Saturday, June 29, 2013

सन्दर्भ : पर्यावरण संरक्षण
राज्यमा अहिले पर्यावरणलाई लिएर चारैतिर महोत्सव नै पालन गरिँदै छ। राज्य सरकारको वन, पर्यावरण तथा वन्य जीव प्रबन्धन विभागको विशेष पहलमा 15 जूनदेखि 15 दिनसम्म अथवा 30 जूनसम्म ‘पर्यावरण महोत्सव’ भनेर नै पालन गरिँदैछ भने 30 जूनको दिन राज्यका हरेक व्यक्ति, संस्थादिले आ-आफ्नो क्षेत्र, वातावरणलाई सफा राख्ने विभागीय पक्षको अपील छ। राज्य सरकारले यसरी पर्यावरणको महत्वलाई केन्द्र गरी हरेक वर्ष आम मानिसलाई जागरूक गराउने पहल गरिरहेको छ। यो अति सराहनीय विषय छ।
अघिका वर्षहरूमा पनि हेर्नु हो भने राज्य सरकारबाट यस्ता धेरै काम भइसकेका छन्, जसले सिक्किमको स्वच्छता, हरियाली वृद्धि भएर गइरहेको आधिकारिक तथ्यले पुष्टि गर्दछ। वर्ष 2009-देखि राज्यले पृष्वीका लागि 10 मिनट कार्यक्रम शुरू गरेर अहिलेसम्म प्रत्येक वर्ष 25 जूनको दिन पालन गर्दै आइरहेको छ, जहाँ राज्यपाल, मुख्यमन्त्री, मन्त्रीमण्डल, विभागीय अधिकारी तथा कर्मचारीवर्ग देखि आम मानिसहरूको सहभागिता रहेको हुन्छ। यसरी नै 5 जून, विश्‍व पर्यावरण दिवस अनि राज्य हरित क्रान्ति अभियान जस्ता कार्यक्रमहरूलाई लिएर राज्य सरकारले काम गरिरहेको छ। 1994-को तथ्यअनुसार राज्यको 34 प्रतिशत भू-भाग वन जङ्गलले भरिएको थियो भने 2012-मा आएर राज्यको वन्य क्षेत्र 47 देखि 47.59 प्रतिशत रहेको तथ्य प्राप्त छ। विगत दुइ दशकयताको तथ्यलाई हेरिनु होभने राज्यको वन्य क्षेत्रमा 10 प्रतिशत वृद्धि भएको बताइएको छ। यसमा पनि वर्ष 2012 सम्म रोपिएका रुखका विरुवाहरूको सर्ने दर 75 देखि 80 प्रतिशत रहेको अथवा रोपिएका विरूवाहरूमध्ये 75-80 प्रतिशत सप्रिएर गएको बताइएको छ। यो पनि हाम्रो निम्ति सफलताको सूची मान्न सकिन्छ।
गएको वर्षमात्रै राज्यपाल बालमिकी प्रसाद सिंहले विश्‍व पर्यावरण दिवसको अवसरमा सिक्किमका मानिसहरू दीर्घमियदी पर्यावरण संरक्षणप्रति सचेत रहेको बताएका थिए। सो कुरालाई रोपिएका विरुहरूको सर्ने दरले पनि प्रमाणित गर्दछ। यसको श्रेय मूलतः राज्य सरकारलाई नै जान्छ भने राज्य सरकारको सम्बन्धित विभागीय मन्त्री तथा अधिकारीहरूदेखि गैर सरकारी सङ्घ-संस्था, शैक्षिक संस्थान एवं आम नागरिक पनि उत्तिकै श्रेयस्कर छन्। यदि यस्ता कार्यमा हामी सबैको सहभागिता नहुनुहो भने सफलता कमै प्राप्त हुन्छ। यसैले राज्यसरकारले पर्यावरण संरक्षणप्रति शैक्षिक संस्थान तथा गैर सरकारी सङ्घ-संस्थाहरूलाई प्रोत्साहित गर्दै आइरहेको छ। प्रत्येक वर्ष शैक्षिक संस्थान तथा सङ्घ-संस्थाहरूलाई 10 हजारदेखि 5 लाखसम्मको नगत पुरस्कार प्रदान गर्दै आइरहेको हुनाले पनि सबै सचेत भई कार्यरत रहेको पाइन्छ।
तर, अब यहाँ ध्यान दिनुपर्ने कुरा के देखिन्छ भने कतिपय चाहे त्यो गैर सरकारी सङ्घ-संस्था होस या फेरि शैक्षिक संस्था अथवा व्यक्ति विशेष नै पनि प्रचार-प्रसारकै निम्ति मात्र अग्रसर रहेको देखिन्छ, जो फलदायी पहल अवश्य होइन। समाचार पत्रहरूमा आउनु वा टीभी च्यानलहरूमा देखिइनु मात्रै पनि धेरैको ध्येय रहेको पाइन्छ भने कत्तिले त निर्धक्कसित ‘दस्तावेजको लागि त हो, रिपोर्ट चाहीँ हालीदिनोस् न’ सम्म भन्ने गरेका छन्। स्वार्थकै लागि पनि धेरै प्रचार खोज्नेहरूको कमी छैन। त्यसैले दस्तावेजीकरण र पुरस्कारलाई मात्र ध्यानमा राखेर गरिएको कामको मूल्य कसरी गरिनुपर्ने? हामी स्वयंले विचार गर्नु पर्छ। रुख-विरुवा रोपिनु, पर्यावरण वास्तवमै स्वच्छ र हरियालीपूर्ण बनाउनु केको लागि र कसको लागि? त्यो पनि हामीले विचार पुर्याउनु पर्छ। छिटो-छिटो र धेरैभन्दा धेरै प्रचार-प्रसारमा आएर लोकप्रियता भेला गर्ने अनि पुरस्कार थाप्ने अथवा स्याबासी बटुल्ने उद्देश्यले समाजको विकास हुँदैन, हरित राज्य बन्दैन जो राज्य सरकारको लक्ष्य हो।
राज्यमा चलिरहेको ‘पर्यावरण महोत्सव’ अनि प्रत्येक वर्ष पालन गरिँदै आइरहेको ‘हरित क्रान्ति अभियान’, ‘विश्‍व पर्यावरण दिवस’, ‘पृथ्वीका लागि 10 मिनट’ जस्ता हजारौं योजनाहरू तयार गरिए पनि यहाँ हामी प्रत्येकमा जागरुक्ता आउन आवश्यक छ। जागरुक्ता निस्वार्थ हुन आवश्यक छ। यसको निम्ति हामीले यसको महत्व बुझ्न पनि उत्तिकै खाँचो हुन्छ। जब हामी यी कुराहरूले परिपूर्ण हुन्छौं तब यस्ता कुनै योजनाहरू तयार गरिरहनु पर्नेछैन, कुनै दिवस, कुनै क्रान्ति या कुनै महोत्सव परिचालन गरिरहनु पर्नेछैन। सधैभरि अरूले औंलाले घोचेको भरमा हामी सफल पनि हुँदैनौं। त्यसैले निस्वार्थ भाव सृजना हुन जरुरी छ। अर्को महत्वपूर्ण कुरा, विरुवाहरू रोपेरै मात्र हुँदैन। जतिसक्दो बल दिएर जति धेरै विरुवा रोप्ने हाम्रो पहल हुन्छ उत्तिनै धेरै त्यसलाई समय-समयमा फर्केर हेर्दैछौं के? पानी दिँदैछौं के? बारबेर गर्दैछौं के? आफैं सोच्नुहोस अहिलेसम्म कतिवटा विरुवा रोप्नु भयो अनि कुन-कुन विरुवालाई फर्केर हेर्नुभयो पछिका दिनहरूमा?
