सन्दर्भ : पर्यावरण संरक्षण
राज्यमा अहिले पर्यावरणलाई लिएर चारैतिर महोत्सव नै पालन गरिँदै छ। राज्य सरकारको वन, पर्यावरण तथा वन्य जीव प्रबन्धन विभागको विशेष पहलमा 15 जूनदेखि 15 दिनसम्म अथवा 30 जूनसम्म ‘पर्यावरण महोत्सव’ भनेर नै पालन गरिँदैछ भने 30 जूनको दिन राज्यका हरेक व्यक्ति, संस्थादिले आ-आफ्नो क्षेत्र, वातावरणलाई सफा राख्ने विभागीय पक्षको अपील छ। राज्य सरकारले यसरी पर्यावरणको महत्वलाई केन्द्र गरी हरेक वर्ष आम मानिसलाई जागरूक गराउने पहल गरिरहेको छ। यो अति सराहनीय विषय छ।
अघिका वर्षहरूमा पनि हेर्नु हो भने राज्य सरकारबाट यस्ता धेरै काम भइसकेका छन्, जसले सिक्किमको स्वच्छता, हरियाली वृद्धि भएर गइरहेको आधिकारिक तथ्यले पुष्टि गर्दछ। वर्ष 2009-देखि राज्यले पृष्वीका लागि 10 मिनट कार्यक्रम शुरू गरेर अहिलेसम्म प्रत्येक वर्ष 25 जूनको दिन पालन गर्दै आइरहेको छ, जहाँ राज्यपाल, मुख्यमन्त्री, मन्त्रीमण्डल, विभागीय अधिकारी तथा कर्मचारीवर्ग देखि आम मानिसहरूको सहभागिता रहेको हुन्छ। यसरी नै 5 जून, विश्व पर्यावरण दिवस अनि राज्य हरित क्रान्ति अभियान जस्ता कार्यक्रमहरूलाई लिएर राज्य सरकारले काम गरिरहेको छ। 1994-को तथ्यअनुसार राज्यको 34 प्रतिशत भू-भाग वन जङ्गलले भरिएको थियो भने 2012-मा आएर राज्यको वन्य क्षेत्र 47 देखि 47.59 प्रतिशत रहेको तथ्य प्राप्त छ। विगत दुइ दशकयताको तथ्यलाई हेरिनु होभने राज्यको वन्य क्षेत्रमा 10 प्रतिशत वृद्धि भएको बताइएको छ। यसमा पनि वर्ष 2012 सम्म रोपिएका रुखका विरुवाहरूको सर्ने दर 75 देखि 80 प्रतिशत रहेको अथवा रोपिएका विरूवाहरूमध्ये 75-80 प्रतिशत सप्रिएर गएको बताइएको छ। यो पनि हाम्रो निम्ति सफलताको सूची मान्न सकिन्छ।
गएको वर्षमात्रै राज्यपाल बालमिकी प्रसाद सिंहले विश्व पर्यावरण दिवसको अवसरमा सिक्किमका मानिसहरू दीर्घमियदी पर्यावरण संरक्षणप्रति सचेत रहेको बताएका थिए। सो कुरालाई रोपिएका विरुहरूको सर्ने दरले पनि प्रमाणित गर्दछ। यसको श्रेय मूलतः राज्य सरकारलाई नै जान्छ भने राज्य सरकारको सम्बन्धित विभागीय मन्त्री तथा अधिकारीहरूदेखि गैर सरकारी सङ्घ-संस्था, शैक्षिक संस्थान एवं आम नागरिक पनि उत्तिकै श्रेयस्कर छन्। यदि यस्ता कार्यमा हामी सबैको सहभागिता नहुनुहो भने सफलता कमै प्राप्त हुन्छ। यसैले राज्यसरकारले पर्यावरण संरक्षणप्रति शैक्षिक संस्थान तथा गैर सरकारी सङ्घ-संस्थाहरूलाई प्रोत्साहित गर्दै आइरहेको छ। प्रत्येक वर्ष शैक्षिक संस्थान तथा सङ्घ-संस्थाहरूलाई 10 हजारदेखि 5 लाखसम्मको नगत पुरस्कार प्रदान गर्दै आइरहेको हुनाले पनि सबै सचेत भई कार्यरत रहेको पाइन्छ।
