट फण्ड अथवा कर्मचारी भविष्य निधि) पनि मुख्य अङ्कमा पर्दछ। ईपीएफ लागु गरेको ‘पेपर हाउस’-लाई अलिकति बेसी ‘भोल्युम’ भएको विज्ञापन दिने प्रावधान समावेश गरिएको छ। यसबाट स्पष्ट हुन्छ कि भविष्यमा पत्रकारहरूले ईपीएफसितै पत्रकारिता गर्न पाउनेछन्। उसो त ‘समय दैनिक’ नेपाली समाचार पत्रले अघिबाटै ईपीएफ लागु गरिसकेको छ। यो नै सिक्किममा ईपीएफ लागु गर्ने पहिलो समाचार पत्र पनि हो। अबउसो भने ईपीएफ ‘मेण्डेटोरी’ भनौं अनिवार्य जस्तै भएको छ। त्यस्ले गर्दा हाम्रा जति पनि ‘वर्किङ जर्नलिस्ट’-हरू छन् उनीहरू सबैका निम्ति यो एउटा राम्रा खबर हो। यसबाहेक जहाँसम्म वेतनको सन्दर्भ छ, यसमा पनि भविष्यमा सरकारले ‘स्ट्रिमलाइन’ गर्दै, सुव्यवस्थित गर्दै लानेछ भन्ने विश्‍वास गर्न सकिन्छ। हुनसक्छ यसबारे केन्द्र सरकारले कुनै ‘पोलिसी’ नै अप्नाउन सक्ला। अथवा यस विषय हामीले राज्य र केन्द्र सरकारसित माग राख्न पनि सक्छौं।’’
यसबारे अहिले कुनै पहल गरिएको छ/छैन भन्नेबारे पत्रकार लेप्चा भन्छन्, ‘‘उसो त ‘जर्नलिस्ट वेलफेयर फण्ड’ (पत्रकार कल्याण कोष)-को पनि कुरा चलिरहेको छ र व्यक्तिगतरूपमा भए पनि मैले सूचना अनि जनसम्पर्क विभागका मन्त्री श्री एके घतानीबाट प्रतिवद्धता पाएको छु, त्यसमा ‘जर्नलिस्ट डेभलोपमेण्ट फण्ड’ या ‘वेलफेयर फण्ड’ राखिने भएको छ। त्यसमा के छ भने विभागहरूबाट जति पनि विज्ञापनहरू जानेगर्छ त्यसबाट दुई प्रतिशत त्यो ‘जर्नलिस्ट डेभलोपमेण्ट फण्ड’ या ‘वेलफेयर फण्ड’-मा सोझै जान्छ। यो एउटा हाम्रो माग छ। त्यसो गर्दा सरकारको तर्फबाट जुन विज्ञापनबाट 2 प्रतिशत काटिन्छ, त्यो थाहा पनि हुँदैन र यता जर्नलिस्टहरूका लागि कल्याण कोष पनि बढ्नेछ।’’
वर्तमान प्रेस क्लब अफ् सिक्किमका कार्यकारिणी समितिले गरिरहेको कार्यहरूबारे उनी भन्छन्, ‘‘कनिष्ठ र वरिष्ठ पत्रकारहरू जो छन् म उनीहरूबीचको सेतु जस्तो लाग्छ आफैलाई। उहाँहरूले पुरस्कार वितरणलाई लिएर जुन नयाँ ‘ट्रेण्ड’ नै भन्छु म, शुरू भएको छ त्यो राम्रो हो। कञ्चनजङ्घा कलम पुरस्कारलाई सँधैभरि एउटा सीमाभित्र राख्नु उचित नहोला, किनभने सिक्किम सानो ठाउ भए पनि अहिले यहाँको पत्रकारिताले ‘प्रोफेसनलिज्म’-को विकास गर्दैछ। उसो त 25 वर्षअघि सिक्किममा पत्रकारिता भन्ने व्यावसाय थिएन।  गाउँमा जाँदा बुढा-पाकाहरूले ‘के गर्दैछस्?’ भनेर सोद्धा मैले ‘पत्रकारिता गर्दैछु’ भन्ने जवाब दिन्थेँ। त्यतिबेला ‘तेरो काम सोधेको हौ, रुची होइन’ भन्ने गर्थे मलाई। अहिले त्यस्तो छैन। अर्को कुरा, सिक्किम सानो भए पनि राष्ट्रियस्तरमा हेर्दा तीन-तीनवटा छिमेकी राष्ट्रको सीमाले घेरेको हुनाले ‘सेन्सिटिभ’ छ। विकासको दृष्टिले हेरिनु हो भने सिक्किम भारतमै एक उदाहरण बनिरहेको छ। त्यसैले पनि सिक्किम अहिले राष्ट्रिय-अन्तर्राष्ट्रिय ‘फोकस’-मा छ। त्यसैले यहाँका समाचारहरू राष्ट्रिय-अन्तर्राष्ट्रिय समाचारहरू हुनसक्छ। त्यसको लागि ‘प्रोशेसनल जर्नलिस्ट’-हरू हुन आवश्यक छ। भविष्यमा यसमा भविष्य उज्ज्वल छ जस्तो लाग्छ अनि पत्रकार र पत्रकारिताको यो स्वर्णिम क्षणजस्तो लाग्छ। पत्रकारितामा अघि बढ्न चाहनेहरूको यात्रा साँच्चै सुगम छ।’’
आफूपछिकाहरूलाई सुझाउ के राख्न चाहनुहुन्छ त? भन्ने मेरो प्रश्‍नमा उनी भन्छन्, ‘‘हामी भन्छौं डाक्टरको पेशा ‘नोवल प्रोफेसन’ हो। त्यो भन्दा पनि अथवा अन्य संवेदनशील पेशाहरू भन्दा हाम्रो यो पेशा अति नै संवेदनशील पेशा हो। मैले एउटा सानो ‘फर्मुला’ बनाको छु, एउटा मन्त्र जस्तो, मेरो अहिलेसम्मको अनुभवमा।’’ उनी भन्छन्, ‘‘त्यो हो ‘सार’ अथवा एस.एस.आर.। एस-बाट सेन्सिटिभ, ए-बाट अथेन्टिक र आर-बाट रेस्पोन्सिबल। त्ययैले यति भन्न चाहन्छु ‘बी सेन्सिटिभ, बी अथेन्टिक एण्ड बी रेस्पोन्सिबल’, किनभने सेनाले हाम्रो सीमा, हाम्रो देश सुरक्षा गरेका छन् अनि हाम्रो पनि त्यतिकै जिम्मेवारी छ। हामीले राष्ट्रविरोधी पत्रकारिता गर्यौं भने अथवा हामी सेन्सिटिभ, अथेन्टिक अनि रेस्पोन्सिबल बन्न सकेनौं भने देशलाई सिमानापारीको भन्दा पनि सिमानावारीको खतरा बढ्ने हुन्छ। देशको अन्तरिम सुरक्षालाई लिएर हामीमा दायित्वबोध हुनुपर्छ। मलाई लाग्छ, हामीपछिको पिढीका पत्रकार भाइ-बहिनीहरूले यसलाई गम्भीररूपले लिनुपर्नेछ। काम गर्न सजिलो र फरक होला तर अति नै संवेदनशील पनि छ।
---
मैले पत्रकार जोशेफ लेप्चालाई फोनमार्फत ‘‘आकाशवाणी गान्तोकद्वारा प्रसारित हुने कार्यक्रम सिक्किम दर्पणको निम्ति कुराकानी गर्नुछ, रेकर्ड गर्छु’’ भनेको थिएँ।
‘‘समय कति लाग्छ?’’ सोध्नुभएको थियो मलाई।
‘‘पाँच/दश मिनट हो। धेरै लाग्दैन।’’ भनेको थिएँ। नाट्यकला, चलचित्र अभिनय, मञ्च सञ्चालन, हास्यकला उनीभित्र रहेका यस्ता धेरै कला-प्रतिभामाथि चर्चा गर्नै छ। यतिबेला तर त्यो पाँच/दश मिनटको निम्ति बसेका थियौं हामी। हाम्रो अघि राखिएका बिस्किटहरू अनि चियाका तीनवटा कप अघि कतिबेला खालिएछन्, थाहै भएन हामीलाई। हामी निस्क्यौं एमजी मार्गतिर। (29 जुलाई 2016-को समय दैनिकबाट)
---000--- 

No comments:

Post a Comment