28.06.2013

Saturday, June 22, 2013

निर्मल राज्य निर्माणको निम्ति
असल राजनीति र कुशल प्रशासन
कुनैपनि कार्य फत्ते गर्न हामीलाई एकताको खाँचो पर्छ। एकलैले कहिल्यै केही गर्न सक्दैनन्। कसै न कसैको साथ चाहिएकै हुन्छ, चाह उ कति नै सुसम्पन्न किन नहोस्। अझ एउटा सिङ्गो समाज, सिङ्गो राज्य वा देश विकासको कुरा गर्नु हो भने त कोही एकलो व्यक्तिको पहलले मात्र केही हुनेवाला छैन। यति भने पक्का हो कि, सकारात्मक विचार कोही एकजनाबाटै आउन सक्छ। तर, त्यहाँ सामुहिकताको खाँचो पर्छ नै। सामुहिक दायित्वबोद, जिम्मेवारी, इमान्दारिता सबै कुराको खाँचो पर्छ। तबमात्र हामी सफल बन्नसक्छौं।
सन्दर्भः सिक्किम राज्यको विकासमा पनि निश्‍चय यही कुरा लागु हुन्छ। यहाँका राजनैतिक नेतृत्ववर्ग, प्रशासनिक पक्ष र आम नागरिक सबैको उत्तिकै सहभागिता हुनु आवश्यक हुन्छ। वर्तमान राज्यसरकारको विचार पनि यस्तै छ। सत्तारुढ एसडीएफ सरकारले राज्यको समग्र विकासलाई ध्यानमा राखेर काम गरिरहेको छ। सरकारको उद्देश्य पनि यही छ, जो मुख्यमन्त्री पवन चामलिङले घरिघरि बताइरहेका छन्। सत्तारुढ एसडीएफ सरकार कालवाधिमा सरकारले हरेक मुद्दालाई अतिनै गम्भीरतापूर्वक लिएको र राज्यको सर्वाङ्गीन विकाससितै दोस्रो पुस्ताको विकास कार्यलाई अघि सारिरहेको छ। सरकारले अब 35 वर्षपछिको सिक्किमलाई सोंचेर वूर्वाधार विकासका योजनाहरूसम्म तयार गरिरहेको छ।
अब यहाँ फेरि कुरा आउँछ उही ‘सामुहिकता’-को। विशेष गरी प्रशासनिक क्षेत्रमा अझै पनि कतिपय कमी-कजोरीहरू देखा परिरहेका छन्। खास गरी सरकारी कार्यालयहरूमा यस्ता कतिपय समस्याहरू देखापरिरहेका छन् जसको कारण आम नागरिकले घरिघरि समस्या भोगिपरिरहेका छन्। यसैको कारण कतिपय मानिसले सत्तारूप पार्टीलाई ‘असल राजनैतिक पार्टी भएपनि कुशल प्रशासनिक सरकार बन्न सकिरहेको छैन’ भन्ने गरेका छन्।
मुख्यमन्त्री पवन चामलिङले पनि यही कुरालाई उद्धृत गर्दै 5 मई, 2012-को दिन चार्य सरकारको चौथो दर्जाका कर्मचारिहरूको कार्यशालामा उपस्थित कर्मचारीहरूलाई जनप्रिय भएर काम गरिदिने आग्रह पनि गरेका थिए। सामुहिक रूपमा काम गर्दै जनतालाई गुणात्मक उत्पादन र सेवा दिन सक्नुपर्ने र सरकारका सबै कार्यमा पारदर्शीता र जवाबदेहितामा रहेर काम गर्नु पर्ने  मुख्यमन्त्रीले बताएका थिए। यसका साथै सरकारद्वारा परिचालित सबै कार्य तथा योजनाहरू सठिक रूपमा कार्यनवयनको दिशामा अधिकारीवर्गले पहल गर्नुपर्ने बताएका छन्। यद्यपि, जब कार्यालयहरूमा अधिकारीहरूलाई नै भेट्न गाह्रो पर्छ भने हामी जनप्रिय भएर नै काम हुनसक्छ भन्न सकिन्न।
आम मानिसहरूले घरिघरि भोग्न परिरहेको समस्याको रूपमा यी कुराहरू नै देखा परिरहेको छ। यस्को अर्थ, सरकारी कर्मचारीवर्ग कार्यालय नै जाँदैनन्, काम गर्दैनन् भन्ने होइन। तर प्रायःजसो उच्चअहोदाका अधिकारीहरू ‘‘अफिसियल टूर वा मिटिङ वा कार्यक्रममा जानुभाको छ’’ को जवाबले मानिसहरू सबैकुरा कार्यालयको काम लिएर आएको भएपनि घर फर्किनै पर्ने समस्या चुनौति बनिरहेको छ।
यो सत्य हो, उच्चाअधिकारीहरू सरकारी कार्यक्रममै गएका हुन्छन्। तर आम मानिसहरूको भनाइ के छ भने, यस्ता कार्यक्रमहरूमा मुख्य गरी कुनैपनि कार्यक्रममा सम्बन्धित विभाग छोडेर अन्य विभागका मन्त्री, चेयरम्यान, सचिवगण, निर्देशकगण तथा उच्चाधिकारीहरू सबै किन जानु पर्यो? अझ विशेषगरी ‘मुख्यमन्त्रीको कार्यक्रम छ भने त यता कार्यालयहरू खाली हुन्छन्’ भन्ने जनगुणासो पाइन्छ। यसरी उच्चाधिकारीवर्ग हिँडिसकेपछि अरूको खासै काम पनि के रह्यो र! यसैले ठूला अधिकारीवर्ग नै कार्यालयमा नरहेपछि कार्यालयमा ट्राफिक समस्याका कारण अबेर गरी पुगेका अन्य अधिकारीवर्ग पनि साह्रै पर्खिरहने गरेको नपाइनुले आम नागरिकले अझ समस्या झेल्नु परिरहेको देखिन्छ।
अतः सरकारले राज्यको चौतर्फी विकासतर्फ अग्रसर रहेर काम गरिरहेको र राज्यको पूर्वाधार विकासलाई ध्यानमा राखेर काम गरिरहेको भएपनि यहाँ आम नागरिकका यस्ता समस्याहरूलाई पनि उत्तिकै ध्यानदिनुपर्ने हुन्छ। राजनैतिक समीक्षकहरूले सत्तारूढ एसडीएफ पार्टीलाई असल मानिरहेका भएपनि सायद माथि उल्लेख गरिएका बुँडाहरूलाई अघि सारेर यहाँ कुशल प्रशासकको कमी रहेको कुरा नदोहोर्याउन्, सरकारले ध्यानदिनु पर्ने देखिन्छ यहाँ। राज्यको सुख, शान्ति र समृद्धि अनि सैद्धान्तिक पक्ष आफ्नो ठाउँमा छँदैछन्, यी कुराहरूलाई व्यावहारिक रूपमा उतारिनुले नैै निर्मल राज्यको सपना साकार बनाउला।
21.06.2013

Sunday, June 16, 2013

'‘नारी, समाज र समय'-मा लीला छेत्री :
निबन्धकार लीला छेत्रीज्यूकृत '‘नारी, समाज र समय’ भर्खरै प्रकाशित भएको छ। यसै कृतिमाथि '‘समीक्षा’ गरिदिने अनुरोध थियो, मित्र बिजयज्यूको। यद्यपि, यहाँ समीक्षा, समालोचना वा निरुपण गर्ने आँट मैले गरिनँ। यसको निम्ति पहिला त स्वयं सम्बन्धित विषयमा पोख्त हुन जरुरी हुन्छ, साहित्यमा गहिरो दखल हुनु आवश्यक हुन्छ। अथवा यसका सैद्धान्तिक पक्षहरूको नाली-बेली केलाउन सक्ने ल्याकत आफूमा हुनुपर्छ। शब्द, वाक्य र त्यसका अर्थहरूको रौंचिरा गर्न अनि त्यसको निम्ति सिङ्गै कृतिको अध्ययनको पनि खाँचो हुन्छ। यी कुराहरूबाट धेरै पर छु म। त्यसैले यस कृतिभित्र परेका आधासरो लेख-निबन्धहरूलाई मेरो बाहिरी दृष्टिकोणले भ्याएसम्म केही टिपोट गर्ने प्रयासमात्र गरेको छु।