तर, अब यहाँ ध्यान दिनुपर्ने कुरा के देखिन्छ भने कतिपय चाहे त्यो गैर सरकारी सङ्घ-संस्था होस या फेरि शैक्षिक संस्था अथवा व्यक्ति विशेष नै पनि प्रचार-प्रसारकै निम्ति मात्र अग्रसर रहेको देखिन्छ, जो फलदायी पहल अवश्य होइन। समाचार पत्रहरूमा आउनु वा टीभी च्यानलहरूमा देखिइनु मात्रै पनि धेरैको ध्येय रहेको पाइन्छ भने कत्तिले त निर्धक्कसित ‘दस्तावेजको लागि त हो, रिपोर्ट चाहीँ हालीदिनोस् न’ सम्म भन्ने गरेका छन्। स्वार्थकै लागि पनि धेरै प्रचार खोज्नेहरूको कमी छैन। त्यसैले दस्तावेजीकरण र पुरस्कारलाई मात्र ध्यानमा राखेर गरिएको कामको मूल्य कसरी गरिनुपर्ने? हामी स्वयंले विचार गर्नु पर्छ। रुख-विरुवा रोपिनु, पर्यावरण वास्तवमै स्वच्छ र हरियालीपूर्ण बनाउनु केको लागि र कसको लागि? त्यो पनि हामीले विचार पुर्याउनु पर्छ। छिटो-छिटो र धेरैभन्दा धेरै प्रचार-प्रसारमा आएर लोकप्रियता भेला गर्ने अनि पुरस्कार थाप्ने अथवा स्याबासी बटुल्ने उद्देश्यले समाजको विकास हुँदैन, हरित राज्य बन्दैन जो राज्य सरकारको लक्ष्य हो।
राज्यमा चलिरहेको ‘पर्यावरण महोत्सव’ अनि प्रत्येक वर्ष पालन गरिँदै आइरहेको ‘हरित क्रान्ति अभियान’, ‘विश्व पर्यावरण दिवस’, ‘पृथ्वीका लागि 10 मिनट’ जस्ता हजारौं योजनाहरू तयार गरिए पनि यहाँ हामी प्रत्येकमा जागरुक्ता आउन आवश्यक छ। जागरुक्ता निस्वार्थ हुन आवश्यक छ। यसको निम्ति हामीले यसको महत्व बुझ्न पनि उत्तिकै खाँचो हुन्छ। जब हामी यी कुराहरूले परिपूर्ण हुन्छौं तब यस्ता कुनै योजनाहरू तयार गरिरहनु पर्नेछैन, कुनै दिवस, कुनै क्रान्ति या कुनै महोत्सव परिचालन गरिरहनु पर्नेछैन। सधैभरि अरूले औंलाले घोचेको भरमा हामी सफल पनि हुँदैनौं। त्यसैले निस्वार्थ भाव सृजना हुन जरुरी छ। अर्को महत्वपूर्ण कुरा, विरुवाहरू रोपेरै मात्र हुँदैन। जतिसक्दो बल दिएर जति धेरै विरुवा रोप्ने हाम्रो पहल हुन्छ उत्तिनै धेरै त्यसलाई समय-समयमा फर्केर हेर्दैछौं के? पानी दिँदैछौं के? बारबेर गर्दैछौं के? आफैं सोच्नुहोस अहिलेसम्म कतिवटा विरुवा रोप्नु भयो अनि कुन-कुन विरुवालाई फर्केर हेर्नुभयो पछिका दिनहरूमा?
28.06.2013
No comments:
Post a Comment