साहित्य जगतमा अघि बड्न '‘भानु’ जस्तो गरिमामय पत्रिकाका सम्पादक, साहित्यकार भवानी घिमिरेको औंला पक्रन पाउनु भएकी लीला छेत्रीले सुनाखरी साहित्यक पत्रिकाका सम्पादक-प्रकाशक विजय कटुवाल र प्रधान सम्पादक शशी लुमुम्बू, कवि-साहित्यकार वीरभद्र कार्कीढोलीदेखि नेपाली साहित्यका सिद्धाहस्त, विद्वत्व व्यक्तित्व साहित्यकार राजनारायण प्रधान अनि स्वयं साहित्यसित संलग्न रहनु-नरहनुको कुनै अर्थ नराखी सँधै प्रोत्साहन दिइरहनुहुने आफ्ना श्रीमान पदम छेत्रीको साथ पाउनु कै परिणाम मान्न सकिन्छ जस्तो लागेको छ '‘नारी, समाज र समय’, वहाँको ‘आफ्ना कुरा’ अनुसार।
अतः अहिले यति भन्न सकिन्छ कि, सिक्किमेली नेपाली साहित्यमा फेरि अर्को सशक्त नारी कमलले एउटा कृति जन्माएको छ '‘नारी, समाज र समय’ निबन्ध सङ्ग्रहको रूपमा। त्यसैपनि नारी कलमको कमी अनुभव गरिँदै गरेको समय, अझै निबन्ध विधामा निरन्तरताको अभाव झेली रहेको सिक्किमेली नेपाली साहित्य जगतमा यसरी एउटा दह्रो निबन्ध कृति जन्मनु हाम्रो निम्ति गर्वको विषय मान्नुपर्छ। पाश्‍चात्य साहित्यको योगदान मानिएको '‘निबन्ध’-लाई '‘आधुनिक गद्य’ भनिएको छ अथवा '‘आधुनिक गद्य’-को रूपमा स्वीकारिएको छ। यही ‘आधुनिक गद्य’-लाई आत्मसात गर्दै निबन्धकार लीला छेत्री सिक्किमेली नभनेर नेपाली साहित्यमा भन्न उचित होला, देखा पर्नुभएको छ ‘'नारी, समाज र समय’ बोकेर।
आत्मापरक निबन्धका जनक फ्रान्सेली विचारक मोतेञले ‘'म नै मेरा निबन्धहरूका विषय हुँ’ भने झैं निबन्धकार लीला छेत्री पूर्णरूपले यस परिभाषाभित्र पर्न नसक्नुहोला, तर आफैले देख्नुभएको, अनुभव गर्नुभएको र मनन् गर्गनुभएकै कुराहरू, विषयवस्तुहरूलाई नै टिपेर निबन्धका विषयहरू बनाउनु भएको छ। स्वयं एक नारी हुनुको बोध '‘नारी, समाज र समय’-भित्रका निबन्धहरूमा पनि परेको छ अथवा निबन्धका विषयहरू भइदिएको छ भन्न सकिन्छ। यसभित्र वर्तमान समयमा हाम्रै समाजभित्र हाम्रा नारीहरूको अवस्था के-कस्तो छ? के-कस्ता समस्याहरू झेल्नु परिरहेको छ? अनि समाधानका के-कतिसम्म उपायहरू छन् अनि ‘'घरको भित्ता टाल्ने जात’ र '‘छोरीको जन्म हारेको कर्म’ जस्ता भनाइहरूमा मात्रै सीमित नरहेर नारीहरूले कतिसम्म प्रगति गरेका छन् भन्ने कुराहरूदेखि देशको नामलाई विश्‍वमा कसरी स्वर्ण अक्षरले सुसज्जित गराएका छन् भन्ने कुराहरू पनि वहाँले देखाउनु भएको छ थोरै भएपनि।
संविधानले नारी-पुरुष दुवैलाई बराबरको अधिकार छ भनिदिएरै मात्र व्यवहारमा बराबरी देखिन्न। हाम्रो समाजमा अझै पनि नारी-पुरुषबीच भेदभाव बाँचेकै छ। पूर्ण रूपमा नभएपनि '‘छोरालाई काखा, छोरीलाई पाखा’ जीवितै छ अझै हाम्रै आँखाहरूअघि। वर्तमानमा महिला शोषण तथा बलात्कार हाम्रो समाजको एउटा जटील समस्या भएको छ। बलात्कारको सन्दर्भमा यहाँ नारी-पुरुषमाझ आपस्तमा आरोप-प्रत्यारोप लगाइरहेको पाइन्छ। लेखिका लीला छेत्री यस्तै कुराहरूबाट अधिक प्रेरित पाइन्छ निबन्ध लेखनमा, जुन विषयमा वहाँ धेरै निबन्धमा घरिघरि दोहोरिनु भएको जस्तो लागेको छ। यस्ता घटनाहरूले वहाँलाई बिझाएको अवश्य छ, तर उत्ति आक्रोशत भने देखिन्न। बरु वहाँ यस्का कारणहरूको पछि घोरिनु हुन्छ र खोट पैल्याएर प्रश्‍न गर्नु हुन्छ यसरी -'‘‘'आफ्नो इच्छा सुविधाअनुसार उसले यस्तो लुगा लगाए पनि उसलाई बलात्कार गर्ने हक कसले दियो? कुन कानुनमा लेखिएको छ, छोटो लुगा लगाउनेहरूलाई बलात्कार गर्नुपर्छ भनेर? यसले त पहिरन पहिरिनेको होइन हेर्नेको मानसिक रोगको परिचय दिन्छ।’’-(पृष्ठ 11), अथवा लेखिका लिला छेत्रीले यहाँ समाजप्रति गतिलो प्रश्‍न तेर्स्याउनु भएको पाइन्छ भने कतै स्वयं एक नारी हुनुको कारण नारीहरूमाथि सहिष्णुता अथवा अलिकति छुत दिइएको हो कि! जस्तो भान हुन्छ, भने ''‘‘देहव्यापारसित संलग्न नारीहरूलाई माया गर्नुपर्छ’’ पनि भन्नुहुन्छ वहाँ। तर फेरि भन्नुहुन्छ -‘''‘यदि कुनै युवतीले पैसाको निम्ति आफ्नो इज्जत बेच्न नचाहे दुनियाँको कुनै पुरुषले उसलाई किन्न सक्दैन।’’ अथवा एउटी नारी, एउटी युवती कुनै राम्रा-नराम्रा  कुराहरूसित संलग्न हुनुमा स्वयं उसैसित निर्भर रहने वहाँको विचार पाइन्छ।
समाजमा जब बलात्कार जस्तो जघन्य घटनाको कुरा उठ्छ, तब नारी अथवा युवातीहरूको पहिरन पनि एउटा कारक बन्ने प्रसंग उठिरहेको पाइन्छ। यसै सन्दर्भमा लेखिका छेत्री भन्नुहुन्छ -''‘‘पहिरन भनेको व्यक्तिको इच्छा, स्वतन्त्रता र परिवेशमा भर पर्छ। वास्तवमा भूल परिहिनेको होइन तर दिमागमा उब्जने मैला मानसिक्ता हो।’’पृष्ठ-12। फेरि अर्को ठाउँ भन्नुहुन्छ -‘‘''लुगाफाटा र पहिरनबाट पनि मान्छेको आचारण पत्ता लगाउन सकिन्छ।’’ पृष्ठ-43, यहाँ भने लेखिकाले ‘स्वयं नारी हूँ’-को भावना नराखी निष्पक्ष भई आफ्नो विचार व्यक्त गर्न चाहनु भएको पाइन्छ। यो कुरो पूर्ण स्वीकार्य भन्न उति नमिल्ला, तर लेखिका स्वयंको विचारमा पनि वैभिन्नता पाइन्छ।
हाम्रो समाजमा अझै पनि छोरा र छोरीमाझको भेदभाव बाँचिरहेकै छ। परम्परा नै बनिसकेको '‘काखा र पाखा’-को व्यवहारले छोडेको छैन हामीलाई। यस्ता सामाजिक विसंगति, लैंगिक असामान्ता, उँच-निच जस्ता भेदभावको कारक तत्व अशिक्षा नै हो भन्ने लेखिका लीला छेत्रीले विश्‍वास गर्नु भएको छ। उदाहरण -‘''‘छोरीहरू छोराहरूभन्दा पढाइमा राम्रै भए पनि, परीक्षामा छोराहरूभन्दा राम्रो नम्बर ल्याए पनि उसको पढाइ रोकेर छोरीहरूको विवाह गरिदिन्छन्। यस्तो स्थिति गाउँमा मात्र होइन, स-सानो सहरतिर पनि यस्तै हुन्छ। बेसी जस्तो अशिक्षित परिवारमा यस्तो देखिन्छ।’’- (पृष्ठ 32)
यस्ता समस्याहरूबाट माथि उठ्न जबसम्म नारीहरू स्वयं अग्रसर हुँदैनन्, तबसस्म यहाँ केही हुँदैन। आफ्नो अधिकार, आफ्नो हीत र आफ्नो सुरक्षाको निम्ति नारीहरू स्वयं अघि बढ्नुपर्ने आह्वान गर्नुहुन्छ -''नारीहरू आफै सशक्त हुनुपर्ने आह्वान गर्नुहुन्छ लीला छेत्री। वहाँ भन्नुहुन्छ -‘‘महिलाहरू चुप लागेर बस्ने समय छैन। महिलाहरू आफैं उठ्नुपर्छ, ताकि हाम्रो औकात सम्झाउनेहरूलाई हाम्रो सामर्थ्यको ज्ञात होस्।’’- (पृष्ठ 16)
यतिमात्रै होइन, नारीहरू आज शिक्षित छन्, जागरुक छन्। आफूमाथिको अन्याय-अत्याचारको विरोध गर्न सक्ने भएका छन् भन्नुहुन्छ अर्कोठाउँ लेखिका लीला छेत्री -‘‘आजकल समय बद्लिरहेको छ। केटीहरू आफूमाथि भएको अत्याचारको पूरा ताकत लगाएर आवाज उठाउन थालेका छन्। स्वतन्त्रता त पहिला पनि छियो। तर आज महिलाहरू आफ्नो कुरा निर्भय राख्छन्।’’ -(पृष्ठ12)।
136 पृष्ठको यो कृति '‘नारी, समाज र समय’-भित्र जम्मा 44 वटा लेख-निबन्ध रहेका छन् भने तीमध्ये धेरैजसो ‘'सुनचरी’ समाचार पत्रमा वर्ष 2004-देखि पछि ‘'समय दैनिक’ र '‘हिमालय दर्पण’-मा सायद वर्ष 2009-10 देखि यता छापिएकाहरू नै परेका छन्। अतः अलग-अलग समयमा यी लेख-निबन्धहरू लेखिएका कारण हुनसक्छ विचारमा मेल नखाएको जस्तो लाग्छ। जस्तै एकठाउँ भन्नु भएको छ -''‘‘महिलाहरू शारीरिक एवमं  भावनात्मक रूपले पुरुषभन्दा कमजोर हुन्छन्।’’ -पृष्ठ 19, यहाँ शारीरिक एवं भावनात्मक दुवै रूपमा पुरुषभन्दा कमजोरै हुन्छन् भन्ने वहाँको अडान छ। अर्को ठाउँ फेरि वहाँले भन्नुभएको छ -''‘‘आज समाजमा नारीहरूले अलग परिचय बनाइसकेका छन्। जीवनको कुनै पनि क्षेत्रमा स्त्री-पुरुष बराबर छन्। नारी शब्दको उच्चारण हुनासाथ हामी कुनै अवला, कमजोर मात्र नसम्झेर उसलाई शक्तिरूपी, सार्थक, जिम्मेवार, निडर भन्न सक्छौं।’’ -पृष्ठ 34, यहाँ नारीहरू अथवा महिलाहरू पनि निडर भइसकेका छन्, अवला छैन् अब भनेर समाजलाई चेतावनी दिइरहेको पनि बुझिन्छ। अतः यहाँ समसितै नारीहरूमा पनि आत्मविश्‍वासको घेरो फाँटिलो बनिरहेको छ भन्ने लेखिकामा विस्वास रहेको बुझ्न सकिन्छ।
समय सँधै एकनासे रहँदैन। समय परिवर्तन भन्नु नै मानव विचारमा परिवर्तन आउनु हो। अथवा मानव विचारले नै समय परिवर्तन गराउँछ। त्यसैले समाज परिवर्तन गराउँछ। जति समय परिवर्तन भयो अथवा विकसित बन्दै गयो उति हाम्रो परम्परा, हाम्रो संस्कृति, रीति-रिवाजमा पनि परिवर्तन देखापर्छ। हाम्रो जातित्व, अस्तित्व, अस्मिता यी कुरराहरूमै बाँचेको हुन्छ अनि त्यसले हामीलाई बचाइ राखेको हुन्छ। हामी जाति, धर्म र संस्कारको आधारमा जो भएपनि समग्रमा हामी भारतीय हौं भन्ने विचार लेखिकामा पाउँछौं। हाम्रो संस्कृति-परम्परा र रीति-रिवाज हामीले बिर्सिनु हुन्न, अपमान गर्नुहुन्न पनि भन्नुहुन्छ लेखिका यसरी -''‘‘हामीले भारतीय संस्कृतिको अपमान गर्नु पनि हुँदैन। तर संस्कृतिको नाममा सँधै महिलाहरूमाथि शोषण गर्नुपनि उचित होइन।’’ अथवा देशमा कतिपय संस्कृतिको नाममा महिलाहरूमाथि अन्याय भइरहेको वहाँले खुलस्त पार्नु भएको छ, जो हामी प्रतिदिन समाचार पत्रहरूमा पढिरहेका छौं, टेलिभिजन समाचारहरूमा हेरिरहेका छौं।
लेखिका लीला छेत्रीलाई कतै भावनामा डुबुल्की मारिरहेको त कतै कुनै कथाकी पात्रा झैं डुलिरहेकी जस्तो पनि लाग्छ। जस्तै मलाई लागेको हरफ छ -‘''‘सपनाहरू, इच्छाहरू काँचको घरझैं टुक्रिएर छरपस्ट हुन्छ’’, पृष्ठ-21। अर्को हरफ -‘''‘शिवादेवी भन्छिन्- रक्सी पिउनाले विवाहको कुनै रीतिरिवाज हुन पाउँदैन थियो। बनिएको खाना खाने कोही हुँदैन थियो, किन भने जबसम्म पुरुषले खाँदैन, तबसम्म महिलाहरूले पनि खाँदैन थिए।’’
अतः लेखिका लीला छेत्रीले आफ्ना लेखहरूमा/आफ्ना निबन्धहरूमा मूलतः नारी उत्पीडन, नारी समस्या, बलात्कार, देहव्यापार अथवा समग्रमा नारी जातिलाई नै मूल आधार बनाएर विषय-वस्तु टिप्नुभएको पाइए तापनि समाजका हरेक साना-साना कुरारहरूलाई औल्याएर समाजलाई सुधार गर्नतिर अग्रसर पाइन्छ।
कृतिभित्र रहेका केही कमी-कमजोरीहरूको पनि उल्लेख गर्नै पर्ने हुनाले प्रयास गरेको छु। तर यसपटक स्वयं म गल्ति हुनपनि सक्छु। उसो त गल्ति हामी सबैबाट हुनेगर्छ। गल्तिबाटै हामीले सिक्नुपर्छ पनि भनिन्छ। यसै सन्दर्भमा भन्नुपर्दा, विशेष त साधारण व्याकरणिक त्रुटी देखिन्छ, जो सामान्य पनि हो। खासगरी वचन र लिङ्गमा छुटपुट त्रुटीहरू देखिन्छन्। जस्तै -‘‘''प्रायःजसो पुरूष आफ्नो निम्ति कम्ती उमेरका केटीका चयन गर्न रुचाउँछन्।’’पृष्ठ-24
यहाँ 'पुरूष' अथवा पु रू ष-को ठाउँमा 'पुरुष' अथवा पु रु ष, पुलिङ्गा ह्रस्व अनि '‘चाहन्छ’मा ‘चाहन्छन्’ बहुवचन हुनुपर्ने जस्तो लागेको छ। अर्को कुरा, सिधै चाहन्छ वा चाहन्छन् भनेर ठोकुवा गर्न मिल्ला के? जस्तो लागेको छ। यसरी नै ‘‘''आज जीवनको प्रत्येक क्षेत्रमा नारी पुरूषको बराबरीमा दौडिरहेछन्।’’-पृष्ठ 39-मा वचनलाई ध्यान दिनुपर्ने देखिन्छ।
कतै-कतै वाक्य निर्माण पनि शब्दहरू राख्दा ध्यान दिइनु पर्ने जस्तो लागेको छ। जस्तै ‘‘-''जोसँग तपाईंले आफ्नो भविष्यको जीवन बिताउनु छ।’’ -पृष्ठ 22, यहाँ '‘भविष्यको जीवन’ नभनेर ‘'भविष्य’ मात्रै भनिदिँदा सजिलो हुनेथियो होला। अर्को वाक्य -''‘‘आज जीवनको प्रत्येक क्षेत्रमा नारी पुरूषको बराबरीमा दौडिरहेछन्।’’-पृष्ठ 39-मा '‘जीवनको छेत्र’ भनेर खुलस्त नभएको जस्तो लाग्यो। यसलाई ‘आज नारीहरू पनि प्रत्ये क्षेत्रमै पुरुषहरूसित काँधमा काँध मिलाउन सफल छन्’ भनिदिँदा सरल हुनेथियो जस्तो लाग्यो।
यसरी नै अर्को वाक्य -‘‘''सँधै त्यस्ता घरको परिवेशले घरका सदस्यहरूलाई खिचेर राख्छ।’’ पृष्ठ 66-मा ‘घर’ शब्द घरिघरि नदोहोरिएको भए अझै असल हुनेथियो। यद्यपि, लेखिका लीला छेत्रीका निबन्धहरू सरल-सहज भाषा शैलीका साथै क्लिष्ट शब्दहरूको प्रयोग नहुनु र गाँठो फुकाइरहनु पर्ने वाक्यहरू नहुनु सबल पक्ष रहेको पाइन्छ। कतिपय निबन्धहरू उपदेशात्मक लाग्छन्, जस्तै -‘नयाँ जीवनको सुरुवात’ निबन्ध। यद्यपि, ‘निबन्धमा लेखकले नितान्त आफ्नो विचार राख्नसक्ने’ भनिएपछि यस कुरोले निबन्धको धर्मिताबाहिर नगएको भन्न सकिएला।
भाषा र शब्दको कुरा गर्दा यहाँ ‘हिन्दी’ र ‘अङ्ग्रेजी’ शब्दहरूको पनि प्रशस्तै प्रयोग भएको पाइन्छ, जस्तै-आजकल, परफेक्ट, दर्द, एड्जसमेण्ट, रिटायर्ड, दुनियाँ आदि। यद्यपि, यस्ता शब्दहरू बोल्ती भाषामा प्रतिदिन प्रयोगमा आइरहेका हुनाले निबन्धहरू साधारण पाठकका निम्ति पनि सरल भइदिएको लाग्छ।
टङ्कनमा अथवा '‘प्रूफ रिडिङ’-मा पनि धेरै शब्दहरू छोडिएका छन्, जो खुबै ख्याल राख्नु पर्ने हुन्छ। यस्ता साना-साना शब्दहरूले कहिले काहीँ ठूलो गल्ति हुन जान्छ। यहाँ कुनै शब्दको गलत अर्थ लागेको जस्तो नलागे पनि '‘प्रूफ’-मा धेरै छुटेका छन्। जस्तै-‘'गरिदिएको’ हुनुपर्नेमा ‘'गदिदिएको’, ‘'नानीहरूका लागि’ हुनुपर्नेमा '‘नानीहरूको लिगि’, '‘रियल लाइफ’ हुनुपर्नेमा ‘'रिल लाइफ’, '‘मानसिक तनाव’ हुनुपर्नेमा '‘मनसिक नताव’ भएको छ। यस्ता साना-साना गल्तिहरू अझै छन्। यसका साथै कतिपय अनावश्यक हरफ अथाव प्याराग्राफ दिइएको छ। यद्यपि, यसलाई तक्निकीय गल्ति मान्नुपर्छ।
नारी शोषण, नारी अन्याय, बलात्कार, घरेलु हिंसा र महिला सशक्तिकरण नै वहाँका निबन्धहरूको मूल स्वर पाइन्छ। नारी र पुरुष दुवै सिङ्गो समाजका अभिन्न अंग हुन्। उही नारीले वर्तमानमा हाम्रै समाज, हाम्रै देश वा विश्‍वमा झेल्नु परिरहेका अनेकन समस्याहरू र त्यसका समाधानहरूलाई ध्यानकेन्द्रित गरी लेखिएका छन् निबन्धहरू। यसैले पुस्तकको शीर्षक ‘'नारी, समाज र समय’ सार्थक लागेको छ। यद्यपि, पाठकहरूले आ-आफ्नै विचार, आ-आफ्नै दृष्टिकोणले हेर्नसक्छन्। यो स्वतन्त्र विषय पनि हो।
लेखिका लीला छेत्रीको यस कृतिले वर्तमान समाजमा नारीप्रतिको जुनप्रकारको नकारात्मक विचार, जुन दृष्टिकोण छ, त्यसलाई पूर्णविराम दिन सक्छ त भन्न सकिन्न तर वहाँको होंस्टेलाई सबैको हैंसे प्राप्त भए यहाँ सफलताको आशा गर्न सकिन्छ। करण, '‘एकतामा बल हुन्छ’ पनि भनिन्छ। निरन्तरता पाओस वहाँको कलमले, बीचैमा नथामियोस्। विचार, भाव, अध्ययनले कमी देखिन्न वहाँमा तर, डा. इन्द्रबहादुर राईले सायद 2010-मा एकपल्ट भन्नुभएको थियो '‘म अझ सिक्तै छु।’ लेखिका लीला छेत्रीको कलम पनि उसरी नै तिखारिँदै जानेछ अझै अनि साहित्य समाजलाई मलिलो बनाउँदै जानेछ, समाजले यस्तै दह्रो कृति पाइरहनेछ भन्ने लागेको छ। सिक्किमेली जगतमा लेख-निबन्ध विधालाई आत्मसात गरेर निरन्तरतासित अघि बड्ने सशक्त नारी कलमको अभावलाई पूरा गर्ने आशा गरिएको छ लीला छेत्रीज्यूबाट। अझ सिखर चुम्ने छ वहाँको कलमले। समाजले आशा गरेको छ। हामीजस्ता युवा हाँचका निम्ति प्रेरक बनोस् वहाँको कलम। लीला छेत्रीज्यूलाई बधाई र शुभकामना।
अन्तमाः डा. कविता लामाको विश्‍वासका शब्दहरूलाई अघि सार्दै विदा लिँदैछु -''‘‘यो पुस्तक आजको परिप्रेक्षमा अत्यन्त मूल्यवाण एवं नारी, समाज र राष्ट्रको विकासको निम्ति एउटा माइलखुट्टी साबित हुनेछ।’’
-अर्जुन यावा
16 जून 2013, गान्तोक

Friday, June 7, 2013

ट्राफिक समस्या र पुलिस प्रशासन
राज्यमा अहिले सबैभन्दा ठूलो समस्या भनेको नै ट्राफिक समस्या भएको छ। यही समस्या धेरैको निम्ति ढाँट्ने बहाना पनि बनेको प्रायः सबैलाई ज्ञात भएकै विषय हो। साना-सानाहरूदेखि ठूला अधिकारीहरू सम्मका लागि यो एउटा राम्रो उपाय बनेको छ र सजिलै भनिदिने गर्छन् ‘ट्राफिक जाममा फँसेको छु’। हो पनि। राज्यमा अहिले विशेष गान्तोकमा ट्राफिक समस्या वास्तवमै ठूलो समस्या बनेको छ। चाहेर पनि कति समय हामी समयमा आफ्नो गन्तव्य पुग्न सकिरहेका छैनौं। समाधान कसरी गर्ने? सोंच्नुपर्ने विषय छ। यो कोही एकलो व्यक्तिको होइन तर सामुहिक समस्या बनेर प्रतिदिन बढिरहेको छ अनि कुनै पनि सामाजिक समस्या समाधानर्थ सामुहिक पहलको खाँचो पर्दछ।
अब हामीले हेर्नु छ, समस्या कसरी बढदै गइरहेको छ त? समस्याको कारण नबुझी समाधान खोज्न मूर्खता हुन्छ कि सायद! हो, यहाँ समस्याका कारणहरू धेरै छन्। जस्तै बसैलाई थाहा भएको कुरा हाम्रो ठाउँ त्यसैपनि सानो छ। विशेष राजधानी तथा राजधानी वरिपरिका सडकहरूलाई चौडादार गर्ने कुनै उपाय छैन, न त वैकल्पिक मार्ग निर्माण नै गर्न सकिने उपाय देखिन्छ।
यो त राम्रो कुरो मान्न सकिन्छ कि हामी जीवनमा आवश्यक हरेक कुरामा सुसम्पन्न हुन सकौं। तर हाम्रो निम्ति यही एउटा अर्को समस्य बनिरहेको देखिन्छ प्रतिदिन। राज्य सरकारले जसरी सिक्किमलाई गरिबीरेखाबाट माथि उठाउने वा राज्यलाई गरिबीमुक्त बनाउने पहल गरिरहेको छ त्यसरी नै राज्यमा प्रतिदिन वाहनको सङ्ख्यामा वृद्धि भइरहेको छ। यो पनि हाम्रो सुसम्पन्नताको उदाहरण भएपनि एहिले यो नै एउटा समस्या भइरहेको स्वीकार्य छ।
वाहनको आवश्यक्ता सबैलाई हुन्छ। तर प्रतिव्यक्ति एक-एकवटा निजी वाहन लिएर हिँड्नुले साँगुरो सडकमा ट्राफिक समस्यामा अर्को थप समस्या हुनगइरहेको छ। राजधनीमा विशेष 31-ए राष्ट्रिय राजमार्गमा जतिवटा ट्याक्सी गुड्छन् लगभग उतिनै सरकारी वाहन गुड्छन् भने त्योभन्दा अधिक अथवा ट्याक्सी वाहनभन्दा अधिक संख्यामा निजी वाहन गुड्ने गर्छन्। त्यसमा पनि प्रायःले आफू स्वयंकै निम्ति मात्र आफ्नो वाहन प्रयोगमा ल्याएका हुन्छन्। यदि प्रतिदिन निजी वाहनको संख्या बढ्ने हो भने  अनि निजी वाहन कोही एकलो व्यक्तिकै निम्ति सवार हुन्छ भने निश्‍चय यो हामी सबैको निम्ति अझ ठूलो समस्या हुन्छ, भइरहेको पनि छ।
अतः माथिका तीनै कुरालाई ध्यानमा राखे यहाँ वाहन संख्या नियन्त्रण आउन जरुरी हुन्छ। विशेष निजी वाहनको बढ्दो संख्यामा यसको खाँचो देखिन्छ। यसमा कुनै प्रकारको नियम राख्न अथवा कुनै प्रकारको नियन्त्रन गर्न सम्बन्धित निकायले विचार पुर्याए भविष्यको निम्ति उचित होला कि! तर कुनै प्रकारको नियम या कानुन बनिए पनि हामी सबैको सबैको सहयोग भने खाँचो पर्छ।
यी सबै कुरा छोडेर यहाँ अर्को समस्या देखिन थालेको छ कानुनी नियमको उचित प्रयोग नहुनु अनि विशेष ट्याक्सी वाहन चालक र पुलिस कर्मीमाझ आपसी बुझाबुझको कमी अनि आम मानिसहरूले जताततै आफ्नो सुविधाअनुसार वाहन रोक्नु। यस्ता कुराहरूले हाम्रो नियम-कानुनलाई भंग गराउँछ भने यसैबाट कतिपय स्थितिमा अशान्ति सिर्जना पनि हुने सम्भावना रहन्छ।
कतिपय ठाउँमा ट्याक्सी चालकवर्गले दुइ-चार रुपियाँको लालचमा प्यासेन्जर उठाउने हुनाले ट्राफिक नियम भंग गरिरहेका हुन्छन् भने कतिपय स्थितिमा पुलिस कर्मीहरूबाट चालकहरूमाथि अन्याय भइरहेको पनि प्रत्यक्ष देखिन्छन्। सरकारी वाहन तथा ठूला व्यक्तित्वहरूका वाहनहरूले विशेष पार्किङ नियम उल्लङ्घन गरेको भेटिँदा पनि छुट् दिने तर ट्याक्सी चालकहरूलाई भने कतिपयले गल्ति गरेकै नहुँदा पनि चलन काटिनु अन्याय मान्न सकिन्छ। 5 जून, 2013-को बिहान पानी हाउसको सानो घटनालाई उदाहरण लिन सकिन्छ। कानुन सबैको निम्ति बराबरी हुनुपर्छ। यो कुरा सबैलाई ज्ञात नभएको होइन। तर चाहे कुनै पनि पक्षबाट होस्, यदि कानुन उल्लङ्घन हुन्छ वा सदुपयोग हुँदैन अथवा भेदभाव हुन्छ वा गरिन्छ भने त्यसले समाजमा अशान्ति सिर्जना गराउँछ। यसबाट आम मानिसहरूमा सरकार र प्रशासनको गलत संदेश जानसक्छ। त्यसैले यी कुराहरूलाई हाम्रो सामुहिक समस्या हो भन्ने बुझेर सबैतिरबाट सामुहिक जिम्मेवारीकै रूपमा लिएर समाधानको सामुहिक पहल नै गरे कसो होला?
7 Jun 2013
राज्यमा सुन्तोला खेती
राज्यको कृषि जगतलाई बढावा दिन अनि राज्यलाई 2015 सम्म जैविक राज्य बनाउने अघिदेखिनै राज्य सरकारको पहल रहेको छ। यसबाट राज्यलाई बेरोजगारमुक्त तथा स्वालम्बी बनाउने पनि अर्को उद्देश्य रहेको प्रष्टै छ। विश्‍वकै प्रथम उद्योगको रूपमा स्वीकारिएको कृषि क्षेत्रलाई हामी सबैले प्राथमिकता दिएर सचेत भई काम गर्न पनि उत्तिकै जरुरी छ।
राज्य सरकारले अहिले राज्यका आम नागरिकलाई विशेष कृषकवर्गलाई यसतर्फ ध्यानाकर्षण गराउँदै वागवाणी तथा नगदेवाली खेतीलाई प्रोत्साहित गराइरहेको छ। अदुवा, अलैंची, सुन्तोला जस्तो खेतीलाई उच्च प्राथमिक्ता दिँदै सरकारले कृषकवर्गलाई यसतर्फ आकर्षित गराउने पहल गरिरहेको छ, जसको माध्यमद्वारा कृषकवर्गपनि सरकारी नोकरी गर्नेसरह वार्षिक लाखौं रुपियाँ आर्जन गर्न सक्नेछन्। राज्यमा यसका धेरै उदाहरण पनि छँदैछन्। 30 मई को दिन स्थानीय चिन्तन भवनमा सम्पन्न नगदेवालीअन्तरगत सुन्तोला खेती विषय सचेतना कार्यक्रममा आठजना कृषकलाई सम्मान जनाएको थियो।
राज्यमा साँच्चै सुन्तोला खेतीको भविष्य उज्ज्वल देखिएको छ। अघिबाटै यसतर्फ केही कृषकले स्वप्रयासमा खेती गरिरहेको भएपनि सरकारको सहयोग र प्रोत्साहनमा वार्षिक तीनलाख रुपियाँसम्म आर्जन गरिरहेका छन्। अतः यसलाई सबैले ध्यान दिएर काम गर्नसके कृषिउद्योगमा राज्य तथा राज्यवासी धेरै अघि बडनेछ। यसको निम्ति कृषकवर्गलाई सरकारले बिउ-विजन, ग्रीन हाउस्, आवश्यक तालिम सबैप्रकारको सहयोग पुर्याइरहेको छ। राज्यमा नगतेबाली खेतीमा रुची राखेर उद्यमशील बन्ने चाहने कृषकवर्गले यसको निम्ति कृषि तथा वागवाणी विभागबाट सिधै जानकारी लिन सक्छन् भने गैरसरकारी संगठन (एनडीओ) तथा पञ्चायतको माध्यमबाट पनि जानकारी लिन सक्नेछन्। यसको निम्ति शिक्षित बेरोजगार युवावर्गलाई सरकारले ‘अनइम्प्लोइड लोन’ पनि उपलब्ध गराउने प्रावधान रहेको छ।
भविष्यमा सिक्किमलाई सुन्तोला खेतीको माध्यमबाट पनि छुट्टै रूपमा चिन्न सकिने मानिसहरूले बताइरहेका छन् भने अहिले राज्यका चारै जिल्लामा यसको खेती गरिँदै छ। यद्यपि, उत्तर जिल्लाअन्तरगत जङ्गुमा मुख्य रूपले सुन्तोला खेती भइरहेको छ। सही ढङ्गमा यसलाई बढावा दिन सके अथवा प्रोत्साहित गर्न सके वास्तवमै सिक्किमलाई सुन्तोला खेतीले पनि चिनिनेछ भने यसबाट राज्यमा पर्यटकहरूलाई पनि अझ आकर्षित गराउन सकिने विश्‍वास गर्न सकिन्छ।
यद्यपि, कुनैपनि कार्यलाई सफल तुल्याउन सबैतिरबाट उत्तिकै सहभागिता चाहिन्छ, योजना तयार पारेरमात्रै होइन त्यसको सही ढङ्गमा कार्यनवयनमा उतार्न सक्नुपर्छ। दुइहातले मात्र ताली बजेजस्तै राज्यसरकारले जसरी अहिले राज्यमा नगदेवालीलाई प्रोत्साहित गर्ने काम गरिरहेको छ, यसलाई सफल बनाउँन विभागीय पक्षले पनि इमान्दारिपूर्वक सहयोग पुर्याउन आवश्यक हुन्छ भने कृषकवर्गले पनि उत्तिकै लगनशील रहनु पर्ने हुन्छ। नभए वर्षदिन लगनशील रहेर अनि आममानिसको भीडमा एकदिन सम्मान थापेरै मात्र केही हुनेवाला छैन। 
31 May 2013
युवाहरू समयमै सचेत बन्नुपर्यो
विश्‍वले नै अधिक महत्व दिइरहेको जमात मान्न सकिन्छ युवाहरूलाई। यदि युवा जमात सचेत बने हाम्रो समाज, देश र विश्‍वनै विकसित तथा शान्तिपूर्ण बन्न सक्छ। त्यसैले त आज हरेक ठाउँमा युवाहरूलाई सचेत, जागरुक एवं अग्रसर पार्ने काम भइरहेको छ। त्यसैले भनिन्छ युवाहरू देशका कर्णधार हुन्। देशका भविष्य हुन्।
विश्‍व समाज र दजेशलाई पनि छोडेर यहाँ राज्यको सन्दर्भमा कुरा गर्नपरे युवाहरूका निम्ति आज प्रशस्तै काम भइरहेका छन् जसले युवाहरूलाई सकारात्मक दिशातिर अग्रसर गराउने, उनीहरूलाई सचेत गराउँने, उनीहरूलाई प्रोत्साहित गराउने, दक्ष र सक्षम बनाउने हरेक प्रकारका कामहरू भइनै रहेका छन्। सरकारी पहलमा पनि यस्ता कामहरू भइरहेको पाउन सकिन्छभने केन्द्रिय सरकारको पहलमा पनि यस्ता विभिन्न योजनाहरू सिक्किमलगायत पूर्वोत्तर क्षेत्रका निम्ति भनेर समय-समयमा भित्र्याइँदैछन्। युवाहरूमा वाक कला, कार्य क्षमता एवं तक्निक आदिकुरादेखि लिएर यहाँ भएका हरेक संभावना र अवसरहरू के-के छन् अनि ती कुराहरूलाई कसरी सदुपयोगमा ल्याउन सकिन्छ भन्ने कुराको समेत जानकारी गराइँदैछन्।
राज्य तथा केन्द्र सरकारद्वारा तय गरिएका यस्ता अनेकन योजनाहरूलाई कार्यनवयनमासम्म ल्याएर उनीहरूलाई स्वरोजगारी बनाउने पहलसम्म भइरेका छन्। सिक्क्मिको सन्दर्भमा हेरिनु होभने जल्दोबल्दो विषय बनेको छ पर्यटनको क्षेत्र। यसबाहेक पनि राज्यमा पिगेरी, पोल्ट्री फार्मिङ, कृषि, ट्रेभल्स जस्ता कुराहरूमा सरकारी तथा गैर सरकारी रूपमा युवाहरूलाई तालिम दिएरउनीहरूलाई स्वरोजगार बनाउने पहल गरिँदै आइरहेको छ। यी सबै गर्नुको मुख्य कारण हेर्नुहोभने मूलतः राज्यलाई विकसित गराउने बुझिन्छ। एउटा राज्य विकसित बन्नुभनेको देश पनि विकसित हुनु हो।
यद्यपि, आज हाम्रा युवाहरूले यस्ता कुराहराबट भरमग्दुर फाइदा उठाएर त्यसको लाभ उठाउन सकिरहेका देखिँदैनन्। यस्ता विभिन्न तालिमहरूमा उनीहरूको सहभागिता नै नहुने होइन, तर तालिमअवधिमा प्राप्त हुने सुख-सुविधाको उपभोग गर्नमात्रै कतिजना उपस्थित हुनेगरेको पाइन्छ। टीए र डीएकै निम्ति मात्र पन कतिजना तालिममा जानेगरेको पाइन्छ। अतः यहाँबाट के प्रष्ट हुन्छभने सरकारी होस अथवा गैरसरकारी रूपमा युवाहरूलाई जुन उद्देश्यले तालिमहरू उपलब्ध गराउने लक्ष्य छ त्यसको महत्वबाट युवाहरू अझै अनभिज्ञ नै छन्। उनीहरूले कसैलाई ठगिरहेको मनमा सोंचेपनि आफ्नै भविष्य राज्य अनि देशको भविष्यसित छल गरिरहेको मनमा सम्झनेसम्म प्रयास गरिरहेका छैनन्।
युवाहरूमा सचेतना ल्याउने भनेर जुन पहल आज हाम्रो समाजमा भइरहेको छ त्यो त खै कहाँ सफल हुँदैरहेछ र! हामी देशको भविष्य, राज्य र हाम्रै समाजको भविषय तयार गरिरहेका छौं भन्दैछौं तर कहाँ त्यो पूरा भइरहेको छ त!
आज हाम्रा युवाहरू पैसाकै पछि लागिपरेका पाइन्छन् धेरैजसो, त्यो पनि छिटो र सजिलो माध्यममा, नभए काम सरकारी नै पाउनुपर्छ, त्यपनि सानो होइन ठूलो चौकीमा बस्न पाउँसकेसम्म भन्ने विचारधाराले हामीलाई खँज्याइरहेकै छ अजैपनि। सबैलाई थाहा छ छिटो र सजिलो माध्यम भनेको दीर्घमियादी हुँदैन। अर्को कुरा काम सानो किन नहोस त्यसलाई एकचित्त र एकाग्रताका साथ अघि लगाउन सके जीवनको सफलता त्यसैमा हुन्छ भन्ने कुराको पनि युवाहरूमा ज्ञान हुन आवश्यकता हुन्छ।
अर्कोतिर सरकारी रूपमा युवाहरूलाई विभिन्न सुविधा जस्ततै निशुल्क खाने, बस्ने, आउने-जाने आर्थिक सुविधाहरूका साथमा उनीहरूलाई सक्षम, दक्ष, सचेत र जागरुक बनाउने उद्धेश्यमा तालिमहरू प्रदान गरिन्छन्, यसमा कस्ता युवाहरूलाई निम्त्याइँदै छन् भन्ने कुरा सम्बन्धित निकायले ध्यान राख्नुपर्ने देखिन्छ। यसका साथै कतिपय सङ्घ-संथाले सरकारी योजनाअन्तरगत डीपीआर तयार गर्ने र फर्जी रिपोर्ट समुम्पिएर आप्नो स्वार्थ पूरा गर्ने मात्रै पनि हुन्छन्। अत, यस्ता कुराहरूको पनि राम्ररी छानबिन गर्न सकिए तालिम र सरकारको औचित्य पनि सफल बन्ला कि।
यतिमात्रै होइन, युवाहरू ममस्वयंमा पनि सचेतना आउन जरुरी छ। जबसम्म ‘टीए-डीए’ र ‘फ्री त हो’ को भानमा युवाहरूको मनमा बाँचेको हुन्छ तबसम्म हाम्रो समाजले विकासको गोरेटो भेटाउन सक्दैन। छिटो र सजिलो बाटो खोज्नेहरू प्रतिदिन बदनामीको शिकार बनिरहेका छन्। बद्नामीमात्रै होइन आफ्नोसितै अर्काकोसमेत जीवन बर्वाद गरिरहेका छन्। यसैले आज समग्र युवा जागरुक भई अग्रसर बन्ने समय आएको छ। समयसितै अघि बड्न जरुरी रहेको छ। यदि आजपनि हामी सचेत बनेनौं भने भोलि हाम्रो देशको भार उठाउने कस्ले? आज संसार जुन गतिमा अघि बढिरहेको छ त्यसलाई पछ्याउने पाइला अहिलेनै चाल्न शुरु नगरे भविष्यमा पश्ताउनबाहेक अरु केही रहनेछैन यहाँ।
May 2013
गोर्खाल्याण्ड हुँदैन भन्नै परेन
मोर्चाले जसो भनेपनि फेरि एकपल्ट बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले छुट्टै राज्य दिइने छैन भन्ने प्रष्ट पारेकी छन्। पहिला ‘बंग भंग होबेना’ भन्ने ममताले पछि दार्जीलिङलाई ‘पार्ट अफ बंगाल’ मात्रै भनेकी थिइन्। अहिले फेरि ‘हार्ट अव बंगाल’ भनेर पहाड बंगालबाट छुटाउन नसकिने कुरा उनले प्रष्टै बताइसकेकी छन्। किनभने आफ्नो मुटु कसैले पनि यति सजिले अलग गर्न सक्दैन। आफ्नै आफैबाट कस्ले अलग गर्न चाहन्छ? चाहँदैन। यसपाली उनले ‘बंग भंग होबेना’ भनिनन् अनि कुनै ‘पार्ट’ अथवा छुटाउन सकिने ‘भाग’ भनिनन्, तर यसपाली पहाडलाई बंगालको ‘हार्ट’ भनिदिँदा कसैले विरोध जनाएकै कुरा पनि प्रकाशमा अहिलेसम्म आइहालेको जस्तो लागेको छैन। ममताले किन पहाडलाई बंगालको ‘हार्ट’ वा ‘मुटु’ भनिन्? भनेर टाउको दुखाइराख्नु आवश्यक नसम्झेको बुझियो। ‘ममताले यसपाली पहाडमा सम्हालिएर बोल्नेछिन्’, यसपाली पाहडवासीको मन दुखाने कुरा बोल्ने छैनन् ममताले’ भनिसकिएको थियो अघिबाटै। साँच्चै ममताले सम्हालिएरै बोलेकी हुन् भन्नेतिर कसैको ध्यानै पुगेन। ममतालाई थाहा थियो फेरि ‘बंग भंग होबेना’ भन्ने बित्तिकै पहाड गर्जिने छ। ‘पार्ट अफ बंगाल’ मात्रै भन्नु कुनै औचित्य नरहने थियो। त्यसैले भनिन् ‘हार्ट अफ बंगाल’। ‘हार्ट’ अथवा शरीरको त्यो अंग जसलाई अलग गर्न सकिन्न अथवा मिल्दैन।
यसबाट भारतीय गोर्खालीहरूको अस्तित्व, अस्मिता र चिनारी, गोर्खाहरूको छुट्टै राजद्य हुनुपर्छ भन्ने मुल मद्दा लिएर 2007-मा विमल गुरुङको नेतृत्वमा स्थापित गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) अहिले धरमराइरहेको कुरो प्रष्टै छ। ‘गोर्खाल्याण्ड’-को मुद्दा लिएर जनसमर्थन बटुलिरहेको समय अचानक ‘गोर्खाल्याण्डसम्म पुग्ने बाटो’ भनेर जतिबेला गोर्खा टेरिटोरियल एड्मिनिष्ट्रेशन (जीटीए)-मा केन्द्र र राज्य सरकारसित गोजमुमोले त्रिपक्षीय सम्झौता गर्यो, त्यही समय मुख्यमन्त्री ममता ब्यानर्जीले ‘बंग भंग होबेना’ भन्दा गोर्खाहरूले नै ताली बजाएको कुराले पछि गोजमुमोलाई निकै दोधारमा नपारेको होइन। तर विकासको नाममा सम्झौता गरिएपनि मूलमुद्दाबाट गोजमुमो पछि नहटेको कुरा मोर्चाले बतायो। तर विभाग हस्तान्तरणमा ढिलाईपन र जीटीए क्षेत्रमा सानो कुरामै पनि मुख्यमन्त्रीकै हस्तक्षपले जुर्मुरिएको गोजमुमोलाई जसोतसो अलमल्याइराख्यो राज्यले। तर राज्यसितको सम्बन्धमा धमिलोपनले फेरि पहाड आर्थिक खडेरीमा परेपछि मोर्चाले भनिदियो ‘राज्य सरकारसित मिलेर काम नगरी हुँदैन।’ यसपछि फेरि विपक्षीहरू ‘गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको मुद्दा थन्काएर अर्को दागोपाप ग्रहण गरेको कारण विकास नै हो’ भनेर चिच्याउन शुरु गर्यो। अहिले गोजमुमोले ‘गोर्ख्याल्याणको मुद्दा छोडिएको छैन’ भने पनि विकास आवश्यक रहेको कुरामा जोड दिइरहेको छ। मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले त ‘अहिलेलाई आन्दोलन स्थगित’ भनेर घोषणै गरेका छन्।
यसैले अहिले जब ममताले दार्जीलिङलाई ‘हार्ट अफ बंगाल’ भनिन् तब ‘मोर्चा गोर्खाल्याण्डदेखि पछि हट्यो’ ‘अलग राज्यको मागलाई मोर्चाले नै अघि बढाउनेछ भन्ने जनतामा व्याप्त भ्रम तोडियो’ भनेर विपक्षीहरू कराउन थालिसकेका छन्। यता मोर्चा र राज्यको मैत्रिक सम्बन्ध बनेको कुरा प्रकाशमा आइसकेको छ भने मोर्चाले राज्यसित मिलेर पहाडलाई विकासको सिखर चढाउने कुरा पनि मोर्चाले बताइसकेको छ। अर्को महत्वपूर्ण कुरा के छ भने, ममता ब्यानर्जीको तीनदिने पहाड भ्रमणपछि पहिले ‘गोर्खाल्याण्डसम्म पुग्ने सिँडी’ भनिएको ‘जीटीए’-लाई अहिले ‘विकासको एजेन्सी’ भनिन थालिएको छ।
अर्कोतिर, पहिले ‘पहाडलाई स्वीजरल्याण्ड बनाइदिन्छु’ भन्ने ममताले अहिले फेरि ‘पहाड स्वीजरल्याण्ड भन्दा पनि राम्रो छ’ भनेकी छन्। कुन आशयमा! यो प्रष्ट छैन। कतै यहाँ विकासको पनि खाँचो छैन भनेकी त होइन? किनभने जतिपल्ट मुख्मन्त्री ममता ब्यानर्जी पहाड पसेकी छन्, त्यतिपल्टै उनले पहाडको विकासका कुरा गरेकी छन्। तर उनको मौखिक घोषणाहरू अहिलेसम्म कतिवटा कार्यन्वयनमिा उतारिएका छन्, पहाडले औंला भाँचिरहेकै छ। गोजमुमोलाई पनि अवगत छ। यसैले जीटीएको माध्यम भएर छुट्टै राज्य पुग्नअघि पहाडको विकास गरिहालौं भन्ने मोर्चाले अब कुन नीति अप्नाउने हो, भविष्यले बताउला। मताले पहाडलाई ‘हार्ट अफ बंगाल’ भनिसकेपछि ‘बंग भंग होबेन’, ‘तिमीहरूले गोर्खाल्याण्ड पाउने छैनौ’ वा ‘गोर्खाल्याण्ड हुँदैन’ भनिरहन परेन। यसैले अब ‘मुटु’ लाई ‘शरीर’-बाट अलग गर्न मोर्चाले ठूलै ‘अपरेशन’ गर्नुपर्ने प्रष्ट देखिएको छ।
may 2013